site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अमेरिका र उत्तर कोरियाका नेताहरूबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता अपेक्षा गरिएभन्दा सफल भएको मानिएको छ । सिंगापुरमा सन् २०१८ को जुन १२ मा हुने तय भइसकेपछि पनि वार्ता स्थगित गरिएको थियो । यसैले शिखर वार्ता नहुँदासम्म धेरैले विश्वास गर्नै सकेका थिएनन् । सिंगापुरमा भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्प र अध्यक्ष किमले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् । संयुक्त वक्तव्यमार्फत् अध्यक्ष किमले आणविक निरस्त्रीकरणका पक्षमा दृढ प्रतिबद्धता र राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति प्रकट गरेका छन् । अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध स्थापना, कोरियाली प्रायःद्विपमा स्थायी शान्ति, कोरियाली प्रायःद्विपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने अप्रिल २७, २०१८ को पानमुनजोम घोषणाप्रति प्रतिबद्धता तथा युद्ध बन्दी तथा बेपत्ता परिएका एक अर्काका नागरिकलाई खोजी गरी र फिर्ता पठाउने सहमति दुई नेताबीच भएको छ । फलस्वरूप, राष्ट्रपति ट्रम्प र अध्यक्ष किमबीचको शिखर वार्तालाई धेरैले अपेक्षा गरेभन्दा बढी सफल मानेका छन् । अर्थात्, मंगलवार सिंगापुरमा समसामयिक कूटनीतिमा एउटा चमत्कारै भएको देखियो ।

सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेपछि ३ वर्षभन्दा बढी चलेको कोरियाली युद्धको अझै आधिकारिक अन्त्य भइसकेको छैन । दक्षिण कोरिया शीतयुद्ध समाप्त भएपछि पनि अमेरिकाको भरपर्दो रणनीतिक साझेदार रहिआएको छ । उत्तर कोरियाले कोरियाली प्रायःद्विपमा अमेरिकी सैनिक उपस्थितिको सधैँ नै विरोध गर्दैआएको छ । कोरियाली प्रायःद्विपमा अमेरिकी सैनिक प्रभुत्वको विरोध गर्दै उत्तर कोरियाले आणविक अश्त्रको विकास गर्न थालेपछि अमेरिकाका साथै दक्षिण कोरिया र जापान पनि तर्सेका थिए । आणविक प्रसार निषेधमा सहमत नभएपछि उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले आर्थिक प्रतिबन्धसमेत लगाएको छ । तर, चीन र रुसजस्ता परम्परागत मित्रहरूको सहयोगबाट उत्तर कोरियाली अर्थतन्त्र जेनतेन चलिरहेको छ । यस्तो अवस्थामा एकाएक पूर्ण आणविक निरस्त्रीकरणप्रति अध्यक्ष किमले व्यक्त गरेको प्रतिबद्धतालाई आर्थिक संकटबाट मुक्त हुन रचिएको रणनीतिक चालबाजीमात्र ठान्नेहरू पनि कम छैनन् । तर, विश्व जनमतको ठूलो हिस्साले भने राष्ट्रपति ट्रम्प र अध्यक्ष किमलाई शंकाको सुविधा दिएको देखिएको छ । त्यसो त अध्यक्ष किम र राष्ट्रपति ट्रम्पले वार्तापछि दिएका अभिव्यक्तिहरूले उनीहरूका पक्षमा समर्थन पनि बढेको छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति ट्रम्प र अध्यक्ष किमको शिखर वार्ता सफल हुँदा त्यसका मूल सूत्रधार दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सायद सबैभन्दा बढी खुसी भएको हुनुपर्छ । ‘चिन्ता र खुसीले रातभर निदाउन नसकेको‘ भन्ने अभिव्यक्तिले राष्ट्रपछि मुनको मनोदशाको झलक दिएको छ । दुई कोरियाबीच वार्ता र शान्तिका पक्षधर मानिने राष्ट्रपति मुनले केही महिना पहिले अध्यक्ष किम र लगत्तै राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए । शिखर वार्ता संकटमा परेपछि पनि मुनको शान्त कूटनीतिक सक्रियताले राष्ट्रपति ट्रम्पलाई वार्तामा पुनः आकर्षित गरेको हो । केही दिन अगाडिसम्म सम्भवतः संसारमै बढी आलोचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता अध्यक्ष किम जोङ उनको अहिले दुनियाभर प्रशंसा भइरहेको छ । तर, छिटै नै केही तात्विक अन्तर नदेखिए अहिलेको प्रशंसा पुनः आलोचनामा बदलिन बेर लाग्नेछैन । मूलतः अध्यक्ष किमले आणविक निरस्त्रीकरणका क्रियाकलापको निरीक्षण गर्न दिन तत्परता देखाएनन् र आर्थिक प्रतिबन्ध खुकुलो बनाउन अमेरिकी राष्ट्रपति ट्रम्प तयार भएनन् भने अहिलेको आशा र उत्साह निराशा र शंकामा परिणत हुनेछ । यस्तै, उत्तर कोरिया र अमेरिकाबीच निकट सम्बन्ध स्थापना हुँदा चीन र जापानले अपेक्षाकृत असहज अनुभव गर्न सक्छन् । अमेरिका र दक्षिण कोरियामै पनि उत्तर कोरियासँग नरम व्यवहार गर्न नहुने पक्षमा ठूलै जनमत रहेको मानिन्छ । चीनले उत्तर कोरिया आफ्नो प्रभाव क्षेत्रबाट उम्कने सन्देह गर्न सक्छ भने जापानले आफ्नो सुरक्षा जोखिममा पर्ने डर देख्न सक्छ । यसैले यस चमत्कारलाई चरितार्थ गर्न निकै जोखिम र चुनौतीपूर्ण छ । संसारले खासै नपत्याएका दुई शासकहरूले गरेको चमत्कारले विश्वमा शान्तिका लागि योगदान गर्न सकोस् भन्ने कामना गरौँ ।   


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC