site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मुलुकमा अझै छुवाछुतजस्तो अमानवीय कुप्रथा कायमै छ । त्यसमा पनि आर्थिक सामाजिक दृष्टिले पिछडिएको क्षेत्रमा छुताछुतको अवस्था अझै भयावह छ । मूलतः समाजमा विद्यमान सामन्ती संस्कारका कारण कानुनले निषेध गरेको आधा शताब्दीभन्दा बढी भइसक्ता पनि जातिका आधारमा गरिने विभेद अन्त्य हुनसकेको छैन । यसैले कतिपय अवस्थामा कथित तल्लो जातिका व्यक्तिमाथि कथित उपल्लो भनिएका जातिका व्यक्तिले कुनै अत्याचार गरे वा अपराध गरे भने त्यसलाई सहजै जातीय विभेदको उदाहरण मान्ने गरिन्छ । परन्तु, यथार्थ त्यसभन्दा फरक पनि हुनसक्छ । यसैले त्यस्ता घटनाको छानबिनमा राज्य थप गम्भीर हुनुपर्छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ की मना सार्कीको मृत्युको घटनामा पनि यस्तै गम्भीर अनुसन्धान आवश्यक देखिन्छ ।

निर्वाचित वडा सदस्यसमेत रहेकी मना सार्कीलाई मृत्यु हुनुभन्दा केही समय पहिले स्थानीय कथित उच्च जातिका व्यक्तिहरूले कुटपिट गरेको र त्यही कुटाइबाट उनको मृत्यु भएको समाचार आएपछि त्यसलाई राजधानीमा जातीय अत्याचारका रूपमा हेरियो । दलित अधिकारकर्मीले त त्यस घटनामा न्यायको माग गर्नु स्वाभाविकै थियो । सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरूले समेत त्यसलाई जातीय विभेदका कारण गरिएको हत्या भन्दै हत्यारामाथि कारबाहीको माग गरेर गृह मन्त्रीलाई ज्ञापन दिए । अर्कातिर अवैध यौन सम्बन्धका कारण कुटपिट गरिएको समाचार सार्वजनिक भएको छ । प्रहरीलाई उद्धृत गर्दै मृत्युको कारण कुटपिट हुनसक्नेमा शंका पनि समाचारमा व्यक्त गरिएको छ । मर्नुभन्दा पहिले मना सार्कीमाथि कुटपिट भएकोमा विवाद नभए पनि घटनाको कारण जातीय विभेद रहेको र कुटपिटकै कारण हत्या भएको विषय भने निर्विवाद देखिँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

जातीय विभेदकै कारण कुटपिट भएको हो भने यसलाई सामान्य घटनामात्र भनेर पन्छाउनु बुद्धिमानी हुँदैन ।  यस्तै, कुटपिटकै कारण मृत्यु भएको रहेछ भने अभियुक्तमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । अवैध यौन सम्बन्धका कारण सामान्य कुटपिट गरेको र मृत्युको कारण अरू नै केही हो भने त्यसअवस्थामा कर्तव्य ज्यानको मुद्दा लगाउनु अन्याय हुन्छ । यसैले अरू कुटपिट र हत्याको घटनाभन्दा मना सार्कीको मृत्युको घटनामा सरकारले विशेष संवेदनशीलता देखाउनु आवश्यक छ । दलित समुदायले राज्यले समेत न्यायबाट वञ्चित गरेको अनुभव नगर्ने गरी घटनाको अनुसन्धान र छानबिन हुनुपर्छ । मृत्युको कारण कुटपिट वा अरू केही थियो भन्ने विषयमा त शव परीक्षण प्रतिवेदनबाट स्पष्ट हुने नै छ । तर, जातीय विभेदजन्य अहंकार र सामन्ती संस्कारका कारण घटना भएको हो कि होइन भन्ने किटान गर्न भने विश्वसनीय छानबिन आवश्यक हुन्छ । जातीय विभेदको घटना हो भने यसको सम्बोधन कर्तव्य ज्यान मुद्दा चलाएरमात्र हुँदैन । स्थानीय समाजमा यस्ता घटना दोहोरिन नदिन चेतनामूलक कार्यक्रममा ध्यान दिनुपर्छ । एक्काइसौं शताब्दीको संघीय गणतान्त्रिक लोकतन्त्रमा यस्ता जातीय अहंकारका कारण हत्या हुने घटना सह्य र स्वीकार हुन सक्तैन । स्थानीय प्रहरी प्रशासनले पनि जालझेल नगरी  छानबिनलाई विश्वसनीय बनाउन सहयोग गर्नुपर्छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC