site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यान्सर कुर्दाका दुई महिना
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मलाई थाहा छ, धरामा म अजम्बरी जन्मेको होइन, एक दिन देह त्याग गर्नु नै छ । तर, म चाहन्छु मेरो मृत्यु भयावह नहोस्, बाँचेकाहरू लामो समयसम्म मृत्यु कुर्ने सकसमा धेरै बेर पोलिन नपरोस् । आयुको कसैले पनि पूर्वानुमान लगाउन सक्दैन । काल कहिले र कहाँ आउँछ सायद काललाई नै थाहा हुँदैन । 
मलाई लाग्छ, मेरो हिस्साको जीवन किस्सा अझै  बाँकी  छ । दुःख जोतेर सुख उमार्न पाएको छैन । खुसीको फल अझै आकाशभन्दा तल झरेको छैन । तै पनि समय बढो निर्दयी भएर आयो  । दुई महिना म क्यान्सर कुरेर अर्थात्, सम्भाव्य मृत्युको हिसाबकिताब गरेर बसेँ  । 
साँडे दुई महिनाअघि नियमित स्वास्थ जाँचको सिलसिलामा अमेरिकी स्वास्थ (अ)व्यवस्थाअनुसार सम्बन्धित 'प्राइमरी केयर फिजिसियन'कोमा समय लिएर पुगेँ । उच्च रक्तचापको ओखतीका लागि डाक्टरी सिफारिस लिनु थियो । विगत २-३ महिनादेखि घाँटीमा सानो डल्ला गिर्खा देखिएको थियो । मलाई थाहा भएसम्म सानै छँदादेखि नै समयसमयमा डल्ला आउँथ्यो, प्रायः स्वास्थ्य अलि कमजोर भएको बेला वा रुघाखोकी लागेको बेला । पूर्ण स्वस्थ भएपछि आफैँ हराउँथ्यो । 'सालिभारी ग्ल्यांड'  वा 'लिम्फ़ नोड' सुन्निएको वा दुवै अवस्था हुनसक्थ्यो । 
मैले उक्त डल्ला बढेको बताएँ र  पुरानो कथा पनि कहेँ । डाक्टर साहिबाले यो जे पनि हुन सक्छ, ट्युमर अर्थात् क्यान्सर हुन सक्छ भन्नुभयो । धुम्रपानको विगत इतिहासले झनै  शंका लाग्यो, शंकाले लंका जलायो । अल्ट्रासाउन्ड गरेर हेर्नुपर्छ, तुरन्त अल्ट्रासाउन्ड गर्नु भन्नभयो ।  छ महिनाअघिको नियमित स्वास्थ जाँचमा पिसाबमा छिटपुट रक्तकोषिका देखिएको तर खासै ठूलो कुरा हैन भनिएकाले वास्ता नगरी बसेको थिएँ । डाक्टर परिवर्तनसँगै नयाँ डाक्टर साहिबाले फेरि एकपल्ट पिसाबको हिसाब गरौँ न त भन्नुभयो  । दुई सातापछि फलोअपका लागि आउनु भन्नुभयो  । मनमा अनेक तर्कना बोकेर “हस् न नमस्ते”  गरेर  फर्कें  । भोलिपल्ट नै अल्ट्रासाउन्ड गर्न गइयो । धन्न एकै दिनमा समय पाइयो नत्र अमेरिकामा डाक्टरी समय र स्वास्थ्य संस्थामा समय पाउनु गाह्रै हुन्छ । 
अल्ट्रासाउण्ड गर्ने टेक्निसियन भाइले यो लिम्फ़नोड़ सुन्निएकोजस्तो छ, रेडियोलोजिस्टले हेरेर पत्ता लगाउँछ भने । आधा ढुक्क भएँ । मेरो अनुमानमा टेक्निसियन भाइले सहमति जनाए । 
दुई सातापछि डाक्टरको गएँ । जानेबित्तिकै 'एउटा सुखद समाचार छ, घाँटीमा क्यान्सर छैन, लिम्फ़नोड़ सुन्निएको नै हो'  भन्नुभयो । बाँकी रहेको आधा ढुक्क पनि पूरा भयो । तर ..... । धेरै ठाउँमा धेरै चोटी “तर” मा “मर “ भएको मान्छे म  । तर्सिहालेँ । 
तर के ? मैले सोधे मसिनो आवाजमा । पिसाबको हिसाबमा फेरि गडबड देखियो । अलिकति रातो रक्तकणको अवशेष शेष रह्यो । त्यो चाहिँ चिन्ताको विषय हो रे ! 
केही बेरअघिसम्म घमाइलो मनमा घनघोर मेघ गर्जियो डाक्टर साहिबाले जब भन्नुभयो - “मलाई कारण त थाहा भएन तर किडनीको, पिसाब नलीको वा पिसाब थैलीको क्यान्सरले गर्दा पनि यस्तो हुनसक्छ । किडनीमा संक्रमण भएर वा किडनीमा पत्थरी भएर पनि रक्तकण देखिनसक्छ । यसैले म युरोलजिस्टलाई रेफर गर्छु सकेसम्म चाँडै समय लिइहाल्नुस् ।" फेरि एकपल्ट १५ दिनमा ३ वटा सम्भाव्य क्यान्सरलाई आँखा अगाडि ताण्डव नृत्य गर्दैगरेको देखेँ  । 
भारि मन लिएर रिफरलको  कागजात सहित डाक्टरको अफिसबाट निस्केँ । भनिएका युरोलोजिस्टसँग १५ दिनपछिमात्र समय रहेछ । आफूलाई भने अहिल्यै देखाउनु पाए हुन्थ्यो भनेजस्तो छटपटी भइरहेको थिएँ । फेरि आफ्नो डाक्टरलाई सोधेँ - “१५ दिन कुर्न मिल्छ कि मिल्दैन ?" भनेर । सबै युरोलोजिस्टको यस्तै हुन्छ, "१५ डेज इज ओके" रे ! 
“पीडा छ हनुमानजी पीडा” भनेर पीडा सुनाउने हनुमानजी थिएनन् यस अमेरिकामा । पन्ध्र दिने तनाव पलपल मर्दै बाँच्दै कुरेँ । पालो आयो, डाक्टरसँग भेट भयो । पिसाबको नमुना फेरि लिए । प्राइमरी केयर फिजिसियनको रिफरल हेरे । अब तिमीले सिटि स्क्यान (युरोग्राम) गर्नुपर्छ, ब्लड टेस्ट गर्नुपर्छ । पिसाब र रक्तको नमुनामा क्यान्सरको कोषिका छ कि छैन त्यो  पनि हेरिन्छ । सबै रिपोर्ट आएपछि क्यामरा घुसाएर पिसाब नली र पिसाब थैली जाँच गरिन्छ भनेर फरर समय बचत गर्दै स्पेसलिस्ट डाक्टर साहबले  स्पेशल कुरा राख्नुभयो  । 
"हैन डाक्टर साप, मलाई भएको चाहिँ के हो ? किन आयो त्यो रगत ?"
डाक्टरले भन्नुभयो - "रगत देखिने आकारमा छैन, यो त माइक्रोस्पिक थियो यो क्यान्सरका कारण पनि हुनसक्छ"। म झस्केँ यो त माइक्रोस्पिक रक्त कोष रे ! 
डाक्टर साहिबाले आधा मारेकी थिई, विशेषज्ञ सापले पूरै मारे  । जम्मै टेस्ट गराएर फेरि आउनु, एपोइन्टमेन्ट लिएर जानु भन्ने आदेश भयो । बीचमा लामो सप्ताहान्त परेकाले डाक्टर साहेबको छुट्टी रे पूरै साता । बीस दिनपछिको समय पाइयो । दक्षिणा बुझाउँदै सबै टेस्ट गर्न गइयो । सीटी स्क्यान गर्ने वरिष्ठलाई के भा'को रहेछ भनेर सोध्दा, हामीले  भन्न मिल्दैन, रेडियोलोजिस्टले हेरेर भन्छ – पो भन्यो । 'दालमे कुछ काला तो है'जस्तो लाग्यो । टेस्ट त सकियो तर फाइनल अझै बाँकी थियो । बीस दिन फेरि ३ वटा सम्भावित क्यान्सर कुर्नै पर्नेभयो । हाँस्ने दिन त गए गए रुन पनि सकिएन । मानौ, सबै आँसु त्यही सम्भाव्य कुसमाचार कुरेर बसेका छन्  । एकैपल्ट घनघोर वर्षेर बगाउन चाहन्छ । 
जति जति गुगलेश्वर महादेवको शरणमा गयो त्यति त्यति कहाली लाग्दो ज्ञान बढ्ने । दुईचार प्रतिशत यो क्यान्सर, ५ - १० प्रतिशत त्यो क्यान्सर  । गुगल सर्च गर्दा धेरै तर्साए पनि कालो बादलमा चाँदीको घेरा चाहिँ देखें । एकदुई प्रतिशतको चाहिँ विनाकारण पिसाबमा रगत मिसिन्छ रे ! कहिल्यै ५०% मा त जित्न नसकेको मान्छे म, एकदुई प्रतिशतमा मृत्यु जित्ने हौसला बोकेँ  । 
कहिले यसलाई सम्झे कहिले उसलाई  । भगवान, अल्लाह , जिससलाई सम्झे ।  गुनासो गरेँ - “जिन्दगीमा मैले दुःखमात्र पाएको छु, दुःखपछि सुख हुन्छ भनेको खै ? यही हो तिमीहरूको न्याय ? जानेसम्म कसैको कुभलो गरेको छैन, इमान बेचेको छैन । हो अलि अल्छीश्वर महादेवको भक्त छु, त्यति खराबी छ ममा  । सराबी कहिल्यै भइएन । झिल्के बन्न चुरोस चाहिँ तानेको हो । त्यति धेरै पनि तानेको थिएन हो, यति चाँडै माथि तान्नलाई । चार सहिदमध्ये दुईलाई गोली हान्ने नरशमशेर १०३ वर्ष बाँचे  । हाम्रो टोलका नामुद छुल्याहा बूढा ९४ वर्षसम्म छिड्की हान्दै बसे । देश डुबाउने नेता जम्मै ७० को नेटो कटिसके  । पाप र पुण्यको मुल्यांकन सही हुँदो हो त नरपिचासहरू पिसाब फेर्दाफेर्दै ठाउँका ठाउँ जानुपर्ने ! तिमीहरूको पनि सिन्डिकेट छ कि क्या हो ? भाग शान्ति जयनेपाल छ कि क्या हो ? " 
भगवान पत्थरकै भइरह्यो, जिसस सुली मै झुन्डिरह्यो, अल्लाह अदृश्यै भयो । बुद्धको मुक्तिको जुक्ति हो कि अलिकति शंका त्यता रह्यो । 
स्पेसलिस्ट सापले फाइनल नतिजाको लागि बोलाएको दिन नजिक आउँदै थियो, फेरि फोनको घन्टी बज्यो । समय अलिकति गडबड भयो रे, कि एकाबिहानै आउनु कि दिउसो रे । भनेको समयमा न मिल्ने भयो रे  । दिउसो न मिल्ने भए एक सातापछि अर्को लोकेसनमा आउनु रे  । भयो अब .... । 'ब्याड लकै' खराब भनेको यही होला  । बल्लतल्ल लिएको समय त्यो पनि आफ्नो डेरा नजिकको भन्दा २६ माइल परको क्लिनिकमा । दिउसो त के मध्यरातिमा बोलाए पनि आउँछु भन्दिएँ । लौ जा ! 
मनभरी भय त्रास, कालको अट्टहास के के बोकेर गइयो । धन्न गाडीमा नारायण दाइको गीत बज्दै थियो । नारायण दाइको गीतसँगै पीडा हल्का हुनेरहेछ  । लाखौँ पल्ट सुनेको गीत झन् कर्णप्रिय लाग्दैथियो  । 
निर्धारित समयभन्दा छिटो पुगिएछ । कुर्ने र घुर्ने दुई चिज लास्टै मन नपर्ने मलाई । बल्ल समय आयो । के के हिसाब होला भनेको फेरी पिसाब नमुना देऊ पो भन्छ बा ! नमुनालाई बट्टामा बन्द गरेर आउनेबितिक्कै भित्र कोठामा लगियो । शरीरमा क्यामरा घुसाएर हेर्ने रे ! एउटा इन्जेक्सन घोचेर गई एउटी काली । दुख्यो भनेर सोध्दै थिई । त्यो सियोको घोचाइभन्दा हजार गुना दुखाइ क्यान्सर कुर्नुमा थियो । त्यस डाम्नीलाई के थाहा ? 
आधा घन्टासम्म त्यो प्रोसिजर टेबुलमा लम्पसार । सिलिङ हेर्नुबाहेक कुनै विकल्प थिएन । सिलिङ रंगहीन, आकारहीन थियो । लाग्यो आफ्नै जिन्दगीजस्तो सिलिङ रहेछ  । सिलिङमा गढ़िएको बत्ती कहिले मधुरो हुन्थ्यो कहिले चम्किलो । जिन्दगीलाई जिस्क्याउन प्रकाश पनि लागिपरेजस्तो । 
डाक्टर साहेब आउनेबित्तिकै प्रक्रिया सुरु गरिहाल्यो । ऐय्या आत्थु भन्न पाएको छैन सकियो रे ! काम तमाम भएपछि बल्ल डाक्टर साहबले पान्डोराको बक्सा खोल्न थाल्नुभयो  ।
क्यान्सरको कुनै सेल भेटिएन, कुनै इन्फेक्सन छैन, किड्नी ठीक छ, मुत्र नली र मुत्र थैली पनि सही सलामत छ  । डाक्टर उवाच - " सबै सन्देह दूर भयो । आत्तिनुपर्ने केही पनि छैन । सबै अंग राम्रै अवस्थामा छन्, राम्ररी काम गर्दैछन् । तपाईँ छ महिनामा एकपटक फेरि जँचाउन चाहिँ आउनुहोला ।"
दुई महिनाभन्दा बढी क्यान्सर कुरेपछि डाक्टरको यो वाणी त देववाणी नै सुनेजस्तो भयो  । मुर्दाघरबाट जर्‍याकजुरुक्क उठेजस्तो भयो । के गरूँ ? कसो गरूँ ? भयो । डाक्टरकोमा बुझाएको एकमुष्ठ डलरको बाहेक अरू सब पीडा छुमन्तर भए । भोक बेसरी लाग्यो । डाक्टरको अफिस अगाडि नै चिकेन चाउचाउको रेस्टुराँ रहेछ, एक थाल भात खाएँ । अनि ढ्याउ गर्दै जिन्दगीको नयाँ इपिसोड सुरु गर्न निस्केँ ।
नारायणदाइको गीत बज्दैथ्यो - पिउँदापिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म, आज सारा व्यथालाई सिध्याउन चाहन्छु म  । 
  
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC