बनेपा। काभ्रेपलाञ्चोकको चौबासस्थित चाँपपानी सामुदायिक वन र धारापानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि काटिएका सल्लाका रुख कुहिने अवस्थामा पुगेको छ । वन व्यवस्थापनको क्रममा भूकम्पपीडितलाई सहयोग पुर्याउने उद्देश्यले सल्लाका रुख काटिएकामा उनीहरुले घर बनाउनका लागि सल्लाको काठ कमजोर हुने भन्दै नलिएपछि वनमै रहेका काठ वर्षाको पानीले कुहिने अवस्थामा पुगेको हो ।
“काठ काटिएपछि भूकम्पपीडितको माग आएन र त्यो काठ बाहिर बिक्री वितरण गर्न हामीलाई निर्देशिकाले रोक लगायो तर अब त्यसलाई लिलामको प्रक्रियामा लैजान्छौँ,” जिल्ला वन कार्यालयका अधिकृत प्रेम खनालले भने । वन अधिकृत खनालले काटिएको सल्लाको काठ प्रतिक्युफिट १०० रूपैयाँ पर्ने उल्लेख गर्दै सरकारले यस वर्षबाट नै वैज्ञानिक वन व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरेको बताए ।
इनलिफ्ट परियोजनाका अधिकृत गोविन्द पौडेलले विगतमा अनुसन्धानका लागि वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढेको र अब त्यसलाई निरन्तरता दिइने जानकारी दिए । जिल्लाको नगरकोट आसपासका हिले जलजले सामुदायिक वनसहित तीनवटा र ढुंखर्क गाविसमा रहेको कालापानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अघि बढ्ने उनले बताए । काटिएका सबै काठ लिलामको प्रक्रियामा जाने पौडेलले बताए । इनलिफ्ट परियोजनाको आर्थिक सहयोगमा यस कार्यालयले दुई वर्षअघिदेखि वैज्ञानिक न व्यवस्थापनको कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
रासस