site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

मन्त्रिपरिषद्मा शुक्रवार भएको विस्तारलाई अस्थिरताको संकेतै भनिहाल्न हतार हुनसक्छ तर यसबाट सन्देश भने त्यस्तै प्रवाहित भएको छ । प्रधानमन्त्री केपी ओलीले सत्तारुढ कम्युनिस्ट पार्टीको नयाँ साझेदार दल संघीय समाजवादी फोरमलाई सरकारमा सामेल गराए । फोरमले प्रदेश नम्बर २ मा पनि संयुक्त सरकारको नेतृत्व गरेको छ । यही अवसरमा मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री नराख्ने भन्दै आएका प्रधानमन्त्री ओलीले एकैपटक दुई जनालाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् भने एक जना राज्यमन्त्रीलाई मन्त्रीमा पदोन्नति पनि गरेका छन् । संयुक्त घोषणापत्र जारी जरेर चुनावमा गएका दुई कम्युनिस्ट पार्टीको एकतापछि संसद्मा पूर्ण बहुमत भइसकेको थियो । त्यसमाथि फोरम थपिएपछि सरकारसँग संसद्मा दुईतिहाइ बहुमत भएको छ । त्यति, सुदृढ अवस्थामा हुँदाहुँदै पनि उपप्रधानमन्त्री नै दुईवटा नियुक्त गर्दा सरकार बाहिरबाट देखिएजस्तो बलियो छैनरहेछ भन्ने सन्देश प्रवाह भएको छ ।


तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकता भइसकेपछि प्रधानमन्त्री ओलीले सत्ता जोगाउनैका लागि सम्झौता गर्नुपर्ने अवस्था देखिँदैन । नयाँ पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘का बारेमा ढुक्क हुन नसके पनि तत्कालका लागि प्रधानमन्त्री ओलीलाई खतरा देखिँदैन । विपक्ष त झन् सरकारको नीति तथा कार्यक्रमलाई समेत समर्थन गर्ने निरीह अवस्थामा पुगेको छ । भारत र चीन दुवै प्रधानमन्त्री ओलीलाई नै रिझाउन र सके कजाउन उद्यत देखिएका छन् । हुनत, न प्रधानमन्त्री ओलीले व्यक्तिगतरूपमा जनतालाई आश्वस्त बनाउन सकेको देखिएको छ भने न सरकारको नीति तथा कार्यक्रम र बजेटले जनतामा उत्साह र भरोसा जगाउन सकेको देखिएको छ । तैपनि, विपक्ष वा विभिन्न स्वार्थ समूहले भनेजस्तो सरकारबाट जनता निराश र हतास भने भइसकेका छैनन् । स्पष्ट छ, अहिले अस्थिरताको सन्देश दिने गरी मन्त्रिपरिषद विस्तार गर्नु आवश्यक थिएन ।

Agni Group

 
मधेसी दललाई कम्युनिस्ट गठबन्धनमा ल्याउन गरिएको हतारको कारण चर्चा भएजस्तै भारतलाई रिझाउनुमात्र भने नहुनसक्छ । फोरमका अधिकांश नेताहरूको पृष्ठभूमि पनि कम्युनिस्ट नै भएकाले कम्युनिस्ट ध्रुवीकरणको प्रयासका रूपमा पनि यसलाई लिइएको हुनसक्छ । यसैगरी दुई नम्बरमा सत्ता समीकरण परिवर्तन गरेर देशभर एकछत्र शासन गर्ने कम्युनिस्ट चाहना पनि यसमा प्रतिविम्बित भएको हुनुपर्छ । तैपनि,सम्बन्धित पार्टीका नेता कार्यकर्ता तथा प्रदेश नम्बर २ को सत्ता साझेदार दलबाहेक यो अरूको चिन्ता वा चासोको विषय हैन । तर, फोरम एक्लै संघीय सरकारमा सामेल भएपछि प्रदेश नम्बर २ को सत्ता समीकरण भने पक्कै पनि कमजोर भएको छ । यसले कम्तीमा पनि प्रदेश नम्बर २ मा त अस्थिरताको बीउ रोपिसकेको देखिन्छ । संघीयता कार्यान्वयनको आरम्भमै यस प्रकारको चलखेलले सकारात्मक सन्देश पक्कै जाँदैन । 


पार्टीभित्र पनि तुष्टीकरणको क्रम सुरु भएपछि रोकिन कठिन हुनेछ । दुई जना उपप्रधानमन्त्री बनाउन संविधानले छेक्तैन भने चार वा छ जनालाई उपप्रधानमन्त्री बनाउन पनि संविधानले रोक्तैन । प्रधानमन्त्री ओलीले अगिल्लो कार्यकालमा आधादर्जन उपप्रधानमन्त्री बनाएर कीर्तिमान कायम गरिसकेकै हुन् । त्यसो त दुईतिहाइ बहुमत पुगेकाले संविधान संशोधन गरेर मन्त्रीको सीमा हटाए पनि हुन्छ । तर, व्यक्तिको अहम् तुष्टिका लागि पद्धति भत्काउन थालियो भने त्यो अन्त्यहीन हुन्छ र मुलुकले त्यसको दुष्परिणाम लामो समयसम्म सहनुपर्छ । निर्वाचनबाट प्राप्त जनादेश भोगबन्धक नभएर दृष्टिबन्धकमात्रै हो । अहिलेको तुष्टीकरणले सरकार बलियो भएको हैन अस्थिरता र अराजकताको सन्देश प्रवाह भएकोे छ । औचित्य सिद्ध हुन नसक्ने मन्त्रिपरिषद् विस्तारबाट मुलुकमात्र हैन प्रधानमन्त्री ओलीकै पनि हित हुने देखिँदैन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC