यो ‘हरि’को कथा हो

यो ‘हरि’को कथा हो

– नरेश फुयाँल


कस्तो चलचित्र राम्रो ?

यसलाई अंग्रेजहरू ‘मिलयिन डलर क्वेस्चन’ भन्छन् । अर्थात् यसको उत्तर पाउन निकै कठिन छ । संस्कृति, भाषा, परम्परा र रुचिअनुसार भूगोल, व्यक्ति र उसको बुझाइका आधारमा चलचित्रको परिभाषा पनि फरक हुन सक्छ । यसको अर्थ राम्रो चलचित्रको परिभाषा त होला तर सर्वमान्य परिभाषा छैन भन्ने हो ।

राम्रो चलचित्रबारे अभिनेत्री लिया सिडुको विचारलाई नजरअन्दाज गर्न सकिँदैन । उनी भन्छिन्, “चलचित्रको भाषा विश्वव्यापी भाषा हो। मलाई लाग्छ— राम्रो चलचित्रले आफ्नै सिनेम्याटिक ल्यांग्वेज (फिल्म भाषा) निर्माण गर्छ । मेरो ध्यान चलचित्रले बोक्ने संवेदना र भावनामा हुन्छ ।”

चलचित्रप्रति लियाको यो धारणा निर्देशक सफल केसीलाई थाहा थियो या थिएन— त्यो त उनैलाई थाहा होला तर उनले झन्डै ५ वर्षअघि नै ‘छड्के’मा सह–निर्माण नियन्त्रक भएर काम गर्दैगर्दा नोटिस गरे बिन्दु अर्थात् विपीन कार्कीलाई । सोचे— कुनै समय यही विपीनलाई लिएर एउटा खतरा चलचित्र बनाउँछु ।

सोच्नलाई समय त लाग्ला तर पैसा पर्दैनथ्यो । सपना देख्नलाई के थियो र ! त्यसलाई आकारमा ढाल्न पो महाभारत !

‘मुखौटा’मा स्क्रिनप्लेको काम गरिरहेका थिए प्रतीक गुरुङ । त्यही बेला भेट भयो उनीसँग सफलको । “चलचित्रमा के गर्नेभन्दा पनि के नगर्ने भन्ने कुरा धेरै हुन्थे,” सूत्रबद्ध चलचित्रतर्फ संकेत गर्दै सफल भन्छन्, “त्यस्ता कुराले फ्रस्टेसन जस्तो भइरहेको थियो । त्यही बेला प्रतीक र मैले एउटा कथामा डिस्कसन सुरु गर्‍यौं ।”

शुरुमा कथाको अन्तिम प्लट आयो । छलफल गरे । गज्जब लाग्यो दुबैलाई । अन्तिमबाट शुरु भएको कथा क्रमशः अगाडितर्फ आउँदै गयो । पूरा दुई वर्ष लाग्यो कथाको पहिलो सिनसम्मको यात्रा तय गर्न सफल र प्रतीकलाई ।

चलचित्रको कथा तयार भयो । गुरुकुलदेखि चिनेका विपीनको विकल्प सफलको नजरमा परेको थिएन । उनले कथा सुने । अनौठो लाग्यो रे उनलाई ! तर मजाको ! जिजुबादेखिको रोल आफैंले निभाउनु पर्ने ।

चुनौतीसँग खेल्न रुचाउने विपीनले नाइ भन्ने कारणै थिएन । शुरुमै ‘डन’ गरे । ‘छड्के’देखि ‘हरि’सम्मको यात्रामा उनका अनौठा तर अब्बल चरित्र छन् । त्यसकै निरन्तरताका रूपमा लिए उनले ‘हरि’लाई । उनी अक्सर निर्देशकले दिएको चरित्र समाजमा खोज्छन् । र, आफूलाई त्यसमै डुबाउँछन् । समय जति लागोस्, खर्चिन्छन् । मेहनत जति लागोस्, तम्सिन्छन् । अन्ततः चरित्रलाई जीवन्त पार्छन् उनी ।

त्यसैले कतिपय उनको अभिनयलाई अभिनयभन्दा पनि ‘क्यारिकेचर’ भनी टिप्पणी गर्छन् । तर, विपीन यसमै रमाउँछन् । आज हेरेर भोलि बिर्सिने घिसिपिटी चरित्रमा बस्नुभन्दा दीर्घजीवी चरित्रको खोजीमै रम्छन् विपीन ।

शायद उनलाई थाहा छ— अभिनेत्री, लेखक तथा निर्देशक क्रिस्टिन स्टुअर्टको चलचित्रप्रतिको धारणा । स्टुअर्ट भन्छिन्, “सबैभन्दा पहिलो कुरा त महान् चलचित्र हुनका लागि कुनै पनि चलचित्र पर्फेक्ट हुनु पर्दैन । सबै कुरा ट्याक्कै नमिलेका चलचित्र पनि राम्रा हुन सक्छन् । यो ठूलो समुद्रबाट सिपी टिपेजस्तो हो । तपाईंले टिपेको सिपी सबैभन्दा राम्रोचाहिँ हो कि होइन, थाहा हुँदैन। चलचित्रले दर्शकको मनलाई छुनुपर्छ । दर्शकको संवेदनालाई हल्लाउनुपर्छ । आजको दर्शकका लागि मात्र होइन, अनन्तकालसम्म दर्शकलाई मन पर्ने हुनुपर्छ भन्ने छैन । कमसेकम १० वर्षपछि हेर्दा पनि मानिसलाई छुने चलचित्र भयो भने त्यो राम्रो हो ।”

विपीनका चरित्र ‘छड्के’देखि ‘हरि’सम्म आइपुग्दा सम्झनयोग्य बने । सामान्य भूमिकामा रहँदा पनि उनको चरित्रले केन्द्रीय चरित्रलाई छायामा पार्ने हैसियत राखे । ‘पशुपतिप्रसाद’मा उनको रोल (भस्मे) सामान्य द्वन्द्व सिर्जनाका लागि मात्रै उभ्याइए पनि त्यो पशुपतिप्रसादजत्तिकै सशक्त रह्यो ।

विपीनले यो पटक पनि आफूलाई विपीनका रूपमा देखाउन चाहेनन् । बिन्दु, भस्मे, फणिन्द्र, पित्तले डन, गोल्डी हुँदै हरिसम्म आइपुग्दा उनलाई कसैले पनि विपीन भनेर चिनेन । उनी चरित्रलाई नै स्थापित गर्न लागे ।

“फोरफादरका लागि हामीले विपीनबाहेक अरुलाई देखेनौं । त्यसैले हामीले उसैलाई लिएका हौं,” निर्देशक सफल भन्छन्, “उसैलाई हेरेर हामीले यो कथा लेखेका हौं । यदि अर्को पात्रका लागि हामीले कथा लेखेका भए अहिलेको ‘हरि’ बन्दैन पनि थियो होला,” अर्का निर्देशक प्रतीकले सुनाए ।

० ० ०

एउटै व्यक्ति विपीनलाई फरक उमेर, स्वभाव र शैलीको व्यक्तिमा ढाल्नु थियो सफल र प्रतीकलाई । फरक–फरक व्यक्ति नलिएर किन विपीनलाई नै यो चुनौतीको भारी बोकाइदिए उनीहरुले ?

“जेनेटिक हिसाबले पनि बाउ–छोराबीच धेरै कुरा मिल्ने भएकाले विपीन एक्लैलाई रोजेका हौं । उहाँसँग हाम्रो भरोसा थियो,” सफल भन्छन्, “हाम्रो भरोसालाई उहाँले सफल पारिदिनुभयो ।”

विपीन अर्थात हरि घरि एउटै महिलालाई आमा भन्दै ल्याडप्यारले काखमा टाउको बिसाउँछन्, छिनमै तिनै महिलासँग श्रीमान्का रूपमा रोमान्स गर्छन् ।

कस्तो हुँदोरहेछ छिनभरमै गरिने फरक व्यवहार ? जवाफमा विपीन भन्छन्, “एकैछिनमा म आफैं यो सत्य होइन, त्योचाँहि सत्य हो भन्छु, फेरि हैन सत्य त त्यही हो, यो हैन भनेर भन्छु । एकैछिनमा बुवा भएर रोमान्स गर्ने म एकैछिनमा त्यही पात्रलाई आमा भनिरहेको हुन्छु । कलाकारिता फोहोरी पेशा पनि हो,” उनी हाँस्न नपाउँदै छेउमै रहेका सफल र प्रतीक खित्का छोडेर हाँस्छन् ।

भनिन्छ— एउटा सफल चलचित्रकर्मीले चलचित्र निर्माणपूर्व नै पूरै चलचित्र देख्छ । पहिलोपटक विपीनलाई पनि यस्तै भएछ ‘हरि’मा ।

“मैले पहिलोपटक यो चलचित्र नबन्दै यस्तो बन्छ भनेर पहिले नै पूरै चलचित्र देखेको । स्टोरीमा पर्याप्त गृहकार्य भयो र निर्देशक तथा कथाकार स्पष्ट भएर बुझाउन सके र कलाकारले मेहनत ग¥यो भने उसले चलचित्र खिच्नुअघि नै देख्छ,” विपीन भन्छन्, “हामीले छायांकन नगर्दै देखेको चलचित्र जस्तो थियो, त्यस्तै बन्यो हरि ।”

मंगलबार साँझ जय नेपाल हलमा ‘हरि’को प्रिमियर थियो । समीक्षक तथा कलाकारको उल्लेख्य उपस्थिति थियो । चलचित्रबारे फरक–फरक दृष्टिकोण थियो समीक्षकबीच नै । कोही राम्रो भनिरहेका थिए, कोही नराम्रो । व्यक्तिपिच्छे फरक–फरक अर्थ थियो चलचित्रको अनुमानित उद्देश्य र प्रस्तुतिबारे ।

“हाम्रो उद्देश्य भनेको त्यही हो— चलचित्रबारे दर्शकको फरक–फरक धारणा बनाउने । यस अर्थमा हामी सफल भइसकेका छौं,” निर्देशक प्रतीकमा उत्साह सञ्चार हुन्छ, “चार वटा गीत, चार वटा फाइट, लभ रोमान्स त सबै चलचित्रमा हुन्छ । अब नेपाली दर्शक पनि बुझ्ने भइसकेका छन् भनेर हामीले यो चलचित्र निर्माण गरेका हौं ।”

० ० ०

विपीनलाई करोड कल्बका चलचित्र खेल्नु छैन । नयाँ रेकर्ड राख्नु छैन । आफूबाट अपेक्षा गरेका दर्शकलाई केही नयाँ कुरा दिनु छ । चलचित्र उद्योगमा नयाँ छाप छोड्नु छ ।

“करोड क्लबको चलचित्र हैन ‘हरि’ । हामीले यो चलचित्र बनाउँदा त्यस्तो सोच्दै सोचेनौं । करोड क्लबका बारेमा सोचेको भए हामी दुई–चार वटा हँसाउने सिन राख्थ्यौं, एउटा आइटम राख्थ्यौं, दुई–चार वटा चुट्किला भन्दिहाल्थें, म गति छोड्दिन्थें, भइहाल्थ्यो नि हैन चलचित्र ? त्योमात्रै हो चलचित्र ?”

सफल र प्रतीक मुसुमुसु हाँसिरहन्छन् । गम्भीर मुद्रामा विपीन थप्छन्, “मेरो दायित्व के हो ? चलचित्रबाट अन्नपानी खाइरहेका छौं । परिवारका इच्छा–आकांक्षाहरू पूरा गरिरहेका छौं । संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी अलिकति पनि अगाडि नबढ्ने ? कोसिस त गरौं । आफैंले आफ्नो दायित्वबोध गरौं भनेर मैले यो चलचित्र गरेको हुँ ।”

गीत मन पराउनेदेखि त्रिभुवन विश्वविद्यालयका प्रोफेसरसम्म उनका दर्शक हुन् । “सबैखाले दर्शकका लागि मैले चलचित्र गर्नुपर्छ भनेर ‘हरि’ गरेको हुँ । सीमित दर्शक नै किन नहोऊन्, म सन्तुष्ट छु ।”

० ० ०

सिर्जनालाई बजारले होइन, त्यसको गुणवेत्ताले निर्धारण गर्नुपर्छ र गर्छ पनि । बजारअनुसारको सिर्जनाभन्दा पनि सिर्जनाले बजार खोज्न÷बनाउन सक्नुपर्छ । आफ्नो कलाले बजार बनाउन सक्ने सर्जक सर्वकालिक हुन्छ । त्यही प्रयास ‘हरि’ भएको निर्देशकद्वय सफल र प्रतीक बताउँछन् । 

चलचित्रले कति व्यापार गर्छ भन्नुभन्दा पनि चलचित्रले कस्तो प्रतिक्रिया पाउँछ, त्यो आफ्ना लागि महत्वपूर्ण रहेको उनीहरूको तर्क छ । “यो चलचित्र चलोस् या नचलोस्— त्यो आफ्नो ठाउँमा छ तर हामी यस्ता चलचित्र बनाउन छाड्दैनौं । कसैले लगानी गरोस् या नगरोस्— हामी यस्ता चलचित्र बनाइरहन्छौं,” उनीहरू भनिरहेका थिए ।

० ० ०

पर्दामा ‘नमस्ते !’ भन्दै दर्शकलाई स्वागत गर्ने हरिका विभिन्न कथा छन् । कतै आफैं सिर्जित कथा, कतै अरुद्वारा थोपरिएका कथा । अनि कतै लुकाउन खोज्दाखोज्दै छरपष्ट भएका कथा ।

सत्यनजिक रहेर थोरै काल्पनिक ‘हरि’को कथा पर्दामा देखिए पनि ‘हरि’ निर्माणको यथार्थ कथा भने दर्शकले थाहा पाउँदैनन्, जुन बेग्लै छ ।

चलचित्रको कथा तयार भयो, कलाकार छानिए । चाहियो लगानीकर्ता अर्थात प्रोड्युसर । सफल र प्रतीकको यो कथा भने ‘हरि’को पर्दाको कथाभन्दा कम पेचिलो छैन । कथा लेखिसकेपछि उनीहरूले निर्माता खोज्न थाले । कथा सुनेपछि राम्रो भन्ने निर्माताहरू अर्को दिन कसले कान भर्दिन्थ्यो, ‘चित्त बुझेन’ भन्थे । कोही राम्रो छ भन्थे तर लगानी गर्न तयार हुँदैनथे ।

औंला भाँच्दा एउटा ‘हरि’ बनाउन सात जना निर्माता तयार भए तर उनीहरूका आ–आफ्नै शर्त थिए ।

“कोही हिरोमा फलानो भन्थे, कोही आफ्नो छोरोलाई खेलाउन पाए मात्रै लगानी गर्छु भन्थे, कोही त आफैंलाई हिरो बनाउने भए लगानी गर्छु भन्ने भेटिए,” छेउमै रहेका विपीनले थपे, “त्यतिमात्रै होइन, कोही त भाञ्जोलाई हिरो बनाए लगानी गर्छु भन्ने पनि भेटिए ।”

प्रतीकले थपे, “यसरी शर्त राख्ने सात जनामा अहिले चलचित्र निर्माण गरिरहेका पाँच जना पुराना निर्माता हुन् भने दुई जना नयाँ थिए ।”

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

एनआईएफएफ चलचित्र महोत्सवः ३१ देशका ५९ चलचित्र प्रदर्शन हुने

काठमाडौं । एनआईएफएफ चलचित्र महोत्सव–२०१९ हुने भएको छ । महोत्सव २०७५ फागुन ९ गतेदेखि १३ गतेसम्म ५ दिन काठमाडौंमा आयोजना

नेपाली चलचित्रलाई प्राथमिकता दिँदै "फिल्मी फुच्चे" एप सार्वजनिक

काठमाडौं । नेपालका सबै चलचित्रप्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा "फिल्मी फुच्चे" एप सार्वजनिक

निर्मला पन्त हत्याको कथामा बनेको चलचित्र ‘कोपीला’को इन्डक्ल्याप

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथामा आधारित चलचित्र ‘कोपिला’को छायांकन सकिएको छ ।

विपिनले १७ लाखमा साइन गरेको चलचित्र ‘फनफनी बन्छ ?

काठमाडौं । विपिन कार्की मुख्य भूमिकामा रहने भनिएको चलचित्र ‘फनफनी’ लामो समय वितिसक्दा पनि सुटिङमा नगएपछि विपिनले अब उक्त चलचित्रमा