site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शरणका हकदार भेनेजुएलिन

भेनेजुएला पुनः चर्चामा छ । राष्ट्रपति निकोलस मदुरोले चर्को धाँधली गरेर आफैँलाई मे २० मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी घोषित गराए । सरकारको मुठ्टीमा रहेका निर्वाचक परिषद्ले तीनवटा मुख्य विपक्षी दल र दुई जना प्रमुख राजनीतिक नेताहरूलाई अयोग्य घोषित गरेकाले अधिकांश विपक्षीले चुनाव प्रक्रिया बहिष्कार गरे । चुनावमा सहभागी भएका अरू दुई जना उमेदवारले निर्वाचनमा भएका धाँधलीका कारण परिणामलाई मान्यता दिएनन् । यसैगरी अमेरिका, क्यानडा, युरोपेली संघका साथै ल्याटिन अमेरिकाका अधिकांश मुलुकहरूले पनि निर्वाचन परिणाम अस्वीकार गरे ।

मतदानका दिन राजनीतिक दलको कार्यालयमा दर्ता नभए सामाजिक सुरक्षाको लाभबाट वञ्चित हुनुपर्ने धम्की दिइएको भए पनि ठूलो संख्यामा मतदाता अनुपस्थित रहे । चुनवको परिणाम त्यस्तै हुन्छ भन्नेमा कहिल्यै शंका थिएन तर त्यस घटनाले मदुरोको वैधताको सबै पाखण्ड ध्वस्त भयो ।

यसैबीच भेनेजुयलाको अर्थतन्त्र ध्वस्त हुने क्रमको कहालीलाग्दो दर कायमै रहेको छ । सन् २०१८ को अप्रिलमा खाद्य पदार्थको मूल्य सय गुना बढिसकेको छ भने अगिल्लो महिनामा यसमा २०० प्रतिशत वृद्धि भएको थियो । सन् २०१७ को जुलाइका तुलनामा अमेरिकी डलर १०० गुना महँगो भएको छ । तेल निर्यातक मुलुकहरूको संगठन ओपेकको मासिक प्रतिवेदनअनुसार तेलको उत्पादनमा अप्रिल २०१८ मा बितेका १२ महिनामा ५ लाख २० हजार ब्यारेल प्रतिदिन अर्थात् २७ प्रतिशत कम भएको छ । अहिले तेलको उत्पादन मदुरोका पूर्ववर्ती तथा नेता ह्युगो चावेजले सन् १९९९ मा सत्ता लिएका बेलाभन्दा १४ लाख ब्यारेल प्रतिदिन कम भइसकेको छ । सामान्य कामदारको ज्यालाबाट ९०० क्यालोरी बराबरको खाद्य वस्तु किन्न पनि सकिँदैन । त्यतिले एक जनालाई त पुग्दैन भने परिवारको कुरै भएन । भेनेजुएलाको क्याथोलिक परोपकारी संस्था क्यारिटासले यो वर्ष २ लाख ८० हजार बालबालिका अनिकालका कारण मर्ने अनुमान गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो अवस्थामा भेनेजुएलिएनहरू छिमेकी अमेरिकी मुलुकहरूमा अस्वाभाविक गतिमा शरणार्थीका रूपमा ओइरिनु आश्चर्यको विषय होइन । कुनै बेला विदेशमा आरामदायी जिन्दगीको खोजीमा हवाईजहाजबाट अमेरिका, स्पेन, र पनामा जाने गर्थे भने अहिले निराश भएर कोलम्बिया र ब्राजिलको सीमासम्म पैदलै जान वा डुंगाबाटै भए पनि क्युराकाओ, अरुबा, त्रिनिडाड र टोबागोतर्फ जान खोज्छन् । 

बाहिर जानेको अनुमान : कोलम्बियाले नियमनको प्रयासमा राखेको अभिलेखअनुसार वैधरूपमा प्रवेश गर्ने भेनेजुएलिएनको संख्या गत महिनासम्म २ लाख ३ हजार पुगेको छ भने गत वर्ष यसरी दर्ता हुनेको संख्या ६३ हजार थियो । तर, दर्ता नगरिएका कति कति होलान् ? कोलम्बिया सरकारले सन् २०१७ को अन्त्यसम्ममा ५ लाख ५० हजार जति भेनेजुएलिएनहरू आफ्नो मुलुकमा हुनसक्ने ठहर गरेको छ । त्यसपछि कति जना कोलम्बिया पसे होलान् ?

Global Ime bank

भेनेजुएलाबाट पलायनको संख्या मापन गर्न निकै कठिन छ । यसलाई मापन गर्न हामी (यस लेखका लेखक द्वय) दुई जनाले टर्कीको कोच युनिभर्सिटी अफ इस्तान्बुलका मुहम्मद यिल्दिरिमसँग सहकार्य गरी ट्विटरको सूचनाका आधारमा एउटा विधिको विकास गर्न प्रयास गरिरहेका छौँ । सन् २०१६ मा भेनेजुएलिनहरूमध्ये १६ प्रतिशतको ट्विटर एकाउन्ट रहेको सन्दर्भमा ट्विटरको सूचना उपयुक्त हुने देखिन्छ । किनभने ट्विटरले प्रयोगकर्ताको वर्तमान ठेगाना पहिल्याउन सहयोग गर्छ । ट्विटर प्रयोगकर्ता जनसंख्याको औसत समूह नभए पनि प्रतिनिधिमूलक भने छन् । तिनको भौगोलिक वितरण र सम्पूर्ण जनसंख्याका बीचमा सहसम्बन्ध रहेको छ ।

ट्विटरबाट संकलन गरिएको विश्वको १ प्रतिशत ट्विटको नमुनालाई केलाउने क्रममा हामीले २०१७ को फेबु्रअरीदेखि अप्रिलका बीचमा ट्विट गर्नेले २०१८ को फेब्रुअरी र अप्रिलका बीचमा कहाँबाट ट्विट गरे भनेर हेर्‍यौँ । हामीले पहिले भेनेजुएलाबाट मात्र र पछिल्लो अवधिमा बाहिरबाटमात्र ट्विट गर्नेहरूको प्रवृत्ति केलायौँ । यसमा हामीले पहिलो अवधिमा विदेशबाट मात्र र दोस्रो अवधिमा भेनेजुएलाबाट मात्र  ट्विट गर्नेहरूलाई घटायौँ । शरणार्थीमा अरूभन्दा कम ट्विट प्रवत्ति हुने हुनाले १ प्रतिशतको नमुनामा उनीहरूलाई खोज्न हामीलाई कठिन हुने यथार्थ पनि हामीले मनन गर्‍यौँ । यी सबै केलाएपछि हाम्रो अनुमान के छ भने सन् २०१७ को अप्रिलदेखि  २०१८ को फेब्रुअरीका बीचमा खास आप्रवासन ७.३७ प्रतिशत रहेको थियो भने यो वार्षिक ९.७ प्रतिशतको दरमा पुग्छ ।

भेनेजुएलाको जनसंख्या ३ करोड मान्दा २९ लाख जना प्रतिवर्ष पलायन भएको देखिन्छ । यसबाहेक, यी आप्रवासीको भौगोलिक उपस्थिति भने पहिलेभन्दा फरक देखिएको छ । अहिले यिनमा २४ प्रतिशत कोलम्बियामा छन् भने चिली र अर्जेन्टिनामा पन्ध्रपन्ध्र प्रतिशत तथा अमेरिका, स्पेन, पेरु र इक्वेडर सबैमा पाँच प्रतिशत रहेका छन् । आर्थिक अवस्था तीव्र गतिमा बिग्रने क्रम नरोकिएकाले यो व्यापक पलायनको गति अझ बढ्ने अपेक्षा स्वाभाविकै हुन्छ ।

भेनेजुएलाका बारेमा के गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायले निर्णय गर्न सकेको छैन । युरोपेली संघ र भेनेजुएलाका केही राजनीतिक शक्तिहरू भेनेजुएलामा नयाँ निर्वाचनको माग गरिरहेका छन् तर मदुरो सत्तामा रहुन्जेल स्वच्छ निर्वाचन हुनसक्तैन । अरू यसभन्दा कडा कदमको पक्षमा देखिन्छन् । तर, यसबीचमा भेनेजुएलिएनको बहिगर्मनलाई कसरी सम्बोधन गर्ने ?

संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी निकाय युएनएचसीआरले भेनेजुएलिएनहरूलाई शरणार्थीको मान्यता प्रदान गर्न आग्रह गरिरहेको छ । सन् १९८४ को कार्टाजेना घोषणापत्रले पनि यस्तै प्रतिबद्धता प्रकट गरेको छ । तर, यस क्षेत्रका मुलुकहरूले भने शरणार्थीको संख्या ठूलो हुने र त्यसले मुलुकको अर्थतन्त्रमा असर पर्ने डरले शरणार्थीको मान्यता दिन मानिरहेका छैनन् । युएनएचसीआरलाई थप निराश तुल्याउँदै त्रिनिडाड र टोबागोले त शरणार्थीलाई फिर्तासमेत पठाइदिएका छन् ।

भेनेजुएलाको राजनीतिक संकट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई समय लाग्न सक्छ । तर, भेनेजुएलिएनहरूले भने त्यति समय पर्खन सक्तैनन् । मुलुकहरूले कूटनीतिक समाधानका लागि आग्रह गरेको र मानवीय सहायता उपलब्ध गराएको तर मदुरो शासनले सबै अस्वीकार गरेको भन्न सक्छन् । तर, यस क्षेत्रका देशहरू अन्तर्राष्ट्रिय कानुन मान्न र गलतलाई गलत भन्न तथा भेनेजुएलिएनहरूलाई शरण दिन बाध्य छन् । त्यसो गर्दा गल्ती सच्याउने काम हुन्छ भने त्यसबाट तिनलाई लाभ पनि हुनेछ । भयमुक्त वातावरणमा बाँच्न पाए आश्रय खोज्दै आउनेहरूले आफ्नो ऊर्जा र सिर्जनशीलता प्रयोग गरेर काम गर्न र उत्पादकत्व बढाउन लागिपर्नेछन् । 

(हाउसम्यान भेनेजुएलाका पूर्वमन्त्री तथा हावर्ड केनेडी स्कुलमा अर्थशास्त्रका प्राध्यापक हुन् भने हिन्ज किल सेन्टर फर ग्लोबलाइजेसनमा महाविद्यावारिधि शोधार्थी हुन् )

(प्रोजेक्ट सिन्डिकेट र बाह्रखरीको सहकार्यमा )
Copyright: Project Syndicate, 2018.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC