site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
इतिहास बनाउनभन्दा जोगाउन कठिन हुन्छ भन्ने भनाइ नेपाली कांग्रेस र यसका भातृ भगिनी संगठनहरूमा बढी नै चरितार्थ हुन्छ । यसो त कांग्रेस आफैँ पनि अहिले इतिहासको बोझले थिचिएको छ तर नेताहरूले इतिहासको ब्याज पनि राम्रैसँग असुल गरिसकेका छन् । अरू संगठनहरू भने अपेक्षाकृत गौरवपूर्ण इतिहास भएर पनि अहिले पार्टीको छायामा परेका छन् । नेपाल महिला संघ पनि यसको अपवाद हुन सकेन । नेपाली कांग्रेसभन्दा पुरानो संगठन भएर पनि नेपाल महिला संघ बल्ल तेस्रो अधिवेशन गर्न लागेको छ । अधिवेशन मूलतः नेतृत्व चयनमा केन्द्रित छ । पार्टीका गुटहरूको प्रतिनिधित्व गर्दै उमेदवारी दिइने लगभग निश्चित छ । महिला अधिकारका लागि स्थापित मुलुकको लोकतान्त्रिक संघर्षमा उज्ज्वल पदचिह्न भएको यो संघ पार्टीका नेताहरूको शक्ति प्रदर्शनको मञ्च बन्नु समग्र लोकतान्त्रिक आन्दोलनकै लागि दुःखको विषय हो ।
 
मंगलादेवी सिंह बाँचुन्जेल नेपाल महिला संघ उनको पर्यायका रूपमा रह्यो । नेपालमा लोकतन्त्र स्थापनाका लागि मंगलादेवी सिंहको योगदान कसैको भन्दा कम छैन । यसैगरी चर्का नारीवादी नारा नलगाए पनि नेपालमा पुरुषसँगै महिलालार्इ पनि मताधिकार दिलाउन मंगलादेवी सिंहको भूमिका इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ । मंगलादेवीले महिला संघलार्इ कहिल्यै पनि पार्टीको छायामा पर्न दिइनन् । गणेशमान सिंहकी पत्नी भएर पनि पार्टी र संघमा मंगलादेवीको भूमिका स्वतन्त्र र अलग्ग रह्यो । यति गौरवमय इतिहास भएको नेपाल महिला संघ अहिले महाधिवेशन गर्नैका लागि पनि पार्टीका नेताहरूको कृपामा निर्भर हुनु लाजमर्दो विषय हो । महिला संघलाई पार्टीबाट पदमा पुग्ने भर्‍याङमात्र बनाउनेहरू नेतृत्वमा स्थापित भएपछि संगठन ओझेलमा पर्नु अस्वाभाविक होइन । यसले समाजमा नेपाल महिला संघको छवि धमिलो बनाएको छ । नेकपा (एमाले)ले राष्ट्रपति पदमा महिलालार्इ उठायो । एनेकपा (माओवादी) केन्द्रले सभामुख पदमा महिला नेतृलार्इ स्थापित गरायो । तिनका तुलनामा नेपाली कांग्रेसले महिलाहरूको उचित मूल्यांकन गरेको देखिँदैन । यसले महिला संघको प्रभाव सर्वसाधारण जनतामा विशेषगरी नेपाली महिलामा खस्केको छ । महिला संघलार्इ नेताहरूको खल्तीको संगठन र शक्ति परीक्षणको थलो बनाइउन्जेल यसमा परिवर्तन पनि हुनेछैन ।
 
यस महाधिवेशनलार्इ इतिहासको गौरव पुनः हासिल गर्ने अवसरका रूपमा प्रयोग गर्न सकेमात्र नेपाल महिला संघको खस्कँदो साख जोगिन्छ । महाधिवेशनमा नेतृत्व चयनमात्र हैन नेपाली महिलाको परिवर्तित भूमिका, स्थान र जिम्मेवारीका विषयमा पनि गहन छलफल हुनुपर्छ । महिला संघ नयाँ पुस्ताको आकर्षण बन्न सकेको देखिँदैन । कांग्रेस परिवारका महिला सदस्यबाहेक अरू महिला पनि संघमा आकर्षित हुने अवस्था बनाइएको छैन । महिला संघ सिद्धान्त र व्यवहार दुवैमा लोकतान्त्रिक आदर्शको धरोहर बन्न सक्नुपर्छ । अनिमात्र देशमा लोकतन्त्रको पूर्ण अभ्यास हुनसक्छ । अहिलेका महिला नेतृहरूबाट धेरै अपेक्षा गर्न सकिँदैन । तर, पार्टीका नेताको इसारामा समर्पित र सञ्चालित हुन छाडेमात्रै पनि महिला संघले धेरै बाधा पार गर्न सक्नेछ । पार्टीको पदका लागि भर्‍याङमात्र बनाउने हो भने नयाँ पुस्तालाई नेतृत्व सुम्पेर पार्टी संगठनमै केन्द्रित हुनु उचित हुनेछ । महिला नेतृहरू पार्टी नेता र तिनको गुटबन्दीको गोटी हैनन् भने चुनावमा गुटगत प्रतिस्पर्धा गर्नुको साटो स्वस्थ र वैचारिक प्रतिस्पर्धा गर्नुपर्छ । अहिलेकै जस्तो हुने हो भने नेपाल महिला संघको कानुनी वैधता र अस्तित्व त रहला तर नैतिक वैधता तथा आत्मा समाप्त हुनेछ ।          
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC