मैले सधैँ आपत्तिजनक विचारहरू व्यक्त गर्नेको समेत अभिव्यक्ति स्वतन्त्रताको प्रतिरक्षा गरेको छु । परन्तु, संयुक्त राष्ट्रसंघीय न्यायालयले सर्बियाली राजनीतिकर्मी भोजिस्लाव सेसेल्जलाई सन् १९९० को दशकको आरम्भमा पूर्व युगोस्लाभियामा उग्रराष्ट्रवादी भाषण गरेर उत्तेजना फैलाएको अभियोगमा १० वर्षको कैद सजाय दिँदा भने मैले सराहना गरेँ ।
अभिव्यक्ति स्वतन्त्रता आधारभूत मौलिक अधिकार हो । त्यसैले मैले सन् १९७७ मा अमेरिकन सिभिल लिवर्टीज युनियनको अध्यक्ष छँदा आफूलाई ‘अमेरिकन नाजी’ भन्ने समूहले नाजी यातना पीडितहरूको ठूलो संख्यामा बसोवास रहेको इलिनोइसको स्कोकीमा प्रदर्शन गर्न खोज्दासमेत तिनको अभिव्यक्ति स्वतन्त्रताको प्रतिरक्षा गरेको थिएँ ।
त्यसमा उत्पन्न विवाद कैयौं मुद्दाका रूपमा अदालत पुग्यो तर युनियनले सबै मुद्दा जित्यो । मुद्दा टुंगो लागिसकेपछि पनि धेरै वर्ष विवाद चली नै रह्यो र केहीले यसलाई अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अडान भनेर प्रशंसा गरे भने केहीले त्यसलाई गलत ठाने । अहिले पनि त्यस्तै अवस्थामा परेँ भने म त्यही अडान लिन हिचकिचाउँदिन ।
सेसेल्जका हकमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले गरेको सजाय सही थियो । सर्बियन र्याडिकल पार्टीका अध्यक्ष रहेका सेसेल्ज क्रोयट र बोस्नियनबीच द्वन्द्व चर्काउन उग्रराष्ट्रवादी भाषण दिएको अभियोग उनीमाथि लागेको थियो । युगोस्लावियाका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको सुरुको इजलासले सेसेल्जलाई मुक्त गर्यो । पुनरावेदनमा पनि न्यायालयले प्रारम्भिक अदालतको एउटाबाहेक सबै निर्णयहरू सदर गर्यो । तर, हर्टकोव्जीमा सन् १९९२ को मे ६ मा एउटा जुलुसमा दिएको भाषणका लागि भने सेसेल्जलाई दोषी ठहर्यायो ।
अदालतका अनुसार सेसेल्जले आफ्नो भाषणमा ‘क्रोयटहरूका लागि हर्टकोव्जीमा स्थान नभएको‘ घोषणा गर्दै सर्ब सहभागीहरूलाई त्यो गाउँ र वरपरको क्षेत्रमा ‘बाँकी रहेका क्रोयट मुक्त बनाउन‘ आह्वान गरेका थिए । भिडले ‘ क्रोयटहरू क्रोयसिया जाऊ, यो सर्बिया हो‘ भन्ने नारा लगाएर उनको आह्वानमा समर्थन जनाएको थियो ।
परन्तु, कुरा यतिमात्र थिएन । बरु, सेसेल्जका अरू कट्टर राष्ट्रवादी भाषणहरू पनि उत्तिकै घृणा फैलाउने प्रकृतिका थिए । अदालतका अनुसार अरू भाषण र त्यसका बीचमा के फरक थियो भने हर्टकोजीको भाषणलगत्तै ‘दमन, यातना र धम्की‘ सहित जातीय नरसंहार सुरु भएको थियो । अदालतले सेसेल्ज पार्टीमा प्रभावशाली भएको र कसै कसैले त उनलाई ‘भगवानजस्तै ठान्ने गरेको‘ टिप्पणी गरेको छ ।
त्यसो त अमेरिकी नाजीहरूको स्कोकीमा प्रस्तावित जुलुस र सेसेल्जको हर्टकोव्जी भाषणको सन्दर्भ पनि फरक छ । यी दुवै जुलुसमा उत्तिकै घृणाजनक अभिव्यक्ति प्रकट हुनसक्थ्यो । तर, स्कोकीमा दर्शकहरूमध्ये अधिकांशले नाजीहरूलाई घृणा गर्ने हुनाले त्यहाँ कसैमाथि दमन, यातना वा धम्कीको सम्भावना थिएन । बरु, नाजीहरूविरुद्ध नै हिंसा हुनसक्ने जोखिम थियो जस्लाई पहिले नै जानकारी गराइँदा पर्याप्त प्रहरी तैनाथ गरेर व्यवस्थित गर्न सकिन्थ्यो ।
यथार्थमा नाजीहरूले स्कोकीमा जुलुस निकाल्न पाउने विषयमा मुद्दा जितेपछि उनीहरूले आफ्नो प्रदर्शन सिकागोमा सारे । सायद, उनीहरूले आफ्ना सानो संख्यामा रहेका समर्थकभन्दा विरोधीहरूको संख्या ठूलो हुने थाहा पाए । अर्को शब्दमा नाजीहरू जुलुस निकाल्प डराएको हुनसक्छ ।
विषय र सन्दर्भका बीचको अन्तर निर्णायक हुने निर्णय अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा अर्को महत्त्वपूर्ण मुद्दा भएको छ । सन् १९६९ मा ब्रान्डेनबर्ग विरुद्ध ओहियो भएको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कु क्लक्स क्लानको जुलुसमा दिइएको उत्तेजक भाषणमा हिंसाको आह्वान गरिएको मुद्दामा तल्लो अदालतकोे निर्णय उल्ट्याएको थियो । यसमा पनि मुख्य आधार सन्दर्भकै लिइएको थियो । अदालतको निर्णयमा भनिएको थियो – तत्काल हिंसा फैलने सम्भावना नभएका अवस्थामा भाषणबाट हिंसा फैलाएको भन्ने अभियोग सिद्ध हुँदैन ।
यसरी हेर्दा ब्रान्डेनवर्ग, सेसेल्ज र स्कोकीका मुद्दाहरूमा ‘सन्दर्भ सबैभन्दा मुख्य हुन्छ‘ भन्ने सिद्धान्त पुष्टि भएको छ । भाषण सुन्ने व्यक्ति कसैले तत्काल कसैलाई जबर्जस्ती लखेट्ने वा जातीय नरसंहार गर्ने जस्ता कार्य गरेमा मात्र भाषण गर्ने व्यक्तिविरुद्ध अपराध सिद्ध हुन्छ ।
त्यसो हुने खतरा छैन भने अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नैपर्छ । यसलाई अझ स्पष्ट पार्न सर्वोच्च अदालतको अर्को पुरानो निर्णय उद्धृत गर्नु उचित हुनेछ । निर्णयमा भनिएको छ – दर्शकहरू टनाटन भएको अदालतमा कसैले ‘गोली हान‘ भनेर चिच्यायो भने अभिव्यक्ति स्वतन्त्रताकाका नाममा त्यसलाई उन्मुक्ति दिन दिन मिल्दैन तर दर्शक नभएका खाली हलमा भागाभाग हुने सम्भावना नभएका ठाउँमा कसैले त्यही कुरा भन्यो भने अपराध भएको मान्न मिल्दैन ।
सेसेल्जविरुद्ध भएको सजायको ठोस परिणाम खासै हुनेर्छन । पूर्पक्षकै क्रममा उनले १२ वर्ष जति कैदमा बिताइसकेका हुनाले उनलाई पुनः झ्यालखानामा पठाइनेछैन । सर्बियाली कानुनले ६ महिनाभन्दा बढी कैद सजाय पाएमा निर्वाचित ज्रतिनिधिको सरकारी पदमा बस्न नपाउने व्यवस्था भएको सर्बियाली संसद्मा सेसेल्जको पद रिक्त हुन्छ । यद्यपि, सर्बियाले यो कानुन कार्यान्वयन गर्छ कि गर्दैन भन्ने अझै अस्पष्ट नै छ ।
जेहोस्, अन्तर्राष्ट्रिय कानुनमा जातीय नरसंहारको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रताको सीमा तय गरिएको हुनाले सेसेज मुद्दामा भएको निर्णय महत्त्वपूर्ण छ । उदाहरणका लागि म्यान्मारमा सेसेल्जकै शैलीमा कट्टरपन्थी बौद्ध भिक्षुहरूले भाषणपछि रोहिंग्याहरूलाई उनीहरूको गाउँबाट निमर्मतापूर्वक लखेटिएको छ । कसैको अभिव्यक्तिले तत्काल अपराध गर्न उक्साउँछ भने अभिव्यक्ति स्वतन्त्रतामा अ.कुश नलगाईकन पनि त्यस्तो कार्य दण्डनीय अपराध मानिनसक्छ ।
(ओपन सोसाइटी फाउन्डेसनका मानार्थ अध्यक्ष तथा ह्युमान रमइटस वाचका संस्थापक)
(प्रोजेक्ट सिन्डिकेट र बाह्रखरी डटकमको सहकार्य )
Copyright: Project Syndicate, 2018.