भारतले विराटनगरमा सञ्चालन गरेको सम्पर्क कार्यालय हटाउने निर्णय गरेको छ । बाढीका बेला सहायता उपलब्ध गराउन सहज होस् भनेर खोलिएको सम्पर्क कार्यालय बन्द गर्न भने निकै आनाकानी गरियो । नेपालले पटकपटक आग्रह गर्दा पनि अटेर गर्दैआएको भारतले पछिल्लोपटकको आग्रह स्वीकार ग¥यो । यसलाई नेपालभित्र ठूलै उपलब्धिका रूपमा प्रचार गरिएको छ । त्यतिमात्र हैन भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको पछिल्लो नेपाल भ्रमणका अवसरमा व्यक्त अभिव्यक्ति र व्यवहारलाई कतिपयले त नेपालको सम्बन्धमा ‘कोर्स करेक्सन‘सम्म भने । नेपालका सरकारी अधिकारीले मात्र हैन सत्तारुढ दलका नेताले समेत ‘नेपाल – भारत सम्बन्ध नयाँ उचाइमा पुगेको‘ जस्ता अतिशयोक्तिपूर्ण टिप्पणी सार्वजनिकरूपमै गरे । तर, रौतहट अपहरणको घटनाले भारतको नेपालप्रतिको दृष्टिकोण र व्यवहारमा खासै परिवर्तन नभएको पुष्टि भएको छ ।
भारतबाट नेपाल मोटर लिएरै आएको भारतीय प्रहरीको एउटा टोली नेपालबाट नेपाली नागरिकलाई अपहरण गरेर लैजाँदै गर्दा पक्राउ परेको समाचार छ । गौर भन्सारमा नेपालीलाई अपहरण गरेर भारत लैजान खोज्दा प्रहरीसहित चार जना भारतीय समातिएका छन् । यिनमा एक जना भारतको सीमावर्ती सहर वैरगनिया थानाका थानेदारसहित तीनजना प्रहरी र एकजना सर्वसाधारण रहेका छन् । यो नौलो घटना भने हैन । सीमा जोडिएका नाकाबाट बेलाबखत यस्ता समाचार आइरहन्छन् । पक्कै पनि कतिपय घटना समाचार बन्न सकेका छैनन् होला । सीमामा बसेका नेपालीले दिनहुँ भोग्नुपरेको भारतीय प्रहरीका ज्यादतीका घटना त झन् अनगिन्ती होलान् । दुर्भाग्य, दुई देशका सरकारी अधिकारीको कार्यसूचीमा यस्ता घटनाले बिरलै ठाउँ पाउँछन् ।
रौतहटको अपहरण प्रयासलाई भारत सरकारको व्यवहारका रूपमा लिनु सायद न्यायोचित नहोला । भारत वा नेपालका प्रहरी कानुनभन्दा आदेश पालन वा प्रभोलनमा जे पनि गर्न तयार हुन्छन् । वैरगनिया थानाका दरोगाकै आँटमा भारतीय प्रहरीको गाडी लिएर नेपाल आएको र नेपाली नागरिकलाई अपहरण गरेर भारत लैजान खोजेको पनि हुनसक्छ । अर्कातिर, नेपालभित्र भारतको प्रभुत्व रहेको देखाउने रणनीतिअनुसारै भारतीय प्रहरीले यस्तो अभ्यास गरेको पनि हुनसक्छ । तर, जुनसुकै अवस्थामा पनि यस्ता घटनालाई सामसुम पार्ने प्रचलन अन्त्य हुनु आवश्यक छ । वैरगनियाका थानेदारकै मात्र आँटमा यो अपराध गरिएको हो भने नेपालको प्रचलित कानुनअनुसार उनीहरूविरुद्ध मुद्दा चलाउनुपर्छ । भारत सरकारकै रणनीतिअन्तर्गत यो अपराध गरिएको हो भने पनि नेपालले त्यसमा अडान लिनुपर्छ । यस्ता घटनालाई अनौपचारिकरूपमा सामसुम पार्दै जाने हो भने दोहोरिने क्रम पनि रोकिनेछैन । सीमा क्षेत्रमा यस्ता घटना भइरहने र तिनलाई सहिरहने हो भने राष्ट्रिय स्वाभिमानको उद्घोष पाखण्ड हुनेछ ।