site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
तिब्बत सम्झन खोज्दा

सन् २००१ मा बेइजिङ २००८ को गृष्म ओलम्पिकका लागि छानिएका बेला चीनको मानव अधिकार स्थितिमा सुधार हुने अपेक्षा अन्तर्राष्ट्रिय समुदायले गरेको थियो । चिनियाँ अधिकारीहरूले समेत परिवर्तनको भविष्यवाणी गरेका थिए । बेइजिङका मेयरले त्यतिबेला भनेका थिए खेलको आयोजनाले ‘‘मानव अधिकारको अवस्थामा थप विकासको लाभ प्राप्त हुनेछ ।’’  

परन्तु, अहिले दस वर्षपछि पनि चीन संसारको सबैभन्दा अनुदार मुलुकमध्येको एक रहेको छ । जातीय अल्पसंख्यकहरूको दमन गरिएको छ, सत्ताका आलोचकहरूलाई कैद गरिएको छ र सुधारका वाचाहरू यथार्थमा अर्थहीन हुनपुगेका छन् । 

चीनको कारागारमा ६ वर्षभन्दा बढी थुनिएपछि सन् २०१७ को डिसेम्बरमा म अमेरिका पुगेँ । तिब्बतीहरूुँग उनीहरूले चीनको नेतृत्वबारे के सोच्छन् भन्ने सोधेबापत मैले यातना तथा प्रताडना सहनु परेको थियो । बच्चै भएकाले मलाई तिब्बतमा चीनले गरेको दमनका बारेमा अलिअलिमात्रै जानकारी थियो । सन् १९९० को दशकको आरम्भमा तिब्बतको राजधानी ल्हासा भ्रमण गरेपछि मात्रै चीनको आधिपत्यमा पर्नुको अर्थ के रहेछ भन्ने थाहा पाएँ । सन् १९९२ मा ल्हासाको गान्डेन गुम्बाबाट लामालाई धार्मिक र राजनीतिक स्वतन्त्रता मागेबापत घिसारेर कारागारसम्म पुर्‍याएको मैले देखेँ । चीन सरकारविरुद्ध बोल्ने साहस गरेबापत कैदमा परेको मैले उमेरसँगै चीनको दमनको विरुद्ध आवाज उठाइरहने प्रतिज्ञा गरे । 

Agni Group

चिनियाँ कैदमा मेरो पहिलो बसाइ सन् २००० को सुरुतिर मैले थालेको तिब्बती भाषाका किताब छापेर बाँडेका कारण भएको थियो । मैले ती पाठ्यक्रमका पुस्तक तिब्बती राजनीति, संस्कृति र धर्मको अध्ययनका लागि महत्त्वपूर्ण पाठ्य सामग्री हुने ठानेको थिएँ । परन्तु, चिनियाँ शासकले भने तिनलाई आफ्नो शासनलाई चुनौती ठाने र मलाई त्यहीअनुसार सजाय दिए ।

सन् २००८ को ओलम्पिक खेल हुन लागेका बेला मैले आफ्नो जातिको इतिहास अभिलेखन गर्ने नयाँ उपाय खोज्न थालेँ । अन्ततः म र मेरा साथीहरूले तिब्बती आकांक्षाको चित्रण गर्दै ‘लिभिङ फियर बिहाइन्ड‘ नामको वृत्तचित्र बनायौँ ।   

Global Ime bank

सन् २००७ को हिउँदमा हामीले भय त्याग्यौँ र हातमा क्यामेरा लिएर पूरा तिब्बतको यात्रा गर्‍यौँ । तिब्बतीहरूको विश्वास जित्नका लागि हामीले दलाइ लामालाई अमेरिकी राष्ट्रपति जर्ज ढब्लु बुसले ‘कंग्रेसनल गोल्ड मेडल‘ विभूषित गर्दै गरेका डीभीडी वितरण ग¥यौँ । एकपछि अर्को अन्तर्वार्तामा तिब्बतीहरूले दलाइ लामा तिब्बत फर्केको हेर्ने चाहना र ओलम्पिकका बेलामा समेत स्वतन्त्रताको अनुभव गर्न नसकेको धारणा प्रकट गरे ।

सन् २००८ को मार्च २६ मा मलाई चिनियाँ गुप्तचर प्रहरीले पक्य्रो । हिरासतमा लिनेबित्तिकै यातना दिन सुरु गरियो । धेरै दिनसम्म मलाई गर्न नमिल्ने ‘टाइगर चेयर‘ भनिने कुर्सीमा राखेर दिनहुँ घन्टौं सोधपुछ गरियो । सोधपुछका बेला मैलै वृत्तचित्र बनाउने कार्य अवैध थियो भनेर स्वीकार गरे तुरुन्तै रिहा गर्ने प्रलोभन दिने गरिन्थ्यो । तर, मैले केही गल्ती गरेको थिइन भन्ने अडानमा कायमै रहेँ ।

अन्ततः मलाई ‘राज्यद्रोह‘को अभियोग लगाएर ६ वर्ष कैदको सजाय दिइयो । कैदमा रहेका बेला मलाई जेलहरू सार्दै घन्टौंसम्म लगातार शारीरिक श्रम गर्न बाध्य गरिन्थ्यो । जिनिङको एउटा कारागारमा मलाई हेपाटाइटिस बीको संक्रमण भएपछि म सिकिस्त बिरामी भएँ । तर, सन् २०१४ मा कारागारबाट नछुट्दासम्म मेरो उपचार भएन । 

झ्यालखानाबाट छुटे पनि म पिँजरामा परेको पंक्षीजस्तो भएको थिएँ । मलाई घरमै नजरबन्दमा राखियो र मेरो जनसम्पर्क र सञ्चारमा कडा निगरानी गरिन्थ्यो । मेरो ध्यान भने तिब्बती भाषामा दक्ष हुने र काम खोज्नमा केन्द्रित थियो । तर, अधिकांश तिब्बतमा तिब्बतीहरूका सामान्य आकांक्षा पनि पूरा हुन सम्भव छैन । तिब्बतबाट पलायन हुनु अधिकांश तिब्बतीका लागि आफ्नो चाहना पूरा गर्ने एउटै विकल्प भएको छ ।

मेरो स्वतन्त्रताको खोजीमा लामो, जोखिमपूर्ण र महँगो यात्रा गत वर्ष स्यान फ्र्यान्सिस्को पुगेपछि समाप्त भयो र परिवारसँग मेरो पुनर्मिलन भयो । उनीहरूले सुरक्षाको खोजीमा वर्षौं पहिले चीन छाडेका थिए । थुपै्र कारणहरूले गर्दा मैले आफ्नो पलायनको विवरण गोप्य राख्नुपर्छ तर संसारको विभिन्न भागबाट मलाई सहयोग भएको थियो भन्ने चाहिँ सबैलाई थाहा छ । अमेरिका, जर्मनी, स्विटजरल्यान्ड र द नेदरल्यान्डका नेताहरूले मलाई कैदबाट मुक्त गर्न चीनलाई बारम्बार आह्वान गरिरहे । यही दबाबका कारण कारागारमा रहेका अरू बन्दीका तुलनामा मलाई कम यातना दिइयो र अपेक्षाकृत राम्रो व्यवहार गरियो भन्ने मैले ठानेको छु । 

दुर्भाग्य, अझै पनि अरू असंख्य तिब्बतीहरू आस्थाका आधारमा बन्दी बनाइएका छन् । उनीहरूलाई पनि समर्थनको आवश्यकता छ । अमेरिकी कांग्रेसमा गत फरबरीमा भएको भएको सुनवाइका क्रममा मलाई बताइएअनुसार पश्चिमा सरकारहरूले तिब्बतका जनतालाई लामो समयदेखि समर्थन गर्दैआएका थिए् । तर, चीन आर्थिक र राजनीतिकरूपमा शक्तिशाली बन्दै गएसँगै त्यस्तो समर्थन घटेको छ ।

तिब्बतीहरू शक्तिशाली चीनलाई खुसी बनाउन मोलतोल गरिने वस्तु हैनन् । लोकतान्त्रिक सरकारहरूले हामीलाई समर्थन गर्दा चीन सरकार केही हच्कन्छ तर हाम्रा आकांक्षाहरू राजनीतिक लाभका लागि बेचिनु भने हुँदैन । राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचि भएपछि रिक्त राखिएको तिब्बत पोलिसी एक्ट, २००२ अनुसारको ‘तिब्बती मामिलाका लागि विशेष संयोजक‘ नियुक्त गरेर अमेरिकी सरकारले आफ्नो समर्थन पुन जाहेर गर्नसक्छ । संसद्ले सबै तिब्बती राजबन्दीको रिहाइको माग तथा तिब्बतमा समान पहुँचसम्बन्धी ऐन पारि गर्न सक्छ ।
बेइजिङ ओलम्पिक, २००८ पछि एक दशक भइसकेको छ । परन्तु, चिनियाँ सरकारले मानव अधिकारको चर्चै गर्न छाडेको अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय समुदाय भने कहिल्यै रोकिनु हुँदैन । अहिले संसारमा धेरैले ध्यान नदिए पनि तिब्बतभित्र तिब्बती जनताले आफ्नो संघर्ष त्यागेका छैनन् भन्ने म विश्वास दिलाउँछु ।

(तिब्बती वृत्तचित्र निर्माता तथा राजनीतिक कार्यकर्ता)

बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य  

Copyright: Project Syndicate, 2018.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC