राजनीति
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ । बुधबार संघको महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्नेछन् । निर्वाचित र मनोनीत गरी २ हजार २ सय बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
महिला संघको नेतृत्वका लागि पार्टीको महाधिवेशनमा जस्तै त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले आ–आफ्नो तर्फबाट नेतृत्वका लागि उमेदवार अघि सारेका छन् । सभापति देउवाले उमा अधिकारीलाई महिला संघको नेतृत्वका लागि अघि सारेका छन् । पौडेल पक्षधरले सुजाता कोइरालालाई सर्वसम्मत अध्यक्ष बनाउन आग्रह गरे पनि देउवाले अस्वीकार गरे पछि मीना पाण्डेलाई अघि सारेको छ । पौडेल पक्षधरले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेलाई संघको अध्यक्षमा अघि सारेको हो ।
सभापति देउवा पक्षले भने मंगलबार बेलुका अधिकारीलाई अध्यक्षको उमेदवार घोषणा गरेको हो । त्यसैगरी मंगलबार दिउसो सिटौला समूहले काठमाडौंमा कार्यक्रम गरी धना खतिवडालाई अघि सारेको छ । उनको नेतृत्वमा भनिए पनि कुनै एक पक्षसँग मिलेर अघि बढ्न सक्ने स्रोतले दावी गरेको छ । उमेदवारी घोषणा गर्दै सिटौलाले आफूहरु नै संस्थापन पक्ष भएकाले खतिवडाले निर्वाचन जित्ने जिकिर गरे ।
तस्बिर : विकिपिडिया
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३ १९:५७
प्रतिक्रिया दिनुहोस्