site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरी मेरो साथी कि शत्रु ?
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
भदौ    ४ गते   शनिवार  विशेष कामले  लमही गएको थिएँ । घोराही फर्किँदा रातको  नौ  बजिसकेको  थियो । खाना खाएर कोठामा एकछिन टिभी हेरेँ। त्यति खेरै लाइन गयो । अँध्यारो कोठा, अनि गर्मी उत्तिकै ! पाँच मिनेटभन्दा धेरै  कोठाभित्र बस्न सकिन । निद्रा पनि लागेको थिएन । छतमा उक्लिएँ, रातिको  दस बजिसकेको  थियो । 
छतमा हावा खाएर  बस्दा बस्दै  एघार  बज्यो । लाइन पनि आयो । कोठामा फर्किँदै  थिएँ घर अगाडि होहल्ला सुनियो । छतबाटै हेरेँ । केही त हुँदै छ भन्ने लागेर तल झरेँ ।
घटना यस्तो  थियो :  
बुटवलबाट आउने  लोकल बसमा तुलसीपुरसम्म जाने  एघार  जना यात्रु थिए । बसवालाले  उनीहरूसँग तुलसीपुरसम्मकै  भाडा लिइसकेको  रहेछ । तर  घोराहीको  तुलसीपुर चोकमा ल्याएर अलपत्र पार्दै तुलसीपुर  नजाने  अडान  लिँदै  रहेछ । 
यात्रु जानै पर्छ भन्दा रहेछन् । गाडी स्टाफ अर्को  गाडी आयो  भने  उसैमा पठाइदिने  तर आफू नजाने  अड्डी  लिँदै  थियो ।
म गएर एकछिन घटना विवरण सुने । गाडी स्टाफलाई सम्झाएँ । तर उसले  मेरो कुरा के  सुन्थ्यो ? मानवीयताका  नाताले  पनि यस्तो  नगर्नुस् भन्दा ऊ फोनमा कुरा गर्न थालेको नाटक गर्दै  साइड लाग्यो ।
गाडीभित्र तीज मान्न माइत जाने र किनमेलका लागि पूर्व गएका महिला धेरै थिए । उनीहरू हात जोडेर  यसरी अलपत्र नपारिदिन बिन्ती गर्दै  थिए ।
हुनत, यो  घटना उनीहरूको आफ्नो  समस्या थियो । म न गाडीवाला थिएँ न यात्रु । तर  रातिको   ११  बजे  महिलाहरूको  बिचल्ली देखेर चित्त दुख्यो । अनि केही उपाय लगाउने सोच बनाएँ ।
मसँगको घटना :
उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने  ठानेर  मोबाइल निकालेँ । प्रहरी सहायता कक्षको १०० मा फोन गरेँ । ‘हेलो  ! म दीपक घिमिरे, मेरो  घर अगाडि यात्रुलाई अलपत्र पार्दै  बस अडिएको छ । सहयोग गर्न आउनुपर्‍यो  !’ 
फोन उठ्नासाथ उताको हेलो  नसकिँदै  मैले  आफ्नो  कुरा  राखेँ। निक्कै  खरो  स्वरमा उताबाट प्रहरीले  सोधे  ‘कुन ठाउँ हो  ?’
मैले घोराहीको सहिद गेटदेखि पश्चिम र  तुलसीपुर  चोकदेखि पूर्व भनेर  निश्चित ठाउँ नै  भनिदिएँ। मेरो  उत्तर  सुन्नेबित्तिकै उताको फोनमा बोल्ने व्यक्ति यसरी कड्किए कि मानौं म कुनै अपराधी हुँ ।
‘दिमाग चाट्नलाई फोन गरेको हँ ? बोल्ने  तमिज छैन ? हामीलाई दु:ख दिने ? अगाडि त्यत्रो  प्रहरी बिट देख्या छैन ? उतै  गएर  कम्प्लेन गर्नुस्।’ उनले  मलाई थर्काए । म स्तब्ध भएँ । आखिर के गल्ती गरेँर मैले ? मैले आफैँलाई प्रश्न गरेँ ।
फेरि नम्र हुँदै भने – ‘सर म पत्रकार हुँ, घर अगाडि समस्या देखेर हजुरलाई भन्देको  हुँ । हजुर आफैँ बिटमा खबर  गर्दिनुस् । म यात्रु पनि होइन र गाडीवाला पनि हैन ।’
उनी झन् कडकिए – ‘पत्रकार भए म के गरुँ त ? दिमाग चाट्न फोन गरेको ? अगाडि बिटमा गएर  भन्ने, सानो   कुरालाई लिएर फोन गर्ने  है न ।’ यति भनेर उनले  फोन राखे । 
म ट्वाँ परेँ। के साँच्ची गल्ती मेरो  थियो  त ? यही प्रश्नले एकछिन दिमाग ततायो । तातिएको दिमाग सेलाउन नपाउँदै  त्यहाँ  भिड जम्मा भयो । भिडले  गाडीवालाले  त्यसरी यात्रु अलपत्र पार्न नपाउने  भन्दै  गाडी गुडाउन भनिरहे । तर गाडीका स्टाफ मस्तले  आफू आफू गफिन थाले । त्यत्तिकैमा स्थानीय एकजनाले  गाडी लग्छौ कि म आफैँ यिनी यात्रुलाई गन्तव्यसम्म पुर्‍याऊँ भनेर  गाडी स्टार्ट गरे, डराउने  उद्देश्यले ।
गाडी स्टार्ट भयो, गाडीवाला आएनन् । गिएर  लाग्यो  तर पनि उनीहरूले वास्तै गरेनन् । अनि सुस्तसुस्त गाडी गुड्यो । गाडीको  पछिपछि स्टाफहरू गए । अनि गाडी तुलसीपुर चोकभन्दा पल्तिर  रोकियो । यता स्टाफले  बिटमा गाडी अरूले  कुदाएर  लगे  भनेर  उजुर गरेछन् ।
गाडी हिँडे पनि म तनावमै  थिएँ । प्रहरी र  सर्वसाधारणको  सम्बन्धमा दूरी कम गर्न प्रहरीभित्रबाट निक्कै प्रयास भएका छन् । मुस्कानसहितको प्रहरी सेवा र प्रहरी मेरो साथी भन्ने कार्यक्रम पछिल्ला लोकप्रिय कार्यक्रम हुन् । तिनैलाई आधार मान्ने  हो  भने दु:खमा प्रहरीको  साथ हामी जनताले  खोज्नै पर्छ।
प्रहरी आफैँले सहायता कक्षको  नम्बर  सर्वसाधारणलाई बाँड्छ । तर सर्वसाधारणले  फोन गरेको बेला प्रहरी स्टाफबाटै  त्यस किसिमका व्यवहार  हुँदा कसरी सोच्ने  प्रहरीलाई साथी ?
तनाव भइरह्यो ती फोन उठाउने  प्रहरीका भनाइले । मनले  नमानेपछि प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई फोन गरेँ । पहिला त्यो  १०० नम्बरको फोन उठाउनेको  कम्प्लेन गरेँ । अनि आफ्नो  परिचय दिँदै समस्या बताएँ । 
प्रहरी प्रमुखले अघि फोन उठाउनेको बारेमा बुझ्ने आश्वासन दिनुभयो । अनि तुरुन्तै  समस्या भएको  ठाउँमा प्रहरी खटाउने  भन्नुभयो । म उहॉसँग बिदा भएँ ।
उता गुडाएर  गएको  बस र प्रहरी अनि गाडीका स्टाफ रोकेर  राखेको  बसनिर  भेट भयो । अनि गाडी गुडाउने  साथीलाई कुरै नबुझी प्रहरीले दुई झापट दिए । गल्ती साथीको हैन, गाडी स्टाफको  हो भन्न खोज्ने  साथीलाई पनि तीन झापट प्रहरीले  लगायो । त्यो  सबै  रमिते  बनेर मैले हेरिरहेँ। अब निष्कर्ष निकालौँ - अब  कसरी मानौ प्रहरीलाई साथी ?
गाडीका स्टाफले  यात्रुका हजारौं बिन्ती सुनेनन्, प्रहरीलाई फोन गर्दा उल्टो  थर्काइ खाइयो । अनि बाध्य भएर  स्टाफलाई धम्क्याउन गाडी स्टार्ट भयो । यो ठूलै गल्ती थियो त ? प्रहरीको  काम निष्पक्ष छानबिन गरेर कारबाही गर्नु हो । कुरै नबुझी हात छाड्नु पक्कै होइन । 
हो, अर्काको  गाडी अनुमतिविना गुडाउने छुट ती साथीलाई थिएन तर किन गुडाइयो  भनेर  प्रहरीले  बुझ्ने  हो, हात हालेर   दादागिरी देखाउने होइन ।
समस्यामा परेका यात्रुका बारेमा गुनासो गर्ने  मेरो अधिकार र कर्तव्य  पनि हो । सकिँदैन भने  हाम्रो  काम होइन, बिटमा गएर  भन्नुस् भन्नुपर्ने । निक्कै  तुच्छ भाषामा प्रस्तुत हुँदा मैले  कसरी सोचौँ - प्रहरी मेरो साथी भनेर ? 
म आफूलाई टाठोबाठो  ठान्ने  मान्छेसँग त बोल्नै  डराउने  गरी प्रहरी प्रस्तुत हुन्छन् भने अरू गाउँले  सर्वसाधारणसँग कस्तो  व्यवहार  गर्छन् होला ? 
हो ! अहिले  दाङमा शान्ति सुरक्षाको  राम्रो  अनुभूति गर्न पाइएको  छ । नयाँ प्रहरी प्रमुखको आगमनसँगै दाङबासी सुरक्षाको  दृष्टिमा खुसी नै छन् । सामान्य गल्ती गर्ने  एक दुईजनाले गर्दा नै  सिंगो  प्रहरी बदनाम हुन्छ र जनताको नजरमा प्रहरी हाउगुजी बन्न जान्छ । प्रहरी मेरो  साथी भन्ने  नारा नारैमा सीमित नहोस् । गल्ती गर्ने प्रहरीलाई पनि कारबाही होस् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC