site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
दुई अतिको चेपमा नेपाली भाषा
Agni Group
Global Ime bank
भाषाका बारेमा बहस गर्नु र साहित्य, समाचार वा विचार लेख्नु बेग्लाबेग्लै विषय हुन् । तर, नेपालमा त ‘केका देशमा के तन्देरी’ भन्ने उखानै छ । अहिले सबै भाषाविद् ! एकथरी अतिवादी वर्ण विन्यासलाई ८० वर्षजति पछाडि धकेल्न खोज्दैछन् भने अर्काथरी अतिवादी ५० वर्षअगाडि हुत्याउने चेष्टामा छन् । दुवै अतिवादी दिग्गजहरू आफैँलाई प्राधिकार ठान्छन् । अर्काले निर्णय थोपर्न खोज्यो भनेर हल्ला गर्दै आफ्नो निर्णय थोपर्न खोज्छन् । अक्षरसँग खेलेर खानुपर्ने धेरैलाई हल्लैहल्लामा अन्योलमा पार्न खोज्दैछन् । भाषाका बारेमा यति विवाद सायद पहिले कहिल्यै भएन । त्यसैले विवादका बारेमा धेरै अक्षर खेर नफालौँ । लिपि र शब्द दुवैमाथि एकैपटक प्रहार जो भएको छ ।
वर्ण विन्यासमा नेपाली बृहत् शब्दकोश, २०४० ले अपनाएको नियम र पद्धतिमा खोट देखाएर पुरानै वर्ण विन्यासमा फर्काउन खोज्नेहरूले शब्दका यथार्थ र प्रयोगलाई उपेक्षा गरेका छन् । दुईवटा शब्दकोशबाट केही उदाहरण प्रस्तुत गरौँ । 
१. नेपाली बृहत् शब्दकोश (२०४०) मा 
ऐनको अर्थ यसरी दिइएको छ : 
ऐन १ — वि. (अ.) ठीक, उपयुक्त (उदा.— ऊ ऐन मौकामा हामीकहाँ आयो । )
ऐन २ — ना. (अ. आईन) कुनै विषयलाई व्यवस्थित रूपमा गर्न गराउन बनेको सरकारी नियम, कानुन, विधान ।
नागरी प्रचारिणी सभा, वाराणसी (२०२८) को संक्षिप्त हिन्दी शब्दसागरमा ऐन शब्द छैन । यसको मूल रूप आईन छ । 
आईन — संज्ञा पु. (फा.) १. नियम, कायदा, जाबता, २. कानून, राजनियम
यी दुई शब्दकोशले पहिलो त व्युपत्तिमै अलमल्याइदिएका छन् । कोष्ठभित्रको अक्षरले शब्दको स्रोत जनाउँछ । ऐन शब्द कानुनका अर्थमा प्रयोग हुँदा आईनबाट आएको देखिन्छ । यसलाई फारसी र अरबी के हो भनेर व्युत्पत्ति केलाउन थाल्ने कि ऐन नेपाली शब्दका रूपमा ग्रहण गरेर चलाउने ? कोसिस नलेखेर कोशिश नै लेख्नुपर्छ भन्ने ढिपी गर्ने हो भने ऐन हैन ‘आईन’ नै लेख्नुपर्ने हुन्छ । कि वैज्ञानिक नियम हैन आफूले जे जानेको छ त्यही सही हो भन्ने ? 
शब्दसागरमा 
कोशिश - संज्ञा स्त्री. (फा.) प्रयत्न, चेष्टा
शब्दकोशमा — कोशिश ना. (फा.) हे. कोसिस उल्लेख भएको छ । कोसिसमा ‘प्रयत्न, चेष्टा, जमर्को, प्रयास’ भनिएको छ । कोसिस लेख्दा बुझिन्छ र संस्कृतबाहेक अरू भाषाका शब्दमा नेपाली ध्वनिअनुसार लेख्ने नियमले पनि नियमन गर्छ । 
शब्दको अर्थ विस्तार, संकुचन र कहिले कहीँ त परिवर्तनसमेत हुन्छ । यस्तोमा पनि मूल शब्द खोज्नुपर्ने हुन्छ संस्कृतबाहेक अरू भाषाबाट आएकालाई पनि तत्सम मान्ने हो भने । 
अर्को उदाहरण - 
अरबी शब्द जुल्म नेपालीमा जुलुम बनेको छ र शब्दकोशअनुसार चारवटा अर्थमा प्रयोग हुन्छ । 
जुलुम ना. (अ. जुल्म) १. आफ्नो स्वार्थसिद्धिका लागि अरूमाथि गरिने अत्याचार, अन्याय, जबरजस्ती । क्रि.वि. २. अति, अत्यन्त । वि ३. ज्यादै बियाँलो, अति विलम्ब । ४. अद्भूत, उदेकलाग्दो, अभूतपूर्व । 
यसैबाट बनेको जुलुमी शब्द पनि दिइएको छ । वि. १ अत्याचार गर्ने, जुलुम गर्ने । अति आकर्षक, बेस, उत्तम । 
शब्दसागरमा यही शब्दको अर्थ २ वटामात्र छ । 
जुल्म — सं. (अ.) अत्याचार, अन्याय । 
सहरको साटो शहर नै लेख्नुपर्ने हो भने जुल्म लेख्नु पर्ने भयो ।  पाउजुको साटो पाजेव लेख्नु पर्ने भयो। मनासिब लेख्न भएन मुनासिब लेख्नु पर्ने भयो । फजिती लेख्न पाइएन । फजिहत लेख्नु पर्ने भयो ।
नेपाली जान्न संस्कृत सिक्नुपर्छ भन्नुसम्म अर्घेलो हुँदैन । तर, कुन चाहिँ शब्द अरबी वा फारसी, रुसी, फ्रासेली, पोर्चुगाली के हो भनेर जान्नुपर्ने बनाउने हो भने नेपाली सिक्न कसैले पनि खोज्नेछैन ।
प्रुफरिडरहरूदेखि अमिन र वकिल सबै भाषाविद् बन्न खोज्दा नभाँडिएको स्थिति पनि भाँडिन्छ । वर्ण विन्यासका हकमा सबै भाषाको तत्समीकरणको ढिपी वैज्ञानिक छैन । संस्कृतबाट रूप बदलेर आएका शब्दलाई मात्र तद्भव मान्ने र अरू भाषाबाट लिइएका शब्दलाई नेपाली ध्वनिअनुसार लेख्ने गरेमा धेरै अप्ठेरो हुँदैन । विसं २०३४ सालपछि यसरी नै नेपाली भाषाको पठनपाठन हुँदैआएको छ । त्यसले खासै अप्ठेरो पारेको छैन । चन्द्रिका व्याकरणकै पछि लागेर भाषा सिक्न र सिकाउन सकिँदैन । न त इञ्जिनियर लेख्नु जरुरी छ न पञ्चायत लेख्न हुँदैन भन्नु नै तर्कसंगत हुन्छ । अर्थात्, संस्कृतबाट आएका शब्द तद्भव, तत्समलाई प्रचलनअनुसारै र अरू भाषाका शब्दलाई नेपाली ध्वनिअनुसारै लेख्दा नै वैज्ञानिक हुने देखिन्छ ।
वर्ण विन्यासमा तत्समवादीले अति गरेजस्तै लिपिमा सुधारवादीले अति गरेका छन् । नेपालीमा कम्प्युटरका अक्षरहरू तयार नहुँदै हलन्त लिपि चलाइएको भए हुन्थ्यो पनि होला तर अब न आवश्यक छ न उपयुक्त नै हुन्छ । हलन्त लेखन पनि चल्नेवाला देखिँदैन । विद्यार्थीलाई बलजफ्ती गर्न सकिएला तर सामान्य प्रयोगमा आउन सक्तैन । अब ‘द् य’ लेख्नु पर्दैन । 'द्य' अक्षर नै कम्प्युटरमा  छ । सजिलै ध्य र द्य फरक देखिन्छ । 
अहिले त इन्टरनेट, अनलाइन जस्ता जनताका बोलीमा र सञ्चार माध्यममा समेत प्रचलित शब्द पनि नेपाली शब्दकोशमा छैनन् । हलन्त र तत्समका लागि खेर फालिएको ऊर्जा युनिकोडका केही फन्टहरूमा रहेका समस्या समाधान गरेर एकरूपता कायम गर्न र नेपाली शब्दकोशमा थप गर्नुपर्ने ‘ब्लडमनी’, ‘अनरकिलिङ’ जस्ता हजारौं शब्दको खोज र सम्पादनमा लगाउन सके भाषा र भाषी दुवैको भलो हुनेछ ।  
भाषा समृद्ध बनाउन त शब्दकोशलाई धनी बनाउँदै लैजानुपर्छ बोलीमा चलेका शब्दहरूलाई कोशमा ठाउँ दिनुपर्छ । अंग्रेजीले लिपि र वर्णविन्यासमा परिवर्तन गरेको छैन तर बर्सेनि शब्दहरू शब्दकोशमा थपेको थप्यै छ । अनि उच्चारण र लेखन पनि आफ्नै बनाएको छ । त्यही सिकौँ न बरु !
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC