site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी यही महिना नेपाल भ्रमणका लागि आउँदै छन् । उनी आन्तरिक भ्रमणमा जस्तै तराईहुँदै नेपाल आउने छन् । नेपालमा उनको पहिलो औपचारिक कार्यक्रम जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गर्नु हुनेछ । त्यसपछि उनी काठमाडौंमा भेटघाट र मुक्तिनाथको दर्शन गरेर भारत फर्कनेछन् । उनी भारतको पटनाबाट भारतीय वायुसेनाको हेलिकप्टर लिएर नेपाल पस्ने र त्यसमै काठमाडौं तथा मुक्तिनाथको यात्रा गर्ने बताइएको छ । उनले काठमाडौंमा बिताउने केही समयका लागि भारतीय वायुसेनाकै जहाजमा विशेष मोटर पनि उतैबाट ल्याइएको छ । नेपालको सुरक्षा प्रबन्धमा विश्वास र सार्वभौम सत्ताको सम्मान नगरेजस्तो देखिए पनि यसमा नेपाली जनताले चित्त दुखाउने वा गुनासो गर्नुपर्ने खासै कारण छैन । तर, प्रधानमन्त्री मोदीको भ्रमणका नाममा सुरक्षा प्रबन्धमा देखाइएको ‘अति संवेदनशीलता’ भने नेपाली जनतालाई उकुसमुकुस बनाउने शैलीको छ । 

नेपालका सरकारी अधिकारीहरूमा भने प्रधानमन्त्री मोदीको स्वागतका लागि बढी नै उत्साह देखिन थालेको छ । मन्त्रीहरूको लगातारको जनकपुर दौडाहामात्र हैन सरसफाइका लागि देखिएको सक्रियता पनि अलि नाटकीय देखिएको छ । जनतामा यस अति उत्साहले सकारात्मक सन्देश प्रवाह गरेको छैन । तर, यसबाट भन्दा सुरक्षा प्रबन्धका नाममा गरिएको अमानवीय तथा असंवैधानिक प्रशासनिक व्यवस्थाबाट नेपाली जनतालाई क्षुब्ध बनाउने संकेत देखिएको छ । प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्थाका नाममा कति अव्यवहारिक र मानवीय संवेदनारहित हुनसक्छ भन्ने उदाहरण यही २४ गते जारी सार्वजनिक सूचना हुनपुगेको छ । मुस्ताङ जिल्ला प्रशासनले     प्रधानमन्त्री मोदीको यात्राका लागि दुई दिनसम्म मुक्तिनाथ मन्दिर अरूका लागि बन्द गर्ने निर्णय गरेको छ । यतिमात्र हैन वैशाख २८ र २९ गते मनाङबाट मुस्ताङ आउने पदयात्री, जोमसोम हुँदै मोटरबा जाने र हेलिकोप्टरबाट जाने तीर्थयात्री सबैको आवागमनमा रोक लगाएको छ । 

Agni Group

सम्भवतः यसअघि यसरी कुनै पनि बेला कुनै क्षेत्रमा पैदल तथा विमान यात्रा नै दुई दिन बन्द गरिएको थिएन । भूकम्पले थिल्थिल्याएकै बेला भारतको कृपामा भएको नाकाबन्दी त सहजै रहेका नेपालीले अतिथिका रूपमा तीर्थयात्रामा आएका छिमेकी देशका प्रधानमन्त्रीको सुरक्षाका नाममा अहिलेको सकस पनि सहनेछन् । तर, जिल्ला प्रशासनले कुन ऐनले दिएको अधिकार प्रयोग गरेर स्वदेशी र विदेशी पर्यटकसमेतलाई मुक्तिक्षेत्रको प्रवेश निषेध गरेको हो भन्ने चाहिँ सूचनामा खुलाइएको छैन । सम्भवतः कुनै पनि ऐनले आन्तरिक सुरक्षाको ठूलो चुनौती बेगर यसरी नागरिकको आवागमनमा रोक लगाउने अधिकार सरकारलाई दिएको छैन । सामान्यतः संकटकाल घोषणा भएको अवस्थामा बाहेक अरू बेला यस्तो अधिकार प्रयोग पनि गरिँदैन । 

हुकुमी शासनका विभिन्नरूप भोगेका नेपालीका लागि निषेधको उर्दी खासै अनौठो नभए पनि मनाङबाट थोराङलाको बाटो मुस्ताङ पदयात्रामा निस्केका विदेशी पदयात्रीले यसलाई बुझ्न र स्वीकार गर्न पक्कै सक्तैनन् । पहिलेका राजाहरूको भ्रमणमा पनि नगरिने यस प्रकारको निषेधले विदेशीका मनमा नेपाल भारतकै अंग भएको छाप पार्नसक्छ । अर्कातिर, नेपालमा पदयात्रा भरपर्दो नभएको र सरकारी कारणले समेत सकसमा पर्नसक्ने सन्देश उनीहरूले फैलाउन सक्नेछन् । त्यस क्षेत्रको र समग्रमा देशकै पर्यटन उद्योगमा यसको नकारात्मक असर पर्नेछ । यस निषेधको प्रबन्धबाट दुःख पाउनेहरूले भारतका प्रधानमन्त्री मोदीलाई पनि गाली गर्नेछन् । समाजिक सञ्जाल र सञ्चार माध्यममा प्रधानमन्त्री मोदीको भ्रमणप्रति व्यक्त असन्तुष्टि र विरोध झन् बढ्नेछ । सरकार भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका कारण भारत र नेपालकै पनि सरकारप्रति नेपाली जनताका मनमा वितृष्णा नबढोस् भन्ने चाहन्छ भने यस्तो प्रत्युत्पादक निषेध हैन जनतालाई सकसमा नपारी सुरक्षा प्रबन्ध मिलाउन अग्रसर होओस् । सुरक्षा मूलतः विश्वासको विषय हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC