site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लोकतन्त्रलाई तानाशाह र दलको अराजकताबाट खतरा छ

सर्वप्रमथ म तपार्इँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । आफ्नो परिचय भाषण सुरु गर्ने क्रममा आदारणीय कमरेड राम कार्कीले प्रदीपजी आइपुग्नु भो, आउँदै हुनुहुन्छ, भन्नुभयो । उहाँ मप्रति झन्झन् कृतालु हुँदैजानु भएको छ । यसअघि त सदनमा उहाँले मलाई बितिसक्यो भन्दिनु भएको थियो । मैले हत्तपत्त हात उठाएर म बितेको छैन है जिउँदै छु भन्नुपरेको थियो । आज धेरै प्रगति भएको छ । उहाँले आउँदै हुनुहुन्छ भन्नुभएको छ । हुँदाहुँदा उहाँले हाम्रै पार्टीमा आइसक्नु भयो भन्न बेर छैन । उहाँको यस प्रगतिलाई धन्यवाद दिन चाहन्छु ।

मलाई एउटा निश्चित् विषय बोल्न दिइएको छ   'लोकतन्त्र र मार्क्सवाद' ।

साँच्ची भन्नुहुन्छ भने मैले एकपटक मार्क्सको जीवनलाई प्रमुखता दिएर तपार्इँहरूलाई यसरी बोलेको थिएँ । अस्ति हाम्रो कांग्रेसको सभामा मैले एङगेल्सको बारेमा बोलेको थिएँ । व्यक्तिका बारेमा कुरा गर्दा रमाइलो हुन्छ । तर, आज मैले बोल्ने विषय लोकतन्त्र र मार्क्सवाद भन्ने छ । यस विषयमा मैले आफूले जानेको बुझेको कुरा तपाईँहरू समक्ष राख्छु, बीचबीचमा अरू कुरा पनि गरौँला ।

Prabhu Bank
Agni Group
NIC Asia

यसमा दुई वटा पद आयो । एउटा लोकतन्त्र र अर्को मार्क्सवाद । लोकतन्त्र तपार्इँहरू सबैलाई थाहा छ । अधिकांश मित्रहरू मार्क्सवादी पृष्ठभूमिबाट आउनुभएको छ,  वामपन्थी पृष्ठभूमिबाट आउनुभएको छ । त्यसपछि फेरि कमरेडहरू,  मित्रहरू संघर्षको मैदानबाट आउनुभएको छ । यहाँ धेरै धाराहरू मिसिएका छन् । यहाँ उद्घोषण गर्नुभयो कमरेड मानन्धरले । नेपालमा नौलो जनवाद कामय गर्नुपर्छ र त्यो नौलो जनवाद संसदीय पद्धति शान्तिपूर्ण बाटोबाट हुँदैन भनेर हत्केलामा ज्यान लिएर लड्नु भएका साथीहरू हुनुहुन्छ । तर,  हेर्दाहेर्दै वस्तुस्थितिको कठोरताको अगाडि तपार्इँहरू एउटा संसदीय व्यवस्था जस्तैजस्तै राजनीतिक प्रणालीमा सहभागी हुनपुग्नु भएको छ । यस्तो बेलामा हिजो भनिएको बहुदलीय जनवाद यो हो कि होइन ? नौलो जनवाद नभए पनि बहुदलीय जनवाद हो कि ? त्यो नभए पनि एकाइसौं शताब्दीको जनवाद हो कि त ?  अथवा त्यही संसदीय व्यवस्था हो जसकाविरुद्ध लड्नका लागि हामी २५/३० वर्ष अगाडि लागेको थियौँ भन्ने प्रश्न तपार्इँहरूको मनमा उठिरहेको होला । त्यसैले पहिले मैले लोकतन्त्र या प्रजातन्त्रको बारेमा अलिकति भन्नुपर्नेछ ।

सामान्य लेखपढ भएका मान्छेले पनि पश्चिममा कुरा गर्दा प्लेटो र एरिस्टोटलको कुरा र यता आएर बौद्ध र माओवादका बारेमा थोरबहुत सुनेकै हुन्छ । गौतम बुद्धलाई उनी कुनै गणराज्यका नागरिक थिए भन्ने मान्यता छ । यद्पि उनलाई कतिपय कविले बडो प्रतापीका राजाका छोरा भनेका छन् । गौतम बुद्धको पहिलो एेतिहासिक काव्यात्माक जीवनी लेख्ने मान्छे अष्टघोषले उनका पिता शुद्धोधनलाई रामका पिता दशरथसँग तुलना गरेर बुद्ध जन्यन्ती लेखेका छन् । यो विषय अन्तै होला । तर, मार्क्सवादको इतिहासको लागि बुद्ध अत्यन्तै महत्त्वपूर्ण व्यक्ति छन्, त्यो पछि भन्छु म । 

Global Ime bank

म यहाँ के भन्न चाहन्छु भने तपार्इँहरू सबैले राम र बुद्धको तुलना गर्नु भएको छ कि छैन ? बुद्ध ६ वर्ष जंगल गए भनिन्छ । राम १२ वर्ष गइदिए । बुद्ध त श्रीमती छोडेर भागेको भनिन्थो, राम श्रीमतीसमेत लिएर गए । यो दुईवटाको कथा एउटा जीवन दर्शन समानान्तरमा ढालियो । यो कथा नै हो । अनि बुद्धका पिता शुद्धोधन पनि दशरथभन्दा कम थिएनन् भन्ने चित्रण उसले गरेका छन् । यथार्थ के हो भने बुद्धका पिता एउटा गणराज्यका प्रभावशाली नागरिक थिए होलान् । मैले के भने प्रारभ्भको गणराज्य कालान्तरमा सामन्ती व्यवस्था बलियो भएपछि राजतन्त्रमा परिणत भयो, राजतन्त्रमा यही नेपालमा आएर हाम्रो पालामा करिबकरिब नारायणको कुरा सुन्यौ । राजाले टेकेको माटोलाई टाउकोमा लगाउँला पाप दूर हुन्छ । उनी विष्णु भगवानका अवतार हुन् भन्ने कुरा सुनियो । यसैलाई पश्चिममा राज्यको उत्पत्तिको सिद्धान्तभन्दा राज्य उत्पत्तिको दैवी सिद्धान्त भनियो । फ्रान्स, जर्मनी, अस्ट्रिया र इङल्यान्डका राजालाई देउताले नै तिमी शासन गर भनेका छन्, देउताको पुरेहित भने पनि राजाको पुरेहित भनेपनि पोपहरू छन् भन्ने कुरा आयो । यसलाई राज्यको दैवी सिद्धान्त भन्छन् ।

अब राज गर्न लागि देउताको सिद्धान्त मान्नुपर्ने, राज गर्नका लागि राजाको छोरो हुनुपर्ने भन्ने पद्धति आयो । होइन राज गर्नका लागि धनी हुनुपर्ने, क्विन हुनुपर्ने, सम्पती हुनुपर्ने र राज सबैले गरेर खान पाउनुपर्ने, मिलेर गर्नुपर्ने, सरसल्लाह गरेर गर्नुपर्ने, त्यसमा हामी सबै एक हुने ।

एउटा व्यक्तिले वंशजको, जातको र सम्पतिको कारणले राजा हुन पाउने अर्को व्यक्ति सम्पतिको, पिताको, धर्म र लिङ्गका कारणले राजा हुन नपाउने चलन छ । राजाको छोरी पनि राजा हुन नपाउने छोरा नै हुनुपर्ने, छोरो नभए भतिजा हुन पाउने व्यवस्था पनि छ । संक्षेपमा के भने जाति, वंशज, सम्पत्ति र लिङ्गका आधारमा राज गर्ने आधार नभईकन मनुष्य मात्रले न लिङ्ग, न जात, न भात, न थर, न घर, न वर्ण सबैले समान अधिकार पाएर राज्य गर्ने व्यवस्थालाई लोकतन्त्र भनिन्छ ।  यसलाई नै लोकतन्त्रको परिभाषा भनिन्छजस्तो मलाई लाग्छ । तर, यो त परिभाषा नै हो । 

यस लोकन्त्रलाई प्रयोग गर्ने क्रममा संसदीय जनतन्त्र, बहुदलीय जनवाद, र सर्वहारा वर्गको नायकत्व इत्यादि कुरा भए । लोकतन्त्रको आधार बनाएर गर्ने परिभाषालाई माथि भन्ने खोजेको कुरालाई संकेत गर्छ । 

दुनियाँमा थरीथरीका लोकतन्त्र छन् । अहिले यहाँ तपार्इँ हाम्रा नेताले हामीलाई के बताएका छन् भने लोकतन्त्रका विशेषता हुन्छन् । जस्तै त्यहाँ बालिग मताधिकार हुन्छ । त्यहाँ वर्षेनि २/४/५ चुनाव हुन्छ ।  त्यहाँ न्यायालय पनि हुन्छ । त्यहाँ प्रेस स्वतन्त्र हुन्छ, इत्यादि बताइएको छ ।

यति भएपछि के चाहियो त पुग्यो भनेको छ । यत्ति हो त ?

यहाँ तपाईँहरू माओवादी पृष्ठभूमिबाट आउनु भएको छ । विसं २०४७ सालको संविधानमा जसलाई आदरणीय नेता कृष्णप्रसाद भट्टराईले दुनियाँको सर्वश्रेष्ठ व्यवस्था भनेका थिए । लोकतन्त्रको परिभाषा मैले माथि भनेको जस्तै हो भने त्यहाँ बालिग मताधिकार थियो कि थिएन ? त्यहाँ ५ वर्षीय चुनाव थियो कि थिएन ? त्यहाँ प्रेस स्वतन्त्रता थियो कि थिएन ? त्यहाँ सबै लोकतन्त्र थियो त ? अनि के कारणले माओवादीले हतियार उठायो ? बालिग मताधिकारलाई ठूलो कसौटी मान्ने हो भने पञ्चायत व्यवस्थामा २०३७ सालपछि बालिग मताधिकार थियो कि थिएन ?  थियो । तर, त्यहाँ लोकन्त्र थिएन ।

जर्मनीमा सबैभन्दा पहिले बालिग मताधिकार प्रयोग भएको थियो । त्यहाँ मार्क्स र एङगेल्स जिउँदै रहदा बालिग मताधिकार थियो । जसरी यहाँ बालिग मताधिकारमा छानिएको राष्ट्रिय पञ्चायतको कुनै अधिकार थिएन । जर्मनीको संसद्को पनि कुनै अधिकार थिएन । 
त्यसैले पहिले म तपार्इँहरूलाई के भन्न चाहन्छु भने । मार्क्सवादी भाषामा स्वररूप र सार भन्छन् । गुदी र बोक्रा जो भन्छन् । १/२/३/४/५/६/७/८/९ जति गनिन्छ नि यहाँ न्यायालय छ हेर, यहाँ पाँच वर्षमा चुनाव गराइन्छ हेर, यहाँ दलहरू पनि छन् ल हेर । यस्तो गनेर बनाइएको व्यवस्था लोकतन्त्र हुनपनि सक्छ नहुन पनि सक्छ । त्यसैले आज रगत रक्तपात भएर ठूलो बलिदान भएर १० औं हजार मानिस मरेर मारेर आएको व्यवस्था छ । यसलाई यही लोकतन्त्र हो भनेर कसैले भन्दैमा तपाईँ हामीले मान्ने काम छैन । पहिलो कुरा त्यो हो ।

यो लोकतन्त्र हो कि होइन भनेर निरीक्षण गर्ने काम छैन । तपाईँहरूको पार्टीको परिपाटी के छ मलाई थाहा छैन । हाम्रो पार्टीको सभापति शेरबहादुरजी हुनुहुन्छ । उहाँले लन्डनमा पढेर आउनु भएको । लन्डन संसदीय व्यवस्थाको मातृभूमिमा ।  कहिले काहीँ हाम्रो पार्टीमा छलफल हुँदा लन्डनमा पढेर आएको मान्छेले बढी बुझ्छ कि प्रदीप गिरीले बढी बुझ्छ भन्ने हुन्छ । लन्डनमा पढ्दैमा संसदीय व्यवस्था बुझ्छ भन्ने छैन । यो कुरा तपाईँहरूको पार्टीमा पनि लागु हुन्छ ।

माओ विचारधारा बुझेको आधारमा मान्छे नेता हुने कि साँच्चै नै मुलुक बुझेको मान्छे नेता हुने ? अधिकांश कम्युनिस्ट पार्टीका मान्छेहरू मार्क्सवादको व्याख्या बुझेको आधारमा आफूलाई नेता बनाएका छन् । त्यो व्याख्या के हो थाहा छैन । त्यो व्याख्या समयअनुसार बदलिराख्छ । पहिलो कुरा लोकतन्त्रको मैले बुझेको बुझेको परिभाषा - तपाईँ निर्णायक शक्ति हो । तपाईँ कांग्रेसको, एमालेको र माओवादीको भए पनि वेदले भनेको छ भन्दैमा, गुरुले भनेको छ भन्दैमा, पुरेहितले भनेको छ भन्दैमा, प्राधिकार नेताले भनेको छ भन्दैमा तपाईँ यही लोकतन्त्र हो भनेर नपत्याउनुहोस् ।

नेकपा माओवादी एकपटक प्राधिकार दिएर आएको पार्टी छ । मेरो कुरा मान्न गाह्रो पर्छ कि भन्न सक्तिन म । यो सबैभन्दा ठूलो चुनौती हो । प्राधिकार नेताले भनेको कुरा मान्ने पार्टीमा मैले भनेको कुरा लागु हुन सक्छ । हाम्रो पार्टीमा चाहिँ हामीले मजाक गर्दागर्दै बेलायतमा पढ्दैमा शेरबहादुरले बुझेको छैन भन्ने गरेका छौँ है, तपार्इँहरू आफैँ जान्नुहोस् ।

मैले घुमाइफिराइ यति भन्न खोजेको लोकतन्त्रको निश्चित परिभाषा छैन । यो एउटा अवधारण हो, यो एउटा आदर्श हो । यसमा सबै मान्छेले बढीभन्दा बढी आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । राजनीतिमा हस्तक्षेप गर्नुपर्छ र साचो अर्थमा म यो मुलुकको शासकको हो भन्ने अनुभूति गर्न पाउनुपर्छ । यहाँभन्दा बढी लोकतन्त्रको परिभाषा केही पनि होइन ।

एक प्रकारले लोकतन्त्र आकाशमा अटल रहने ध्रुव तारा जस्तो आदर्श हो । जसलाई हेरेर हामी बाटो बनाउँछौँ । तर, त्यसलाई पृथ्वीमा उतार्न साह्रै गाह्रो पर्छ । जति छोटो उतार्न खोजे पनि केही न केही त्रुटि भइहाल्छ । तपाईँहरूले गणित पढ्नु भएको होला । त्यसमा एउटा बिन्दुको परिभाषा छ । त्यो बिन्दुको न चौडाइ छ, न मोटाइ छ तर दुईवटा दूरीको सबैभन्दा सानो दूरीलाई बिन्दु भन्छन् । त्यो बिन्दु तपार्इँहरूले कोर्न सक्नुहुन्न । जस्तै सानो कोरे पनि त्यसको एउटा माइक्रोस्केप हुन्छ हुन्छ । भन्न मैले के खोजेको भने लोकतन्त्र जस्तै निर्गुण आदर्श हो । यस निर्गुण आदर्शलाई सगुण बनाउन खोज्दा अप्ठयारो हुन्छ । सगुण बनाउन हामी कति कानुन पास गर्छौं । कति विधि विधान ल्याउँछौँ । न्यायालय ल्याउँछौँ । तर, त्यहाँ ठोस कुरा हुँदैन ।

अघि मैले उदाहरण दिए । जर्मनीमा बालिग मताधिकार थियो तर त्यहाँको संसद्मा अधिकार थिएन भनेर । त्यहाँको संसद्मा बालिग मताधिकार नदिएकाले मार्क्स र एङ्गेल्सले लेखेका थिए - यो पार्लियामेन्ट बोल्ने वक्तव्यहरूको अड्डामात्र हो, यसले गर्न केही सक्तैन । मार्क्सले जनर्मनीको बारेमा लेख्नु भएको थियो । बेलायतको बेग्लै इतिहास छ । महिलाहरूलाई कुनै अधिकार थिएन । तर, हामी युरोपमा लोकतन्त्र थियो भन्दैछौँ । त्यसैले कुनै पनि चिह्न बालिग मताधिकार, न्यायालय, प्रेस, यो कुनै पनि चिह्न लोकतन्त्रलाई चिनाउन काफी छैनन् । यो बुझ्नलाई धेरै टाढा जानुपर्दैन ।


कार्ल मार्क्सले लेखेका थिए - बुर्जुवा संसद् त देखाउने दाँतमात्र हो । खाने दाँत होइन । खाने दातँ के हो भने सेना, पुलिस,  गुप्तचर, जेल, बैंक, धन इत्यादि । तपाईँहरू सबैलाई थाहा छ । तपार्इँहरूले पढ्नुभएको होला । याद राख्नुहोस् मार्क्सले त्यो लेखे पनि, तपार्इँहरूको पार्टीको दस्तावेजमा दोहोर्‍याइए पनि विगत ४० वर्षदेखि के हाम्रो पुलिसको चरित्र बदलिएको छ ? 

गाउँघरमा अहिले पनि पुलिसको बर्दी देख्दा नागरिक डराउँछ कि डराउँदैन ? के हाम्रो सेनाको चरित्र बदलिएको छ ? के तिनको फुर्ति घटेको छ ? तपार्इँहरू जेलनेल खाएर जिल्ला कमिटीको अध्यक्ष बन्नु भएको छ । तपार्इँलाई त्यहाँका अधिकारवादीले यो साँच्चिकै जनप्रतिधिनि हो भनेर टेर्छन् । त्यसैले मैले के भन्ने गरेको छु भने सत्ताको हस्तान्तरण भयो । तर, राज्यको रूपान्तरण भएन । राज्य रूपान्तरणको संकट आजको मितिसम्म जस्ताको तस्तै छ ।

नेपाली कांग्रेस सत्तामा थियो । विश्वको सर्वश्रेष्ठ संविधान भन्दाभन्दै पनि अवैधानिक तरिकाबाट माओवादी बेपत्ता हुँदा सरकारले थाहा पनि पाएको थिएन । त्यसैले मैले यतिमात्र भन्न खोजेको लोकतन्त्रको परिभाषा साँच्चै नै जटिल छ । त्यसका धेरै हाँगाबिँगा छन् । यसको अर्थ मैले भनेको परिभाषा ठीक भन्ने कुरा होइन । यसमा मार्क्सको नाम आएको छ । मार्क्सलाई एकपटक उनकी छोरीले सोधेकी थिइन् - तपार्इँलाई सबैभन्दा मनपर्ने वाक्य के हो ? सूत्र के हो ? मार्क्सले ढुक्क भएर भनेका थिए - डाउट एभ्रिथिङ (सबैका कुरालाई शंका गर) । मार्क्सका शब्द हुन् यी । लगभग यही कुरा गौतम बुद्धले भनेका थिए - गुरुका पछि नलाग, 'अप्प दिपो भव' । यो लोकतन्त्रको सबैभन्दा ठूलो आधार हो । 

लोकतन्त्रको यसै आधारलाई मानेर एक चरणमा सबैलाई भोट दिन्छु । एक व्यक्ति एक भोट भनिएको थियो । एक व्यक्ति एक भोटले के हुन्छ ? यस चुनावी प्रणालीमा तपार्इँको भोट एक लाख र विपक्षीको एक भोट आएको छ भने तपार्इँ विजयी हुनुभो । तपार्इँसँग २०१ सदस्य छन् भने २०२ सदस्य भएको व्यक्ति प्रधानमन्त्री बन्नसक्छ । लोकतन्त्रमा साँच्चिनै व्यक्तिको मर्यादा हुन्छ । तदनुरूप तपार्इँको पनि मर्यादा छ मेरो पनि मर्यादा छ । मेरो मात्र मर्यादा छ भनेर तपार्इँको मर्यादाको अवमूल्यन गर्न मैले पाउँदिन । गुरु, पुरेहित र नेताले पनि पाउँदैन  । त्यसलाई उदारवाद भनिन्छ । 


यही सिद्धान्तअनुसार दुनियाँ सुरु भयो । प्रत्येक व्यक्तिको स्वाधीनता र प्रत्येक व्यक्तिको आम्दानी भनेर । त्यसमा एउटा एङ्गल थियो - प्रत्येक व्यक्तिको भोट दिने जस्तै प्रत्येक व्यक्तिको बजारमा गएर सामान किन्ने पनि त्यसमा प्रतिबद्ध गरिएको हुन्छ ।

तपार्इँको कमाइ मान्नुहोस् एक सय रुपैया छ । त्यो पैसा तरकारी किने पनि भो, पुस्तक किने पनि भो, श्रीमान्ले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई दिए पनि भो, जे खाए पनि भो, चिटिक्क परेको घडी किने पनि भो । यो जुन भोट दिने अधिकारलाई बजारमा जाने अधिकार  समानान्तर राखियो त्यो विकृत हुँदैहुँदै दुनियाँमा पुँजीवाद विकसित भयो । मैले भनेको व्यक्तिको अधिकार प्रारभ्भिक उदारवादसँग सम्बन्धित थियो ।

पुँजीवाद विकसित हुँदै जाँदा संसारमा ठूलो भ्रम के छ भने - पुँजीवाद र पुँजीवादी प्रजातन्त्र एउटै कुरा हुन् । होइन, यो दुईवटा अलगअलग कुरा हुन् । पुँजीवादले पुँजीको विकासको निमित्त स्वतन्त्रतालाई बाधा पुर्‍यायो भने नाश गर्छ । त्यसैले कुनै समाज अत्यन्तै सम्पन्न छ भन्दैमा त्यहाँ स्वतन्त्रता छ भन्ने सम्झनु हुँदैन । त्यहाँ समाजवाद छ भन्ने पनि सम्झनु हुँदैन । हिटलरको पालामा जर्मनीमा पुँजीवादको खुब उदय भएको थियो । राजा महेन्द्रले पुँजीवादलाई रोकेका थिएनन् । सुकार्डोले पनि रोकेका थिएनन् । त्यसैले पुँजीवाद र प्रजातन्त्र एकअर्काको पर्याय होइनन् । 

आज विश्वमा पुँजीवाद, साम्राज्यवाद अत्यन्तै विकृतरूप धारणा गरेको छ । म एउटा सानो उदाहरण प्रस्तुत गर्छु - आजभन्दा ५/६ वर्षअघि चीनमा एउटा आइप्याडको नयाँ संस्करण किन्न एउटा युवकले आफ्नो किड्नी बेचेको समाचार संसारभर फैलिएको थियो । आज पुँजीवाद मानिसलाई मानिस रहन दिएको छैन, त्यसले एउटा वस्तु बनाएको छ । हामी एउटा यस्तो गोताबाको चङ्गुलमा फसेका छौं र यसरी पक्डिएर गोताबाको बहुराष्ट्रीय कम्पनी र विदेशी पुँजी तपार्इँ आफूलाई आकर्षण गर्दैछ । त्यसको अनेकौं विकृति छन् । 

आज हामी लोकतन्त्रको कुरा गर्दा लोकतन्त्रलाई तानाशाहबाट खतरा छ, लोकतन्त्रलाई दलको अराजकताबाट खतरा छ । एउटा कुरा विचार गर्नुहोला, हामीले विकासका नाममा मान्छे बनाउँदैछौँ । विकासको नाममा हाम्रो आवश्यकता बढेको छ । त्यो आवश्यकताको जुन प्रकृति छ अहिले नपुग्ने आवश्यकता । ती आवश्यकता भारत, चीन अमेरिकामा एकैनासका छैनन् । अमेरिकाको, इङ्ल्यान्डको, जर्मनीको बारेमा तपार्इँहरूले धेरै कुरा सुन्नु भएको होला । त्यहाँको मान्छेलाई पनि कहिल्यै पुगेको छैन । बैंकले तिनीहरूको गाडीदेखि घरसम्म बन्धक राखेको हुन्छ । एउटा नयाँ मनुष्य हाम्रो बीचमा बन्दैछ । त्यो नयाँ मनुष्य कस्तो छ भने लोभी, लालसी, हिंसात्मक किसिमको छ । यो हाम्रो समाजमा कति छन्, आफैँलाई सोध्नुहोस्, छरछिमेकलाई सोध्नुहोस् । 

आज मार्क्समा नाममा अनेकन सिद्धान्त बनेका छन् । जसका नाममा विश्वमा अनेकौं पार्टीहरू बने । यही नेपालमा मार्क्समा प्रतिबद्धता राख्ने विभिन्न किसिमका पार्टीहरू हिजोसम्म थिदैथिए । अहिले खुसीको कुरा के छ भने मार्क्सवादमा विश्वास राख्ने मित्रहरू एक ठाउँमा जम्मा हुने कोसिस गर्दै हुनुहुन्छ । त्यसलाई म स्वागत गर्छु । तर, पुराना कुराहरू सम्झिँदा हामी के देख्छौं भने मार्क्सको सिद्धान्तलाई सूत्रबद्धरूपमा १/२/३/४/५/६/७ भन्न सकिन्छ । सजिलै भन्न सकिन्छ, जो लोकतन्त्रलाई लागि भन्न सकिँदैन भनेर संकेत गरेँ मैले । 


मार्क्सका सिद्धान्तहरू त्यसरी बन्ने क्रममा मनुष्यले संसारमा आएपछि काम गर्नैपर्छ, काम गर्ने क्रममा उत्पादनका साधनको ठूलो भूमिका हुन्छ, उत्पादनको साधनको स्तरअनुसार उत्पादनको सम्बन्ध स्थापित हुन्छ, उत्पादनका साधन उत्पादनको तत्कालीन चरणअनुसार समाज बन्छ, समाज बन्दै जाँदा राज्य स्थापित हुन्छ  इत्यादि कुरा व्याख्या गर्दै जाने छौँ । पछि गएर उत्पादनको साधन र सम्बन्धमा टकराव हुन्छ । दुईवटा वर्ग भएपछि एउटा क्रान्तिको उत्पत्ति हुन्छ । यी नै हुन् मार्क्सका सिद्धान्त ।

समाजवाद आएपछि प्रत्येकले आफूले सकेको परिश्रम गर्छ र उसको परिश्रमको शोषण नभईकन उसलाई मूल्य दिइन्छ । साम्यवाद आएपछि त्यो आवश्यकता नै रहँदैन । सबैले सके जति काम गर्छन् । चाहे जति खान्छ, मोटामोटी यी नै हुन् । मैले संक्षेपमा भने मार्क्सको परिचय । तर, यो त सैद्धान्धिक कुरा हो । यसका सँगसँगै मार्क्सले के भनेका थिए भने पुँजीवादले मानिसलाई वस्तु बनाउँछ । वस्तु भनेको किनबेच हुने । मार्क्सलाई मनुष्यको शोषण भएकोमात्र रिस थिएन । मान्छेको शोषण हुँदैन भन्ने उनलाई थाहा थियो । तर, उनलाई यो पनि थाहा थियो शोषण नगर्दासम्म पुँजीवादले पुँजी सञ्चय गर्दैन । पुँजी सञ्चय नगर्दासम्म पुँजीवादको विकास हुँदैन । र मार्क्स भन्थे पुँजीवादको विकास नहुँदासम्म समाजवाद आउँदैन । मैले मार्क्स भन्थे भने आफूले भनेको भनिन । शोषण ठूलो कुरा थिएन । ठूलो कुरा के थियो भने पुँजीवादले मान्छेलाई मान्छे रहन दिँदैन थियो । 


मार्क्स त्यस बेला कम उमेरका हुनुहुन्थो । त्यतिबेला कम्युनिस्ट घोषणापत्र पनि छापिएको थिएन । २६ वर्षको उमेरमा उहाँले हेगेलको दर्शन गरिएर पढ्दै हुनुहुन्थ्यो । त्यतिबेला उहाँले द्वन्द्ववाद आविष्कार गर्नु भयो । त्यति बेलै उहाँले धर्म अफिम हो भनेर ल्याउनु भएन । धर्म अपराध छ, त्यति बेलै लेखिएको थियो । त्यो हिसाबले लेखेको पनि छैन मार्क्सले यति मैले सम्झना गराइदिएको । हेगेलको दार्शनिक अध्ययनका बारेमा टिप्पणी गर्दाखेरी उहाँले धर्मसम्बन्धी कुरा लेख्नु भएको छ । बिरामी मान्छेलाई एकछिनका लागि कुनै कुरा सुनाइदियो भने अफिम खुवाएजस्तै हुन्छ । मान्छेलाई घरमा ल्याएर सुताएको छ भन्दिएको छ । त्यही सिलसिलामा उहाँले लेख्नु भएका रचना इकोनोमिस्क एन्ड फेरिस्पल म्यानिस्फिक भनेर १९३०/४० मा धेरै पछि छापियो । त्यहाँ उहाँले उल्लेख गर्नुभएको मजदुर वर्गको आजको समाज त्यहाँबाट छुट्टिएको छ । ऊ आफूबाट छुट्टिएको छ । उसले के गर्दैछ थाहापाइराखेको छैन । मिसिनमा काम गर्दा उसले एउटा बिन्दु थिच्छ । एउटा बिन्दु थिच्दाखेरीमा त्यो थिचिएको बिन्दुमा पुगीकन कुन बिन्दुमा गएर त्यसले के बनाउछ ? त्यसले मोबाइल बनाउने हो कि ? बिस्किट बनाउने हो कि ?  त्यसले राइफल बनाउने हो कि ? त्यसले टाइप राइटर बनाउने हो कि ? उसले केही थाहा पाउँदैन । यसलाई मार्क्सले भनेका थिए - मनुष्य आफ्नो कृतित्वसँग, आफ्नो कलासँग, आफ्नो दर्शनसँग, आफ्नो सांस्कृतिक आयामसँग किनमेल हुँदैगएको छ । मार्क्स एउटा यस्तो समाज चाहनुहुन्थो जुन समाजमा मानिसको मनुष्यता नष्ट नहोस् । जुन समाजमा मानिसले म गर्दै छु भन्ने थाहा पाओस् । जुन समाजमा मान्छेलाई आफ्नो सिर्जनाको महत्त्व झल्कियोस् । त्यसपछि मार्क्सले भन्नुभयो पुँजीवादको सबैभन्दा ठूलो अभिशाप यही हो, यसले मान्छेलाई वस्तुमा परिणत गर्दैछ ।


यसलाई मैले मार्क्सवादको केन्द्रीय सिद्धान्त भनेको छु । मार्क्सवादको केन्द्रीय सिद्धान्तमा रहेका वर्ग संघर्षको सिद्धान्त सर्वहारा वर्गको अनिनायकत्त्वको सिद्धान्त ती सबै साधन हुन् । साध्य के हो भने मनुष्यको आत्मनिर्वासनलाई अन्त्य गर्ने, मनुष्यलाई वस्तु हुनबाट रोक्ने हो । मैले बुझेको मार्क्स यो हो । कमरेड राम कार्कीले के बुझ्नु भएको छ मलाई थाहा छैन । मार्क्सको यही बुझाइलाई लिएर उनीप्रति आशक्त छु, अनुरक्त छु जसले जे भनेपनि म मार्क्स र एङ्गलेल्सको अध्ययन गर्न छोड्न सक्तिन ।

मार्क्सले भन्नुहुन्छ - साम्यवाद आइसकेपछि यस्तो समाज बन्छ जहाँ मनुष्यले एकपेट गाँसबासको लागि मुग्ध भएको काम मरिमरी जोतेर गर्नुपर्ने । अफिम भांग खाएजस्तै । सम्मानपूर्वक बस्न पनि नपाउने काम गर्दा पनि बेमनको काम गर्नुपर्ने कुरा साम्यवादमा हुन्छ । साम्यवादको बेमनको मान्छे बिहान माछा मार्न सक्छ, दिउँसो किताब पढ्न सक्छ, साँझ गीत गाउन सक्छ । उसले सकेको काम गर्छ । र पूर्ण मनुष्य हुन्छ । एउटा मार्क्सको सपनामा पूर्ण मनुष्य छ ।

आज जब हामी प्रजातन्त्रको कुरा गर्दैछौँ, लोकतन्त्रको कुरा गर्दैछौँ । तपार्इँहरूलाई कसैले भन्नसक्छ - तलाईं लोकतन्त्रमा के चाहियो ? चुनाव पनि छ, प्रेस पनि स्वतन्त्र छ, अदालत पनि छ । यो त कस्तो भने एउटा छोरीलाई बिहे गर्न मन छैन । बाबुले यो केटासँग बिहे गर भन्दा छोरीले मन परेन भन्दा किन मन परेन ? आँखा छैन कि, कान छैन कि भनेर जबर्जस्ती छोरीलाई बिहे गराएको मैले देखेको छु । त्यसैले लोकतन्त्रको अवयव देखाएर यो लोकतन्त्रलाई तर्साउने जुन परिपाटी हाम्रो पार्टीमा छ तपार्इँहरूको पार्टीमा छ कि छैन ? तपार्इँहरूका पार्टीले पनि हाम्रो पार्टीको सत्गुण र दूर्गुण सबै सिकेको हुनाले र धेरैपटक सरकारमा सँगै बसिसकेको हुनाले सिकिसक्यो होला भन्ने आशा राख्छु । यही त हो नि लोकतन्त्र के चाहियो ? मासुभात खुवाएर खाएर भोट लिने मान्छेको कुरा छोड्दिनुहोस् । कति भोट तपार्इँहरूले पनि लिनुभो मैले पनि लिएँ होइन ? असली कुरा के हो भने राज्यको कुनै पनि निकायमा हस्तक्षेप गर्ने ठाउँमा तपार्इँहरू हुनुहुन्छ । 

तपार्इँहरूकोमा हस्तक्षेप गर्ने पनि छैनन् । हाम्रो पार्टीमा के छ भने पार्टीमा प्रस्ताव जे पास हुन्छ - त्यताकाले नि बुझ्दैनन् यताकाले नि बुझ्दैनन् । यो तपार्इँहरूलाई मैले भनेको होइन । नेपालगञ्ज समितिमा मैले भनेको भाषण हो । अर्थमन्त्रीले बजेट पढ्छ । लब्धाङ्कको प्राप्ताङ्कका अनुसार प्राप्त भएको छविक्रम अनुसार सात प्रतिशत बढेको छ भन्छ । उताकोले नि बुझ्दैनन् यताकाले नि बुझ्दैनन् । अन्त्यमा गिरिजाबाबु जुरुक्क उठेर मैले बुझे पनि नबुझे पनि पास गर भन्नुभयो । आशा छ तीव्रतापूर्वक तपार्इँहरू पनि एक चरणमा पुग्दै हुनुहुन्छ । मलाई यहाँ बोल्न अप्ठयारो विषय दिएको छ, यो मेरो समस्या त्यो हो । मलाई यहाँ मार्क्स र एङगेल्सको प्रेम कहानी भनेको भए सुनाइदिन्थे । त्यसैले आज पनि नेपालमा लोकतन्त्र त लोकतन्त्र गणतन्त्र पनि दुनियाँमा कही नभएको आइसक्यो भन्दैछन् । म तपार्इँहरूलाई के भन्न चाहान्छु भने- यसलाई मार्क्सले भनेको र परिकल्पना गरेको गणतन्त्रसँग तुलना गर्ने हो भने अरू केही नपढे पनि इकोनोमिक एन्ड फिलोसफिकल  म्यानुस्क्रिप्ट १८८४ मा लेखेको त्यो पढ्नु भए हुन्छ । 

मैले मार्क्सको उद्धरण गरेको हिसाबमा नेपालले लामो यात्रा गर्नुछ, धेरै अगाडि बढ्नुछ । अहिले सबै दलहरूमा जे जस्ता गतिविधि देखिए पनि आफ्नो पार्टी नभई सबै कार्यकर्ताले पहिले आफ्नो पार्टीभित्र र सिंगो समाजमा संघर्ष गर्नुपर्ने देखिन्छ । तर, समाजको मात्र संघर्ष छैन । यो मैले संकेत गरेको समस्या, रोगहरू नेपाली समाजमा सीमित छैनन् । 

आज विश्व एकनासको बन्दैछ । त्यसलाई भूमण्डलीकरण भन्नुहोस्, बाल्कानीकरण भन्नुहोस्, उपभोक्ताका साथ बौद्धिकता भन्नुहोस् सारा संसारमा कस्तो एउटा विचित्रको मानसिकता चलेको छ भने यो निर्विकल्प छ । यो विश्व प्रणाली जुन छ यो विल्कुलै यसको विकल्प नै छैन । नयाँ फ्याक्ट्री खोल्नै पर्छ, विदेशीसँग लोन लिनै पर्छ, बाटो बनाउनै पर्छ, हवाइजहाज रेल ल्याउनै पर्छ । के के ल्याउनुपर्छ यो विचित्रको अवस्था आएको छ । यो कुनै व्यक्ति विशेषलाई भन्ने काम छैन । सबै प्रधानमन्त्रीको यही भनाइ छ - नेपाललाई परिवर्तन गर्ने, नेपाललाई स्विटजरल्यान्ड बनाउने, चीन बनाउने र भारत बनाउने कुरा छ । नेपाल चाहिँ नबनाउने कुरा छ । मलाई तपार्इँहरूलाई भन्दैछु यो विडम्बना, यो दुर्भाग्य नेपालको मात्र होइन । यो विश्वमा कुनै पनि वैकल्पिक चिह्न र वैकल्पिक अवस्था छैन ।


कार्ल मार्क्सको अर्को कुरा के छ भने - मार्क्सवादको अर्को नाम नै क्रिटिकल थ्योरी हो । यसले हरेक कुरालाई किन छुन्छ ? जुन थेसिस र एन्टिथेसिस भनेजस्तै आज जुन वास्तविकता छ त्यसको पनि विकल्प र विरोध छ । सोच्नुहोस् त मार्क्सवाद बुझ्नलाई मार्क्स पढ्न पर्दैन । त्यो पनि पढ्नु भयो भने अलमलिनुहुन सक्छ । थोरै पढे पुग्छ । के आजको वर्तमान समाजको कुनै विकल्प छैन त ? नेपाली समाजको अर्को विकल्प छैन त ? यो नै अन्तिम कुरा हो त ? तपार्इँहरूलाई मैले पहिला तपार्इँहरू हस्तक्षेप गर्न ठाउँमा हुनुहुन्छ भनेर सोधे । तपार्इँको उत्तरै नपर्खीकन मैले आफैँले हुनुहुन्न भनेर जवाफ दिए । 
साँच्चै नै मार्क्सले बताएको बाटोमा, अन्य क्रान्तिकारीले बताएको बाटोमा हामी अगाडि बढ्न चाहन्छौं भने वर्तमानमा वास्तविकतालाई स्वीकार गर्दागर्दै पनि दुईवटा कुरा अघि मैले भने मार्क्सवाद आदर्श हो । आदर्शको प्रतिरोध, विरोध हुँदैन, यथार्थ हुन्छ । मैले ध्रुवताराको उदाहरण दिएँ - आँखा आकाशमा राखे पनि पयर त भूइँमा हुनपर्छ नि ? 

आजको यथार्थ यस्तै भयो । तर, यस  यथार्थमा टेकेर अगाडि बढ्ने ठाउँ के हो त भन्दा मैले के देख्छु भने नेपाल आज साँच्चै अत्यन्तै अप्ठेरो ठाउँमा आइपुगेको छ । हामी सानो संघर्षबाट यहाँ आएका छैनौ । नेकपा (माओवादी)को नेतृत्वमा भएको 'जनयुद्ध' र त्यसपछि भएको द्वितीय जनआन्दोलन सानो घटना होइन । कुनै समय २५ सय वर्षअघि नेपालमा जन्मिएका गौतम बुद्धले सारा विश्वलाई एउटा सन्देश दिएका थिए । त्यतिबेला सञ्चार थिएन । त्यतिबेला लेख्ने हामीहरूको त्यति हैसियत थिएन । हामीले जस्ता प्रकारले यहाँ क्रान्ति गर्यौं, जस्ता प्रकारले न्यायालय व्यवस्था ल्याउछौँ भन्यौँ । एक वर्षसम्म त माओवादी नेताहरूको मुखमा झुन्डिएकै थियो, नयाँ नेपाल बनाउने भनेर । तपार्इँहरूले अनेकपटक नयाँ नेपालमा थपडी बझाउनु भयो होला । आज ठीक छ नयाँ नेपाल बनाउने भनेको संविधान बनेको थिएन, संविधान नबनेको हुनाले नयाँ बनेको थिएन भन्ने हिजोसम्म त बाहाना थियो । अब के बाहाना गर्ने ?  अब नयाँ नेपाल कसरी बनाउने त ? त्यो नयाँ नेपाल बनाउने हो भने - मैलेमाथि भनेजस्तै कसरी बढीभन्दा बढी अधिकार तल जान्छ । यसमा चिन्तन गर्नुपरेको छ । त्यसका लागि नेपालमा अब संविधानमा टेकेर अथवा संविधानलाई सुनौती दिएर भए पनि जनताका शक्तिका अनेकाअनेक संस्थान अवयवहरू बनाउनु परेको छ । लोकतन्त्र भनेको शक्तिको वितरण र पृथकीकरण हो । शक्तिको केन्द्रीकरण होइन । जति शक्ति केन्द्रित भइरहेको छ । त्यसलाई पनि विकेन्द्रित गर्दै जाने अभ्यास लोकतन्त्र हो । राम्रो कुरा भएको छ, गाउँमा शक्ति गएको छ । गाउँपालिका नगरपालिका बनेको छ । तिनलाई अब कार्यगत अंग बन्न दिने अथवा तिनीहरूलाई अथवा राजनीतिक अंगमात्रै बन्न दिने । अब एउटा राज्य काठमाडौंमा अनि अर्को राज्य जनकपुरमा उस्तैउस्तै अनि तल एउटा गाउँमा बस्तीको रूपमा त्यो भएर हुँदैन । हामीले मार्क्स र लेनिनलाई पढ्ने हो भने पुरानो राज्यको प्रकृति खोजेको होइन । नयाँ किसिमको राज्य खोजेको हो । तपाईहरूले मार्क्सवाद अवश्य पढ्नुभएको छ । लेनिनले १९१७ बोल्सेविक क्रान्ति गर्दा ठूलो घटना भयो । 

त्यतिबेला मार्क्सवादको द्वन्द्व नेता मानिएका सबैले भने मार्क्सले भनेकै छैन, केको सोभियत क्रान्ति हुन्छ भने । लेनिनले यसको उत्तर दिनुभयो । उत्तर दिने क्रममा उहाँले के भन्नुभयो भने सबै सत्ता सोभियत संग्रह हुन्छ भन्ने क्रममा लेनिनको रचनामा आधारित भएर कविहरूले कविता लेखे । यस्तो अवस्था आउनेछ जहाँ सबैलाई राज्य चलाउन आउनेछैन । मार्क वाइसीको कविता छ 'टु एभ्री कुक वी सेल टिक आउट द स्टेट' अस्ति झापामा पनि हामीले यही कुरा गरेका थियौं, राम कार्कीले हत्त न पत्त सबै भान्सेले राज्य चलाउँछन् भन्नुभयो । सर्वहाराको राज्यमा भान्से नभन्दा गोदलान् भनेर भान्से भनेको हुँ भनेर उहाँले भन्नुभयो । 'टु एभ्री कुक वी सेल टिक आउट द स्टेट' त्यो तल सत्ता जाने जुन प्रक्रिया हो, तेज गर्नुपर्छ भन्ने प्रत्येक वर्डमा देखिएको छ । ठीक बेठीक जे भयो त्यही स्प्रिटमा माओत्सेतुङले आह्वान गरे । पदमा बसेका मानिसले पनि मनपरी गरेका छन् । गलत बाटोमा हिँडिरहेका छन् भने ज्यान समेत मुन्ट्याए हुन्छ । एकदिन नेपालमा यस्तो हुन्छ पदमा बसेको मान्छेलाई मुन्ट्याउने बेला फेरि आउँछ । यही हो मार्क्सवादको सिद्धान्त । 
उपभोक्तावादमा हामी यसरी फसेका छौँ कुनै क्रान्तिकारी चेतना आउनुअघि आत्मचेतना आउनुअघि काठमाडौंको फ्ल्याट त ठूलो कुरा हो । आइफोनको नयाँ संस्करण भए पनि हाम्रो चित्त बुझ्ला जस्तो छ । 

हामीलाई उपभोक्तावादले नजानी नजानी दास बनाउँदै छ । हामी आफ्नो लालचले गर्दा आफैँ पराधीन बन्दै छौँ । हामी आफ्नो अधीनमा छैनौ । रक्सी खाएर मातिएर हिँडेको मानिस जस्तै रक्सी खाएर गोडा लरबरिएजस्तै आफ्नो निर्णय लिन नसकेजस्तै उपभोक्ता समाजले हामीलाई आत्मचिन्तनबाट विमुख बनाउँदै छ । 
मोहनदास करमचन्द गान्धी क्रान्तिकारी थिए भन्दा तपार्इँहरूलाई अचम्म लाग्नसक्छ । क्रान्तिमा हिंसा गरिन्छ भन्ने आम धारणा छ । अरूका नभए पनि तपार्इँ हाम्रो त पक्कै छ । हुन त हिंसाबिनाको क्रान्ति भएको धेरै दृष्टान्त छन् । तपार्इँहरूले इतिहासमा पढ्नु भएको छ । मार्क्स त्यतिबेला दासप्यापिटल लेख्दै थिए । उनकै छेउछाउमा नजिकै बेलायती नागरिकले 'वन टु द लास्ट' भन्ने सानो किताब लेखेका थिए । मार्क्सले सबैलाई समान वितरण गर्नुपर्छ, सबै मजदुरलाई उसले गरेको कामको मूल्य दिनुपर्छ, पुँजीवादले शोषण गर्न हुँदैन, समाजवादका नियम अनिवार्य र अकाट्य छन्, जस्ता विषयहरू रहेको थियो । चन्दरास्किनले सानो कथा लेखेका थिए । यो कथा भन्न आवश्यक मैले देखेँ, किनकी यो कथा नबुझी तपार्इँ गान्धीको शिक्षा बुझ्नुहुन्न ।

कथामा एउटा किसान रहेछ । किसानको बारीमा लटरम्म अङ्गुर फलेको रहेछ, त्यो अङ्गुर पाकिसकेको रहेछ । पानी परेको खण्डमा त्यो अङ्गुर सबै बिग्रने रहेछ । एउटा बटुवा बजारतिर जाँदै रहेछ । त्यो किसानले बटुवालाई रोकेर तँ बजार जान पर्दैन, मेरो अङ्गुर टिपिदे बजारमा कमाउने पैसा यही दिन्छु भनेछ । बटुवा तयार भएछ । एक घन्टापछि अर्को बटुवा आएछ, त्यसलाई पनि किसानले त्यही भनेछ । २ घन्टापछि अर्को आएछ । हुँदाहुँदा उसले बिहान ७ बजेदेखि मान्छेराख्न थालेको साँझको ८ बजेसम्म आउनेहरूलाई अङ्गुर टिप्न राखेछ । सबैले अङ्गुर टिपे, ज्याला फैलाउने बेला आयो । ज्याला दिने बेलामा सबैलाई बराबर दिने क्रममा अगाडि आउने आउने बटुवाले भनेछ - म बिहान ८ बजेदेखि काम गर्दै थिएँ, ४ घन्टापछि आउनेलाई पनि सय रुपैयाँ, मलाई पनि सय रुपैयाँ यो त भएन भनेछ । अङ्गुरको मालिकले भनेछ - तपार्इँ दुई पेट खान सय रुपैयाँ चाहिन्छ, अर्कोलाई पनि सय रुपैया नै चाहिन्छ, तेरो भाग हरण गरेको छैन, अर्कोलाई दिएँ त के बिग्रियो भनेछ ।  

यसलाई भन्छ 'वन टु द लास्ट' आर्थिक रुपमा पनि केही दिने । यो किताब गान्धीले ‍पढेर  सर्वोदयको सिद्धान्त निकाले । जसले जति काम गरे पनि पेटभर खुवाउने हो । गान्धीको भनाइ के हो भने हिंसाबाट क्रान्ति गर्न हुन्न । हिंसाबाट आएको शासक अर्को राजा हुन्छ । त्यसको अगाडि मान्छेले चुइक्क बोल्ने हिम्मत समेत राख्तैन । यो गान्धीको विचार हो है मेरो विचार होइन । माओवादीले मार्क्सवाद मान्नुपर्छ भन्ने छैन। गान्धीले के भनेका थिए भने हामीलाई स्वराज चाहिएको छ । स्व प्रजातन्त्र हो, अर्को स्वमा शासन । स्वतन्त्र भनेको स्वले आफूलाई शासन गर्ने । एउटाको राजतन्त्र राजाले शासन गर्ने, अर्का द्वितन्त्र दुई जनाले शासन गर्ने, लोकतन्त्र लोकले शासन गर्ने । गान्धीको भनाइको सार के थियो  भने जबसम्म मानिस आत्मसयंम हुँदैन, अनवश्यक त्यसको चाहना छोड्दैन । अनावश्यक कपडा, खाना आदि । कहिले काहीँ मान्छे पदकै चाहनामा पदको चाकडी गरिरहेको हुन्छ । अनावश्यक वस्तुको चाहना नछोड्दैमा, मानिस स्वाधीन हुँदैन, मानिस स्वतन्त्र हुँदैन, मानिस स्वतन्त्र भएन भने त्यो मानिसले लोकतन्त्रको परिकल्पना पनि गर्न सक्तैन । यो बिन्दुमा आएर मलाई के लाग्छ भने लोकतन्त्रको हामीले कुरा गर्दा आज नेपालमा अप्ठयारो छ ।

संविधान आयो भन्दैमा रमाउने ठाउँ छैन । लाखौं हाम्रो दाजुभाइ विदेश जाँदैछन् । विदेश जाने युवालाई रोक्न पनि हामीले सकेका छैनौ । रोजगारको सृष्टि भइरहेको छैन । यस्तो बेलामा हामीले लोकतन्त्रको मर्मलाई बुझेर छिट्टै नै के कस्ता संस्थान बनाएर साँचो अर्थमा सबैलाई राज्य र समाजमा हस्तक्षेपकारी भूमिकामा ल्याउन त्यो सबैभन्दा ठूलो चुनौती हो । यस बिन्दुमा गान्धीले भनेको स्वराज मार्क्सले भनेको आत्मनिर्वसनलाई हामीले ध्यानमा राखेर कार्यक्रम बनाउनुपर्छ । केही समयमा नै वामपन्थी सरकारले बजेट ल्याउँदैछ । कुन कार्यक्रम योजनाले वरिपरी भएको सबैभन्दा कमजोर र दुर्बल व्यक्तिलाई सबल बनाउँछ त्यो नै मैले बुझेको मार्क्सवाद हो । मार्क्सको लोकतन्त्र बिल्कुल खुला थियो । उहाँले बेलायतमा सत्ता र क्रान्तिमा उपयोग गर्नुभो । संसद्मा विश्वास राख्ने मित्रहरूले पनि लामो समयसम्म मार्क्सकै नाम लिए । अहिले संसद् र सोभियत संघमा विश्वास राख्ने मित्रहरू एक ठाउँमा आउनु भएको छ, विपक्षमा कांग्रेस पनि छ । हामी सबै मिली साचो अर्थमा मार्क्स, लेनिनलाई अध्ययन गरेर नेपाली समाजलाई चाहिने कार्यक्रम बनायौँ भने आजसम्मको जीवन जे भयो भयो अबको जीवन खेर जाँदैन भन्ने मैले विश्वास लिएको छु ।

कार्ल मार्क्सको द्वी शतवार्षिकीमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले 'लोकतन्त्र र मार्क्सवाद' विषयमा दिएको मन्तव्य
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०७५  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC