विचार
पहिलेका सम्माननीय मेरा लागि एउटै कारणले प्रिय छन् - तिनको शब्द चयन बेजोडको छ । गोरु नाङ्गो देखेर उनलाई लाज नलागेको धेरै भयो । गोरुगाडा चढेर उनि अमेरिका कहिल्यै गएनन् । तर, ती गणतन्त्र नेपालको गणतान्त्रिक संविधानपछिका पहिला गणतान्त्रिक सम्माननीय भइदिए देश र जनताका खातिर । भौतिक कम राजनीतिक परीक्षण र उपचार गराउन उनी दिल्लीको साटो ब्याङकक् पुगे भन्ने समाचार आयो । मलार्इ त विश्वास छैन । ती हदैसम्मका राष्ट्रवादीले त्यसो के गरे होलान् र ? ती हाम्रा लोकप्रिय नेता हुन् । उनले पदमा बसुन्जेल कहिल्यै माक: फुइँ लगाएनन्, कहिल्यै माखेसाङ्लो बनाएनन्, बिचरा उनले २-४ आँपसमेत कहिल्यै झारेनन् । उनले मोदीको सेखी भने झारे, मोदीको फुटबल टिमलार्इ एकपल्ट बंगलादेशमा, अर्को पल्ट मोदीकै आँगनमा पछारे । मोदीको धतुरोमात्र झारेनन् कालो बजारियाको बंगारासमेत नदारत पारे । उनैले चीनको बाटो रेल र तेल झारे । रंजित रेलार्इ साइजमा ल्याए, दीप कुमारलाई पाइजामा दिन भ्याए । अहो ! बिछट्ट बिछट्टका सपना कोरलेर उनले हामीलाई आल्हादित पारेकै हुन् । उनको सपनामा ' हो सरकार, ज्यू सरकार, जो हुकुम, जो निगाह सरकार' भन्न नसक्ने/ नमान्ने/ नजान्ने सबै विदेशीका 'दलाल' हुन् । केही अघिसम्म उनको रसबस नक्कली मयुरहरूसँगै थियो, सो रसबस के तुरियो अब तिनै मयुरका नाच अप्रिय भयो उनका लागि । उनका लाखेनाच जसले रुचाएन, उ 'अराष्ट्रिय' ठहरियो । मलार्इ उनको यो परिभाषा अत्यन्तै विश्मयकारी तर विशिष्ठ लाग्यो ।
वर्तमान सम्माननीयका पनि केही विशेषा गुण छन् । तीमध्ये उनको मौसमअनुरूपको ट्युनिक, मौसम अनुरूपको टनिक र मौसममाफीकै सनक उनका विशेष गुण हुन् । भित्ते राष्ट्रपतिबाट राजनीतिक रजतपटमा लोकार्पित यी बबुरा 'पति' पीडित सम्माननीय हुन् । यिनलाई पशुपतिले लखेटे, सेनापतिले बाटो छेके, राष्ट्रपतिले ' अलख निरन्जन' बनाइदिए । राष्ट्रपतीय अगुल्टोले हिर्काइएका हुनाले ' मेरा बाबा महतारी हजुर नै होइसिन्छ' को भंगीमामा शितल निवासबाट यिनले स्वस्तिवाचन गरेका छन् । कीर्तिपुरमा उत्तानो परेका यिनी 'सिराहामा बौराउने भए बौराओ, नत्र भने म बौलाएँ' भन्ने रोढ्याइ गर्ने बृद्धबालक हुन् । यी सर्वहाराले संविधानसभाको दोस्रो इनिंगमा सर्वस्व हारेँ भनेर सेना, प्रहरी, कर्मचारी, प्रतिस्पर्धी राजनैतिक दल, समाज र समग्रमा जनतालाई धारे हात लगाए । स्वैरकल्पनामा यिनैले आफ्ना कार्यकर्ताको मोटरसाइकलको हावा फुस्काए, रित्ता मतपेटिका प्रहरी चौकीमा पुर्याए । यिनलाई ' मार्क्सवाद- हो पनि, होइन पनि' जस्तो हो । बोकाको टाउको राखेर कुकुरको मासु बेच्न यी भूमिगतबाट धुरिगत के भए, विगतमा कहीं कतै नामै नसुनिएका खर्बपति उद्यमी, बेपारी च्याउसरी उम्रन पुगे नेपालमा । सारा संसार पोकेमान खोज्न मग्न यो घडीमा 'लोकेमान' यिनलाई खोज्दैन । यिनको पैत्रिक सम्पत्ति कति हो जगजाहेर छ तर हालको सम्पत्ति कहाँबाट आयो यिनैलाई थाहा छैन । जसलाई थाहा छ ती कि उँट चराउन हिँडे कि आफ्नै गिदी चराउन यिनैसँग हिँड्दै छन् । जंगबहादुर र बुद्धको फ्युजनको लेठो जपेर यिनले पूरै कन्फ्युजन सिर्जना गरेका छन् । सिद्धान्तत: यी जंगबहादुर बन्ने कुटिल चाल चल्ने 'नटवरलाल' नै हुन् भन्नेमा द्विविधा नहुनुपर्ने हो तर देखिन्छ ।
गर्भे सम्माननीयका कुरा त बुझिसक्नु भए पो? बातैपिच्छे 'भन्या' भन्छन्, के 'भन्या' कसले बुझ्ने ? यिनको सुदूर विगत बोधगम्य छ, निकट विगत बोधशून्य । यी बिपी भन्छन्, बिपी भज्छन् तर काम कर्तुत हेर्ने हो भने जीपी बज्छन् यिनका पदचापमा । गोर्खाली राजाले न्याय दिए भनेर फुर्किने पनि यिनै हुन्, गोर्खाली राजाले अन्याय गरे भनेर घुर्क्याउने पनि यिनै हुन् । गरीब देउपा परिवारमा जन्मेका भए पनि कुलीन ससुरालीका दौलत बदौलत देउवा बाबुसाहेब बनेका यिनका सहश्र विशेषतामध्ये एउटा के हो भने यी 'क्षेत्रीय' हुन् र 'क्षत्रीय' राजनीति गर्छन् । बीपीले जन्माएको पार्टीको मुली यिनी बीपीले सोचेको प्रजातान्त्रिक समाजवादको परिभाषासमेत प्रष्ट दिन नसक्ने 'विद्वान' हुन् । पैसा, पैसा अनि पैसा भनेर मरिहत्ते गर्ने यिनका दलका 'आसचपु' कार्जेकर्तालार्इ यिनले पैसाभन्दा पर समाज छ, त्यो समाजको भौतिक, सामाजिक र सांस्कृतिक आयाम हुन्छन् भन्ने न सिकाउन सक्छन्, न सिकाउन जान्छन् । यिनका लप्टनहरू पनि पैसाभन्दा अरू केही नदेख्ने रतन्धा छन् । सामाजिक चेतभन्दा पर बूढानिलकण्ठको एकान्तबासमा आर्थिक/ पुँजीको सामाजिक आयाममाथि लम्पसार सुतेर यी आफूलाई बीपीको घनघोर अनुयायी प्रमाणित गर्न लागिपरेका छन्, कुरो बुझिए पो?
विसं २०६२-६३ पछिको राजनीतिक परिवर्तनले तत्क्षण ज्ञानेन्द्रलाई घाटा देखिएपनि प्रकारान्तरले उक्त सम्माननीयहरू, स्वयंका विशिष्ट गुणादिका कारणले अलौकिक घाटामा हुने भए भन्ने शनै: शनै: बुझिँदै छ । परिवर्तनपछि सुयोग्य नपाए पनि अयोग्यलाई पाखा लगाउँदै जान सके नेपाली समाजले त्राण पाउला नत्र त फेरी उही हो ।
काठमाडौंबाट भागेको बिरालोले क्यानाडाको रुख चिथारेर के होस् ? जे होस्, जय होस् !
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३ ०९:१०
प्रतिक्रिया दिनुहोस्