site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
कर्नालीका विद्यार्थीले सरकारलाई गतिलो झापड दिएकाछन् - २० किलोग्राम चामल प्रधानमन्त्रीका नाममा पठाएर । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीवार संसद्मा कर्नालीबासीलाई जन्म र मृत्युका अवसरमा २० किलो चामल निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसलाई कर्नालीबासीको अपमान ठानेर युवा विद्यार्थीले प्रतीकात्मक विरोधस्वरूप जिल्ला प्रशासन कार्यालय, जुम्लामार्फत् प्रधानमन्त्रीलाई २० किलोग्राम स्थानीय कालीमार्सीको चामल पठाएका हुन् । जन्म वा मृत्यु संस्कारका लागि पनि अनुदान लिने अवस्थामा कर्नालीका बासिन्दा छैनन् र उनीहरू स्वाभिमानी तथा सचेत छन् भन्ने पनि विद्यार्थीहरूको यस आक्रोशबाट व्यक्त भएको छ । विद्यार्थीहरूको आक्रोश कर्नालीबासीमा चेतना बढ्दै गएको लक्षण पनि हो । विद्यार्थीले प्रधानमन्त्रीलाई चामलसँगै पठाएको ज्ञापनपत्रमा कर्नालीको विकासका लागि स्थानीय स्रोत साधनको विकास तथा शिक्षा, स्वास्थ्य, रोजगारी र यातायात विकासमा ध्यान दिन माग पनि गरेका छन् । 
 
हुन पनि सामान्य जन्म वा मृत्यु संस्कार गर्न कर्नालीबासीलाई सरकार वा अरू कसैसँग हात थाप्नुपर्ने अवस्था छैन र हिजो पनि थिएन । यथार्थमा केही दशक अगाडिसम्म तिब्बतलाई चामल बेच्ने कर्नाली अहिले हवाई जहाजमा लगेको अनुदाने चामलको आशामुखी बनाउने प्रवृत्ति राज्यको गलत नीतिले जन्माएको हो । पञ्चायत कालमा कर्नालीबासीलाई राज्यमा बढी निर्भर बनाउने निति र कार्यक्रम अपनाइयो । कर्नालीमा सिँचाइ सुविधा उपलब्ध गराएर उत्पादन बढाउनुभन्दा हवाई जहाजमा चामल लगेर सदरमुकामका कर्मचारी र जनतालाई अपेक्षाकृत सस्तोमा खुवाउने अभ्यास सुरु गरियो । फलस्वरूप, बिस्तारै स्थानीय खाद्य अभ्यास बिग्य्रो र 'भाते' बानी बस्यो । अर्कातिर स्थानीय खाद्यान्न बाली पनि बिस्तारै लोप  हुन थाल्यो । यसले गर्दा कर्नालीबासी राज्यमा थप निर्भर हुन थाले । राज्यमाथिको निर्भरतासँगै कर्नालीको गरिबी पनि बढ्दै गयो । आत्मनिर्भर जनता स्वाभिमानी हुन्छन् । स्वाभिमानी नागरिक अधिकारप्रति सचेत हुन्छन् । पञ्चायतका लागि सचेत जनता आवश्यक थिएनन् । यसैले पञ्चायत कालमा अनुदाने प्रवृत्ति नियोजितरूपमै हुर्काइयो । जनआन्दोलनपछि पञ्चायत त गयो तर पञ्चहरूले हुर्काएको अनुदाने प्रवृत्ति भने कायमै राखियो । सिंगो देशलाई नै परनिर्भर बनाउने अर्थतन्त्र अपनाइएका बेला कर्नालीमात्र अपवाद नहुनु अस्वाभाविक पनि थिएन । कर्नालीका जनता त केन्द्रका शासकको उपेक्षा र स्थानीय ठालुको दोहनको दोहोरो मारमा परे । मर्दापर्दालाई २० किलो चामल दिएर कर्नालीबासीमाथि ठूलै उपकार गरेको ठान्ने सरकारी मानसिकता त्यही अनुदाने प्रवृत्तिको परिचायक हो ।
 
कर्नालीका युवाले सही समयमा उपयुक्त शैलीमा आक्रोश प्रकट गरेका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियुले गरेको विरोधलाई 'राजनीतिक प्रचारवाजी'मात्र ठान्नेहरू पनि होलान् तर यस आक्रोशमा कर्नालीबासीको मर्म व्यक्त भएको देखिन्छ । कर्नालीबासीका लागि राज्यले विशेष अनुदान दिनु जरुरी छैन । संसारका सबैभन्दा महँगा जडिबुटीदेखि अपार जलस्रोतको भण्डार र पर्यटकीय सम्भावना भएको कर्नाली बाँकी विश्वसँग जोडिनमात्रै पायो भने त्यहाँको भौतिक कायापलट हुन बेर लाग्नेछैन । भोटमधेस छिचोल्ने सुरक्षित र सुविधायुक्त सडक, सबै सिँचाइ योग्य भूमिमा सिँचाइ सुविधा, शिक्षा र स्वास्थ्यका लागि कर्नालीबाहिर जानु नपर्ने व्यवस्था तथा स्थानीय विकासका कामलाई श्रम प्रधान बनाएर रोजगारीको प्रबन्धमात्रै गर्ने हो भने विकासका बाँकी काम कर्नालीबासीले आफैँ गर्नेछन् । तर, कर्नालीको विकासका लागि शासकहरूको उपेक्षामात्र हैन त्यहाँका ठालुहरूको दोहन पनि उत्तिकै बाधक छ । कर्नालीका सचेत युवाले सामन्ती चरित्रका केन्द्रका शासकहरूविरुद्धमात्र हैन स्थानीय ठालुहरूको शोषणविरुद्ध पनि संघर्ष सुरु गर्नुपर्छ । केन्द्रका शासकले जनमुखी परिवर्तन गर्न खोजे भने पनि स्थानीय ठालुहरूले भाँजो हाल्ने गर्छन् । कर्नालीबासी युवाको आक्रोशलाई सरकारले सकारात्मक र गम्भीररूपमा लिनुपर्छ र अनुदाने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ ।
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७३  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC