site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड जी ! अब त स्वीकार गर्नाेस् ‘जनयुद्ध’ गल्ती थियो

कुनै पनि आन्दोलनको सफलता वा असफलता आन्दोलन सुरु गर्नुपूर्व देखाइएका सपना आन्दोलनकै बलमा सत्तामा पुगेपछि केकति पूरा हुन्छ वा नेतृत्व पंक्ति पूरा गराउन प्रयत्नशील रहन्छ भन्ने कुराले निर्भर हुन्छ धेरैहदसम्म । ‘जनयुद्ध’ भनिएको माओवादी हिंसात्मक विद्रोहको अपरिहार्यता बोध गराउने भनिएको चालिस बुँदेलाई यसकै ठेकेदारबाट गराइएको टिठलाग्दो अवसानको प्रतक्ष्यदर्शी जनता यसको सफलता वा असफलताको सही फैसला गर्न सक्षम छन् । 

‘जनयुद्ध’को जगमा हासिल भनिएका उपलब्धिलाई तराजुको एउटा पल्लामा राखेर त्यसका लागि जनताले बगाएको आँसु, दिइएका यातना र चढाइएको रगतलाई अर्को पल्लामा राख्दा कुन पल्ला गहु्रंगो होला ? जनयुद्धकै कारणले नेपाली समाजमा बीजारोपण भएका  सामाजिक विग्रह अनि सर्वहाराको ठेकेदारमा खुल्लमखुल्ला आएका आत्मकेन्द्रित परिवर्तनलाई नियालेर तिनका ती कथनी र  यी करनीबीचको अन्तर देखेको नेपाली समाजमा जनयुद्धको औचित्य, आवश्यकताबारेमा बहस गर्नुपर्ने अपरिहार्यता झल्कन्छ । ढिलो वा चाँडो !
.....

खेतमा घाँस काटेर आउनेबित्तिकै आमा दाइलाई अंगालो हाल्दै भक्कानिनु भो — ‘बुबा..बुबा..’

Prabhu Bank
Agni Group
NIC Asia

बिहान खाना खाएर सधैँजसो जानुभएको आमाको त्यो चाल देखेर हामी रनभुल्लमा पर्‍यौँ । अझ, आमाले एकोहोरो ’बुुबा’ भनिरहँदा हामीले आफैँलाई सम्हाल्न सकेनौ ।

कसले के भन्यो आमा ?

Global Ime bank

के भयो तपाईँलाई ?

दाइले गाउँघरका कसैले केही नराम्रो पो भनेछन् भन्ने ठानी आमालाई प्रश्न गरिरह्यो ।

आमा रुनु भयोमात्र । केही भन्न खोज्नुहुन्थो तर सकिरहनुुभएको थिएन ।

‘बुबा....बुबा..’

एक घन्टाभन्दा बढी भक्कानिएपछि आमा अलिक सहज हुनुभो । दिदीले यही मेसोमा सोधिहालिन् — आमा,भन्नुस् न के भयो तपाईँलाई आज ।

आमा बोल्न खोज्नुहुन्थो । दाइ, दिदी र मलाई पालैपालो हेर्नुहुन्थ्यो । अनि बोल्न खाज्नैबित्तिकै गला अबरुद्ध हुन्थे ।

आमालाई यस्तो हालतमा देखेपछि बल्लतल्ल सम्हालिएर बसेका हामी पनि मुखामुख गर्नबाहेक केही गर्न सकेनौ ।

“आज तल्लाबारीमा घाँस काट्दैगर्दा मैले बुबाजस्तै मान्छै देखेँ । हिँडाइ उस्तै थियो । लवाइ ठ्याक्कै बुबाकोजस्तै थियो । बोल्छु भनेर दौडिँदै गा’को, भेट्टाउनै सकिन । के गरम्, कसो गरम भएर  दौडिँदै घर आएको ।”

आमाबाट यो अनपेक्षित  कुरा सुनेर हामीले आफूलाई सम्हाल्न सकेनौं । कोही कसैलाइ सम्हाल्ने स्थितिमा थिएनौ । एकअर्काे रोइरहेको हेर्नुबाहेक । त्यो रात फेरि हाम्रा लागि ज्यादै लामो बन्नपुग्यो ।

विसं २०५८ साल वैशाख १४ गते नेपाली सेनाले बुबालाई बेपत्ता बनायो । आमाको दाँतको उपचार गर्नेक्रममै । परिवारको कान्छो सदस्य म पाँच वर्षको हुँदो हुँ ।

अहिले २०७४ सालका अन्त्यतिरका दिनहरु तीव्र गतिमा दौडिरहेछन् । सोह्र वर्षभन्दा बढी भइसक्यो । आज पनि, उही एउटै आशा, एउटै सपना तर असम्भवप्रायः लाग्ने विपनाले हामीलाई पलपल मुर्छा पारिरहन्छ — बेपत्ता बनाइनुभएका बुबाको आगमन । 

डेढ दशक बितिसक्दा पनि मेरी आमालाई बेपत्ता पारिएका आफ्नो पतिको यादले कति बिध्न पिरोल्छहोला अन्तर्मनमा म देख्दिँन । तर, कहिले काँही बाटोघाटो, खेतबारी अनि चुलोचौकामा बुबाको यादले आफूलाई सम्हाल्न नसक्दा आइपर्ने यस्ता अवस्थाले स्वतः बताउँछ  — “सोमाटोफर्म डिसअर्डर” ।

यो एउटा मनोरोग हो । कुनैकुराको अत्यधिक चिन्ता लिनाले यो समस्या बढ्छ । सामान्यतया ६ महिना औषधि खाँदा निको हुने यो समस्या आमाले तीन वर्षभन्दा बढी औषधि खाँदा पनि लगभग उस्तै छ ।

‘तपाईँले मुखले कुने चिन्ता छैन भने पनि मनले अत्यधिक चिन्ता भएको देखाउँछ’ । फलोअपमा जाँदा डाक्टरले आमालाई सधैँ यही भन्छन् । आमा फिस्स हास्नुहुन्छ । त्योबेला उहाँका मनमा के कुरा खेल्दाहुन् ?

बुबाको अवस्था अज्ञात भएपछिका यी सोह्र वर्ष आमालाई कति कष्टप्रद बनेहोलान् ? त्यसबेला बुबाले क्रान्तिको अपरिहार्यता महसुस गराउन आफूसँग गरेका भलाकुसारी अन्ततः नेतृत्वको झुटको पुलिन्दा रहेछ भन्ने ज्ञान मेरी अनपढ आमालाई भइसक्यो ।

प्रचण्ड जी ! “आकाशका तारा” झार्ने सपना देखाएर कैयौं परिवारको पुस्तौंको सपना उजाडिदिएकोमा तपाईँलाई पश्चाताप हुँदैन ?

हाम्रो ‘सारा संसार’ रहनुभएका बुबालाई देखाइएका सपनाले तपाईँलाई पिरोल्दैन ?

बुबालाई सेनाले बेपत्ता बनाएपछिका कैयौं वर्ष मैले आमालाई एउटै प्रश्न सोधिरहेँ —‘आमा,बुबाले तपाईँसँग अन्तिमपटक के भन्नुभएको थियो ?सेनाले तपाईँलाई के भन्यो ’ ?

आमा मेरा यी प्रश्न सुन्नेबित्तिकै मलाई अँगालोमा बेर्नुहुन्थो अनि आफैँ रुन थाल्नुहुन्थो । समयक्रमसँगै यो अनुत्तरित प्रश्नलाई मैले मनमै राखेँ, मुखसम्म आउनै दिइन । 

नियति भनौ वा विवशता घरको कान्छो सदस्य मलाई काठमाडौंमा मित्रता नेपाल नामक संस्थामा पढ्न पठाइयो । अहिले म नेपालको एउटा मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छु । यसबीचमा मैले आमासँग सोध्न नसकेको त्यही प्रश्न आमा मलाई सोध्नुहुन्छ ।

अझ,सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाएको सुनेपछि आमा मसँगको प्रत्यक भेटमा भन्नुहुन्छ —बाबु ! बुबाको अबस्थाबारे केही जानकारी पाइस् त ? 

प्रश्न सुन्नेबित्तिकै म हरेकपल्ट स्तब्ध हुन्छु । विगतमा आफूले आमालाई यही प्रश्न सोधेको क्षण सम्झन्छु । एकछिन रोकिन्छु अनि आमालाई सम्झाउने कोसिस गर्छु । 

म आमालाई बेपत्ता आयोगमा मैले हालेको उजुरीमा आयोगले सो पत्रलाई नं – १७२६मा कारबाहीयुक्त अवस्थामा रहेको भनी भनेकोबाहेक अन्य केही भन्न सक्तिन । तर, यो आयोगले न्याय दिँदैन भन्ने हेक्का मलाई हुँदा पनि आमालाई सान्त्वनाका शब्दबाहेक केही भन्न सक्तिन ।

कुनै कालखण्डमा आफूले हजारौंपल्ट सोधेर पनि अनुत्तरित रहेको प्रश्नको जबाफ कालान्तरमा आफैँले दिनुपर्दाको पीडा महसुस गर्नसके हामी त्यो प्रश्न गर्ने थिएनौ कि ? आझभोलि मलाई यही कुराले पिरोल्छ ।

शान्ति सम्झौता भएको ६ महिनाभित्र गठन गरिने भनिएका आयोगहरु बल्लतल्ल दशकपछि गठन गरिए । राजनीतिक भागबन्डामा कर्मकाण्डीरुपमा अन्तर्राष्ट्रिय न्यायका मूल्यमान्यताविपरीत बनाइएका आयोगले चौध महिनामा नियमावलीमात्र बनायो । कतिपय ऐनकानुन संशोधन नगरीकन थपिएको म्यादको कुनै औचित्य छैन भनी आयोग प्रमुखले सार्वजनिक गरिसक्ता पनि सरकार आँखा चिम्लेर म्यादमात्र थपिरहेको छ । संविधानअनुसार अबको म्यादनै अन्तिम हुने प्रावघान हेर्दा द्वन्द्वकालीन आयोगद्वारा पीडितलाई न्यायभन्दा बढी चोट दिन सरकार उद्यत रहेको भान हुन्छ । 

न्यायको आशामा कैयौं वर्ष बिताई अन्ततः बाध्य भई आमरण अनशनको बाटो रोज्ने नन्दप्रसाद गंगामायाको साहसप्रति नमन गर्छु । तर, म लाचार छु । म उनजस्तो बाटो लिन सक्तिन । त्यत्रो दुःखको पहाड छिचोलेर यहाँसम्म आएको हाम्रो परिवारले गंगामायाको जस्तै अप्रिय निर्णय लिनु अर्को पुस्तामा पनि यो घाउ सारेर तिनको जीवनलाई समेत अन्धकारमा धकेल्नु हो । म त्यो चाहन्न । 

त्यसैले त मनभित्रका बह लुकाई आमालाई म हाँस्दै भन्छु —   “आमा, अब हामी स्वार्थी हुने । पहिला आफू बन्ने अनि परिवार बनाउने । परिवार बनाउन सकेमात्रै समाज बनाउने प्रण गर्ने अनि हाम्रो जस्तै परिस्थितिमा भएकालाई सहयोग गर्ने” ।

आमा मेरो मुखमा हेर्नुहुन्छ । अनि मुसुक्क हाँस्न खोज्नुहुन्छ ।

नेपालको इतिहासको विभिन्न कालखण्डमा परिवर्तनका लागि सहादत प्रात्त गरेका सपुतको परिवारका दुर्दशा हेरेपछि म ठोकुवासाथ भन्नसक्छु — अब हाम्रो भलाइ मैले माथि भनेकै कुरामा हुनेछ । फलस्वरूप, आउने पुस्तामा द्वन्द्वको अवशेषसमेत मेट्न सकौँ ।

मेरो बुबाजस्ता हजारौंले एउटा गल्ती गर्नुभयो — आफू र आफ्नो परिवारमा परिवर्तन ल्याउन नसक्ने वा नचाहने नेतृत्वले देशमा आमूल परिवर्तन ल्याउँछौँं भनेर गरेका तर्कहीन भाषणको जालमा परी सहादत प्रात्त गर्न तयार हुनुभयो । तर, हाम्रो पुस्ताका लागि अमुल्य सन्देश छाडेर जानुभएको छ । — “ अब नेपालको भविष्य अहिलेसम्म प्रात्त भएका उपलब्धिलाई रक्षा गर्दै जनताको मतको कदर गर्दै देशको आर्थिक अवस्था सुधार गर्नतर्फ अग्रसर हुनुपर्छ फलस्वरूप, अझै पनि जनतालाई एक आपसमा भिडाएर आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति निरुत्साहित बनोस्” ।

यसभन्दा ठूलो सन्देश हाम्रो पुस्ताका लागि के हुन सक्ला ?

प्रचण्ड जी ! तपाईँमाथि केही पहिले परेको पारिवारिक बज्रपातपछि मैले लेखेँ — ‘धन्य प्रचण्ड त भाग्यमानी रहेछन् । आफ्नो छोराको अन्तिम संस्कार त गर्न पाए ।

 सोह्र वर्षअगाडि बेपत्ता बनाइनुभएका मेरो बुबाको सास वा लासको कुनै ठेगाना नभएकैले  अहिलेसम्म पनि हाम्रो परिवारले अन्तिम संस्कार गर्न पाएका छैनौ । हाम्रो पीडातर्फ अब त ध्यान दिए हुन्थो ।’

हो ! मैले मेरो बुबाको अन्तिम संस्कार गर्न पाइन । आमा भन्नुहुन्छ — ‘बुबाको अन्तिम संस्कार अब त गर्नपर्छ बाबु ।’ 

विडम्बना, के भनेर गर्ने ? कुन दिनलाई तिथि मानेर गर्ने ?

प्रचण्ड जी ! एउटै मानिसलाई कहिले सहिद कहिले बेपत्ता बनाएर सरकारले दिएको पीडाको घाउ निको पार्न किन चाहनुहुन्न ? 

आफ्नो अन्तिम सास रहँदै आफन्तलाई के, कसरी, किन बेपत्ता बनाइयो भन्दै सास वा लास जे भएपनि पाउँ भनी माग राख्ने मेरी आमाजस्ता हजारौं द्वन्द्वपीडितलाई कतिन्जेल तड्पाउनुहुन्छ ?

प्रचण्ड जी ! जनयुद्धले मेरो जीवनमा छरेका बाछिटालाई कुनामा राखेर ’जनयुद्ध’का जगमा हासिल भएका भनिएका उपलब्धिलाई नियाल्दा मन खिन्न हुन्छ । 

माओवादीले ‘जनयुद्ध’लाई सफल पार्न जायज नाजायज अनेकौंं हत्कन्डा अपनायो । दूरदराजका सर्वहारालाई तत्कालीन सत्ताका विरुद्ध आवाज उठाउन बाध्य बनायो जनसत्ता स्थापनाको सपना बाँडेर । चुलो चौकाको अध्याँरो चौघेराभित्र गुम्सिएका महिलामाझ पितृसत्ताको खेदो खन्यो । दलित, आदिवासीमाझ वाहुनवादविरुद्धको बिगुल घन्काइदियो । आफ्नो उद्देश्य प्राप्तिको लागि माओवादी नेतृत्वले समाजका हरेक संरचनामा ‘देश अनुसारको भेष’ बदली व्यापक सहभागिता जुटायो । अन्ततः आफ्ना आधारभूत मागलाई माओवादीले विस्तृत शान्तिसम्झौतामार्फत सारा देशको मागका रुपमा पुनर्भाषित गर्न सफल भयो ।

पहिलो संविधानसभामा अत्यधिक मत दिई ’जनयुद्ध’का नेतृत्वकर्तालाई अलिकति डर, अलिअलि रहर अनि असीमित भरले  जनताले चुने र देखाएका सपना पूरा होस् भनेर पदमा आसीन गराइदिए । 

‘जनयुद्ध’ताका दूरगामी प्रभावको आकलन नगरी निहित स्वार्थपूर्तिकै लागि बाँडिएका सपना माओवादीलाई घाँडो बन्यो । सीमान्तकृतलाई ‘तारा झार्ने’ सपना देखाई युद्धमा मर्नमार्न लगाउने नेतृत्वले अन्ततः लुसुक्क चोरबाटोबाट पानीमाथिको ओभानो बनी उनीहरुको मुद्दालाई ओझेलमा पारी निकृृष्ट राजनीतिक अवसरवादको नमुना प्रदर्शन गरेको छ । नेपालको धरातलीय यथार्थ इन्कार गरी हरेक जातीलाई स्वायत्त राज्य उपहार दिने प्रस्ताव गरी भाषणपिच्छे मगरात, लिम्बुवान, कोचिला, थरुहटलगायत प्रदेशको प्रसंग उप्काउने माओवादी नेता अहिले ‘अखण्डका’ पक्षमा खुल्लमखुल्ला पैरवी गर्छन् ।  

सर्वहाराको एक्लो ‘ठेकेदारी’ दाबी गर्ने माओवादी नेताहरु जनताको घरमा पुग्न लागि आजभोलि चुनाबबाहेकका साइत कहिल्यै जुर्दैन । दिनभर माक्र्सवाद, सर्वहारा, गरिब, निमुखा, भोको पेटका कुरा गर्ने अनि अँध्यारा रातमा जनतालाई वर्गशत्रु भनेर चिनाइएकाहरुसँग मोलमोलाई गर्दा कुनै हीनताबोध हुँदैन नेतृत्वलाई । 

बुर्जुवा शिक्षाको भविष्य छैन भनी कलम समाइरहेका कलिला हातमा बन्दुक थमाइदिएर हजारौंको भविष्य बर्बाद पार्नेहरु अहिले आएर आफ्ना सन्तानले सुविधासम्पन्न विद्यालयको प्रमाणपत्र  हातमा राखिादिँदा अतीत सम्झेर पश्चताप गर्दैनन् !

समानुपातिक समावेशीको जन्मदाता हौं भनी उल्लेख्य महिला सहभागिताको ग्यारेन्टी गर्ने कसम खाएको नेतृत्वलाई मन्त्रिपरिषद्मा एउटा महिला राख्नसमेत धौधौ पर्छ । ‘जनयुद्ध’मा आधाभन्दा बढी भाग ओगटेका महिला राज्य सञ्चालन गर्ने अवसर पाउँदा सधैँ वञ्चित किन हुनुपर्ने रहेछ ?

एउटै मोर्चामा रहेर समान उद्देश्य लिएकाहरु कोही साधारण उपचारसमेत नपाई घर न घाटको हुने अनि कोही रुधा लाग्नेबित्तिकै विदेश जाने अवस्था माओवादीको लागि अब नौलो रहेन ।

सहिदका सन्तानलाई राज्यले उमेरहद तोकेर प्रदान गर्ने सुविधाबाट बहुसख्यक बिमुख छन् । कैयौं सहिदका सन्तानले विद्यालयको मुख देख्न नपाएको अवस्थामा पढ्नेहरुसमेत विविध कारणले नियमित जान नपाउँदा सरकारले तोकेको अठार वर्ष उमेरहद नाध्ने हुँदा सहायताबाट वञ्चित भएका छन् । दुर्भाग्य, आन्दोलनका सहिद बेपत्ता परिवारका छोराछोरी पठनपाठन गर्ने विद्यालयको अवस्था दयनीय छ । आफ्ना सन्तानलाई सुविधासम्पन्न विद्यालयमा पठाउने माओवादी नेताले आफूसँगै एउटै मोर्चामा हुँदा सहादत प्रात्त गरेका सहकर्मीका सन्तानको  व्यवस्थापनमा कुनै गम्भीर पहलकदमी लिएकै छैनन् । 

राज्यले जनयुद्धका सहिद बेपत्तालाई दिने भनि वाचा गरेको दस लाख पाउन ठ्याक्कै दस वर्ष लाग्यो । किस्ताकिस्तामा गरेर दिइएको सो रकम उत्पादनमूलक काममा नभई घरखर्चमै सकिएको सबै पीडितको साझा गुनासो हो । रोजगारीको व्यवस्था गरी पीडितको संरक्षक बन्नुपर्ने सरकारले ‘चारो’मात्र छरिरह्यो ।

‘जनयुद्ध’का घाइते, सहिद बेपत्ताका परिवार कोही पनि अहिलेको माओवादीमा आएको रुपान्तरणबाट खुसी छैनन् । एकाध होलान् जो सत्ताको वरपर रमाइरहेका ।

तर पनि, माओवादी नेतृत्वलाई आफ्नो जस्तोसुकै कर्म ऐतिहासिक लाग्छ । जनयुद्धको नेतृत्वकर्ता शान्ति प्रक्रियामा आएपछि आफ्नो अनुकूलता हेरी कहिले ‘प्रचण्ड’ बने त कहिले पुष्पकमल । पुष्पकमलबाट ‘प्रचण्ड’ बने पनि ऐतिहासिक छलाङ ! ’प्रचण्ड’बाट पुष्पकमल बनेपनि ऐतिहासिक छलाङ ! नैतिक, राजनीतिक, वैचारिक स्खलन पनि छलाङ । खुफिया एजेन्सी “र” का प्रतिनिधि भेट्नु पनि छलाङ । सांसद खरिदविक्रीका लागि विदेशीसँग पैसा माग्नु पनि छलाङ ! 

एमालेले जनयुद्धकालीन मुद्दामा फसाउन खोज्यो भन्दै कांग्रेससँग सहकार्य गरी सत्तामा जानुुुु पनि जायज । अनि आफैँले परिवर्तनविरोधी  भनेर रटान लगाइरहेको पार्टीसँग बिना वैचारिक छलफल गरिने एकतापनि जायज । नेतृत्वमा आएको यो स्खलनमा खबरदारी गर्नुपर्नेमा अधिकांश आफ्नो दुनो सोझ्याउन व्यस्त छन् । 

प्रचण्ड जी ! तपाईँको पार्टीले ‘जनयुद्ध’का दौरान सहिद र बेपत्ताको नाममा केही कार्यक्रममा औपचारिक मौनधारण गर्नुबाहेक अरु कुनै कार्यलाई पनि निरन्तरता दिएजस्तो मलाई लाग्दैन । बिन्ती, अब यसको कष्ट पनि नगर्नुस् !

कुमार विश्वासलाई सुन्दै थिएँ 

जिसका विरुद्ध था युद्ध

उसे हतियार बनाकर क्या पाया 

जो सिलालेख बनता 

उसको अखबार बनाकर क्या पाया ?

प्रचण्ड जी ! यी र यस्ता कविता सुन्दा मलाई तपाईँलाई नै गिज्याइरहेझैँ लाग्छ । पार्टीभित्र  विचारको बहसलाई व्यक्तित्वको लडाईँले विस्थापित गर्दा र मुद्दा बेवारिस अवस्थामा तुहाइदिँदा तपाईँको स्मृतिमा तत्कालीन दिनहरुले झक्झकाउन्नन् ? तपाईँ कहिले पानीबिना बाँच्नै नसक्ने माछा बन्नुभयो । कहिले धर्तीमा कहिल्यै पाइला नराख्ने चराझैं गर्नभो । तर, सामाजिक धरातल बुझेको मान्छे बन्न प्रयास नै गर्नुभएन ।

कुनै कथाकारलाई मान्छेले सहनसक्ने कठिनाइको कथा लेख्न  लगाएर तपाईँको नेतृत्वको ‘जनयुद्ध’ले क्षतविक्षत बनाएको परिवारको अवस्था बुझ्ने कष्ट गरे पनि तपाईँले आफ्नो कामको मूल्यांकनमा सहयोग पुग्नेथियो । कथाकारले सोच्नसक्ने पीडाभन्दा ’जनयुद्ध’ले छोडेको चोट बढी कष्टप्रद पाउनुहुनेछ ।

तपाईँका आजभोलिको दौडधुपले आफूले बनाएको धरातल हेर्ने फुर्सद नहोला । अब त्यो दिन आउँदैन होला पनि सायद । तपाईँप्रति मेरा आशाका किरण केही बाँकी छैनन् । गुनासाका पुलिन्दा छन् जरुर । 

प्रचण्ड जी ! ‘जनयुद्ध’ताका ‘प्रचण्ड’ भन्ने मान्छे होला र भनेर शंका गर्ने सर्वहाराले तपाईँ खुला राजनीतिमा आएको दशकबढी समयमा तपाईँको नाडी छामीसके । तपाईँको एक आदेशमा मर्नमार्न तयार हुनेहरु अहिले आफ्ना ती दिनहरुप्रति पश्चाताप गर्छन् । तपाईँले उठाएका मुद्दा, देखाउनुभएको आदर्श अनि देखिएको सपना सबै जाली प्रमाण्ति भइसके । यसको समीक्षा ठीलोचाँडो तपाईँले गर्नैपर्छ । 

तपाईँले लगाउनुभएको पारदर्शी लुगामार्फत् सबै नेपालीले तपाईँको बनावट देखिसकेपछि पनि किन आफ्नो लुगाबारे पुनर्विचार गर्नुहुन्न ? ‘जनयुद्ध’ले नेपाली समाजलाई अपूरणीय क्षति पुर्‍याएको छ । हासिल भएका केही उपलब्धि पनि तपाईँको कार्यशैलीले ‘कोमा’मा छन् ।

प्रचण्ड जी ! अब त स्वीर्कानोस् र सार्वजानिकरुपमा भनिदिनोस् — ‘जनयुद्ध’ गलत थियो । व्यवहारबाट प्रमाणित भइसक्यो । तपाईँको बोलीलाई अझै पनि विश्वास गर्ने कोही भए तिनले पनि समयमै सुन्न पाउन् !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०७४  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC