अधिकांश भारतीय मिडियाले चीनपरस्त भनेर चित्रिण नेपालका प्रधानमन्त्री केपी ओली आगामी साता भारत भ्रमणामा जाँदैछन् बहुमत प्राप्त कम्युनिष्ट गठबन्धन सरकारको प्रधानमन्त्रीका हैसियतमा । दिल्ली उनको स्वागतका लागि आतुर देखिन्छ । त्यसैको पूर्वाभ्यास थियो सरकार नवन्दै भारतीय विदेश मन्त्री सुषमा स्वराजको काठमाडौं भ्रमण र साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २१ दिनको अन्तरालमा दुई पटकको बधाई फोन । छिमेकीको राजनीतिलाई नजिकबाट नियालेका मोदीले ओलीलाई ‘इनकमिङ पीएम’ भनेर ट्विटसमेत गरेका थिए ।
नेपाली पक्ष एवं प्रधानमन्त्री ओलीको भाषा र संबोधनमा पनि मधुरता प्रकट भइसकेको छ । निर्वाचन अघिसम्म दक्षिणतिर फर्किएर राष्ट्रवादको चर्को नारा लगाउने नेकपा (एमाले) नेतागणले यतिबेला बहुमत प्राप्त भएपछि त्यस्तो उत्ताउलोपन देखाएका छैनन् ।
प्रधानमन्त्री ओली पनि सरकारको सय दिनको अवधि पूरा नहुँदै भारत भ्रमणमा निस्किँदै छन् । संविधान जारी भएपछि भारतको नाकाबन्दी र त्यसविरुद्धको अडान तथा नारावाजीले ओलीलाई राष्ट्रवादी नेता बनाएको हो । उनको त्यो अडानले निर्वाचनमा मत राम्रै आउँछ भन्ने पूर्वानुमान कम्युनिस्ट गठबन्धनलाई थियो । आखिर भयो पनि त्यस्तै । जनताको मनोविज्ञान बुझ्न नेपालका कांग्रेसभन्दा कम्युनिष्ट खप्पिस देखिए । ‘मास साइक्लोजी’ बुझ्न नसके निर्वाचनमा हार हुन्छ भने बुझ्न सके जनमत हासिल हुनसक्छ । नेपालको कम्युनिस्ट गठबन्धन यसपटक त्यही रणनीति प्रयोग गरेर सफल भयो ।
भारतको सत्तासीन दल भारतीय जनता पार्टीले नेपालसँगको सम्बन्ध र व्यवहार समयनुकूल रहेन भन्ने समीक्षा यसअघि नै गरेको थियो । भारतमा भारतीय राष्ट्रिय कांग्रेसको ६० वर्षे शासन कालमा अपनाएको जस्तै उपनिवेशवादी बिट्रीस नीति भाजपाका सरकारले अपनायोे भन्ने आवाज पार्टीमा उठेको थियो । भाजपाका नेता भगत सिंह कुशियारी र डा. दिनेश उपाध्यायको पटकपटकको नेपाल आगमन र अभिव्यक्तिले नेपाल सम्बन्धलाई दिइएको महत्त्व देखाउँछ । भारतमा भाजपाले मुलुकको शासनमा भएका सबै बेथितीको दोष कांग्रेसलाई दिएजस्तै नेपाल ‘हिन्दु राज्य’ नरहनुको दोष पनि कांग्रेसलाई नै दिँदैआएको छ ।
भारतका प्रधानमन्त्री मोदीले विदेशमन्त्री स्वराजलाई परिवर्तित राजनीतिक अवस्थामा नेपालसँगको सम्बन्धमा ‘कोर्स करेक्सन‘ गर्न नैं नया“ सरकार गठन नहुँैं नेपाल पठाएका हुन् । नयाँ सरकारसँग सम्बन्धमा प्रगाढ बनाउन स्वराजको नेपाल भ्रमण भएको हो । भारतले स्थिति सुधार्ने प्रयास गरिरह“दा उसको भावभंगीमा नेपाली पक्षले पनि बुझ्न आवश्यक छ । दिल्लीले नेपालसँगको सम्बन्धलाई यसपटक अलि महत्त्व दिएको देखिन्छ । नेपालले उक्त तथ्यलाई बुझ्न आवश्यक छ । दिल्लीले कहिल्यै पनि हाम्रातर्फबाट गल्ती भयो भन्ने गर्देन । उसले आफूलाई नेपालभन्दा वैभवशाली ठान्छ ।
संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइरालाको देहवसान हुदा“ पनि विदेशमन्त्री स्वराजलाई नेपाल पठाएर मोदी सरकारले समवेदना र श्रद्धाञ्जली व्यक्त गरेको थियो । संविधान जारी भएपछि गरिएको नाकाबन्दी गल्ती थियो भनेर सच्याउन पनि त्यहीँबाट थालिएको हो ।
त्यसो त दिल्लीको व्यवहार नेपालमा कम्युनिस्ट गठबन्धनका लागि फाप्यो । त्यसैको जगमा उनीहरुले निर्वाचन जिते । दिल्लीले अव्यक्त ‘कोर्स करेक्सन‘ गरे जसरी नै नेपालको कम्युनिस्ट गठबन्धन दिल्लीलाई विश्वासमा लिन आतुर देखिएको छ । दिल्लीले आफ्नो चाहना बुझेर नेपाल सरकारले सहकार्य गरोस् भन्ने चाहन्छ । विकास निर्माण होस् वा सुरक्षा र विदेश नीति सम्बन्धमा अहिलेभन्दा पृथक शैलीमा सहकार्य गर्न चाहन्छ । नेपाल त्यसअनुसार प्रस्तुत हुन्छ कि हुँदैन भन्ने हेर्नै बाँकी छ ।