site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिर्सौं बीपीलाई !
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
समर्थक र अनुयायीले 'महामानव' र 'जननायक' भन्ने गरेका र विरोधीले पनि राष्ट्रियता तथा लोकतान्त्रिक संघर्षको 'शिखर व्यक्तित्व' मानेका विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले जीवनको उत्तरार्धतिर नेपाली समाजको विकृति केलाउने क्रममा प्रयोग गर्ने गरेको एउटा शब्द हो - भुइँफुट्टा वर्ग । नेपाली बृहत् शब्दकोषमा 'भुइँफुट्टा' शब्दको ५ वटा अर्थ दिइएको छ । तीमध्ये चौथो अर्थ बीपीको प्रयोगको अपेक्षाकृत निकट छ । त्यसमा लेखिएको छ - कुनै स्वाभाविक क्रमविना सहसा पैदा भएको (व्यक्ति) । तर, यत्तिले भुइँफुट्टाको पूरा अर्थ खुल्दैन । बीपीले पञ्चायतकालमा 'विनापरिश्रम चाकरी चुक्लीका भरमा पदमा पुगेर, राष्ट्रको सम्पत्ति दोहन गरेर 'सम्पन्न' भएको र शक्ति केन्द्रका निकट बसेर हैकम चलाएको तथा वैदेशिक अनुदानको ठूलो भाग कुनै न कुनैरूपमा हात पार्ने जमिनमा जरा र जनतासँग सरोकार नभएको समूह'लाई चिनाउन 'भुइँफुट्टा वर्ग' शब्द प्रयोग गरेका थिए ।
अहिले एकैछिन आँखा चिम्लेर गमेर विचार गर्ने हो भने नेपाली कांग्रेसका अधिकांश केन्द्रीय नेता यही वर्गमा परिणत भएका देखिनेछन् । (आफैँले हुर्काएका कार्यकर्ता यसरी भुइँफुट्टा वर्गमा परिणत हुन पुग्लान् भन्ने अलिअलि सन्देह भए पनि बीपीलाई विश्वास चाहिँ थिएन होला । हुनत, अरू पार्टीमा पनि भुइँफुट्टाको हैकम कांग्रेसमा भन्दा कम हैन बरु बढी नै होला तर तिनले बीपीको नाम त बेचेका छैनन् । यसैले कांग्रेसका नेताको उदाहरण दिएको हो ।) विनापरिश्रम तिनले थुपारेको सम्पत्तिले अहिले कांग्रेसका नेतालाई जसरी भए पनि सत्तामा सत्ताको नजिकै बस्न बाध्य बनाएको छ ।
नेपालको लोकतान्त्रिक इतिहास विश्वेश्वरप्रसाद कोइरालालाई झिकिदिने हो भने खोक्रो हुन्छ । अहिले बीपीको राजनीतिक विचारको प्रशंसा बाबुराम भट्टराईदेखि कमल थापासम्मले गर्छन् । राष्ट्रियता र लोकतन्त्र एक अर्काका अभिन्न अङ्ग हुन् र राष्ट्र भनेको जनता हुन् भन्ने बीपीको राजनीतिको मूल मान्यता हो । अहिले कसैले पनि यी मान्यताप्रति विमति जनाउँदैन । बीपीलाई भारतीय दलाल भनेर कालोझन्डा देखाउनेदेखि अराष्ट्रियतत्त्व भनेर ढुंगामुढा गर्नेसम्म सबै नै अहिले उनका अनुयायी बनेका छन् । सायद, राजनेताको लक्षण यही हो ।
बीपीका विकाससम्बन्धी अवधारणा कम महत्त्वपूर्ण छैनन् । लोकतन्त्र पुनःस्थापनापछि उनका विकाससम्बन्धी अवधारणालाई 'प्रजातान्त्रिक समाजवाद'का नाममा अमूर्त चिन्तन बनाउनुको साटो व्यवहारमा कार्यान्वयन गर्न र कम्तीमा विकासको निर्देशक सिद्धान्त बनाउन खोजिएको भए नेपालको अहिलेको अवस्थामा धेरै परिवर्तन भइसक्ने थियो । बीपीको जीवनका उत्तरार्धका भाषणहरू विकासप्रति उनको दृष्टिकोण बुझ्न धेरै सहयोगी हुन्छन् । तर, बीपीको विकाससम्बन्धी चिन्तनको वैज्ञानिक र व्यवस्थित अध्ययन हुन सकेन । सायद, विभिन्न भाषण, लेख र अन्तर्वार्तामा छरिएका र राजनीतिक विचारसँग अभिन्नरूपमा जेलिएका उनका विकास सम्बन्धी धारणाहरू कतै एकत्रित वा संकलित पनि भएका छैनन् । 
बीपीले गरिब मुलुकमा लोकतन्त्र चल्न सक्तैन भन्ने शीतयुद्धकालीन पश्चिमी मान्यतालाई चुनौती दिएका थिए । यस्तै उनले नेपालमा राष्ट्रियता र लोकतन्त्र सँगसँगै जान सक्तैनन् भन्ने राजा महेन्द्रको मान्यतालाई पनि चुनौती दिएका थिए । यी दुवैमा बीपी सही सिद्ध भए । बीपीले उनकै शब्दमा 'हेनरी फोर्डको मोडल' विकासको सही ढाँचा हैन भनेर परम्परागत विकास धारणालाई चुनौती दिएका छन् । उनको विकासको यो वैकल्पिक धारणाको पर्याप्त विवेचना र विश्लेषण भने भएको छैन । यसैगरी उनले नेपालका लागि गुजारामूलक कृषि अर्थतन्त्रलाई नै उन्नत बनाउने विकास ढाँचा प्रस्ताव गरेका थिए । विकास विमर्शमा 'दिगो विकास' शब्दको प्रयोग हुनुभन्दा अगावै बीपीले त्यही शब्द प्रयोग नगरे पनि त्यसले बुझाउने अर्थजस्तै विकासको कल्पना गरेका थिए । विकाससम्बन्धी उनको सिद्धान्त सही भएको पुष्टि बिस्तारै हुँदैछ । विशेषगरी देशमा बढेको असमानता, परनिर्भरता, उपभोक्ता संस्कृति, भ्रष्टाचार र बेरोजगारी हेर्दा नेपालले २०४६ पछि अपनाएको विकासको नमुना गलत थियो र बीपी सही थिए भन्ने छर्लंगै देखिन्छ ।
नेपाली कांग्रेस सत्तामा पुगेपछि बीपीले भनेजस्तै राष्ट्रिय योजना आयोगमा राजाको तस्बिरसँगै हलो जोत्दै गरेको किसानको तस्बिर त राखियो तर मध्यम र निम्नमध्यम वर्गको किसानको हित हुने कुनै कार्यक्रम तर्जुमा गरिएन । अर्थात्, २०४६ सालपछि बीपीका अनुयायी हौँ भन्नेहरूले उनका विचारको ठीकविपरीत मुलुकलाई क्रूर पुँजीवादको बाटामा लगे । यसैले अब मुलुक बीपीले कल्पना गरेको भन्दा धेरै पर पुगेको छ । गुजारामूलक नेपालको अर्थतन्त्र बजारको हातमा पुगेपछि कमिसन र अनुदानको दुश्चक्रमा फस्यो । 
बीपीका विकास अवधारणा बुझ्न उनले २०३७ सालमा कीर्तिपुरमा आयोजित एउटा कार्यक्रममा भनेका केही पंक्ति उद्धरण गरौँ । "अहिलेको दुनियाँको आर्थिक नमुना अमेरिकी नमुना हो, जसलाई कम्युनिस्ट मुलुकलगायत अन्य विकासोन्मुख मुलुकहरूले पनि अनुकरण गरेका छन् । हाम्रोजस्तो पिछडिएको र गरिब मुलुकमा त्यस्तो नमुना उपयुक्त हुँदैन । हाम्रो विकास भनेको त (गाउँमा) अत्यधिक संख्यामा बस्ने गाउँले जनताका लागि उपयोग हुनसक्ने योजना हो । साना बाटा, साना घरेलु उद्योग, सफा पानी र राम्रो स्वास्थ्य ।" (देवीप्रसाद 'वनवासी', क्रान्ति पुरुष, २१०) ।
वर्तमानमा उभिएर एउटा उदाहरण हेरौँ । अहिले फास्ट ट्य्राक्ट नेपालको विकास विमर्शको केन्द्रमा छ । अर्कातिर, कर्नालीमा बनेको उत्तर दक्षिण जोड्ने एउटै सडक पनि अहिलेसम्म पूरा भएको छैन । चीनको नाका छिचोल्न त अझै कति लाग्ने हो । सडक निर्माण गर्दा जनताको सुविधा, रोजगारी र सुरक्षामा, वातावरण संरक्षणमा ध्यान दिइएन । फलस्वरूप, अहिले जति बाटो बनेको छ त्यसैको यात्रा पनि 'यमलोकको यात्रा' जस्तो हुन पुगेको छ । तर, नेपालको विकास विमर्शमा कहिल्यै कर्नालीको बाटो मुख्य बहसको विषय बन्दैन । 
कर्नालीको सडक किन विकास विमर्शको केन्द्रमा हुँदैन ? यसबाट कमिसन थोरै आउँछ । यसबाट थोरै जनसंख्यालाई लाभमात्र लाभ हुन्छ । अर्थात्, यसको प्रचार मूल्य कम छ । बहुराष्ट्रिय कम्पनीका ठेकेदारका लागि खासै आकर्षक छैन  । फास्ट ट्य्राकमा ठीक उल्टो छ । यसैले सबैको ध्यान फास्ट ट्य्राकमा गएको छ । अर्थात्, विकासको विमर्शमा माटोसँग सरोकार नभएका भुइँफुट्टाहरू निर्णायक भूमिकामा छन् । यसैले कर्नाली गौण हुन्छ तर फास्ट ट्य्राक राष्ट्रिय प्राथमिकतामा पर्छ । 
तनहुँको दमौलीमा पनि बीपीले विकासका सम्बन्धमा यस्तै गहिरो अर्थ लाग्ने सूत्रवत् विचार प्रकट गरेका थिए । २०३७ सालको असोज ६ गतेको जनसभामा उनले भनेका थिए - "(नेपाल) यो बजारमात्र हैन । नेपाल भनेको त गाउँ हो, जहाँ दुई छाक खान नपाउने, एक धरो लाउन नपाउने असंख्य जनता गाउँमा बसिराखेका छन् । गाउँबाट कुनै मानिस लाहुर जानु नपरोस्, बोरा बोक्नु नपरोस्, ... जबसम्म गरिब जनताको आँखाको आँसु पुछ्न सकिँदैन, पेटको भोक मेटाउन सकिँदैन, एक जोर लुगा र एउटा छाप्रोसम्म हुँदैन तबसम्म न राजा राजा हुन्छ न प्रधानमन्त्री प्रधानमन्त्री हुन्छ ।"(देवीप्रसाद 'वनवासी', क्रान्ति पुरुष, १८३)
विडम्बना, बीपीका अनुयायीका हातमा शासन पर्नेबित्तिकै उनीहरूको नीतिले गाउँलाई उजाड बनायो र गाउँलेलाई निरीह । कहाँ कोही पनि 'लाहुर जान नपरोस्' भन्ने बीपी कहाँ वैदेशिक रोजगार प्रवर्धनका लागि विभागै खडा गरेर युवा निर्यात गर्ने नीतिका निर्माता । लाहुरे त बरु बुढेसकालमा पेन्सन खाएर बस्छन् तर खाडीमा जाने कामदार उमेर धर्केपछि रित्तै फर्कन्छन् । पसिना पराइका लागि बगाएकोमा पछुतो गरेर बाँकी जीवन बिताउँछन् । गाउँमा खेतबारी बाँझो छ । काम गर्ने श्रमिक छैनन् । गाउँले विदेशी चामल किनेर छाक टार्छन् । कारखाना बन्द गरेर उद्यमीले व्यापार थाले । राजस्व भन्सार र भ्याटमा निर्भर गराइयो । मुलुकलाई यसरी परनिर्भर हुँदा भुइँफुट्टाबाहेक अरूलाई पक्कै खुसी लागेको हुँदैन । व्यक्ति जन्मजात भुइँफुट्टा हुने हैन । उसको कर्मले न भुइँफुट्टा बनाउने हो । 
बीपीले ईएफ सुमाकरको किताब 'स्मल इज ब्युटिफुल, (१९७३)' प्रकाशित नहुँदै साना उद्योग र व्यवसायको अवधारणा प्रकाशमा ल्याइसकेका थिए ।  हेनरी फोर्ड नमुना नेपालका लागि उचित हुँदैन भन्नुको तात्पर्य त्यही हो । 
बीपीका विकास अवधारणामा हेनरी फोर्ड नमुनाको विकल्प रहेको पहिचान विली ब्रान्टले गरेका थिए । उनले संयुक्त राष्ट्रसंघका लागि तयार गरेको अन्तर्राष्ट्रिय विकासका समस्यासम्बन्धी प्रतिवेदन, (१९८०) को सारसंक्षेपमा बीपीको अवधारणाको उल्लेख गरेका छन् ।  यसैगरी अर्को विकाससम्बन्धी उल्लेख्य प्रतिवेदन 'आवर कमन फ्युचर (१९८७)' ले अगाडि सारेको गरिबी, असन्तुलित उपभोग, वातावरण विनाश र दिगो विकास तथा सामाजिक अन्यायको पारस्परिक सम्न्ध र त्यसको जोखिमको विषय बीपीले केही वर्ष पहिले नै उठाएका थिए । 
उनका विकास अवधारणा जनकेन्द्री छन् । जनतालाई नै राष्ट्र मान्ने बीपी शासनमा जनताको प्रभुत्व स्थापित गर्न चाहन्थे । यसैले स्थानीय स्वशासनमा उनले जोड दिएका थिए । त्यस मान्यतालाई कार्यान्वयनमा लैजान खोजिएको भए सम्भवतः समावेशी र संघीय शासनका लागि यति ठूलो विध्वंश हुने पनि थिएन । नेपालका हकमा आत्मनिर्भरता राष्ट्रिय स्वाधीनता र जनताको स्वतन्त्रतासँग जोडिएको छ । अहिले वैदेशिक लगानी भित्र्याउन होड लाग्छ । तर, नेपालजस्तो मुलुकमा जति ठूलो कम्पनी हुन्छ स्वदेशी होस् वा विदेशी उति नै शासनलाई बढी प्रभावित पार्छ भन्ने सबैले बिर्सन्छन् । तेलियासोनेराले तिर्नुपर्ने कर पनि नतिरी गयो र उसलाई सरकारभित्रैबाट सघाइयो । ठूला बहुराष्ट्रिय वा विदेशको एउटै राष्ट्रको पनि कम्पनीविरुद्ध कारबाही  गर्ने आँट कमजोर सरकारले गर्नै सक्तैन । ठूला कम्पनी भित्र्याउन खोज्नेहरूले देशको सार्वभौम सत्ता र नागरिकको स्वतन्त्रता कमजोर बनाउँदैछन् । तर उनीहरूलाई त्यसैमा गर्व छ ।  
भुइँचालोले खलबल्याएको कलिलो पहाडमा डोजर चलाइपछि मुगलिङ-नारायण गढ सडक भत्कने र पहिरो जाने हुनु स्वाभाविक हो । श्रम प्रधान विकास नीति अपनाइएको भए, आत्मनिर्भर हुने दिशामा देशलाई लगेको भए, भन्सार हैन अन्तःशुल्कबाट राजस्व बढाउन खोजेको भए, जनताका पक्षमा बजेट खर्च गरेको भए बल्ल बीपीलाई सम्झने बाटो हुन्थ्यो । गाउँका गरिबलाई छोराछोरी पढाउन रिन काड्न र ओखतीमुलो गर्न डाँडा काट्न नपर्ने नेपाल बनाउन सकेको भए बीपीलाई सम्झने हक हुन्थ्यो । अब बीपीलाई सम्झने सबै बाटा मेटिइसकेका छन् । यसैले अब सम्झने हैन बिर्सौँ बीपीलाई ! कम्तीमा सन्तानले यति राम्रो पथप्रदर्शक हुँदा पनि बाटो बिराउने भनेर धिक्कार्ने त छैनन् ।
 
 
 
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७३  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC