दाङ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाँच नम्बर प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताएका छन् । पर्यटन प्रवद्र्धनका लागि बबई गाउँपालिकाले पश्चिम दाङको पुरन्धारा झरनामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ लाई मुलुककै उत्कृष्ट र आत्मनिर्भर प्रदेश बनाउन लागिपरेको बताएका हुन् । त्यसका लागि यहाँको पर्यटनको विकास गर्ने लक्ष्य रहेको उनले बताए ।
“लुम्बिनीमा आएका पर्यटकहरुलाई प्रदेशभर घुमाउन पर्यटन मार्ग बनाउने तयारीमा छौं । लुम्बिनी, प्यूठानको स्वर्गद्वारी, रोल्पाको जलजला क्षेत्र, रुकुम, दाङ हुँदै बाँके र बर्दियासम्मको पर्यटन मार्ग बनाइने छ,” उनले भने, “पर्यटन, कृषि, उद्योग सबै क्षेत्रको विकासद्वारा यो प्रदेशलाई आत्मनिर्भर बनाउने दिशामा हामी लागिपरेका छौं ।”