site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दीपझैं बलेका सन्दीप
Sarbottam CementSarbottam Cement

– निशान राई


प्रायः प्रतिभाहरू लुकेर बसेका हुन्छन्, हत्तपत्त बाहिर आउँदैनन् । तर, जब आउँछन्, तहल्का मच्चाउँछन् । कतिले त लामै समय राज गर्छन् ।

नेपाली क्रिकेटमा ठ्याक्कै यस्तै केही प्रतिभा छन्, जसलाई केही वर्षअघिसम्म न कसैले चिन्थ्यो, न कसैले गन्थ्यो । अहिले सबैका हाईहाई भएका छन् । तहल्कै पिटेका छन् । विश्व क्रिकेटमा हेडलाइन बनेर सबैलाई चकित बनाएका छन् । तिनै थोरैमध्ये एक हुन्– १७ वर्षे सन्दीप लामिछाने, जसले जुनियर टोलीमा परेकै वर्ष सिनियर राष्ट्रिय टोलीमा डेब्युमात्र गरेनन्, क्रिकेटरको सपना इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडीको इतिहाससमेत बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

“भिभो आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ! १७ वर्षका लेग स्पिनर सन्दीपलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो,” आईपीएल क्लब ‘दिल्ली डेयरडेभिल्स’ले ट्विट गरिरहँदा सारा नेपाली र खेलप्रेमीले उत्सव मनाइरहेको थिए ।

यता, सन्दीप भने ‘आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु’को तयारीका लागि नेपाली टोलीसँग नामिबियाको यात्रामा छन् । बिहीबार सुरु भएको ‘डिभिजन टु’ पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले हराउँदा ‘म्यान अफ दि म्याच’ बने उनै सन्दीप । उनले नामिबियाका महत्वपूर्ण ४ विकेट लिएका थिए ।

Global Ime bank

सन्दीपको अहिलेको चाहना आईपीएलभन्दा ‘डिभिजन टु’मा नेपाललाई च्याम्पियन बनाउने छ । आईपीएल लिलामीको सूचीमा परेपछि सन्दीपले ‘बाह्रखरी’सँग भने, “म अहिले आईपीएलभन्दा डिभिजन टुमा केन्द्रित छु । मेरो फोकस नेपाललाई कसरी जिताउने भन्ने नै हो ।”

‘डिभिजन टु’मा आयोजक नामिबियासँगै नेपाल, यूएई, केन्या, क्यानडा र ओमन छन् । ‘डिभिजन २’का शीर्ष दुई टिमले आईसीसी विश्वकप छनोटमा प्रवेश पाउने भएका कारण पनि नेपालका लागि यो निकै महत्वपूर्ण प्रतियोगिता हो । त्यसैले सन्दीपलाई आईपीएलभन्दा ‘डिभिजन टु’ महत्वपूर्ण लाग्छ अहिले ।

छोटो समयमा जुनियर र सिनियर टोलीमा स्थान बनाउने थोरै खेलाडीहरूको सूचीमा छन् उनी । यू–१९ विश्वकपमा ह्याट्रिक लिने पहिलो युवा बलर पनि हुन् उनी । त्यतिमात्र होइन, प्रतियोगिताकै दौरान अस्ट्रेलियाका पूर्वक्रिकेटर शेन वार्नसँग दाँजिए ।

नेपाली क्रिकेटमा सन्दीप एक अर्थमा भाग्यमानी हुन् । किनकि दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । योसँगै सन्दीप नेपालको इतिहासमा आईपीएल खेल्ने पहिलो खेलाडीसमेत बने ।

टी–२० क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेल (वेस्ट इन्डिज)लाई कुनै आईपीएल क्लबले भाउ नलगाउँदा सन्दीप बिक्री भए । गेलमात्र हैन, इशान्त शर्मा, हसिम अमला, डेल स्टेयन, जो रुट, लासिथ मालिंगाजस्ता खेलाडीहरूलाई कुनै क्लबले भाउ लगाएनन् । तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसोसियट राष्ट्र नेपालका सन्दीपलाई दिल्लीले किन्यो । आईपीएलमा एसोसियटबाट स्थान पाउने एक्ला खेलाडी पनि हुन् सन्दीप ।

सन्दीपले आईपीएलमा मैदान उत्रिने मौका पाउँछन् या पाउँदैनन्, त्यो हेर्न बाँकी छ । उनले दिल्लीमा ग्लेन म्याक्सवेल, जेसन रोय, गौतम गाम्भीर, क्रिस मोरिस, कागिसो रबाडा, अमित मिश्रा, मोहम्मद सामी, ऋषभ पन्त, श्रेयस ऐयर, ट्रेन्ट बोल्टजस्ता खेलाडीसँग नेट शेयर गर्नेछन् ।

आईपीएलमा अनुबन्धित भएको केही समयपछि सन्दीपले फेसबुक र ट्वीटरमा भनेका थिए, “म दिल्लीको टिममा पर्दा निकै उत्साहित र खुशी छु । मेरो लागि यो सम्भव बनाइदिनु हुने सम्पूर्णलाई धन्यवाद । अब यात्रा सुरु हुन्छ ।” 

विश्व क्रिकेटमा छोटो समयमै छलाङ मार्नुमा सन्दीपको प्रदर्शन नै पहिलो कारण हो । उनले सिनियर र जुनियर टोलीमा गरेको प्रदर्शनसँगै ठूला क्रिकेटरको हिमचिम पनि अर्को कारण हो । सन्दीपको उडानमा पूर्वअस्ट्रेलियन कप्तान माइकल क्लार्क ‘टर्निङ पोइन्ट’ हुन् । जुन दिन सन्दीपले क्लार्क भेटे, त्यसपछि उनको खेलले नयाँ लय र गति लियो ।

सन्दीप र क्लार्कको भेट हङकङमा भएको थियो । हङकङको घरेलु प्रतियोगिता ‘हङकङ टी–२० ब्लिट्ज २०१६’का बेला दुवैको भेट भएको थियो । सन्दीपले क्लार्कसँग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए । सन्दीपले त्यहीँ क्लार्कलाई प्रभावित पारे ।

“मलाई एउटा अफर आएको थियो, हङकङ टी–२० खेल्ने,” सन्दीपले सम्झिए, “पछि थाहा पाएँ कि माइकल क्लार्क पनि खेल्न आउँदै हुनुहुन्छ । आफ्नो देशलाई विश्वकप समेत दिलाएका पूर्वकप्तानसँग खेल्नु पाउनु मेरो लागि सबैभन्दा ठूलो अवसर थियो । उहाँले मलाई सम्पर्कमा रहिरहन भन्नुभएको थियो ।”

हङकङबाट फर्किएपछि सन्दीप विश्व क्रिकेट लिग च्याम्पियनसिपमा व्यस्त भए । च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्डसँगको खेलपछि केही समय फुर्सदिला भए । लगत्तै क्लार्कको एकेडेमीमा प्रशिक्षण लिन र खेल खेल्न अस्ट्रेलिया गए । सन्दीपलाई स्वागत गर्न क्लार्क स्वयं एयरपोर्ट पुगेका थिए ।

करिब तीन महिला अस्ट्रेलियामा बिताएका सन्दीपले क्लार्कको एकेडमी वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथवेल्स प्रिमियर खेलेका थिए । अस्ट्रेलियाको बसाइले सन्दीप थप निखारिए ।

नेपाल, भारत र फेरि नेपाल

दायाँ हाते लेग स्पिनर सन्दीप स्याङ्जाको आरुचौरमा जन्मिएर बाबुआमासँग सानैमा भारतको हरियाणा गए । उनले क्रिकेटको सामान्य ज्ञान भारतमै सिके । र, जुनियर टोलीबाट जिल्लास्तरीय खेलसमेत खेले । तर, करिअरको जग नेपालमा गाडियो ।

“मैले भारतमा क्रिकेटका सामान्य कुराहरू मात्र सिकें । क्रिकेटबारे जे सिकें, नेपालमै सिकें । अहिले म जुन स्थानमा छु, त्यो नेपालकै क्रिकेटबाट पाएको हुँ,” उनले भने ।

भारतबाट फर्किएपछि उनले नवलपरासीस्थित दिदीको घरमा बसेर पढ्न थाले । त्यसैबीचमा क्रिकेट खेल्न र सिक्न भनेर उनी चितवनस्थित पूर्वराष्ट्रिय टोलीका कप्तान राजु खड्काको क्रिकेट एकेडमीमा भर्ना भए । त्यसपछि बल्ल उनको क्रिकेट यात्राले गति लियो ।

भारतमा रहँदा उनले कुनै पनि एकेडेमीबाट क्रिकेटसम्बन्धी औपचारिक ज्ञान लिएका थिएनन् । खड्काको एकेडेमीमा भर्ना भएपछि बल्ल उनले आफूलाई अब्बल लेग स्पिनर बलरका रूपमा स्थापित गरे ।

सन्दीप यस्ता खेलाडी हुन्, जसले आफ्नो प्रतिभा देखाउन धेरै प्रतियोगिता खेल्नै परेन । किनकि उनीसँग विलक्षण प्रतिभा थियो । नेपाली टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायेकेले चिनिहाले । र, नेपाली टोलीको क्याम्पमा बोलाए ।

“पुबुदु सर एकपटक चितवन जानुभएको थियो । मेरो खेल देखेर उहाँले क्याम्पमा बोलाउनुभयो,” सन्दीप सम्झन्छन् , “त्यो मेरो जीवनको ठूलो टर्निङ पोइन्ट थियो ।”

त्यतिबेला घरेलु प्रतियोगिता नभएको लामो समय भइसकेको थियो । जुनियर खेलाडीहरू आउने सम्भावना निकै कम थियो । तर, सन्दीप अपवाद बने– ट्रेनिङ सेन्टरमा खेल्दाखेल्दै प्रशिक्षकको नजरमा परे ।

सन्दीप पहिलोपटक यू–१९ को राष्ट्रिय क्याम्पमा सामेल हुन आए । तर, इन्जुरीले गर्दा अन्तिम टोलीमा पर्न सकेनन् । त्यसपछि बंगलादेशमा सम्पन्न आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट खेल खेल्न मलेसिया जान पनि पाएनन् ।

छनोट चरणमा इन्जुरीले थचारे पनि उनले हार मानेनन् । यता, नेपाल बंगलादेशमा सम्पन्न सन् २०१६ को यू–१९ विश्वकपका लागि छनोट भयो । त्यसपछि बल्ल उनले आफ्नो खेल देखाउने मौका पाए । नेपाल विश्वकपमा छनोट भएपछि उनी इन्जुरीबाट मुक्त हुँदै प्रारम्भिक टोलीमा परे । र, क्यानले अन्तिम नामावली घोषणा गर्दा उनको नाम पनि आयो । त्यस दिन उनले वर्षौंदेखि देखिरहेको सपनाले पहिलो खुड्किलो उक्लियो ।

“राष्ट्रिय टोलीमा परेको खबर सुनेपछि म मज्जाले रोएँ,” उनले सम्झिए, “मलाई सानैदेखि देशका लागि खेल्ने चाहना थियो । राष्ट्रिय टोलीमा पर्नु सानो कुरा थिएन । त्यो मेरो जीवनकै नबिर्सने क्षण हो । त्यो क्षण बयान गर्ने शब्द नै छैन मसँग ।” यू–१९ विश्वकप तयारीका लागि क्यानले आयोजना गरेको सुपर लिगमा १२ विकेट लिएपछि सन्दीप सहजै टोलीमा परेका थिए ।

हुन पनि सन्दीपले त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै आफ्नो प्रतिभा देखाए । त्यो प्रतियोगितामा उनले ह्याट्रिकसहित १४ विकेट लिए । र, प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिने बलर बने । साथै, नेपालले १५ वर्षपछि यू–१९ विश्वकपको सुपर लिग (क्वाटरफाइनल)मा स्थान बनायो, जसमा सन्दीपको प्रदर्शन अब्बल रह्यो ।

“विश्वकप खेल्न बंगलादेश गयौं, हामीले निकै राम्रो खेल्यौं,” उनले सम्झिए, “मैले त्यहाँ आफ्नो व्यक्तिगत क्षमता देखाएँ होला तर हामी १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेका थियौं, त्यो हाम्रा लागि गौरवको क्षण थियो ।”

युवा विश्वकपमा सनसनी प्रदर्शन गरे पनि सिनियर टिममा टिममा पर्न सन्दीपले ठूलो तपस्या गरेका छन् । उनको बलिङ त्यत्तिकै बनेको होइन । उनी दैनिक ४–५ घण्टा नियमित अभ्यास गर्थे । उनको मेहनतलाई गुरु राजु खड्का र पुबुदुको ठूलो टेको दिए । उनीहरू दुवैले भन्थे, “तिमी नेपालका राम्रो लेग स्पिनर बन्न सक्छौ, राम्रो गर ।” उनले त्यसै गरे ।

विश्वकपका बेला नेपालले आईसीसीको टेस्ट मान्यताप्राप्त राष्ट्र न्युजिलान्डलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । न्युजिल्यान्डमाथि ३२ रनको जित निकाल्ने क्रममा डेब्यु सन्दीपले १ विकेट लिए । त्यसपछि उनी आयरल्यान्डविरुद्धको खेलमा एकाएक चर्चामा आए । त्यस दिन उनले ह्याट्रिक लिए ।

उनकै ह्याट्रिकको बलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले धूलो चटायो । सन्दीपले ३२ औं ओभरको अन्तिम ३ बलमा ३ आइरिस ब्याट्सम्यानलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । ३१.४ ओभरमा उनले लोर्कन टकरलाई १५ रनमा दीपेन्द्र ऐरीद्वारा क्याच आउट गराए । त्यसपछिको बलमा एडम डेनिसन व्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए । ३२ औं ओभरको अन्तिम बलमा बैरी टकर बोल्ड भएपछि सन्दीपले अविस्मरणीय ह्याट्रिक पूरा गरे । आयरल्यान्डसँग सन्दीपले पूरै १० ओभर बलिङ गरेर २७ रन खर्चिंदै ५ विकेट लिए ।

त्यो ह्याट्रिकसँगै सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने नेपालका तेस्रा र यू–१९ विश्वकपमा पहिलो क्रिकेटर बने । नेपालका लागि त्यसअघि अविनाश कर्णले मलेसियाको यू–१९ एसीसी एलिट कपमा ह्याट्रिक लिएका थिए । सिनियर टोलीबाट शक्ति गौचनले पाँच वर्षअघि दुबईमा आयोजित टी–२० विश्वकप छनोटमा ह्याट्रिक लिएका थिए ।

तर, सन्दीप आफ्नो त्यो ह्याट्रिकभन्दा टिमको जित ठूलो उपलब्धि भएको मान्छन् । भन्छन्, “मैले त्यहाँ ह्याट्रिक लिएँ तर मलाई त्योभन्दा ठूलो देशको जित लाग्यो ।”

तर, बंगलादेश र नामिबियासँगको खेल गुमाउँदा सन्दीपलाई निकै आघात पुग्यो । उनी यसलाई जीवनकै ठूलो दुःख ठान्छन् । “पहिलोपटक बंगलादेशसँग जितिसकेको खेल गुमाउँदा नराम्रो लाग्यो । त्यसपछि अहिलेसम्म दुःख लाग्ने खेल नामिबियासँग रह्यो । त्यो खेल हामीले जितेको भए सीधै अर्को पटक विश्वकप खेल्ने थियौं,” उनले भने । हालै न्युजिल्यान्डमा सम्पन्न आईसीसी यू– १९ विश्वकपका लागि नेपाल छनोटबाट बाहिरिएको थियो ।

सन्दीपले नेपाली सिनियर टोलीबाट ‘लिस्ट ए’का ११ खेलमा १७ विकेट लिइसकेका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा मात्र सन्दीपले ९ खेलमा १२ विकेट लिएका छन् । यस्तै गत वर्षको चैतमा बंगलादेशमा भएको ‘एसीसी इमर्जिङ टिम्स एसिया कप’मा चैत ५ विकेट लिएका थिए ।

नेपाली यू–१९ टोलीबाट त सन्दीपले विकेटको चाङ नै लगाएका छन् । सन् २०१६ मा बंगलादेशमा सम्पन्न यू–१९ विश्वकपमा ह्याट्रिकसहित १४ विकेट लिएपछि खेलेका सबै प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको छ ।

सिंगापुरमा भएको यू–१९ विश्वकप छनोटमा २४ विकेट लिएका सन्दीपले गत असोजमा मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजनमा १६ विकेट लिएका थिए । उक्त प्रतियोगितामा च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामै गत कात्तिकमा भएको यू–१९ एसिया कपमा सन्दीपले ९ विकेट लिएका थिए ।

शेन वार्नसँग तुलना

सन्दीप कुनै समय आफ्ना मनपर्ने खेलाडी अस्ट्रेलियाका बलर शेन वार्नजस्तै खेल्न चाहन्थे । “जब क्रिकेट बुझ्दै गएँ, मलाई शेन वार्नको बलिङ र सचिन तेन्दुलकरको ब्याटिङ असाध्यै मन पर्न थाल्यो,” उनले सुनाए, “म सधैं सोच्थें– म पनि शेन वार्नजस्तै बलिङ गर्न सकूँ ।”

समय आयो पनि । उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामै शेन वार्नसँग तुलना गर्न योग्य खेल देखाए । यू–१९ विश्वकप दौरान पाँचौं स्थानका लागि भएको प्लेअफअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा उनको बलिङ देखेर टिभी कमेन्टेटरले सन्दीपलाई शेन वार्नसँग तुलना गरे, जो निकै समय हिट भयो । आफूलाई शेन वार्नसँग दाँजिएकोमा उनलाई खुसी त लागेको छ तर त्यो स्थानसम्म पुग्न ठूलो तपस्या चाहिने पनि बुझेका छन् ।

“मलाई शेन वार्नसँग त दाँजियो तर म त्यो ठाउँसम्म पुग्न ठूलो मेहनत चाहिन्छ”, उनी भन्छन्, “तर विश्वास छ– म त्यहाँसम्म पुग्ने गरी आफूलाई तयार गर्छु ।”

सिनियर टोलीमा डेब्यु

यू–१९ विश्वकपमा एकएक चर्चामा आएपछि सन्दीपले सिनियर राष्ट्रिय टोलीमा पर्न भने खासै मेहनत गर्नु परेन । र, विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत गत वर्षको वैशाख पहिलो साता नामिबियाविरुद्धको खेलबाट डेब्यु गरे ।

उनलाई राष्ट्रिय टोलीमा पर्छु भन्ने लागेकै थिएन । तर, यू–१९ विश्वकपपछि पनि राम्रो प्रदर्शन गर्दै गए, जसले उनलाई सिनियर टिमसम्म तान्यो । खेलमा राम्रो ग¥यो भने सिनियर र जुनियर भन्ने केही हुँदैन । उनले त्यही प्रमाणित गरे ।

सन्दीपले सम्झिए, “जुन दिन अन्तिम नामवली सार्वजनिक हुने थियो, त्यो दिन हाम्रो मिटिङ थियो । मिटिङमा हाम्रो नाम सार्वजनिक हुने थियो, त्यहाँ चिठीमा मैले यताउता हेरें, केही देखिरहेको थिइनँ । चिठीको माथि हेरें, ‘बधाई छ सन्दीप लामिछाने’ भनेर लेखेको थियो । जुन दिन मेरो नाम टिममा पर्न सफल भयो, त्यो राति म राम्ररी पनि सुतिनँ । २–३ घण्टा मात्र सुतें होला । म एकदमै खुशी थिएँ किनभने मेरो सपना साकार हुँदै थियो ।”

सन्दीपले सिनियर टोलीमा समेत राम्रो छाप छाडे । कीर्तिपुरस्थित क्रिकेट मैदानमा वैशाख ४ र ६ गते नामिबियासँगका दुई खेलमा सन्दीपले ७६ रन दिएर ३ विकेट लिए । नेपालले नामिबियालाई दुवै खेलमा पराजित ग¥यो । सिनियर टोलीको डेब्यु खेलमा उनी केही नर्भस भने भएका थिए ।

“घरेलु मैदानमा १० हजारभन्दा बढी दर्शकको अगाडि खेल्नुपर्ने थियो,” डेब्यु खेलबारे सन्दीपले सुनाए, “सन्दीप, सन्दीप भनेर हुटिङ आइरहेको थियो । सुरुमा केही नर्भस थिएँ । तर, जब पहिलो बल ठीक ठाउँमा फालें, म खेलमा भिज्दै गएँ ।”

जे कुरा पहिलो हुन्छ, त्यो क्षण बिर्सनै नसकिने हुन्छ । नामिबियाविरुद्धको डेब्यु खेलमै सन्दीपले विकेट लिए । उक्त विकेट उनलाई अझै ताजै छ ।

“मैले त्यो बल अलि क्रिजभन्दा बाहिर वाइड फाल्न खोजिरहेको थिएँ । ब्याट्सम्यानले पहिलेदेखि नै कट गर्दै खेल्दै थिए । मैले त्यो बललाई अलि अझै माथिबाट फालेर हल्का टर्न गराएर ब्याट्सम्यानलाई कट लागेर टप एज लागोस् भनेर सोचिरहेको थिएँ,” सिनियर टोलिको डेब्यु खेलमा विकेट लिँदाको पल सन्दीपले सुनाए, “त्यस्तै भयो । बसन्त दाईले उत्कृष्ट क्याच गर्नुभएको थियो । क्याच गर्दा बसन्त दाइको कुहिनामा चोट पनि लागेको थियो । त्यो मेरो पहिलो विकेट थियो ।”

नामिबियाका ब्याट्सम्यानलाई ‘फ्लाइङ किस’

नामिबियाविरुद्धको दोस्रो खेलमा विकेट लिएपछि सन्दीपले दिएको ‘फ्लाइङ किस’ निकै चर्चित बन्यो । कतिले विपक्षीलाई दबाबमा ल्याउन गरिएको रणनीति सम्झिए त कतिले ब्याट्सम्यानलाई गिज्याएको ठाने ।

“क्रिकेटको नियम हामीलाई थाहा छ, ब्याट्सम्यानलाई त्यसरी जिस्काउन हुँदैन,” त्यो क्षणलाई संयोग ठान्ने सन्दीप भन्छन्, “खासमा मैले ती ब्याट्सम्यानलाई फ्लाइङ किस गरेर हैन । थर्ड म्यानको स्विप साइडतिरका दर्शकलाई गर्न खोजेको हुँ । ब्याट्सम्यान त्यहाँ परेकाले त्यस्तो देखिएको हो । अरुलाई नराम्रो लागेको भए म माफी चाहान्छु ।”

तस्बिर: रमन सिवाकोटी
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC