चिसो काठमाडौंमा औपचारिक निम्ताबिनै प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेषदूतका रूपमा विशीवार टुप्लुक्क आइपुगेकी भारतकी विदेश मन्त्री सुषमा स्वराज यहाँको भलाकुसारी सकेर शुकवार स्वदेश फर्किन् । नेपाल सरकारले निम्ता दिएर बोलाएको नभए पनि उनलाई विमानस्थलमा अर्थ राज्यमन्त्री र परराष्ट्र सचिवले स्वागत गरे । नेपाल बसाइमा भने उनले मूलतः चुनाव जितेको कम्युनिस्ट गठबन्धन र मधेसी दलका नेताहरूसँग भेटवार्ता गरिन् । एजेन्डाविहीन भ्रमणमा राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट औपचारिकतामात्र थियो भन्ने सहजै बुझिन्छ । उनले धेरै महत्त्व ’प्रतीक्षारत प्रधानमन्त्री’ नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई दिइन् । कम्युनिस्ट गठबन्धनकै अर्को घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी दलका नेताहरू उनको दोस्रो प्राथमिकतामा परे । विदेश मन्त्री सुषमा स्वराजको भ्रमणमा नेपाली कांग्रेसका नेता सबैभन्दा उपेक्षित भए । प्रधानमन्त्री निवासको दिवाभोज औपचारिकतामात्रै हो । कम्युनिस्ट गठबन्धनका नेतालाई भेटेरै बधाई दिन आएकी विदेश मन्त्री स्वराजको सद्भाव नेपालप्रति पनि हो कि चुनाव जितेका दलहरूकै लागिमात्र हो भन्ने थाहा पाउन त केही समय पर्खनै पर्ला । संसारको कुनै पनि मुलुकको प्राथमिकतामा आफ्नै स्वार्थ हुन्छ भन्ने बिर्सन हुँदन ।
भारतीय विशेषदूतले यसपटक तर्साउनुको साटो फकाएर गएको सन्देश प्रवाहित भएको छ । यद्यपि, भारतका विदेश मन्त्री सुषमा स्वराजसँग नेपालका राजनीतिक नेताहरू एक्लाएक्लै भेट गर्नुको रहस्य भने खुलेको छैन । सार्वजनिक हुनुपर्ने विषयलाई रहस्यमय बनाएपछि अड्कल र अनुमानकै त भर परिन्छ नि ! भारतीय पक्षले आफ्नो हितमा हुनेगरी अडकलेर सूचना प्रवाहित गर्नु स्वाभाविकै हो । नेपालका नेताहरू त भेटमा सहयोगी नै राख्दैनन् । संसारमा अन्यत्र यस्तो चलन बिरलै होला । एक्लाएक्लै भएको भनिएको भेटघाटमा के कुराकानी भए र भावि प्रधानमन्त्रीले भारतीय विदेश मन्त्रीलाई कुनै वचन दिएका वा सहयोग मागेका छन् कि भन्ने आधिकारिक अभिलेखसम्म पनि छैन । विगतमा यस्तै एकान्तका वाचाकबोलले नेपाली जनताले सास्ती पाएका र राष्ट्रिय अस्मितामा आँच आएको उदाहरण छ । एकान्त वार्तालापमा सबैलाई उनले सहयोग गर्ने वचन दिएको सार्वजनिक भएकोछ । यस्तो सहयोग देश हितकै लागि त होला भन्ने अपेक्षाबाहेक अरू गर्नै पो के सकिन्छ र ?
भारतले जति नै निकटता र विशेष सम्बन्धको दुहाइ दिनेगरे पनि २०७२ सालमा भुइँचालोले थिलथिलो भएको नेपालमाथि भारतले लगाएको नाकाबन्दीको पीडा नेपालीले अहिल्यै बिर्सेका छैनन् । विगतलाई बिर्सेर नयाँ युगको सूत्रपात गर्ने हो भने पनि सुषमा स्वराजको अतिहार्दिकता स्वाभाविकभन्दा नाटकीय देखिएको छ । कम्युनिस्ट गठबन्धनको सरकार चीनसँग निकट होला कि भनेर हतारमा गरिएजस्तो विदेश मन्त्री स्वराजको भ्रमणले नेपालमा कुनै सकारात्मक सन्देश दिनसकेन । सामाजिक सञ्जालमा त यसलाई हस्तक्षेप भन्नेहरूकै बाहुल्य छ । यद्यपि, अहिले भारतलाई सराप्नुको कुनै अर्थ छैन । कम्युनिस्टहरू एक हुन सकेनन् भने वा नेपाली कांग्रेस र मधेसी दलबीच दूरी बढ्यो भने त्यसमा भारतलाई दोष दिनु पनि सही हुँदैन । नेपालका राजनीतिक नेताहरू नै गँड्यौला प्रजातिका नहुने हो भने अरू कसैको इसारा वा सन्देशले केही गर्ने छैन । सुषमा स्वराजको भ्रमणको सन्देश आआफ्नै अनुमानअनुसार ग्रहण गर्न सबै स्वतन्त्रै छन् । तर, नेपाली जनमानसले यसलाई सकारात्मकरूपमा लिएको देखिएन । बाबुहरूको साटो विदेश मन्त्रीलाई नै मोदीले विशेष दूत बनाएर पठाए भनेर आत्मसन्तोष गर्ने ठाउँ भने छ ।