काठमाडौं । दिगो विकास सम्वन्धी लक्ष्यहरु (२०१६–२०३०) सम्बन्धी अन्तर्राष्ट्रिय सिकाई र भोगाई सम्वन्धी एकदिने सम्मेलन काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, अन्तराष्ट्रिय साझेदारी र विकास कार्यक्रम (एमआइसिडी), इन्टरनेशनल स्कुल अफ एड्भान्स स्टडिज (आइसास), कोअपरेशन एण्ड डेभलवमेन्ट नेटवर्क (सिडिएन) लगायतका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. युवराज खतिवडाले दिगो विकासमा नेपालको सिकाई र भोगाई सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कम विकसित देशहरु (लिष्ट डेभलवमेन्ट कन्ट्रीज–एलडीसी) वाचका अन्तररास्ट्रिय संयोजक गौरी प्रधानले नेपाल लगायतका अल्पविकशित मुलुकमा दिगो विकासको कार्ययोजना र दिगो विकासका लक्ष्यहरु प्राप्तिका समस्याका सम्बन्धमा प्रस्तुत गरेका थिए । को–अपरेशन एण्ड डेभलभमेन्ट नेटवर्क (सिडिएन) का प्रमुख प्रोफेसर जानी भाज्जीले दिगो विकासमा विश्वव्यापी अनुभवहरुका सम्वन्धमा आफ्ना भनाईहरु राखेका थिए ।
उक्त सम्मेलनमा नेपाल, प्यालेस्टाइन, इटाली, केन्या र कोलम्बियाबाट सहभागी विभिन्न विज्ञहरुले आफ्ना देशका दिगो विकास सम्बन्धि अन्तरराष्ट्रिय प्रतिवद्धता, कार्ययोजना र सुधारका प्रयाशहरुका सम्वन्धमा आ आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए ।