site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठको मुढामा पैसा फलाउँदै
Ghorahi CementGhorahi Cement

२०४५ सालतिर राजधानीको भृकुटीमण्डपमा भएको एउटा मेलामा जापानी सहयोग नियोग (जाईका)ले पनि स्टल राखेको थियो । स्टलमा काठको मुढामा रोपेको च्याउ २५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको थियो । त्यो थियो, सिताके च्याउ । मानिसहरूका लागि त्यो नयाँ थियो । 

अर्थशास्त्रमा स्नातकोत्तर गरेका किरण बस्नेत त्यतिबेला कृषि विकास बैंकमा काम गर्थे । महिनाको १२ सय रुपैयाँ तलब थियो । काठको मुढामा च्याउ फलेको देखेपछि उनलाई यसबारे रुची लाग्यो । त्यसबारे अध्ययन गर्न थाले । सिताके च्याउबाट क्यान्सरको औषधी बन्छ भन्ने थाहा पाएपछि यसमा झन् रुची जाग्यो । 

\"\"च्याउबारे अध्ययन गरे पनि किरणले व्यवसाय भने कम्प्युटरको रोजे । कृषि विकास बैंकको जागिर छाडेर बागबजारमा कम्प्युटर इन्स्टिच्युट खोले । कम्प्युटर तालिम तथा खरिद–बिक्रीको व्यापार चम्कियो । “वार्षिक दुई करोडसम्मको कारोबार हुन्थ्यो । तर, विस्तारै व्यापार बिग्रियो र घाटा बढ्दै गयो । ०६० सालपछि थेग्नै सकिएन र छाडिदिएँ,” उनी १४ वर्षअघि फर्किए, “काठमाडौंमा टिक्न सकिँदैन भन्ने निष्कर्ष निस्कियो । लामो समय सोचेपछि प्रकृतितर्फ फर्किने निर्णय गरें ।”

Agni Group

व्यापारबाट विरिक्तएपछि बल्ल उनको ध्यान च्याउतिर गयो । ६ वर्षअघि नै सिताके च्याउबारे केही अध्ययन गरिसकेका थिए । दोलखा गएर स्कुल खोले र त्यसलाई व्यवसायसँग जोड्न खोजे । दोलखामा उत्तिस प्रशस्त पाइने । उत्तिस देखेपछि सिताके च्याउ फलाउने सोच दिमागमा आइहाल्यो । सय रुपैयाँमै ६ फिटको उत्तिसको मुढा पाइन्थ्यो १० इन्च गोलाइको । 

५० हजार रुपैयाँमा एक हजारवटा मुढा किने । ६० हजारको बिउ किने । अन्य खर्च गरेर डेढ लाख लगानी भयो । पहिलो र दोस्रो वर्ष ५०–५० हजारजति कमाए । तेस्रो वर्षमा एकजनालाई जिम्मा लगाएर भक्तपुरको गुण्डु आए र त्यहाँ कन्ये च्याउ लगाए परालमा । त्यहाँ ८ लाख लगानी गरेकोमा ७ लाख त घाटा भयो प्राविधिक गल्तीले गर्दा । 

Global Ime bank

\"\"त्यही उनले भेटे काभ्रेका कमल नेपाललाई, जो गाई पाल्थे । कमलसँग मित्रता भएपछि किरण उनको घर काभ्रे गएका थिए । उत्तिस र कटुस त्यहाँ पनि प्रशस्त । ठाउँ पनि उस्तै राम्रो । यहीँ बस्न पाए हुन्थ्यो भन्ने लाग्यो । 

किरण भक्तपुर छाडेर काभ्रेतिर लागे । ०७२ सालमा पोखराबाट बिउ ल्याएर दुई हजार वटा मुढामा सिताके च्याउ लगाए । उनले यसमा ७ लाख लगानी गरिसकेका छन् । अहिले त्यसले उत्पादन दिइरहेको छ । उनले उत्पादन गर्ने च्याउको मुख्य बजार काठमाडौं हो । उत्पादन धेरै भएर नबिके सुकाएर सिम्टा बनाइन्छ । “७ किलो आलो च्याउ सुकाउँदा एक किलो सिम्टा बन्छ । आलो किलोको ७ सयमा बिक्छ, सिम्टा ५ हजारसम्ममा,” उनले सुनाए । 

यसरी तयार हुन्छ सिताके च्याउ
सिताके च्याउ उत्पादन गर्ने हो भने बिउ उत्पादकलाई कम्तीमा डेढ महिना अगाडि खबर गर्नुपर्छ । त्योबीचमा अन्य तयारी गर्नुपर्ने हुन्छ । बिउ ल्याबमा तयार गरिन्छ । बिउ तयार हुन्जेल काठ काटेर मुढा तयार गर्नुपर्छ । मुढा एक मिटर लामो र १० देखि १५ इन्चसम्म गोलाइको चाहिन्छ । मुढा राख्नको लागि टहरा तयार गर्नुपर्छ । टहरा हावा छिर्ने हुनुपर्छ । सरदर १५ डिग्री तापक्रम हुनुपर्छ टहरामा । 

बिउ तयार भएपछि काठमा ड्रिल गरेर प्वाल पारी त्यहाँ बिउ हालिन्छ र मैनले प्वाल टालिन्छ । मुढाको बोक्रा उप्किएको हुनु हुँदैन । निश्चित ग्याप बनाएर चाङ लगाएर मुढा रािखन्छ । ५ हप्ताका तलको माथि, माथिको तल गर्नुपर्छ । सामान्यतया साढे ८ महिनामा च्याउ टिप्न तयार हुन्छ । एकपल्ट रोपेको बिउले चार वर्षसम्म उत्पादन दिन्छ । 

\"\"

होमस्टेको हैंसे
सिताके च्याउ उत्पादनसँगै उनी ढुंखर्कको पर्यटन प्रवद्र्धन गर्न होमस्टे चलाइरहेका छन् । ८ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर उनी होमस्टे चलाउँदैछन् । भएकै घरलाई होमस्टेमा रूपान्तर गरेका छन् । विदेशी पनि उत्तिकै पुग्छन् त्यहाँ, बढीजसो भोलेन्टियरको  रुपमा । १० बेड क्षमताको छ किरणको ढुंखर्क होमस्टे । दम्पति आफैं खट्छन् । दुई छोरी एक बीबीए पढ्दैछिन्, अर्की स्कुल । 

होमस्टेमा सबै स्थानीय उत्पादन प्रयोग गर्छन् । सप्ताहान्त मनाउनका लागि बढी पुग्ने गर्छन् ढुंखर्कमा । नेपालीका लागि प्रतिव्यक्ति ८ सय र विदेशीका लागि १० डलर शुल्क तोकेका छन्– बेड, ब्रेकफास्ट र डिनरको । 

होमस्टेबाट ३ घण्टाजति उकालो हिँड्ने हो भने महाभारत लेक पुग्न सकिन्छ, जहाँबाट हिमालको रेन्ज, तराई, काठमाडौं देख्न सकिन्छ मौसम सफा भएका बेला । गाइड लिएर जाने हो भने ७ सयसम्म लिन्छ गाइडले । 

 

स्थानीय तहसँग समन्वय गरेर होमस्टे विस्तार गर्दैछन् । “सामुदायिक भवन बन्दैछ । तामाङ संग्रहालय बनाउने तयारी हुँदैछ । पाहुनालाई सांस्कृतिक कार्यक्रम देखाउने तयारी गर्र्दैछौं,” उनले सुनाए, “काठमाडौंमै जन्मे–हुर्के पनि गाउँप्रति मोह छ । कृषि कर्ममै रमाउँछु । टेबहालमा अहिले पनि दुई आनामा बनेको घर छ, १५ हजार भाडा आउँछ ।” 

ढुंखर्कमै रिट्रिट सेन्टर खोल्ने बृहत् योजना छ उनको । भन्छन्– पर्यटन, कृषि र जडिबुटीबाटै समृद्धि सम्भव छ । 

\"\"

कसरी पुग्ने ढुंखर्क ?
काठमाडौंबाट पनौती गाडीमा डेढ घण्टा । भाडा ६० रुपैयाँ । पनौतीबाट गेल्डुङ गाडीमा अर्को डेढ घण्टा । भाडा पनि ६० रुपैयाँ नै । त्यसपछि आधा घण्टा हिँडेपछि होमस्टे पुग्न सकिन्छ । 

बडाकाजीका खलक
किरणका हजुरबा नै तत्कालिन रोनास्टका प्राज्ञ थिए । भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङ पढेर फर्केका । आफूहरू बडाकाजी शिवरामसिंह बस्नेतका खलक भएको र पृथ्वीनारायण शाहसँगै गोरखाबाट काठमाडौंको इन्द्रचोकमा आएर बसेको उनी सुनाउँछन् ।

राणाकालमा उनीहरू सर्वश्व हरणमा परे, कलैयामा रहेको ३ सय बिघा मौजा पनि गयो । त्यसपछि उनका हजुरबा भौंतारिँदै गएर टेबहालमा बस्न थालेका रहेछन् । बुबा काठमाडौं नगरपालिकाका जागिरे थिए, किरण १० वर्षकै हुँदा उनी बिते । 

राजेन्द्र दाहालका ब्याजी
किरणले नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारितामा डिप्लोमा पनि गरेका छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार तथा हाल शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल र उनी एकै ब्याचका हुन् । हिरण्यलाल श्रेष्ठले निकाल्ने पत्रिकामा केही समय काम पनि गरे उनले । “स्वतन्त्र रूपमा काम गर्न नपाइने, राजनीतिक प्रभाव हुने र आर्थिक रूपमा पनि राम्रोे नभएपछि पत्रकारिता छाडें,” उनले सुनाए ।

तस्बिरहरू : प्रशान्त श्रेष्ठ, पनाैती

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC