site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौँको धुलोभन्दा सरकार बिखालु

अक्षर काका


“बाबु ! एक्कासि सास बढ्यो, बाँच्दिनजस्तो लाग्न थाल्यो ! तैँले कोही डाक्टर चिनेको छैनस्, घरमै बोलाउन पाए हुन्थ्यो । अस्पताल जाने आँटसमेत छैन ।”

बाले चुरोट छाड्नुभएको वर्षौं भइसकेको थियो । मध्यपानको लती पनि होइन उहाँ । तर, काठमाडौँ आएको दुई महिनामै बालाई लगातारको खोकीले थलै बसाल्ला जस्तो भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

तारन्तारको खोकी । खोक्दाखोक्दै मुर्छा परेजस्तै हुने । नजिकैको औषधि पसलबाट खोकीको औषधि ल्याएर चिकित्सकको सल्लाहमुताबिक नै नखुवाएको पनि होइन । खोक्दाखोक्दै नाकमुखबाट र्‍यालसिँगान पो निस्कन थाल्यो, निको हुनु त परको कुरा !

डाक्टरको सिफारिसमै दुई बोतल औषधि रित्याउँदा पनि बीस को उन्नाइस भएन र नजिकैको मेडिकल कलेज पुर्‍याएँ । 

Global Ime bank

चिकित्सकले लामो सास लिन आग्रह गर्दै छातीको जाँच गरे र भने, “छातीको एक्स रे र खकारको जाँच पनि गरौँ न !” 

ढल्कँदो उमेर । लगातारको खोकीले अताल्लिएका थियौँ हामी । रिपोर्ट आएलगत्तै चिकित्सकको कक्षमा पुग्यौँ र चेकजाँचको कागज देखायौँ । एप्रोनसमेत लगाउन भ्याएका थिएनन् उनले । भित्री कक्षमा लगे र भन्न थाले, “काठमाडौँ असाध्यै प्रदूषित छ । बा’लाई धूलोका गम्भीर एलर्जी भएछ । औषधि त लेखिदिउँला तर काठमाडौँ मै बस्नुभयो भने निको हुने ग्यारेन्टीचाहिँ लिन सक्दिनँ । धुलाले फोक्सोमै अघात गरिसकेछ । हिजोआज यस्ता बिरामी मकहाँ दैनिक ५० को संख्यामा आउँछन् । मैले सबैलाई यही सल्लाह दिने गर्छु ।

धुवाँधुलोले यहाँको हावा नै विषाक्त भइसक्यो । काठमाडौँमा युवा त बस्न नसक्ने भइसके, वयोवृद्धहरूले कसरी सास फेर्नु ?”

“बूढेसकालमा हात बसेपछि छोराकहाँ आएका बाबुलाई गाउँमै जानूस् कसरी भन्नू  ? पाल्नुपर्ला भन्ने गाह्रोले गाउँ जाऊ पो भन्यो भन्ठान्ने हो कि,” धेरै दिन असमञ्जसमा परेँ म ।

चिकित्सकको सल्लाह अटेर गरेर काठमाडौँकै धुवाँधुलोमा हिँडाए दम नै निस्कने खतरा बढेपछि ढुंगाकै मुटु बनाएर बाबुलाई घर पठाएँ । निकै लाचार भएँ त्यसदिन म ।
जोरपाटीमा पसल व्यवसाय गर्ने एकजना आफन्तले सुनाएको पीडा हो यो । सहरको अव्यस्थाले आक्रान्त ती मरीचझैँ चाउरिएका थिए ।

० ० ०

बौद्धमा फर्निचर व्यवसाय गर्ने एक पसलेले खाटको खुट्टामा त्यस्तै तीन चारवर्षका बालकलाई बाँधेका रहेछन् । दैनिकजसो आँखा परिरहन्थ्यो । “बालक विलाङ्ग रहेछन् क्यारे, कहीँ नजओस् भनेर होला,” दुईचारपटक त सामान्यीकरण गरेँ तर मनले मानेन । 

पाँचौँ दिन बालककी आमालाई सोधेँ, “बालकलाई खाटको खुट्टामा बाँधेर किन यातना दिनुभएको ?”

“जहिल्यै सडकमा गइरहन्छ । अस्ति त ऊ परको खाल्डमा परेर इन्तु न चिन्तु भयो,” निधारमा लागेको घाउ देखाउँदै रोउँलाझैँ गरिन् उनी ।

पसलमा ग्राहक आइरहने । आफू अल्मलिएका बेलामा सडकको खाल्डामा नपरोस् भनेर बालकको ज्यान पो जोगाएकी रहिछन् तिनले । शीताङ्ग भएँ म ।

० ० ० 

“नेपाल जाँदा हामी वाग्मतीको पानी कलकली खान्थ्यौँ । र छेउछाउका घरमा बास बस्थ्यौँ,” बाबुबाजेले यसो भनेर सुनाउँदा अहिलेका पुस्ताको मन कल्पिन्छ । नेपाल खाल्डोको परापूर्वकालको किम्वदन्तीसमेत लाग्दो हो कतिपयलाई ।

जीवसमेत बाँच्न नसक्ने गरी मृत्युतुल्य हालतमा पुर्‍याइएकी वाग्मतीको पानी ठाडो घाँटी लगाएर पिउन सकिन्थ्यो भनेर सायदै पत्याउँछन् अहिलेका पुस्ताले ।

तर, साँचो यही हो । विक्रम् सम्वत् २०४३ सालसम्म काठमाडौँ पूर्वोत्तर काँठ क्षेत्रका रैथानेहरूको खानेपानीको मुख्य स्रोत थियो, वाग्मती । जतिजति सहरमा शिक्षा र चेतना झाँगिदै गयो त्यति नै वाग्मती प्रदूषित बन्दै गइन् । बीस वर्ष नपुग्दै वाग्मतीको अस्तित्व निमिट्यान्न भयो । ढलमतीमा पो रूपान्तरण भइन् वाग्मती ।

सप्ताहान्त वाग्मती सफाइका शृंखलाले शतक पार गरिसकेको छ । राज्यकोषको अर्बौं रकम स्वाहा भइसकेको छ । तथापि, वाग्मतीले नदीको रूप धारणसमेत गर्न सकेको छैन । 

नदी सहरी सौन्दर्यको मानक हो तर पानीको सट्टा पैसाको खोलै बगाए पनि वाग्मती पूर्ववत् लयमा फर्कने कुनै छनक छैन ।

त्यसो त, नदी मानव सभ्यताको जननी हो, सिर्जनाको मुहान हो तर आश्चर्यको कुरा त्यही नदी मरणासन्न अवस्थामा पुग्दा पनि काठमाडौँबासी ढुक्कसँग निदाउन सकेका छन् । कदाचित् वाग्मती तटमा पुगिहाले भने दुर्गन्धले नाक छोप्छन् तर लाजले शिर झुकाउँदैनन् ।

० ० ०

पछिल्लो समय काठमाडौँ सहर राजधानीबाट धुलोदानीमा परिणत भएको छ । भट्टीपसलमा थन्क्याइएको माटाको आदिम चुरोटदानीजस्तै ! 

काठमाडौँ सपनाको राजधानीसमेत हो । तर, रहरको पोकापन्तुरा बोकेर सहर पसेकाहरू काठमाडौँ भित्रिँदै छैनन् । बरु रोगव्याधको कारखानाभित्र पस्दैछन् र असाध्य रोगहरू जन्माउँदैछन् ।

विषाक्त वायु । जहरतुल्य धुलो । काठमाडौँ सरहको आधुनिक चिनारी हुन् । परम्परागत प्यागोडा शैली, काष्ठकला, वास्तुकला, मूर्तिकला, चित्रकलाको पुरातात्विक क्यानभास र प्राकृतिक सौन्दर्यमा दिन प्रतिदिन धुलो थपिँदै गइरहेको प्रतीत हुन्छ । 

अचेल सहरको भित्तामा संस्कृतिका चिनारी कुँदिएका छैनन् । अनेकौं विकृत मानसिकताका विम्ब पोतिएका छन् र काठमाडौंको ऐतिहासिकतालाई उच्चाटिलो तुल्याइरहेका छन् ।

सहरका बाटाघाटा असङ्गतिका प्रतीक बनेका छन् । ती दिनहुँ भत्काइन्छन् तर वर्षौं बनाइँदैनन् । सहरका प्राचीन पोखरी सुकेका छन् र बदलामा बीच सडकमा ठूल्ठूला पोखरी, ताल तलाउ खडा भएका छन् र तिनले उच्चाटपूर्ण ढंगले मृत्यु निम्त्याउँदैछन् । बिहान सारसौँदो हिँडेको मानिस बेलुका सग्लै घर फर्कन्छन् कि फर्कंदैनन् यकिन छैन ।

दैनिकजसो सहरमा सडक भत्काउने प्रतिस्पर्धा हुन्छ । सरकारी र सरोकारवाला निकायबीच कामको कुनै समन्वय हुँदैन । खानेपानी संस्थान, सडक विभाग, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीच सडक भत्काउने तीव्र प्रतिस्पर्धा चल्छ तर बनाउने चासो र चिन्ता देखिँदैन ।

एउटै सडक वर्षमा तीनपटक भत्काइन्छ तर वर्षौं बित्दा पनि बनाउने सुरसार हुँदैन । मानौँ, सहरमा सरकार होइन, लाचार बस्छन् । सरकारी अड्डाहरू मालपोत कार्यालयको थोत्रो ढड्डामा परिणत भएका छन् ।

भाँचिएका पोल । चुँडिएका, गुजुल्टिएका, झोलिएका र लत्रिएका विजुलीका तार काठमाडौँका पर्याय बनेका छन् र कतिखेर मृत्यु टुप्लुक्क आइपुग्ने हो टुंगो छैन ।

० ० ० 

––सडक पिच कहिले बन्छ ?
––ढल निकासका लागि नाला कहिले बन्छ ? 
––धुवाँधुलो उड्न कहिले ठप्प हुन्छ ?
––जाम कहिले हट्छ ?
––फोहोर कहिले उठ्छ ?

सहरबासीका रेडिमेड प्रश्न हुन् यी । 

र, यिनको समवेत उत्तर छ – मेलम्ची आएपछि ।

––कहिले आउँछ मेलम्चीको खानेपानी ?

शासकसँग मूर्त उत्तर छैन ।

तर, खानेपानीको प्यासमा र मेलम्ची आउने आशमा दशकौंदेखि काठमाडौँले यी दुःख झेल्दै आएको छ । थाहा छैन, मेलम्चीको पानी काठमाडौँ आइपुग्दासम्म धुवाँ र धुलो खप्ने यी नागरिक बाँचिररहन्छन् कि मृत्यु शैय्यामा पुगिसक्छन् ।

० ० ०

वातावरणमा फैलिएको २.५ माइक्रोग्राम धुलोका कण स्वासप्रस्वासमार्फत सिधै मानव स्वास्थ्यमा प्रवेश गरेका छन् । यसबाट बालबालिका र वृद्धवृद्धा निकै जोखिममा छन् ।

“यसले तत्कालै असर नपुर्‍याए पनि दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा असर पार्छ,” वातावरणविद् भूषण तुलाधर भन्छन्, “ससाना धुलाका कण श्वासप्रश्वासमार्फत फोक्सोमा पुग्दा फोक्सो खराब हुने, मुटुमा पुगी रक्तप्रणाली नै बिगार्ने र मस्तिष्कघात हुने जोखिम पनि हुन्छ ।”

पछिल्लो समय मुटुसम्बन्धी गम्भीर रोग बढी देखापर्नुमा वायुप्रदूषण नै मुख्य कारक भएको विज्ञको ठहर छ । त्यस्तै स्नायु प्रणालीमा दख्खल पुग्दा पक्षघात हुने डर पनि त्यतिकै छ । 

वायुप्रदूषणले गर्भवती महिलाको स्वास्थ्यमा ठूलो असर पुर्‍याउँछ । गर्भमा विकसित हुँदै गरेको भ्रूणमा प्रत्यक्ष असर परी बच्चा विकलाङ्ग जन्मने खतरा हुन्छ । यसर्थ, अहिलेको काठमाडौँको धुलोले तीन पुस्तासम्म पिरोल्ने निश्चितै छ ।

विशेषज्ञहरूका अनुसार डिजेलबाट चल्ने वाहनबाट निस्किने धुवाँ वायुमण्डलमा मिसिँदा त्यसले फोक्सो र मूत्राशयको क्यान्सरको जोखिम निम्त्याउँछ ।

त्यसो त धुलोको जोखिममा मात्र छैन काठमाडौँ । धुलोका कारण सवारी साधनको एयरफिल्टर बिग्रने र त्यसले फाल्ने कालो धुवाँ सास फेर्ने हावामा मिसिँदा क्यान्सरलगायत गम्भीर प्रकृतिको रोग उत्पन्न गर्ने दोहोरो, तेहेरो समस्याको मारमा पनि छ काठमाडौं ।

फेरि हामीकहाँ सडक होइन सोच साँघुरो छ भन्छन् तुलाधर । अहिले त्रिपुरेश्वर–कलंकी, कलंकी–तिनकुनेलगायत ठाउँहरूमा सडक विस्तार भइरहेका छन् । तर, त्यहाँ फुटपाथ नै छैन । त्यसले सवारी चापलाई न्युनीकरण होइन दुर्घटनालाई बढावा दिइरहेको छ । कलंकी– तिनकुने सडक विस्तार त भइरहेको छ तर त्यहाँ बाटो काट्ने ठाउँ छैन । “झन्डै १२ किलोमिटर सडक खण्डमा बाटो काट्न ३ वटा ओभरहेड ब्रिज बनाइँदैछ । चारकिलोमिटरको दूरी हिँडेर कसले बाटो काट्छ ?,” उनको प्रश्न छ ।

सरकार बेलाबखत सडक बिस्तार त गर्छ तर वर्षेनि १४ प्रतिशतको संख्यामा वृद्धि हुने सवारी रोकथाम गर्न सक्तैन । त्यसैले काठमाडौंले धुलो धुवाँबाट तत्कालै मुक्ति पाउने कुनै सम्भावना छैन ।

सवारीलाई हेरेर सडक भत्काउने बनाउने गरिरहने हो भने काठमाडौँ दीर्घकालीन समस्याको चङ्गुलमा पर्ने र असाध्य रोगहरूको उत्पादनगृह बन्ने दाबी गर्छन् तुलाधर ।

त्यस्तै जाडोयामको वायुप्रदूषणको अर्को कारक फोहोर बाल्ने चलन पनि हो । घरमा जम्मा भएका फोहोर सल्काएर आगो ताप्दा पनि मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ र रोगको जोखिम बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वायुप्रदूषणबाट वर्षेनि ९ हजार ९४३ जनाले ज्यान गुमाउँछन् । यो विक्रम सम्वत् २०७२ सालमा नेपालमा गएको विनासकारी भूकम्पबाट ज्यान गुमाउनेको संख्या भन्दा बढी हो ।

त्यस्तै यसले अर्थतन्त्रमा गम्भीर असर पुर्‍याउँछ । व्यापार, व्यवसाय ठप्प हुनुका साथै सहरको सौन्दर्यमा आघात पुर्‍याउँछ र पर्यटकको आगमनलाई रोकिदिन्छ । विश्व बैंकले गरेको अध्ययनअनुसार वायुप्रदूषणका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ४ प्रतिशतभन्दा बढी क्षति पुर्‍याउने देखाएको छ ।

० ० ०

पेट्रोलमा एक रुपैयाँ भाउ वृद्धि भए सहरमा आगो बल्छ तर सडकमा खाल्डाखुल्डी भए कहीँकतै विरोधका स्वर सुनिँदैन । भवितव्य परे सडक जल्छ, सडकका रेलिङ, बार ढल्छ तर बाटो नबनेर दिनहुँ अंगभंग हुँदा, कति मृत्युको मुखमा पुग्दा मुक दर्शक बन्छन् – युवा विद्यार्थी ।

विषाक्त धुलाले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ । वृद्धवृद्धा, प्रौढमात्रै होइन बालबालिकामा समेत निमोनिया, फोक्सोमा संक्रमण देखिन थालेको छ । अस्पतालमा बिरामी थुप्रिन थालेका छन् । 

रोग विशेषज्ञहरू भन्दैछन्– काठमाडौँको धुलो, धुवाँ बेलैमा नियन्त्रण नगर्ने हो भने फोक्सोमा संक्रमण, छालाजन्य रोग, आँखाको एलर्जीमात्रै होइन, क्यान्सरजस्ता खतरनाक रोग फैलने दिन टाढा छैन ।

तराईको शीतलहरले झैँ काठमाडौँको धुलोको जहरले नागरिकहरू ज्यान गुमाउने अवस्थामा पुगिसक्दा पनि सरकार कानमा तेल हालेर बसिरहेको छ । एक्काइसौैँ शताव्दीमा यसभन्दा ठूलो मानवताविरुद्धको अपराध अर्को के हुन्छ ? प्रकृतिले निःशुल्क प्रदान गरेको स्वच्छ हावा उपभोग गर्न पाउने अधिकारलाई सरकाले ठिँगुरामा हाल्न मिल्छ ? यो भ्रष्टाचारमात्र होइन नागरिकमाथि अमानवीय अत्याचार पनि हो । 

गाउँबाट दुःख कष्ट, विपद् झेलेर सुख पाउने आशामा सहरमा ज्याला मजदुरी गर्न आएका हुन् नागरिक मृत्यु बक्सिसमा लिन होइन । प्रदूषणको कारक अत्यधिक जनघनत्वमात्र होइन, सरकारको लोकतो पनि हो । कर तिरेको राज्यको भर नगर्ने हो भने कसको भरोसा गर्ने ? 

अतः धुलोबाट ज्यान गुमाउनु, यो फगत मृत्यु होइन । सरकारद्वारा नियतवश गरिएको हत्या हो ।

जनता सरकारको टाट्नाका बँधुवा होइनन् । संविधानले निर्दिष्ट गरेको स्वतन्त्रताको प्रयोग उनीहरूको हक हो ।

संविधान निर्माण र निर्वाचनमार्फत संक्रमणकालको जटिल अध्याय पूरा गरेको सरकारले हठात् विकासको आशा पूरा गर्न सक्तैन, स्वाभाविक कुरा हो यो । तर, प्रकृतिले नै जन्मजात दिएको स्वच्छ हावामा सास फेर्न पाउने नैसर्गिक अधिकारमाथि क्रूर अतिक्रमण किन ? संविधानले प्रत्याभूत गरेको अधिकार त बिनासर्त उपलब्ध गराउने दायित्व बोकेको सरकारले सफा हावामा सास फेर्ने अधिकारलाई अधिकारलाई कुण्ठित तुत्याउन मिल्छ ?

विवेकशून्य सरकार जवाफ फर्काउँछ – माक्स लगाएर ओहोरदोहोर गर्नु ?

सरकार लाचारी हो कि माक्सको व्यापारी हो ? छुट्याउनै हम्मेहम्मे परिसक्यो ।

तर, आफूमाथि यति जघन्य अपराध हुँदा पनि सरकारविरुद्ध नागरिक चुँ बोल्दैनन् । अतिशय पीडालाई पचाएर कामकाजमा खटिएका छन् । आफ्नै वाद, विचार, व्यवस्था, आग्रह, पूर्वाग्रहको पगरी गुथेर विवेकशून्यहरूको भिडमा समाहित गराउन उद्यत छन् ।

नागरिकमाथि सरकारको कुकृत्यको साक्षी बसिरहने र लाछी बनिरहने हो भने अकाल मृत्युले छिट्टै ढोका ढक्याउन सक्छ । बेलैमा जागरूक बनौं ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC