धनगढी (रासस) . पद तथा गोपनीयताको शपथ लिँदै गर्दा प्रदेशसभाका सांसद कुलवीर चौधरी चम्किलो मुद्रामा देखिन्थे ।
सङ्घीय संरचनाअनुसार भएको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ ‘ख’ बाट निर्वाचित चौधरी शपथ ग्रहणसँगै प्रदेशसभा गठनले पूर्णताः पाएको भन्दै खुशी देखिएका हुन् । “अब देश समृद्धि र विकासको सम्भावना बढेको छ”–चौधरीले भने, “तर यसका लागि स्थायी सरकार गठन जरुरी रहेको छ ।”
पहिलोपटक आफ्नै प्रदेशको केन्द्रमा प्रादेशिक शासन शुरु भएकामा शपथ ग्रहणस्थल बाहिर उपस्थित सर्वसाधारणले निकै चासोपूर्वक कार्यक्रमको अवलोकन गरेका थिए । “सिंहदरबारको अधिकार गाउँमा आउँदै छ भन्ने सुनिएको थियो”–शपथ ग्रहण समारोहको अवलोकन गर्नुभएका धनगढीका हरि भट्टले भने, “शपथ त गरिएको देखियो, तर सिंहदरबारको अधिकार गाउँमा आएको व्यावहारिक रुपमा पुष्टि हुन बाँकी नै छ ।”
शपथ लिँदै गर्दा वादी समुदायवाट एक्लो सांसद बन्न सफल उमादेवी वादीको अबीर दलिएको मुहारमा खुशीको सीमा थिएन । “आफन्तले खुशी हुँदै अबीर दले”–सांसद उमा वादीले भन्नुभयो, “आफूले पछाडि परेको बादी समुदायको हकहितका लागि गरेको कामको पार्टीले मूल्याङ्कन गरेर सांसद चयन गरेको छ ।”
विगतमा भएको वादी आन्दोलनको नेतृत्व गर्नु भएकी उनलाई नेपाली काँग्रेसले समानुपातिक कोटामा सांसद निर्वाचित गरेको हो । “विगतमा वादीको हक हितका लागि लडियो”– उनले भनिन्, “सांसदका रुपमा काम गर्दा सबै जनताको हितमा काम गर्ने जिम्मेवारी बढेको छ ।”
जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य ७४ वर्षीया दिव्येश्वरी शाहलाई पद तथा गोपनीयताको शपथ गराएपछि शाहले अन्य सदस्यलाइ शपथ गराएकी थिइन् ।
काँग्रेसका तर्फबाट डोटीबाट निर्वाचित प्रदेश सांसद भरत खड्का छोरीको सोमबार हुने विवाहका कारण शपथ ग्रहण सभामा उपस्थित हुन पाएनन् । एमालेबाट निर्वाचित समानुपातिक प्रदेश सांसद चुनकुमारी चौधरीले राजधानीबाट आउन ढिलो भएपछि अन्तिममा शपथ लिएकी थिइन् ।
सङ्घीय संरचनाअनुसार भएको निर्वाचनपछि पहिलो प्रदेशसभाका सांसदको शपथ ग्रहणसँगै प्रदेशसभा गठनले पूर्णता पाएको छ । नेपालको राज्य पुनःसंरचनामा प्रदेशसभा गठन पहिलो प्रयोग हो । शपथ ग्रहणसँगै प्रदेशसभाको गठनले पूर्णता पाई यसले गर्ने काम पनि आजदेखि औपचारिक रुपमा शुरु भएको छ ।
प्रदेशसभा गठनको पूर्णतासँगै प्रदेशसभा बैठकद्वारा प्रदेश सभामुख, मुख्यमन्त्री र प्रदेशमन्त्री चयन हुने, विभिन्न विधेयक पारितलगायतका काम अगाडि बढाउन बाटो खुलेको छ ।
प्रदेश प्रमुख मल्लसहित केही सांसद शपथ ग्रहण स्थलमा ढिलो गरी आइपुगेका कारण शपथ ग्रहण पनि ढिलो भएको हो ।
मातृ भाषामा शपथ
सात नं प्रदेशको मुख्यमन्त्रीको चर्चामा रहेका नेकपा (माओवादी केन्द्र)का नेता वीरमान चौधरीलगायत प्रदेश सभामा प्रतिनिधित्व गर्ने थारु समुदायका सांसदले आफ्नो मातृ भाषामा शपथ लिए ।
नेपालीमा लेखिएको शपथ पत्रलाई थारु समुदायका केही सांसदले आफ्नो मातृ भाषामा पढेर शपथ लिएका हुन् ।
प्रदेश सभामा वामको बहुमत
वाम गठबन्धनको बहुमत रहेको प्रदेश नं ७ को प्रदेशसभाका कुल ५३ सांसदमध्ये नेकपा (एमाले)का तर्फबाट २५, माओवादी केन्द्रका तर्फबाट १४ र काँग्रेसका तर्फबाट १२, राष्ट्रिय जनता पार्टीबाट दुई जना सांसद रहेका छन् ।
यस प्रदेशमा सबैभन्दा बढी एमालको प्रत्यक्षतर्फ १७, समानुपातिबाट आठ सांसद निर्वाचित भएका छन् । यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रको १० र समानुपातिकतर्फ चार, काँग्रेसको प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ आठ सांसद निर्वाचित भएका छन् । यसैगरी राष्ट्रिय जनता पार्टीको प्रत्यक्ष र समानुपातिकमा क्रमशः एक/एक जना निर्वाचित भएका छन् ।
प्रदेश नं ७ का ५३ सदस्यमध्ये ३५ सांसद खस आर्य समुदायका, आठ सांसद थारु समुदायका, छ सांसदको दलित समुदायबाट प्रतिनिधित्व रहेको छ । दलित समुदायबाट प्रत्यक्षमा निर्वाचन जित्ने कञ्चनपुरको निर्वाचन क्षेत्र ३ बाट मानबहादुर सुनार एक्ला सांसद छन् ।
आसिदवासी जनजातिबाट प्रदेशसभामा जम्मा दुई जना मात्र सांसद रहेका छन् । एमालेका गेल्वुसिंह बोहरा दार्चुला र तारालामा तामाङ कञ्चनपुरबाट निर्वाचित हुन् ।
प्रदेशसभामा महिलाको सांसदको संख्या १८ भए पनि प्रदेशसभाको प्रत्यक्ष तर्फबाट भने एक जनाले मात्र निर्वाचनमा जित हासिल गरेका छन् । बझाङबाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित देवकी मल्ल थापा प्रदेश सभामा एक मात्र प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
अपार सम्भावनाको प्रदेश
सेती र महाकाली अञ्चलका नौ वटा जिल्ला रहेको ७ नं प्रदेशको क्षेत्रफल १९ हजार ५३९ वर्ग किमी रहेको छ । यो नेपालको क्षेत्रफलको करिब १३ प्रतिशत हो ।
पछिल्लो जनगणनाअनुसार २५ लाख ५२ हजार ७१४ जनसंख्या रहेको यो प्रदेशमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती उच्च सम्भावना बोकेका विकास आयोजना हुन् । अपि, साइपाल, खप्तडजस्ता हिमाली क्षेत्र, मध्य पहाडको महाभारत पर्वत शृङ्खलामा रहेका दुर्लभ जडीबुटी, वन पैदावार पनि विकासका सम्भावना हुन् ।
धनगढी, भीमदत्तनगर (महेन्द्रनगर) दीपालय, डडेलधुरा, टीकापुर, साँफेबगर, अत्तरिया, लम्की, बेलौरी यस क्षेत्रका मुख्य व्यापारिक केन्द्र हुन् । धान, गहुँ, जौ, मकै र तेलहन बाली मुख्य रुपमा उत्पादन हुने यो क्षेत्रमा बाहुन, क्षेत्री, ठकुरी, थारु र दलितलगायत विभिन्न जातजातिको बाहुल्यता रहेको छ ।