काठमाडौं । शंकरापुर नगरपालिकाअन्तर्गत साँखुस्थित शालीनदीमा माधवनारायणको मेलामा यस वर्ष पनि लाखौं भक्तजनले सहभागिता जनाइरहेका छन् । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेलामा दैनिक हजारौं दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
एक महिनासम्म स्वस्थानी व्रतसँगै माघ स्नानसमेत गर्ने गरिन्छ । कठिन व्रत मध्येको मानिने स्वस्थानी व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । व्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नुका साथै घरघरमा वा समूहमा स्वस्थानी व्रतकथा सुन्ने सुनाउने गरिन्छ । शाली नदीमा जस्तै पशुपति गौरीघाट, गुहेश्वरीलगायत धार्मिक स्थलहरुमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ ।
सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसी तपस्या गर्दा मनोकांक्षा पूरा भएको स्वस्थानी व्रतकथामा उल्लेख छ । स्वस्थानीको पूजामा पञ्चामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सेलरोटी, हलुवा लगायतका नैवेद्यहरु चढाउने चलन छ ।
मेलाको व्यवस्थापन कसरी हुँदैछ ?
विगतका वर्षहरुमा मेला व्यवस्थापनका क्रममा देखिएका कमजोरीलाई सुधार गरिएको समितिले जनाएको छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले शालीनदीमा रहेका व्रतालुदेखि भक्तजनको लागि आवश्यकताअनुसार सहयोग पुर्याउँदै आएको बताएको छ । समितिका अध्यक्ष राजुभाई मानन्धरका अनुसार यसपालीदेखि सुरक्षा व्यवस्था राम्रो बनाउन मन्दिर वरीपरि केहि स्थानमा सिसि क्यामेरा जडान गरिएको छ भने ३५ जना सुरक्षाकर्मीको टोली खटाइएको छ । सुरक्षामा महानगरीय प्रहरी र इलाका प्रहरीसँगै सामुदायीक प्रहरीको पनि भूमिका रहेको उनले बताए ।
यातायातको समस्या
यसअघिका वर्षहरुमा शालीनदी दर्शनका लागि जाने यात्रुहरुले आउन–जान गाडी नपाएको, भाडा मनपरी लिएको लगायतका गुनासो गर्दै आएका थिए । तर यसपाली यातायातमा देखिएको समस्या नहोस् भन्नका लागि यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको अध्यक्ष मानन्धरले बताए । उनले भने, “यो क्षेत्रमा आउने ४ नं रुटका गाडी हुन् हामीले बढी भाडा नदिउन्, नलिउन् भनेर प्रत्येक सवारीमा भाडादर टाँस्न लगाएका छौं । बढी भाडा लिएको थाहा भए प्रहरीलाई खबर गर्न सकिनेछ ।”
त्यस्तै यो वर्षदेखि आउजजान गाडी नपाउने समस्या नहोस् भनेर पर्याप्त गाडीको व्यवस्था गरिएको उनले बताए । “दैनिक ५० गाडी चल्दै आएकोमा अहिले १०० गाडी पुर्याइएको छ, आवश्यकता अनुसार थप्न व्यवसायी सहमत छन्,” उनले भने, “फर्कनको लागि राति ९ बजेसम्म नै गाडी पाउने व्यवस्था गरेका छौं ।” त्यस्तै मेलाको बेलामा पसलहरुमा सामानको मूल्य बढाउने गरेको गुनासो पनि हुन नदिन यसपालीदेखि प्रत्येक पसलमा मूल्यसूची टाँस्न लगाएकोे पनि अध्यक्ष मानन्धरले बताए । काठमाडौं रत्नपार्कबाट झण्डै १७ किलोमिटर उत्तरपूर्व साँखुमा ा अवस्थित शालीनदी पुग्ने भाडा चाबहिलदेखि २७ र रत्नपार्कदेखि ३५ रुपैयाँ तोकिएको छ ।
कहाँ खर्च हुन्छ दान र चन्दाबाट उठेको रकम ?
हरेक वर्ष २० देखि ३० लाखको संख्यामा दर्शनार्थी शालीनदी पुग्ने गरेको देखिन्छ । यसरी शालीनदी पुग्ने दर्शनार्थी तथा भक्तजनहरुले दिएको दान तथा चन्दा रकमको संकलन जनक जानकी सिद्धार्थ धर्मकर्म सेवासंघले गर्दै आएको छ भने त्यसलाई व्यबस्थापन गर्ने काम माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गर्दै आएको छ । जनक जानकी सिद्धार्थ धर्मकर्म सेवासंघका संयोजक सिद्धिहर्ष बज्राचार्यले यसवर्ष पनि भक्तजनबाट आएको दान दातव्य संकलनको काम भैरहेको जानकारी दिए ।
दर्शनार्थी तथा भक्तजनले चढाउने दान तथा भेटी, विभिन्न ठाउँबाट आउने सहयोग तथा चन्दा लगायत गरी गएको वर्षमा ३१ लाख रकम उठेको बज्राचार्यले जानकारी दिए । “यो वर्ष पनि त्यति रकम उठ्ने अपेक्षा राखेका छौं,” उनले भने ।
प्रत्येक वर्ष उठ्ने रकम शालीनदीको व्यवस्थापन र सुधारमै खर्च हुँदै आइरहेको समितिले जनाएको छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष राजुभाई मानन्धरले भने, “यहाँ उठेको रकम सबै यहिको सुधार र विकासमा खर्च भैरहेको छ । हामीले यहाँबाट उठेको रकमले मुख्य मन्दिर बनाउने सजाउने बाहेकका धेरै कामहरु पनि गरेका छौं । धरमपुर बाँध निर्माण, नुहाउने ठाउँसम्म जाने आउने सिँढीहरुको निर्माण तथा सुधार गर्याैं ।”
अध्यक्ष मानन्धरले यो वर्षको स्वस्थानी मेलालगत्तै माधवनारायण पार्क बनाउने योजना रहेको जानकारी दिए । उनले भने, “हामीले यहाँको खाली जग्गालाई सिमांकन गरिसकेका छौं । त्यो जग्गामा पार्क निर्माण गर्ने हाम्रो सोच छ ।”