site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
केसीको कर्ममा बोधीधर्मको छाया

अहिलेको महाबलीपुरम क्षेत्रमा इसाको ६०० देखि ९०० सम्मको कालखण्डमा पल्लव वंशको राज्य थियो ।  पल्लव वंशको जगजगी चकचकी तत्कालीन वास्तुकलाका रूपमा अहिले पनि आफ्नो ओज देखाइरहेछन् ।  महाबलीपुरम सम्भवत: भारतीय उपमहाद्वीपको त्यस कालखण्डको एक चहकिलो तटीय सहर थियो ।

इतिहासकारहरू हिन्दु बौद्ध संस्कृति, सभ्यता र  वास्तुकलाले खम्बुज ( हालको क्याम्बोडिया), हिन्दचीन (लाओस, भियतनाम), सियाम (थाइल्याण्ड) तर्फको जलयात्रा महाबलिपुरमको तटबाट सुरु गरेको मान्दछन् ।  तिनै इतिहासकारहरु त्यही पल्लव वंशको चकाचौंधमा राजकुमारका रूपमा जन्मेका थिए उनी भन्ने मान्छन् ।  दुई राज्य हालको उडिसा प्रदेशको आसपासको पल्लव राज्य वा हालको पाकिस्तानको पेसावरमा पर्ने पल्लव राज्यको राजकुमार भन्नेमा विवाद भए पनि भारतीय उपमहाद्वीपका ब्राह्मण राजाका साहिंला छोराको रुपमा जन्मेका उनी बौद्धपथ समातेर भिक्षु हुन्छन् र बौद्ध धर्म प्रचार गर्न देशदेशान्तर घुम्छन् ।  

यो तथ्यमा भने कुनै इतिहासकार वा ग्रन्थ विवाद गर्दैनन् ।  देशान्तर घुम्ने क्रममा हिमालय काटेर उनी तत्कालीन बौद्ध सम्राट कहलिएका चिनियाँ सम्राट वु को राज्यमा पुगेका थिए ।  विवाद त त्यहाँ पनि छ, उनी हिमालयको पार गरेर त्यहाँ पुगे कि जलयात्रा गरेर हिन्दचीन हुँदै चीन पुगे भन्नेमा ।  तर, जसरी पुगेपनि, जहाँबाट पुगेपनि ठूला बल्ड्याङ्ग्रे आँखा, घुम्रिएको कपाल, दाह्री, काञ्चिका शंकराचार्यहरूले पहिरिनेजस्तो एकसरो धोती र सप्को, एउटा लाठी देखिन्छ उनको चिनिया बौद्धग्रन्थका चरित्र चित्रहरूमा  ।

Agni Group

चिनियाँ  बौद्ध ग्रन्थमा रहेका टिपोट पढ्ने हो भने पेसा वा जन्मले नितान्त पृथक क्षेत्रका उनी लामो यात्रा तय गरेर सम्राटको आँखा खोल्न त्यहाँ पुगेका थिए भन्ने प्रष्ट बुझिन्छ ।  उनी अरू कोही थिएनन् -  ज्ञानी बोधीधर्म थिए, जसले ध्यानलाई महाचीनमा परिचित गराए, जुन च्यान, जेन हुँदै पूर्वी एसियामा एक पन्थको रूपमा जीवित रह्यो ।  उनलाई क्रोधीको रूपमा चिनियाँ ग्रन्थहरुमा प्रस्तुत गरिएको समेत पाइन्छ ।  साओलिन परम्पराका आराध्य जन्मका आधारमा राजसी बोधीधर्म  कर्मले एक भिक्षु थिए, राज्य भोग उनको इच्छा हुन्थ्यो भने हिमालय पारको कठिन यात्रामा निस्किँदैन थिए होलान् ।  

चिनियाँ बौद्ध ग्रन्थहरूमा बोधीधर्म र सम्राट वुको असंख्य विहंगम वार्ता प्रसंग  लिपिबद्ध छन् ।  हिमालपारीका यी तिनै सम्राट वु हुन् जसको कीर्तिको तुलना हिमालवारिका सम्राट अशोकसँग गरिन्छ ।  सम्राट वुले गरेका दिग्विजय र देखाएका युद्धोन्मादपछि जन्मिएको वैराग्यले बौद्धमार्गको अनुसरण अनि बौद्ध धर्मलाई राजकीय धर्म बनाउन गरेका उनका प्रयासका असंख्य  किस्सा छन् ।  

Global Ime bank

तिनैमध्ये एक किस्सामा सम्राट वु बोधीधर्मलाइ सोध्छन् - हे ज्ञानी, यी मेरा असंख्य बौद्ध भिक्षुको सेवा, चैत्य निर्माण, बौद्ध सूत्रको पुरश्चरण, बुद्ध मुर्तिको निर्माण र स्थापनाका कारण मैले के कति पुण्य प्राप्त गरेँ ? बोधीधर्म स्वभावजन्य क्रोध मिश्रित भावले सम्राटलाई हेर्दै भन्छन् - शून्य ।  सांसारिक स्वार्थमा वशीभूत भएर गरिने कर्मले आनन्द प्राप्त हुन्छ, पुण्य शून्य हुन्छ ।  सम्राट फेरि सोध्छन् - अहो! उसोभए महासत्य वा बोधीसत्य केहो त ? म त अहिले सम्म तिनै ८ महासत्यको अनुसरण गरिरहेको थिएँ ।  गुरु, के म गलत थिएँ ? बोधीधर्म भन्छन् - त्यो म जान्दिन, शून्यबाहेक अरू केही देख्दिन म ।  सम्राट अझै सोध्छन् - मेरो अगाडि उभिएको को हो त उसोभए ? बोधीधर्म भन्छन् - महाराज, त्यही म पनि खोजिरहेछु ।  

यस्तै प्रसंग रामायणको कथामा पनि आउँछ ।  कसैले ढोका ढक्ढकाएको सुनेर गुरु वसिष्ठ कुटीभित्रबाट प्रश्न गर्छन् - को हो हँ? बाहिरबाट दशरथनन्दन भन्छन् - त्यही जान्न त म हजुरको शरणमा आएको हुँ गुरु !

अंगेजीमा ' अफ्टर सेटलिङ्ग द डस्ट '  भन्ने उक्ति प्रचलनमा छ ।  यो ' ठूलो उथलपुथलपछि त्यसले उडाएको धुलो बिस्तारै जमिनमा बसेपछि ' भन्ने अर्थमा प्रयोग हुने हो ।  सम्राट अशोक वा सम्राट वु त्यो उथलपुथल अनि धुलो उडेको देखेका, भोगेका र त्यो धुलो जमिनमा बस्न सहज गरेका कारण इतिहासमा, ग्रन्थमा, मिथकहरूमा जीवन्त छन्, त्यसैगरी जीवन्त छन् बोधिधर्महरुसमेत ।  युद्धोन्मादले समाजको एउटा हिस्सालाई वितरागी बनाउँछ, व्यसनी बनाउँछ ।  भियतनाम युद्धको पटाक्षेप अघि नै अमेरिकी युवा पुस्तामा चरम नैराश्य व्याप्त भयो भनिन्छ ।  त्यहि निराशा र वितरागले 'हिप्पी' संस्कृतिको जन्म भयो ।  युवा युद्धसँग मात्र विरक्तिएनन् उत्पादकत्वसँग पनि निरपेक्ष हुन थाले ।

श्रम बजारमा फर्केनन्, ज्ञानको बाटो देखाउने गुरुको खोजीमा टाढाटाढा यात्रामा निस्किए ।  नेपालसम्म पनि आइपुगे ।  दुर्भाग्य, ज्ञानको साटो गाँजाको अम्मली बने । गाँजाको आयुर्वेदिक प्रयोजन सम्मलाई नसबन्दी गराएर बल्लबल्ल आफ्ना युवालाई श्रमबजारमा फर्कायो अमेरिकाले ।  आज आयुर्वेदिक प्रयोजनका लागि गाँजाको प्रयोग बहसमा छ अमेरिकामा पनि ।  यो लेखको विषय त्यो नभएकाले त्यतातिर नलागौँ ।  

लेखको विषय उहापोहपछिको परिस्थितिको सफल अवतरण हो ।  निस्चय नै, नेपालको अहिलेको परिस्थिति त्यस्तै उहापोह पछिको सफल अवतरणको व्यग्र प्रतीक्षामा छट्पटिएजस्तो देखिन्छ ।  विसं २०४६ पछिको राजनीतिक परिवर्तनपछि परिवर्तनको सफल अवतरण हुन सकेन ।  विसं २०५१ पछि  फेरि धुलो, धुवाँ उड्न थाल्यो ।

झन् २०५२ पछि त वायुमण्डलमा बारुदको गन्धसमेत सुँघ्न बाध्य भयो समाज ।  निरन्तर धुँवा, धुलो, बारुद, बम उँड्दाउँड्दै एकातिर निराशाको झुसिलो डकार आइरह्यो, पलायनका काफिला निस्किरह्यो, सकारात्मक हस्तक्षेपका सङ्कल्प पटकपटक परास्त भए ।  अर्को तर्फ, जे पद्धतिको निर्माण भयो, केही टाउके-ताउलेहरु त्यसैलाई पद्धति मानिरहेछन् र त्यसको प्रतिरक्षा गरिरहेछन् ।  स्वाभाविक छ, यो उनीहरूको धर्म पनि हो ।  तर, समयको पदचाप सुन्न नसक्नेहरूले जुन पद्धतिको प्रतिरक्षा गरिरहेछन्, त्यो पद्धति नै मक्किएको, चर्मरिएको र मैनको पुतलाहरुले घेरिएको छ ।  

जुन पद्धतिले लोकतन्त्र वा बहुलवादको पक्षपोषण गर्छ र हरेक मान्छे कानुनका दृष्टिले समान छ भन्ने आदर्श ओकलिरह्यो, त्यही पद्धतिले गंगामायालाई चिनेन, नवराज सिलवाललाई देखेन, बालकृष्ण ढुङ्गेललाई सजिलो गरिदिएर भेट्यो त्यही पद्धतिले एउटा गोविन्द केसी भन्ने ढिटलाइ ट्याप्पै भेट्यो, च्याप्पै अँचेट्यो ।   जुन मनुष्य गोविन्द केसीलाई देव देख्छ, त्यसमा खोट छ ।  

जुन मनुष्य गोविन्द केसीमा दानव देख्छ, त्यसमा पनि खोट छ ।  मानवजन्य प्रतिक्रिया व्यक्त गर्ने कानुनप्रदत्त अधिकार उपभोग गरेर न्यायालयको कठघराबाट पद्धतिको अन्तर्वस्त्र उतार्ने गोविन्द केसीको साहसलाई सलाम गर्न नसक्नेहरू त्यो पद्धतिको पक्षपोषण गरिरहेछन् जुन पद्धतिले दुई दर्जाको नागरिक बनायो- नीतिमा तर मार्ने दर्जा र नियतिमा भर पर्ने दर्जा ।   गोविन्द केसीले पटकपटक नियतिमा भर पर्न बाध्य दर्जाको  कुरा उठाए, मर्छु बरु छोड्दिन भनिरहे ।  यो पद्धतिले बहुजन हितायमा खलल पुर्‍याउँछ र अन्तत: नीतिमा तर मार्ने दर्जाकै  प्रशस्ति गाउँछ भनिरहे ।  उनको यो ढिट्याइ अहिले पद्धतिको ढालहरूमा भ्वांग पारिरहेछ ।  न्यायका नौ सिङ भन्ने त उखानै छ ।  

बहस नागरिकता र शैक्षिक योग्यतामा लगेर अल्झाइसके ।   अब फेरि नियतिमा भर पर्ने दर्जाले  त्यो पद्धतिको विनिर्माण नभएसम्मका लागि अदालतको विरोध गर्न तयार रहनुपर्नेछ ।  सम्मानित अदालतबाट जे निर्णय आउनेछ त्यो दर्जाको  इच्छा मुताविकको हुनेछैन र विद्यमान पद्धतिको समर्थनमा आउनेछ, जसले फेरि वितरागी  ब्याउने छ ।   ।  तर, एउटा तथ्यले बाटो देखाइरहेछ - गोविन्द केसी जुन पद्धतिविरुद्ध लडिरहेछन्, त्यो त्यस दर्जाको चाहनाको लड़ाइ हो ।  'म नै राज्य हुँ' भनेका दिन गोविन्द केसी पनि मटियामेट हुनेछन् ।  

तर, अहिले उनले अख्तियारको वा अदालतको शुद्धीकरणको आवाज उठाएका देखिन्छन् ।  के त्यो गलत छ? उनले सार्वजनिक पदमा रहनेको आचरणको प्रश्न उठाएका छन्, के त्यो गलत छ? यो पद्धतिको कवच हुने  स्वतन्त्रताभन्दा यो पद्धतिको विरोध गर्ने गोविन्द केसी श्रद्धेय छन् ।  किनभने, यो प्याज जस्तो चर्को गंध लपेटेको पत्रैपत्रको पद्धति उधिन्नु नै पर्छ ।  नियतिमा भरपर्ने दर्जाका नागरिकका रुपमा यो पद्धतिको विनिर्माण गर्ने उद्देश्य हरेक नेपालीको  इच्छा हो  कि होइन? प्रश्न त्यो मात्र हो ।  

नेपाली समाजले हरेक पटक पढेलेखेका मान्छे राजनीतिमा आएन, योग्य मान्छे आएनन् भनिरह्यो ।  त्यसका कारण छन् ।  पछिल्लो समयमा, खासगरी २०४६ साल पछि अलि हुनेखानेका सन्तानको पहुँच उच्च शिक्षामा रह्यो ।  त्यसमा पनि प्राविधिक शिक्षामा उनीहरूकै हालीमुहाली रह्यो ।  घरखेत बेचेर कि युवा विदेश गए श्रम गर्न कि सहर पसे डाक्टर इन्जिनियर बन्न ।  

डाक्टर इन्जिनियर बन, जागिर खाऊ, व्यस्त बन, मस्त बन, समाजले यही सिकायो ।  नेतृत्वले नरुचाएकैले प्राविधिक क्षेत्रले समाज छोएन ।  जान्नेबुझ्नेले आफ्नो पेसा राम्ररी गर, देशको नीतिशास्त्र हामी निर्माण गर्छौँ भनिरह्यो एउटा पंचायतकालीन जेल भोगेको संघर्षमा पारङ्गत तर  ल्याङफ्याङ व्यवथापनको खभ्यस्त समूहले  ।  बहुल पेसाजीवी त्यही मानेर हिड्ने निष्कर्षमा पुगे जुन बाटो अधिक सहज थियो ।  शोक न सुर्ता, भोक न भकारी ।  तर  त्यस गलत निष्कर्षले पहिले शिक्षा पद्धतिमा हान्यो र विकृति बनाएर राजनीतिमा लगेर थन्क्याइदियो । 

केही अझै गोविन्द केसी गलत देख्दैछन् ।  गोविन्द त नियमका आधारमा कसुरदार हुन्, नियतका आधारका कसुरदार गल्लीचोक भेटिन्छन् ।  अनि त्यही नियतका आधारमा कसुरदारहरू उही पीरो, जनजनका आँखामा जानाजान आँशु निकाल्ने प्याज देखाउँछन्, तर्साउँछन् ।  

गोविन्द केसी चौतारोमा उभिएर त्यो प्याज म फोर्छु, पत्रपत्र उधिन्छु भन्छन् जुन सामान्यअवस्थामा पद्धतिको अवहेलना होला तर  धुलो जमिनमा बस्नै नदिने, सँधै थरथराइरहने, हल्लाइरहने, अघि बढ्न नै नदिने यो पद्धतिको पत्रपत्र त उधिन्नु नै श्रेयश्कर होइन र ? अहिलेको पद्धतिले सम्राट वुलेजस्तै संसारिक स्वार्थमा वशीभूत भएर गरिने कर्म गरेको होला, त्यसले त्यसका अनुचरहरूलाई आनन्द प्राप्त होला, पुण्य भने शून्य हुन्छ ।  त्यसैले पटकपटक त्यो पद्धतिको शिखरमा पुगेकाहरू विवादमा आइरहेछन् - आनन्द पाइरहे पनि पुण्य गुमाइरहेछन् ।  

शशि शर्माको निर्णय सुनेर तिल्मिलाएको एक नितान्त पृथक पेशा र कर्मले हड्डीको डाक्टर गोविन्द केसीमा बोधीधर्म गुरुको प्रतिच्छाया देखेर एकपल्ट शून्यमा रमाएँ म ।  जय गोविन्द- जय गोपाला!
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC