site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
हेपाटाइटिस बी : केही भ्रम केही यथार्थ
Agni Group
Global Ime bank
हाम्रो देशमा हेपाटाइटिस भन्नाले मानिसहरू जन्डिस हो भन्ने बुझ्ने गर्छन् । हेपाटाइटिस हुँदा जन्डिस हुनसक्छ तर जन्डिस भएका सबैलाई हेपाटाइटिस नहुन सक्छ । हेपाटाइटिस भनेको रोग हो भने जन्डिस लक्षणमात्र हो । रोगले लक्षण ल्याउँछ तर लक्षणले रोग लाग्ने होइन । हाम्रो देशमा जन्डिस र हेपाटाइटिस दुवैलाई गलत तरिकाले हेरिन्छ र यो हेर्ने तरिकालाई पुनर्विचार गर्न जरुरी छ । 
 
हाम्रो देशमा जन्डिस र हेपाटाइटिस भन्नेबित्तिकै यसको एलोप्याथीमा कुनै उपचार छैन र यसको उपचार आयुर्वेदमा मात्र छ भन्ने गलत धारणा जनमानसमा पाइन्छ । डाक्टरले हेपाटाइटिसको निदान गरिसकेपछि यसको उपचार छैन भनेर वैकल्पिक उपचार पद्धतिमा जानेको संख्या धेरै छ । गलत उपचार गर्नाले रोग झन् जटिल हुनसक्ने, उपचारमा ढिलो हुनाले उपचार गर्नसक्ने स्थितिभन्दा बाहिर जाने, उपचार प्रकिया पनि जटिल र खर्चिलो हुनसक्छ । 
 
अचेल नेपालमा हेपाटाइटिस बी रोग बढेजस्तो भान हुने गरी समाचार सुन्न र पढ्न पाइन्छ । यो रोग बढेको भन्दा पनि पहिलाभन्दा बढी जाँच हुने भएकोले यसको पहिचान बढी भएको हो । वैदेशिक रोजगारीको लागि जानेको हेपाटाइटिस जाँच अनिवार्य भएकाले यसको निदान बढी भएको हुनुपर्छ । नेपालमा नवजात शिशुका लागि हेपाटाइटिस बीको खोप अनिवार्य भएको धेरै भएको छैन । अनी संक्रमित बिरामीबाट बच्न खोप लगाउने चलन अझै व्यापक भइसकेको छैन । त्यसैले यो रोग घटेर गएको पनि छैन ।
 
यस रोगका बारेमा चर्चा हुँदा धेरै भ्रामक कुरा सुन्ने गरिन्छ । यो रोग कसरी सर्छ भन्ने धेरैले नबुझेको देखिन्छ । आफूले नजाने पनि फलानोले भनेको अथवा मैले सुनेको भनेर आआफ्नो विचार र धारणा अवधारणा अरूलाई सुनाउने चलन हाम्रो देशमा बढी नै पाइन्छ । सक्रंमित व्यक्ति भएको घरमा केही दिन, केही महिना त आँधीबेहेरी आएजस्तै हुन्छ । मानौ ठूलै संकट परेको छ र त्यसको कुनै समाधान छैनजस्तो अवस्था उत्पन्न हुन्छ । त्यसैले यो रोग बारे केही जान्न जरुरी हुन्छ । जसले गर्दा यो रोगसँग डराउनुपर्ने अथवा रोगीसँग डराएर भाग्नुपर्ने हुँदैन ।
यो रोगबारे बाहिर सुनिने कुरा सबै लेखेर साध्य नै हुँदैन । यस लेखमा यो रोग सबैभन्दा धेरै सुनिने कुरा कति सत्य वा भ्रम हुन् भन्ने बारेमा जानकारी दिने जमर्को गरिएको छ ।
 
हेपाटाइटिस बी एड्सभन्दा पनि खतरनाक छ
हेपाटाइटिस बी देखापरेपछि धेरैको मनोबल गिर्ने गर्छ । किनभने यसलाई एड्सभन्दा पनि खतरनाक रोग भनेर चित्रण गरिने गरिएको छ । यो एड्सभन्दा खतरनाक के कारणले मात्र हो भने यो रोग सर्ने भाइरस एक थोपाभन्दा कम रगतबाट सर्नसक्छ । यस रोगको जीवाणु हावामा धेरै दिन बाँच्नसक्ने भएकाले पनि यस रोगलाई खतरनाक भनेर चित्रण गरेको हुनुपर्छ । तर सबै हेपाटाइटिस बी पोजिटिभ व्यक्ति अरूका लागि खतरा भने हुदैनन् । उपचार गर्न परिहाले पनि उपचार सम्भव भएकोले यो एड्स रोगभन्दा खतरनाक कदापि होइन ।
 
हेपाटाइटिस बी ६ महिनामा आफैँ निको हुन्छ
धेरै मानिसमा हेपाटाइटिस बी ६ महिनामा आफै ठीक हुन्छ भन्ने भ्रम छ। यो अर्धसत्य हो । वयस्क मानिसमा हेपाटाइटिस बी पसेको ६ महिनाभित्र आफैँ निको भएर हेपाटाइटिस बी निगेटिभ हुने सम्भावना ९० प्रतिशत हुन्छ । यो संख्या बालकमा भने १० प्रतिशतमात्र हुन्छ । त्यसैले हेपाटाइटिस बी देखिएको छ महिनामा नेगेटिभ हुन्छ भन्नु गलत  हो । हेपाटाइटिस बी लागेको बिरामीलाई रोग सुरु भएको बेलामा जन्डिस देखापरेमा त्यस्ता बिरामीमा निको हुने र नेगेटिभ हुने सम्भावना बढी रहन्छ । तर लामो समयसम्म हेपाटाइटिस रोग लागेर कलेजो कडा भइसकेपछि जन्डिस देखापरेमा यो लागु हुँदैन ।
 
हेपाटाइटिस बीको उपचार एलोप्याथीमा छैन 
हेपाटाइटिसको क्रोनिक बिरामीलाई मात्र उपचार गर्नुपर्छ भन्ने धारणा गलत हो । पोजिटिभ व्यक्ति सबैलाई उपचार गर्न नपर्ने भएकाले औषधि सेवन गर्ने सल्लाह दिइँदैन । रगतको जाँचमा एचबीएस एजी पोजिटिभ हुँदाहुँदै पनि उपचार नगरिदिनाले त्यस्ता व्यक्तिबाट यस्तो प्रचार गरिएको हुनसक्छ । उपचार गर्नुअघि रगतको विभिन्न जाँच गर्नु जरुरी हुन्छ । कुनै अवस्थामा कलेजोको टुक्रा निकालेर जाँच्न पनि जरुरी हुनसक्छ । तर अचेल उपलब्ध हुने फाइब्रोस्क्यानबाट बायोप्सी नगरीकनै कलेजोको कडापन नाप्न र उपचार सम्बन्धी निर्णय लिन सकिन्छ । उपचार गर्नुपर्ने अवस्थाको पहिचान गरेमा इन्जेक्सन (इन्टरफेरोन) र खाने औषधिबाट उपचार गर्न सकिन्छ । यो उपचार पद्धतिबाट रोग निको हुने संभावना बढ्छ । उपचारपछि नेगेटिभ पार्छु भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन । कसैले लिन्छ भने त्यो फटाइँ हो । इन्जेक्सनबाट उपचार गर्दा ५ देखि ८ प्रतिशतमा नेगेटिभ हुनसक्छ । इन्टरफेरोन भन्ने औषधि १२ महिना ( पेग इन्टरफेरोन प्रतिसाता १८० मिलीग्राम ) प्रयोग गर्नाले यो रोग निको हुन सक्छ । यो सुईबाट दिने ओषधी महँगो र यसको साइडइफेक्ट धेरै भएकोले हामीकहाँ कम प्रयोग गर्ने गरिन्छ । यसबाहेक ल्यामिभुडिन (१०० मिलीग्राम ), एडिफोभिर (१० मिलीग्राम ), टेनोफोभिर ३०० एमजी, एन्टाकाभिर ०.५ एमजी दैनिक खानाले यो रोग निको हुनसक्छ । यो रोगका लागि औषधि भने लामो समयसम्म सेवन गर्न जरुरी हुन्छ । बीचमा औषधि छोड्नाले रोग निको नहुने जोखिममात्र हैन त्यो औषधिले भविष्यमा काम नगर्ने सम्भावना पनि रहन्छ । कोही कोहीमा औषधी सेवन रोकेपछि यो फेरि बल्झिन सक्छ ।
 
हेपाटाइटिस बीको उपचार आयुर्वेदमा छ
आयुर्वेदमा हेपाटाइटिस बी पोजिटिभ देखिने बित्तिकै उपचार सुरु गर्ने चलन छ । यो सरासर गलत हो । ६ महिनाभित्र नेगेटिभ पारिदिन्छु भन्ने धेरैले गर्छन् । आयुर्वेदमा यसको उपचार शतप्रतिशत संभव हुने भए संसारमा रहेका ३५ करोड हेपाटाइटिस बी संक्रमित व्यक्तिलाई नेपालबाट औषधि खुवाउन सकियो भने हाम्रो अर्थतन्त्र आयुर्वेदिक औषधि उद्योगले मात्र धान्न सकिन्थ्यो होला । आँफै नेगेटिभ हुने अवस्थाका केही बिरामीलाई जडिबुटी खान दिएर मैले निको पारेको हुँ भन्नु बेइमानी हो । साँच्चै ठीक पार्ने हो भने हामी सहकार्य गरेर बढीभन्दा बढी बिरामीलाई निको बनाएर नेपालको नाउँ विश्वमा चिनाउन राजी छौँ । कुनै कुनै जडिबुटीमा पाइने फाइल्यन्थस न्युरीमा यो भाइरस मार्ने क्षमता भने पाइएको छ । तर यसको उपयोगिता प्रमाणित भइसकेको छैन ।
 
सँगै बस्दा, घुलमिल गर्दा यो सर्छ 
हेपाटाइटिस बी पोजिटिभ देखिएपछि गोठमा सुत्न लगाउने, अफिसमा दुर्व्यवहार गर्ने गरेको बारम्बार सुनिन्छ । यसको एउटै कारण यो कसरी सर्छ भन्ने थाहा नपाउनु हो । हेपाटाइटिस बी रगत, वीर्यजस्ता शारीरिक रसबाट सर्छ । त्यसैले सँगैबस्दा, कुरा गर्दा, एउटै ओछ्यानमा सुत्दा सर्दैन । प्राकृतिक यौन संपर्क गर्दा सर्ने सम्भावना भए पनि एक दम न्यून छ । तर जुन तरिकाले सरे पनि रोग एउटै हुन्छ । सर्ने तरिका र हुने असरको केही सम्बन्ध छैन । आमाबाट बच्चामा सरेको हो भने अरू सन्तानमा हुनसक्ने भएकोले सर्ने तरिका थाहा पाउन जरुरी हुन्छ । यस अवस्थामा परिवारका अरू सदस्यको रगत जाँच गर्न जरुरी हुन्छ ।
 
हिपाटाइटस बी भएको व्यक्तिले खाना बार्नुपर्छ 
विभिन्न उपचार पद्धतिमा हेपाटाइटिस बी पोजिटिभ देखिएपछि खाना बार्ने सल्लाह दिने गरिएको पाइएको छ । यो गलत हो । चिल्लो, पिरो, अमिलो र हेपाटाइटिसको कुनै संबन्ध छैन । कसैले त माछा, मासुसम्म बार्न लगाउने गर्छन् । बार्न पर्ने कुरा भने रक्सी र रक्सीजन्य पदार्थमात्र हो जसले कलेजाको खराबी बढाउने गर्छ । धेरै बिरामीले सोध्ने एउटा साझा प्रश्न छ् - डाक्टर साहेब कलेजो बलियो पार्न कस्तो खाना खान पर्छ ? त्यस्तो केही खाना हुँदैन । सन्तुलित आहार लिने गर्नाले हाम्रो कलेजो स्वस्थ्य रहन्छ । हाम्रो समाजमा बिहान लिभ-५२ खाएर राति रक्सी सेवन गर्ने व्यक्ति धेरै भेटिन्छन् । यसरी त कलेजो बलियो हुँदैन । 
liverclinicnepal@gmail.com
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७३  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC