सम्पादकीय
पुस्तकालय दिवस मनाउने क्रममा शिक्षा मन्त्रीले प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्ने धारणा व्यक्त गरेको समाचार सार्वजनिक भएको छ । पुस्तकलाई 'दिगो र भरपर्दो बनाउन' प्रविधिमा ध्यान दिनुपर्ने पनि उनले बताएका छन् । अर्कातिर, शिक्षा मन्त्रालय मातहतकै पुस्तकालयहरूको भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि विख्यात सार्वजनिक पुस्तकालयहरू ढेढ वर्षदेखि बन्द रहेका छन् । तिनीहरू सञ्चालन नभएका मात्र हैनन् पुस्तकहरू बोरामा कोचेर राखिएकाले बिस्तारै माटिएर जाने क्रममा छन् । सरकारमातहतका पुस्तकालयहरू राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय भूकम्पपछि खोलिएका छैनन् । त्यसैगरी राजनीतिज्ञ स्वर्गीय डा. डिल्लीरमण रेग्मीले राष्ट्रलाई सुम्पेको नासो डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय पनि खतरामा परेकत्र छ । त्रिभुवन विश्वविद्यालयको पुस्तकालयका पुस्तकहरू राख्ने उचित प्रबन्धकै अभावमा मक्किएर जाने जोखिममा छन् । यी सबैका बारेमा शिक्षा मन्त्रीको धारणा भने समाचारमा उल्लेख भएको छैन ।
हुनत, काष्ठमण्डपलाई अलपत्र छाडेर धरहरा निर्माणका लागि राष्ट्रिय अभियान चलाउने सरकार र समाज भएका मुलुकमा पुराना पुस्तकहरूको संरक्षणको अपेक्षा गर्नु सायद मूर्खता नै हुन्छ । त्यसमाथि संस्कृत विश्वविद्यालयको पुस्तकालय जलाएकोमा अहिलेसम्म माफी नमाग्दा पनि माओवादीलाई दुत्कार्ने आँट नगर्ने नागरिक समाज र विश्वविद्यालयको पुस्तकालय र विशेषगरी अमूल्य पुराना पुस्तकको संरक्षणलाई कहिल्यै एजेन्डा नबनाउने विद्यार्थी संगठनहरू भएको समाजमा तत्काल नाफा नहुने तर सभ्यता र संस्कारको कसी मानिने पुस्तक संरक्षणको विषय उठाउनु उपहासको पात्र बन्नु हुनसक्छ । तर, पुस्तकालयलगायत सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक महत्त्वका सम्पदाहरूको उपेक्षा गरेर अहिलेको सरकार र नागरिक समाजको वर्तमान पुस्ताले सन्तान र पुर्खा दुवैका विरुद्ध ठूलो अपराध गरेको छ । हजारौं दुर्लभ ग्रन्थ पुर्खाले सन्तानका लागि नासो छाडेर गएका थिए । त्यस अमूल्य निधिमा थपथाप गर्नु त परै जाओस् हामीले तिनको संरक्षणसम्म पनि गर्न सकेनौ । यस अक्षम्य अपराधका लागि इतिहासमा यो पुस्ता कलङ्कित भएको छ ।
अझै पनि जे जति पुस्तक जस्ता अवस्थामा छन् तिनलाई थप सड्नगल्न नपाउने व्यवस्था तत्काल मिलाइहाल्ने हो भने धेरै पुस्तकको संरक्षण गर्न सकिनेछ । सबैभन्दा पहिले सरकारले पुस्तकहरूको संरक्षणको महत्त्व बुझ्नुपर्छ । कुनै पुस्तक संसारमा नेपालको पुस्तकालयमा एउटा प्रतिमात्रै पनि हुनसक्छ । चीनमा कथित सांस्कृतिक क्रान्तिका नाममा ध्वस्त पारिएको पुस्तकहरूका लागि अब जति पछुतो माने पनि के अर्थ ? संस्कृत विश्वविद्यालयको पुस्तकालय जलाउदाँ भएको क्षतिको कहिल्यै पूर्ति हुनसक्तैन र माओवादी त्यस कलंकबाट मुक्त हुन पनि सक्तैन । पुस्तकालयमा पुस्तकको संरक्षणलाई पहिलो प्राथमकिता दिएर बिस्तारै सञ्चालन गराउनुपर्छ । यस क्रममा त्रिविको पुस्तकालय संरक्षणका लागि पूर्वविद्यार्थीबाट सहयोग जुटाउन सकिने सुझाव सामाजिक सञ्जालमार्फत् व्यक्त भएको छ । यो सुझाव मननीय छ । अरू पुस्तकालय पनि सरकारले संरक्षण गर्न सक्तैन भने नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई संरक्षण र सञ्चालनका लागि जिम्म दिए हुन्छ । अहिले नै भव्य भवन बनाउनु पर्दैन । टहरामा पनि पुस्तकहरू संरक्षितरूपमा राख्न सकिन्छ । शिक्षा मन्त्री साँच्चै नै पुस्तकलाई 'दिगो र भरपर्दो' रूपमा राख्न चाहन्छन् भने उनकै मात्र प्रयासले पनि पुस्तकहरू जोगाउन धेरै भरथेक हुनसक्छ । अहिले मक्किएर जान लागेका पुस्तकहरूको संरक्षण गर्न अग्रसर भए भने माओवादीमाथि लागेको पुस्तकालय जलाएको कलंक पनि केही मेटिनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७३ १८:५६
प्रतिक्रिया दिनुहोस्