site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
भारण्ड गठबन्धन  

नेपालीमा एउटा उखान छ- ढाँटको निम्तो, खाई पत्याउनु  । नेपाली जनसमुदायको ठूलो हिस्सा अहिले सायद खाई पत्याउने अवस्थामा पुगेका छन् चाहे त्यो स्थिर सरकारको नाममा वा एउटा विशाल पार्टी गठनको नाममा गरिएका प्रचारबाट । यो पार्टी एकीकरणका चुम्बकीय आकर्षण अनि सुदृढ सरकारका नाममा लोकप्रिय मतभन्दा थोरै मत ल्याएर बहुमत पुर्‍याएका दुई अलौकिक दलका समर्थकले आफू ठगिएको महसुस गरिएको समय हो । र, यसरी ठगिएको अवस्था भने अहिलेमात्रै आएको होइन ।

एउटा लेख लेख्छु भन्दा केही अघि एक जना मित्रले भने - एकांगी लेखन सदैव सम्भाव्य हुन्छ । निरपेक्ष र स्वतन्त्र भएर सोच, सूचनालाई प्रशोधन गर्न हामी तार्किक र तथ्यमा आधारित हुनु जरुरी छ  । अंग्रेजीमा लेखिएको यो सन्देश मैले बुझ्न चुकेछु र मैले यस्तो जवाफ फर्काएँ - मित्र ( गोपनीयताका कारण नाम उल्लेख गरिएन), एकांगी पाठक पनि प्रशस्त हुन्छन् । तिनले पनि चस्मा नखोलुन्जेल जुनसुकै लेख पनि एकांगी पढ्छन् । । पाठकको चयन स्वतन्त्रताजस्तै लेखकलाई पनि लेखन स्वतन्त्रता हुने गर्छ । म ‘पपुलिस्ट’ लेखक होइन, न कसैको प्रशस्ति वा स्तुतिगान लेख्छु । मेरो लेखमा के लेख्नुपर्छ त्यो म जान्दछु, तपाईँलाई मन नपर्दा नपढे केही बिग्रेला र ? मैले अघि भने झैँ सार्वजनिक खपतका लागि लेख्ने पेसेवर लेखक म होइन । र पत्रिकामा लेखिने लेख र एकेडेमिक आर्टिकल दुवै लेखेका आधारमा केसम्म भन्न सक्छु भने - दुवै बिधामा लेख्ने एक औसत मान्छे हुँ म । चासो प्रकट गरिदिनुभएकोमा अनुग्रहित छु । धन्यवाद ।

यसरी सवालजबाफ गर्दा सायद ती मित्र मलाई अझै २०४३-२०४९ सम्मको नेविसंघ पुल्चोक क्याम्पस वा ललितपुर जिल्ला समितिमै रुमल्लिरहेको देख्दा हुन् । तर, समयले काँचुली फेरेको मात्र नभई मेरा धारणाहरु अझ सबलीकृत भएकाले छिचरो जवाफ दिएर घमण्डी देखिएँ होला । क्षमा चाहन्छु तर यथार्थ के हो भने ती मेरा मित्रले भने झैँ नेपाली समाज र मतदाता सूचनाको प्रशोधनमा चुकेकै हुन् ।  त्यसैले नेपाली राजनीतिको अखडामा जुन गन्ध सुँघिदैछ, त्यसले पर्दा पछाडि के पाक्दै छ, थाहा लाग्दो छ ।

Agni Group

तथ्यकै कुरा गर्ने हो भने आज जुन कलकारखाना बेचेको आक्रमण नेपाली कांग्रेसले खेप्यो र डा. रामशरण महत र महेश आचार्य निरन्तरको खेदाइमा पारिए त्यो देख्दै र सुन्दै यो अवस्थामा आइपुग्दा यो तथ्य लेखिदिँदा अन्यथा नहोला । विसं २०४८ को चुनाव हारेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनाइएका रामशरण महत र चुनाव नै नजिती राष्ट्रिय सभामार्फत अर्थ राज्यमन्त्री बनाइएका महेश आचार्यको संयुक्त र सक्रिय कार्यकाल जम्मा ३ वर्षको रह्यो - २०४८ - ५१ । त्यही बेला हो नेपाली कांग्रेसले  आर्थिक उदारीकरणको नीति अख्तियार गरेको र राज्यले उद्योग चलाउने होइन, उद्योगीलाई सहज वातावरण बनाइदिने र कर उठाउने सिद्धान्त अवलम्बन गरेको । तथ्य यही हो र त्यसपछि  मध्यावधिलगत्तै भरतमोहन अधिकारी आए अर्थमन्त्री भएर । नौ महिनाभित्र आफ्नो गाउँ आफैँ बनाउँ र बृद्ध भत्ताजस्ता सार्वजनिक खपतका लोकप्रिय विषय जडेर गए ।
आर्थिक उदारीकरणको बाटो गलत हो कहिल्यै भनेनन्, त्यही पद्धति अबलम्बन गरे । किनभने पंचायतले जर्जर पारेको अर्थतन्त्रबाट त्राण खोज्न प्रकाशचन्द्र लोहनीले पंचायतको अवशान ताका नै यो नीति लिइसकेका थिए । त्यो नलिई धरै किन थिएन भने त्यतिखेर देखि नै  भूमण्डलीकरणको लहर चल्न थालिसकेको थियो । नेपालजस्तो करिब टाटपुंजिया मुलुकको लागि बहावविपरीत बग्ने ह्याउ थिएन । पंचायतको कालखण्डमा उद्योग कि राज्यको हुन्थ्यो कि राजपरिवारको । आर्थिक उदारीकरणसँगै राजपरिवारले कर तिर्ने सर्तमा व्यवसाय गर्न पाए तर उनीहरू त्यसमा नाखुस थिए । बहुदल कालको सुरुमा त्यसकारण उद्योगबाट कर उठ्ने अवस्था थिएन, राष्ट्रको ढुकुटी रित्तोजस्तै थियो । त्यस अवस्थामा आकांक्षाका भारीले किचिनु अघि सरकारले आफूसँग भएका ट्रेड युनियनका कारण जर्जर उद्योग बेच्नुको विकल्प थिएन ।

रामशरण वा महेश आचार्यमात्र होइन, भरतमोहनले पनि त्यही गरेका हुन् ।  भरतमोहनपछिका हरेक कम्युनिस्ट झुकाव भएका सुरेन्द्र पाण्डे, बाबुराम भट्टराई, विष्णु पौडेल आदिले समेत त्यही आर्थिक उदारीकरणको नीति लिएका हुन् । त्यही उदारीकरणका कारण बृद्ध भत्ता बाँड्न सकेका हुन् र त्यही उदारीकरणकै कारण ‘पपुलिस्ट’ हुन सकेका हुन् । यो तथ्य हो - राज्यले शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई बुझाउँदासमेत त्यसको निरन्तरता दिने उपरोक्त सम्पूर्ण अर्थमन्त्री हुन् ।  एउटा निजी शिक्षण अस्पतालविरुद्ध नैतिक लडाइँ लड्ने एक सामान्य अध्यापकमाथि सिंगो दल खनिएको देख्दादेख्दै निजीकरणविरुद्ध नाना भाँतीका विरुदावली बकेर कोही कसैले  केही समयका लागि भिड जम्मा त गर्न सकेकै देखियो तर निम्तो त आखिर ढाँटकै थियो । जे थियो, त्यही ठहरियो ।   

Global Ime bank

एकादेशमा एक महासचिव थिए मदन भण्डारी नाम गरेका । पंचायत कालमा भूमिगत थिए उनी । बरु नाम सुनिएको थियो सिपी मैनाली, झलनाथ खनालको, मोहनचन्द्र सुनिन्थे । बरु, राधाकृष्ण अर्का नामुद थिए । जनसमुदायका लागि यी सबैभन्दा पृथक र गुमनाम ती भण्डारी कुनै तिलस्मका कारण २०४७को संविधानका सफल नायक कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा हराउन सफल भए । कांग्रेसका लागि अभेद्य मानिएको काठमाडौंको क्षेत्र नम्बर १ मा तिनले चमत्कारपूर्ण विजय हासिल गरे । नेपाली कम्युनिस्ट आन्दोलनमा बहुदलीय जनवादको बीउ रोपेका उनी कालगतिले दासढुंगामा विसर्जित भए वा कुनै कुमतिको सिकार भए त्यो रहस्यमा एक अत्यन्त वाचाल दलले २०५० देखि २०७४ सम्म खेलिरह्यो ।

अझै आफूलाई सर पर्ने खण्डमा मदन भण्डारीको हत्याको नारा घन्काएर सत्तामा उक्लने कठोर यत्न गरेकै छ, पटकपटक २०५१ पछि सत्तारोहण गरेकै छ, 'फलानो' हत्यारा हो भनिहाल्दैन तर 'फलानो'को बाजे, बाउ र छोरो चाहिँ यो हो है भन्छ । मदन गान बजाइरहन्छ, मदनको नाम भजाइरहन्छ । चौबीस वर्ष यता आएर उसलाई हत्या हो कि दुर्घटना हो भन्ने थाहा छ, यो तथ्य हो, तर त्यसभन्दा कूटिल यथार्थ अझै दिगो सत्य हण्डी टुट्छ भन्ने हो । आजको मितिमा राष्ट्रपति रहेकी आदरणीय महिलाको सारीमा रातो मसी छर्केका हौँ भनेर सगौरव आत्मसन्तुष्टि लिनेले हत्या भनेर ढाँट कुरा गरेकै हुन् । यसरी केही समयका लागि भिड जम्मा त गर्न सकेकै देखियो तर निम्तो त आखिर ढाँटकै थियो ।

आजको जम्जमाउँदो र ठम्ठमाउँदो पुस्तालाई इतिहासको रुचि उतिसारो नहुँदो हो । तर, केही हालसालैका तथ्य मननीय छन् ।  कोही एक अत्यन्त निकृष्ट, सङ्गठनद्रोही र किर्ते व्यक्तिका लागि कुनै एक दल यसरी अघि लाग्यो कि जान्नेसुन्ने सब मौन रहन बाध्य भए । सरकारको इँजार तानेर आफ्नो घुम्टो बनाउन अदालतसमेत  अघि हिँड्यो । अहिले हुरीबतासले सबै उजाड भइसकेपछि जे देखिँदै छ, त्यसले कुन तथ्यलाई उजागर गर्‍यो भने केही ढाँटहरूले त्यहाँसमेत आफ्नो उपस्थिति जनाइसकेका रहेछन् ।

अवकाशप्राप्त महाभियुक्त श्रीमान्को तत्कालीन अन्तर्वार्ता री गरेर प्ले गर्न सकिन्छ । के भनेकी थिइन् उनले र तथ्य के देखा पर्‍यो?  तिनै एक सरकारी नोकर आफ्नो पदको दुरुपयोग गरेर किर्ते गर्छन्, कुनै एक दलको गोटी बन्छन्, कुनै निष्कलंकित न्यायाधिशलाई ढाँट कुरो गर्न सक्छन्, उनी त्यो पत्याउँछिन् । जनताले तिरेको करले जागिर खाने त्यही नोकर आफ्नो अभिष्ट पूरा नहुने देखेपछि छाती चौडा पारेर राजीनामा दिन्छन्, कुनै दलको टिकट लिन्छन्, चुनावमा जान्छन् , ढाँट कुरा गरेर चुनाव जित्छन्  । फेरि पनि यसरी केही समयका लागि भिड जम्मा त गर्न सकेकै देखियो, तर निम्तो त आखिर ढाँटकै थियो । त्यसभन्दा केही अघि, नेपालको सारा समस्याको जड म्यादी सरकार हो, हामी स्थायी सरकार दिन्छौँ भनेर दुई भाइ दल अघि आए । एक भाइ जता पनि मुख गाड्ने, अर्को भाइ जता पनि मुख छोड्ने यी दुइ भाइ मिलेर अब समृद्ध नेपाल बनाउने छौँ भन्ने कसम खाए, गीत लेखे । त्यो गीत भजनमालाका रूपमा तीन लोक त्रिभुवनमा गुञ्जायमान बनाइयो । त्यतिखेरै मलाई पञ्चतन्त्रको कथा सम्झनामा आएको थियो ।

भारण्ड नामक पंक्षीको कथा छ पञ्चतन्त्रमा । एक पेट दुई टाउका भएको सो चरोको नियति र कम्युनिस्ट गठबन्धनको नियतमा ताज्जुब लाग्ने गरी समानता देखिन्छ । एउटा ठूलो बरको रुखमा बस्ने भारण्ड नामक त्यो पंक्षीको दुई टाउकामध्ये एउटा टाउकोले एक दिन अत्यन्त मनमोहक र देख्दैमा स्वादिलो फल देख्छ र भुत्भुताउँछ - अहो, यो फल मेरा लागि भगवान्ले पठाएका हुन्, त्यसैले मैले देखेँ र यो मैलेमात्रै खाने हो । यो सुनेको अर्को टाउकोले भन्छ - हे सहोदर, त्यो फल मलाई पनि चाख्न देऊ । यो सुनेर पहिलो टाउको लालच मिश्रित स्वार्थी आवाजमा भन्छ-  हेर सहोदर, मैले खाए पनि, तिमीले खाए पनि जाने पेट एकै हो, फरक रह्यो स्वादको । त्यो स्वाद पाउने हक मेरोमात्रै हो । किनभने यो फल देख्ने म हुँ । तिमी लोभी नबन । यो सुनेर दोस्रो टाउको स्तब्ध हुन्छ र टुलुटुलु पहिलो टाउकोले सो मीठो फल खाएको हेर्न बाध्य हुन्छ । कुपित दोस्रो टाउको प्रतिशोधको लागि मौका पर्खिरहेको हुन्छ । एक दिन एउटा बिखालु फलको वृक्ष नजिकै पुगेको बेला दोस्रोले पहिलो टाउकालाई सुनाउँदै भन्छ - निश्चय नै यी बिखालु फल हुन् तर म यी फल खाँदै छु । त्यो सुनेर पहिलो टाउको आतंकित हुन्छ र भन्छ - सहोदर, कृपया त्यस्तो धृष्टता नगर, हाम्रो पेट एउटै छ, तिमीले खाएको फलले हामी दुवैलाई हानि हुन्छ । दोस्रो टाउको प्रतिशोधको यसभन्दा गतिलो मौका नपाउने ठानी अभिमानयुक्त आवाजमा भन्छ- सहोदर, तिमी मूर्ख कुरा नगर । यो फल पहिले मैले देखेको हुँ, खाने नखाने अधिकार मेरो हो र खुसीको कुरा, म त्यो अधिकार प्रयोग गर्ने निर्णयमा पुगेको छु । दोस्रो टाउकाको त्यो निर्णयले भारण्डको मृत्यु हुन्छ । 

अहिले नेपाली राजनीतिमा देखिएको दुई टाउको  एक आँत भएको चरोले एक त मजाले ढाँट कुरो गर्यो । दुईमध्ये एक टाउकोले आफू कम्युनिस्ट नभएको 'ऐलान' गर्‍यो चुनावको मुखैमा विजयकुमारसँग । सोही टाउकोले त्यही अन्तर्वार्तामा अर्को टाउको उग्रवाम भन्ने शब्द प्रयोग नगरीकनै सो हो भन्ने तथ्य बोल्यो । सोही टाउकोले नै 'म प्रमुख, अर्को सहायक भन्ने दम्भ प्रस्तुत गर्‍यो । यो चुनावअघि । चुनाव पछि त खुलेरै यो निर्वाचनको फल मैले ल्याएको हुँ, तैँले केही पाउन्नस् भनेकै हो ईश्वर पोखरेलको मुखबाट । यो भारण्डरूपी गठबन्धनको बचाउ गर्नुपर्ने लेखकको कर्तव्य होइन । तर, लाग्दैछ, दुईमध्ये एकको मुढताका कारण यसको अन्त्य निकटस्थ छ । भारण्ड बनी निकास दिन्छौँ भन्नु ढाँट कुरो थियो र त्यो निम्तो नखाईकनै पत्याउनाले अबका दिन नेपाली राजनीतिको पाटो अझै दुरुह, कष्टकर र पीडादायी हुन सक्नेछ । 
त्यसै बनेन होला 'अघि बुढी मानिन, पछि बुढी जानिन, बाघ लाग्यो घिच्याउन, बुढी लागी चिच्याउन' भन्ने उखान पनि । अपेक्षाकै कुरा गर्ने हो भने नेपालले स्थिरतासँगै समृद्धि पाओस् भन्नेमा तील बराबर पनि दुबिधारहित अपेक्षा छ । त्यसमा कुनै शंका छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १२, २०७४  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC