बाह्रखरी
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
समानान्तर पार्टी संरचनाको विनिर्माण
KNP nepal
KNP nepal
गोविन्द अधिकारी
बाह्रखरी - गोविन्द अधिकारी बिहीबार, मंसिर २८, २०७४
Laxmi Bank
Laxmi Bank

विकास र विस्तारका लागि संगठनको पनि प्रकृति र प्रवृत्ति मिल्नुपर्छ । नेपाली कांग्रेसको मत प्रतिशत हेर्ने हो भने यस पार्टीका नेताहरूले लामो समयसम्म पनि मताधारमा विस्तार गर्न नसकेको देखिन्छ । बिहीबार साँझसम्मको समानुपातिक मत परिणाममा कांग्रेस नेकपा (एमाले) भन्दा पछि परेको छ । कांग्रेसको मत प्रतिशत अहिलेसम्म एमालेभन्दा बढी हुने गरेको थियो । यद्यपि, कांग्रेसको मताधार खुम्चिएको भन्न पनि मिल्दैन । तैपनि के स्पष्ट छ भने एमालेले मताधार बढायो तर कांग्रेसले सकेन । यसका झिनामसिना धेरै कारण होलान् तर मूल कारण कांग्रेसजस्तो जनतामा आधारित पार्टीको संगठन कार्यकर्तामा आधारित कम्युनिस्टहरूको जस्तो हुनु हो । कांग्रेसको विधान र संगठनको प्रकृति परिवर्तन नगर्ने हो भने यसलाई ’कार्यकर्तामा आधारित’ पार्टी बनाए हुन्छ । कार्यकर्तामा आधारित पार्टी बनाउने हो भने कांग्रेसको मौलिकता चाहिँ समाप्त हुन्छ । 

कार्यकर्तामा आधारित पार्टी बनाउनुको अर्थ पार्टीले पूर्णकालीन कार्यकर्ता पाल्नु पनि हो । यस्ता कार्यकर्ता मूतलः परजीवी हुन्छन् । चन्दाका भरमा बाँच्ने र विलासी जीवन बिताउने प्रवृत्ति तिनमा देखिन र बढ्न थाल्छ । तर, उनीहरू सधैँ नै पार्टीको काममा लागेका हुन्छन् । पार्टी उनीहरूको घेरामा हुन्छ । यस्ता कार्यकर्ताले नै नेता बनाउँछन् र तिनीहरू नै नेता पनि हुन्छन् । 

नेपाली कांग्रेस अहिलेसम्म जनतामा आधारित दलका रूपमा चलेको छ । नेताले आफ्ना चाटुकारलाई पाल्नु पोस्नु अर्कै हो पार्टीले कुनै तलबी कार्यकर्ता पाल्दैन । जनतामा आधारित पार्टी चलाउन सधैँ नै ठूलो धनराशि आवश्यक हुँदैन । चुनावका बेलामा भने अपेक्षाकृत बढी खर्च हुन्छ । यसैगरी, जनतामा आधारित पार्टीमा विलासी परजीवी समूह पनि खडा हुँदैन । तर, कुनै चमत्कारी नेता अर्को पार्टीमा देखियो भने कार्यकर्तासमेत उतै लाग्ने खतरा चाहिँ हुन्छ । 

Duber nepal

Agani Group

कांग्रेस कस्तो पार्टी हुने हो भन्ने निर्णय पार्टीकै नेताहरूले गर्ने हो । यस लेखमा जनतामा आधारित दल हुने हो भने कस्तो संरचना र संगठन शैली उपयुक्त हुन्छ भन्ने चर्चा गर्ने जमर्को गरेको छु । मैले अगिल्लो लेख (कांग्रेसको विनिर्माण : संरचना, नीति र रणनीति)मा लेखेको थिएँ — ’ धेरै अलमल भए नेपाली कांग्रेसले २०१५ सालको विधान र नीतिमा सामयिक सुधारमात्र गरेर पनि तत्कालका लागि काम चलाउन सक्छ ।’ नेपाली कांग्रेसकै चरित्रअनुरूपको विधान थियो त्यो । यद्यपि, अहिले त्यही विधान जस्ताको तस्तै अपनाएर नपुग्ला तर काम चल्छ । 

त्यति बेलाको संगठनको मूल पक्ष त्यो विधानको मान्यता हो । कांग्रेस संगठनका दृष्टिबाट उदार लोकतन्त्रवादी दल हो । यसैले यो जनतामा आधारित पार्टी हो । कांग्रेस वर्ग विशेषको पार्टी होइन । अर्थात्, यो सबै नेपालीको साझा पार्टी हो । कांग्रेसको नीति ठूला जमिनदार र सामन्तहरूको स्वार्थविपरीत भए पनि यसको संगठनमा सबैलाई स्थान छ । यसैगरी संसारका अरू जनतामा आधारित लोकतान्त्रिक दलहरूजस्तै कांग्रेस पनि अध्यक्षात्मक पद्धतिबाट सञ्चालन हुने संगठन हो । यिनै मान्यतामा आधारित रहेर उतिबेला बुथदेखि केन्द्रीय समितिसम्मको गठन र सञ्चालन हुन्थ्यो । केन्द्रीय सभापतिका लागि बुथ कमिटीका प्रतिनिधिले मत हाल्थे । सभापतिबाहेक अरू पदमा चुनाव हुँदैनथियो । सभापतिले नै मनोनीत गर्थे । मनोनीत गरिने भए पनि र अहिलेजस्तो समावेशिताको चर्चा नभए पनि नेपाली कांग्रेसका सुरुका समितिहरू नेपालको जनसंख्याको संरचनाको प्रतिविम्बजस्ता देखिन्छन् । 

अहिले नेपाली कांग्रेसले उदार लोकतन्त्रवादी दलको जस्तो संगठन शैली अपनाएको छैन । बरु, कम्युनिस्टहरूसँग मिल्दो देखिन्छ कांग्रेसको संगठन र संरचना पनि । यसैले पार्टीको संगठनमा सुधारको बहस चल्दै गर्ला यी दुई मान्यता अर्थात् उदार लोकतान्त्रिक दलको चरित्रअनुसार जनतामा आधारित तथा अध्यक्षात्मक पद्धति अनुसरण गर्न सकिन्छ । 

उदार लोकतान्त्रिक दल हो भने नेताले क्रियाशील सदस्य बनाउने र तिनै सदस्यले नेता चुन्ने परिपाटी अन्त्य गर्नुपर्छ । नेपाली कांग्रेसको सिद्धान्त स्वीकार गर्ने, तोकिएको उमेर पुगेका र कांग्रेसको विधानअनुसार अयोग्य नठहरिएको सबै नेपाली यसको सदस्य हुन पाउनुपर्छ । पार्टीको सदस्यता खुला हुनुपर्छ भन्नुको तात्पर्य जस्लाई जतिबेला मन लाग्छ सदस्य हुनपाउने भन्ने हैन । पार्टीले आफ्नो सिद्धान्त, नीति र सदस्यले तिर्नुपर्ने शुल्क तथा पालना गर्नुपर्ने आचरणसमेत स्पष्ट खोलेर सार्वजनिक सूचना जारी गर्ने र निश्चित् अवधिभित्र परेका आवेदन छानबिन गरी सदस्यता पाउने वा नपाउने निर्णय गर्ने व्यवस्था मिलाउनुपर्छ । कुनै व्यक्तिले सदस्यता पाउने वा कसैले नपाउने निर्णय पनि पारदर्शी हुनुपर्छ । क्रियाशील सदस्यका हकमा त झन् स्पष्ट पारदर्शी व्यवस्था गरिनुपर्छ । अनिमात्र संगठनमा नयाँ सोच र व्यक्तिलाई ठाउँ हुन्छ ।

साधारण सदस्य पार्टीमा प्रवेश गर्ने समयमै निर्धारित प्रक्रिया र सर्तअनुसार स्वतः क्रियाशील सदस्यता पाउने वा नपाउने हुनुपर्छ । यस्ता सदस्यले केन्द्रीय सभापति चुन्नुपर्छ । यसैले २०१५ सालमा जस्तै तल्लो तहको संरचना (अहिले वडास्तरको)मै सभापतिको चुनावमा मतदान गर्ने व्यवस्था हुनुपर्छ । यसरी चुनिएको सभापतिले पार्टीलाईं भागबन्डा र घुर्की धम्कीसँग नडराई हाँक्न पाउनुपर्छ ।

र, सम्पूर्ण दायित्व पनि सभापतिकै काँधमा हुन्छ । निर्वाचनमा पार्टीको पराजयको जिम्मा नेतृत्वले स्वतः लिने परिपाटी बसाल्नुपर्छ । पार्टी सभापतिलाई बन्देज हुनुहुन्न तर जिम्मेवारी पनि लिनुपर्छ । सामूहिक नेतृत्व कार्यकर्तामा आधारित संगठनहरूमा मात्र सम्भव हुन्छ । नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रको अभ्यासभन्दै बहुपदीय निर्वाचन प्रणाली अपनाएपछि सुशील कोइराला र शेरबहादुर देउवा दुवैले कार्यसमितिलाई पूर्णता दिनसम्म पनि सकेनन् । संगठन हाँक्नु त परे जाओस् । कोइरालालाई देउवाले र देउवालाई रामचन्द्र पौडेलले भाग मागेरै सताइरहे । पार्टी एउटा संगठनका रूपमा कहिल्यै कहिल्यै सक्रिय भएन । यसले पनि अहिललेको पद्धति र शैली सही नभएको पुष्टि हुन्छ । 

यसैले नेपाली कांग्रेसलाई इतिहासको खाडलमा खस्नबाट जोगाउने हो भने अहिलेको संगठन सबै भत्काएर नयाँ विधानअनुसार नयाँ संरचना बनाउन अर्थात् विनिर्माण गर्न सक्नुपर्छ ।
अगिल्लै लेखको अन्त्यमा गरिएकै प्रश्न फेरि गरौँ — नेतृत्व परिवर्तनदेखि नीतिगत सुधारसम्ममा खुला छलफल गर्न कांग्रेसका नेता कार्यकर्ता तयार होलान् त ?
क्रमशः

कांग्रेसको विनिर्माण : संरचना, नीति र रणनीति 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, मंसिर २८, २०७४ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्