बाह्रखरी
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार किन हार्‍यो कांग्रेस ?  शिव संकल्प
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, मंसिर २८, २०७४
Laxmi Bank
Laxmi Bank

मेरो डीएनएमा नै लोकतन्त्र कुँदिएको छ । यसबाट म कहिल्यै पनि अलग हुन सक्दिन । म प्रजातन्त्रवादी हुँ । यसो भनीरहँदा धेरैले बुझ्ने अर्थ भनेको नेपाली कांग्रेससँग आबद्ध वा नेपाली कांग्रेसको कुनै भातृसंगठनमा आबद्ध भन्ने हुँदोरहेछ । तर, जीवनको कुनै पनि कालखण्डमा कुनै भातृसंगठनको कुनै पनि तहको सदस्यता नलिएको व्यक्ति हुँ  । आफ्नो विश्वविद्यालयको प्राध्यापक संघमा स्वतन्त्र प्रत्याशी भएर दुई मत पाएर पराजित भएको अनुभव छ मसँग । मेरो लोकतन्त्र भनेको लोककल्याणकारी राज्यव्यवस्था हो । लोकतन्त्रको आधार जनताले चुनेको सरकारमात्रै हैन, जनकल्याणकारी सरकार पनि हो । जनताले चुनेकै भए पनि जनकल्याणकारी हुन सकेन भने त्यसको अर्थ छैन । 
 
म यो कुरा प्रारम्भमा नै लेख्दैछु किनभने यहाँहरूमध्ये धेरैको नजरमा म अव्यावहारिक सुनिन सक्छु कतिले त यसको मानसिक स्थिति त ठीक छ ? भनेर  पनि सोच्न सक्नुहुन्छ । तपाईँ पनि यस्तै सोच्नुहुन्छ भने कृपया यो लेख यसभन्दा तल नपढ्नुहोला । अरू नै कुनै रमाइलो ट्रोलहरू भएतिर स्क्रोल गर्नुभए जाति हुन्छ । जो यो सुनेर पनि मेरा विचार जान्न चाहनुहुन्छ उहाँहरू समक्ष आज हालैको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसको पराजयका कारणहरूबारे चर्चा गर्न चाहन्छु । निश्चय पनि यो शीर्षक वर्तमान परिपाटीअनुसार अलकति पाठक तान्ने उद्देश्यका साथ बनाइएको हो ।  समग्रमा यो वर्तमान निर्वाचनको समीक्षा हुनेछ । 

हालको निर्वाचनमा मुख्य प्रतिस्पर्धीहरूलाई वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भनिन्थ्यो । वाम गठबन्धनमा दुर्इ नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र थिए भने लोकतान्त्रिक गठबन्धनको मुख्य पार्टी नेपाली कांग्रेस थियो । आफ्नो मुख्य आदर्शमा समाजवाद बोकेको नेपाली कांग्रेस किन वाम भएन र लोकतान्त्रिक प्रक्रियामा सामेल भएर प्रतिस्पर्धामा उत्रेका कम्युनिस्ट पार्टीहरू किन लोकतान्त्रिक भएनन् म बुझ्दिन? 

सायद नाम फरक राख्नुपर्ने भएकाले होला । मेरो बुझाइमा यी तीनै दलह एकै खाले हुन् । विशाल संविधान सभा बनाएर पनि देशको ठूला ठूला निर्णयहरू सीमित मान्छेहरू बसेर सहमति गरेरै टुङ्याएका दलहरू !  देशको राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक पक्षको भविष्य कुन दिशामा लैजाने भन्ने सोचमा यी सबैको एकै खाले सहमति हो । देशका जनताले पटकपटक  भोट हालेर जिताएका, आलोपालो सबैसँग मिलेर सरकार चलाएका पनि यिनै हुन् । आरोपप्रत्यारोपका बेला एकआपसमा निकालिने तुच्छ शब्दहरूको बारेमा पनि यी सबै 'कोभन्दा को कम' नै छन् । यी सबै कारणले पनि यी दलहरू मलाई खासै फरक लाग्दैनन् । कुनै व्यावसायिक खेल प्रतियोगितामा भाग लिने 'फ्रेन्चाइज' टोलीजस्तै हुन् । राष्ट्रको बृहत्तर हितमा यी सबै मिलेर राष्ट्रिय सरकार बनाए पनि फरक पर्दैन । कुन शक्तिले यो कुरा रोक्छ, रहस्यमय लाग्छ मलाई । तर, यति हुँदाहुँदै पनि यिनमा केही बाह्य अन्तर छ  जसले एक अर्कालाई पृथक् बनाउँछ । सायद, यसैले लोकतन्त्रको शोभाको रूपमा कुनै दल प्रतिपक्षमा बस्छ भने पनि उत्तम नै हुनेछ । तर, प्रतिपक्ष रचनात्मक हुनुपर्छ । 

Duber nepal

Agani Group

अब चर्चा गरौँ नेपाली कांग्रेस अहिलेको निर्वाचनमा किन पराजित भयो  भन्ने बारे । यसबारेमा बुँदागत रूपमा तल विश्लेषण गरिएको छ ।

१. एमाले र माओवादी एकता

निःसन्देह यो सबैभन्दा प्रमुख कारण हो । नेपालमा पञ्चायत कालदेखि नै कम्युनिस्ट मत बलियोरूपमा प्रचारित हुने तर दलहरू छिन्नभिन्न हुने प्रचलन थियो । बहुदलको पुनःस्थापनापछि नेकपा एमालेले कम्युनिस्ट दलहरूमा सबैभन्दा राम्रो संगठन गर्न सफल भयो । तैपनि २०४८ सालको निर्वाचनमा यो प्रमुख प्रतिपक्षमात्रै बन्न सक्यो । सांगठनिक रूपमा सशक्त हुँदै गए पनि दलमा आएको विखण्डनले सोचे जति सफलता पाउन सकेन । विसं  २०५२ सालपछि सुरूमा विद्रोही र पछि २०६४ को संविधान सभा निर्वाचनपछि प्रमुख राजनीतिक शक्तिको रूपमा उदाएको माओवादी पनि दोस्रो संविधान सभासम्म आइपुग्दा निरीह लाग्न थालिसकेको थियो । तैपनि दुवै संविधान सभाका निर्वाचनमा अलग अलग लड्दा पनि यी दुई दलको स्थान जोड्दा नेपाली कांग्रेस भन्दा राम्रो थियो ।  यसै क्रममा कम्युनिस्ट एकताका नाममा अचानक यी दुई दल एक ठाउँमा आउँदा कार्यकर्तामा धेरै उत्साहको संचार पैदा भयो र उनीहरू यसलाई जनस्तरमा लैजान पनि सफल भए । पूर्ण बहुमतको पहिलो कम्युनिस्ट सरकार आकर्षक नारा बन्न पुग्यो भने २०४८ साल र २०५६ सालमा बहुमत पाएर पनि स्थिर सरकार दिन नसकेको इतिहास कांग्रेसको विपक्षमा गयो । यिनै कारणले  मतसंख्यामा उल्लेख्य कमी  नआए पनि प्रत्यक्षमा भने नेपाली कांग्रेस धेरै ठाउँबाट पराजित भयो । 

२. भागबन्डे सिन्डिकेटको प्रभाव

नेपाली कांग्रेसकै नेतृत्वमा सुरू भएको लाभको, शैक्षिक तथा प्राशासनिक  पदहरूमा गरिने घृणित भागबन्डे सिन्डिकेटमा नेपाली कांग्रेस,  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई धेरै ठाउँमा सहमतिमै १ः१ः१ अनुपातमा भाग लगाइयो । यो अनुपात ओगट्न पछिल्ला दलमा हुँदैनभएका अवसरवादीहरूसमेत ती दलमा सामेल भए ।  जसले गर्दा महत्त्वपूर्ण पदमा हालको समीकरणमा १ः२ अनुपात बन्न पुग्यो । महत्त्वपूर्ण पदमा पुगेका यी व्यक्तिहरुले जनमतलाई विभिन्नरूपले प्रभावित गर्न सफल भए । तत्कालमा यो लाभदायक देखिए पनि गठबन्धनले पार्टी एकीकरण गर्दा यी अवसरवादीहरूलाई छिमल्न आवश्यक छ । अन्यथा भविष्यमा कम्युनिस्ट गठबन्धनको पतनको कारण पनि यिनै हुनेछन् ।
भागवण्डा गर्दा पनि नेपाली कांग्रेसले आफ्नो भागमा परेका स्थानमा स्वतन्त्र, निष्पक्ष, वस्तुपरक आलोचना गर्ने र योग्य व्यक्तिहरूलाई अनुरोधपूर्वक लानेभन्दा पनि अन्य दलले जस्तै अयोग्य र दलका चाटुकारलाई प्रश्रय दियो । फलस्वरूप, परम्परागतरूपमा नेपाली कांग्रेसको समर्थन गर्दै आएका कार्यकर्तादेखि भिन्न जनताहरूको पनि नेपाली कांग्रेसप्रति मोह भङ्ग भयो । नेपाली कांग्रेसले आफूलाई सुशासनको पक्षधर भनेर कुनै पनि रूपमा सिद्ध गर्न सकेन । 

३. कथित राष्ट्रवाद

संविधान जारी भइसकेपछिको मधेस आन्दोलन र त्यसपछिको नाकाबन्दीका बेला प्रधानमन्त्री रहेका केपीओलीको भाषणहरूलाई राष्ट्रवादीको रूपमा महिमामण्डन गर्न उनको दल सफल भयो । धेरै अबोध जनताको विश्वास पाउन उनी सफल भए । नेपाली कांग्रेसले यो बेला जनविश्वास जगाउने सम्मोहक कुरा गर्न सकेन । बरू दलका धेरै व्यक्तिहरू आफ्ना टिप्पणीहरूका कारण आलोचित भए । (सायद यो बुँदाको शीर्षक कथित राष्ट्रवादका कारण म अहिले पनि “लम्पसारवादी” आरोपित हुनेछु,  भलै ठूलाठूला “लम्पसारवादी”सँग “राष्ट्रवादी”हरू लपक्कै भएका किन नहुन् ।) अबोध जनताहरूसँग कूटनीतिक सुझबुझका कुरा गरेर हुँदैन सम्मोहक कुरा गर्न पर्छ भनेर नेपाली कांग्रेसले जानेन ।

४. असक्षम नेतृत्व र अस्पष्ट विचार

नेपाली कांग्रेसमा विषम परिस्थितिमा सुझबुझ देखाउने नेतृत्व देखिएन । चिन्तक, विचारकहरूले भरिभराउ भनिएको दलमा राम्रो चुनावी रणनीतिकार पनि देखिएन । कम्यिनस्ट गठबन्धनभन्दा के के कारणले फरक र आवश्यक भनेर नेतृत्वले बुझाउन सकेन । आफ्ना योजना बताउनुभन्दा अधिनायकवाद र रुनसमेत नपाइने भन्नेजस्ता प्रचार गर्नुले पनि उसको तयारी प्रष्ट भयो । भर्खरैको स्थानीय चुनावमा माओवादीसँग मेलमिलाप गर्नु पनि दलका लागि प्रत्युत्पादक भयो ।  घोषणापत्रमा पनि बाम गठबन्धनकै झझल्को दिने असंभाव्य योजना र शब्दजाल राखियो तर आफ्नो स्पष्ट विचार आउन सकेन । उमेदवार चयनमा नयाँ दृष्टिकोण एकदमै बिरलैमात्र प्रकट हुन सक्यो ।  दलले गगन थापा, विश्वप्रकाश वा धनराज गुरुङ जस्ता राम्रो छवि प्रक्षेपित गर्न सफल व्यक्तिहरूको पनि  समुचित प्रयोग गर्न सकेन । 

५. अन्तर्घात

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको स्वभाव अन्य दलको तुलनामा भिन्न रहेको बताइन्छ । नेतृत्वमा बडप्पन, असौहार्द, अन्य व्यक्तिप्रति सम्मानको अभावजस्ता अवगुण तुलनात्मकरूपमा ज्यादा रहेको कुरा कार्यकर्ताले अनुभव गरेको बताउँछन् भने कार्यकर्ताहरू धेरै गुटबन्दीले प्रभावित रहेको नेताहरूको अनुभव छ । यसका कारण एक आपसमा नसघाउने प्रवृत्ति अन्य दलको तुलनामा नेपाली कांग्रेसमा बढी देखिन्छ । यही कारणबाट पनि नेपाली कांग्रेसले सोचे जति पनि सफलता पाउन सकेन ।

माथिका कारणहरूलाई अबका सत्तापक्ष र विपक्ष दुबैले मनन गर्नुपर्छ । सत्तापक्षले धेरै विजयोन्मादी नभइकन लोककल्याणकारी कार्यमा आफूलाई प्रवृत्त गर्नुपर्छ । छरितो र स्वच्छ छविका व्यक्तिहरूको मन्त्रीमण्डल बनाउने, शीर्ष नेतृत्वले लोभ नगरीकन वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई अर्को कार्यकालको लागि चुन्ने, राज्यकोषको अनावश्यक दोहन न्यूनतम गर्ने, प्रदेशका संसद् तथा सरकारहरूका गठन र संचालनमा मितव्ययिताको सन्देश दिने, आर्थिक समृद्धिका लागि उत्पादकत्व बढाउन बल दिने, छिमेकी राष्ट्रसितको सम्बन्धलाई सुझबुझका साथ विस्तार गर्ने,  देशभित्रका शैक्षिक, प्राशासनिक पदहरूमा नियुक्ति गर्दा सक्षमतालाई विशेष विचार गर्ने आदि गरेर लोकको मन जित्न सक्नुपर्छ । अन्यथा यो निर्वाचित सरकार त हुनेछ तर लोककल्याणकारी सरकार हुन भने सक्ने छैन । 

विपक्षले पनि आत्मसमीक्षा गरी नयाँ नेतृत्व र कार्ययोजनाका साथ आगामी निर्वाचनसम्ममा सत्तापक्षका कमजोरीका बलमा भन्दा पनि आफ्ना गुणका भरमा आफूलाई विकल्पको रूपमा स्थापित गर्नसक्नुपर्छ । 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, मंसिर २८, २०७४ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्