site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसको विनिर्माण : संरचना, नीति र रणनीति 

चुनावको परिणाम नआउँदै पनि नेपाली कांग्रेसको सामु दुईवटा मात्रै विकल्प थिए । पहिलो, अहिले जसरी चलेको छ त्यसरी नै चल्ने । अर्थात्, अहिलेको नेता, नीति, संरचना र कार्यशैली सबै यथावत् राखेर समय पर्खने । दोस्रो, समयअनुसार नेता, नीति, रणनीति, संरचना र कार्यशैली सबैमा परिवर्तन गरेर अगाडि बढ्ने । 
सजिलो यथास्थितिमा हुन्छ । तालमेल, जोडतोड, चलखेल गरेर सकेसम्म सत्तामा टाँसिने । सिद्धान्त र आदर्शको पछि लाग्न सजिलो हुँदैन । व्यवहारवादीहरू सिद्धान्तलार्इ धेरै महत्त्व दिँदैनन् । चिनियाँ नेता देङ सियाओपिङले भनेजस्तै उनीहरूलाई बिरालाको रंगसँग मतलब हुँदैन । त्यसले मुसा मारे पुग्छ । नेपाली कांग्रेस मूलतः व्यवहार र आदर्शका बीचमा कहिले यता कहिले उता गर्दै आयो । पछिल्ला दिनमा सिद्धान्त गौण भएको थियो । व्यवहारवादले जितेको कांग्रेस यथार्थमा ’तर्बुजा’ बन्न पुगेको थियो । 

भारतको बंगाल प्रदेशकी मुख्यमन्त्री ममता बनर्जीले कलकत्ते कांग्रेसाई ’तर्बुजा कांग्रेस’ भन्थिन् । उनको कथनको अर्थ थियो बंगालमा कम्युनिस्टहरूको राज भएका बेला कांग्रेसहरू पनि कम्युनिस्ट जस्तै भएका थिए । तर्बुजा बाहिर हरियो देखिए पनि भित्र रातो हुन्छ नि हो त्यस्तै । भारतीय राष्ट्रिय कांग्रेस छाडेर ममताले बंगालमा तृणमूल कांग्रेस बनाइन् । पश्चिम बंगालमा तीन दशक राज गरेका कम्युनिस्टहरूलाई सत्ताबाट हटाउन सफल भइन् ।) पूरै तर्बुजा भएपछि कांग्रेसलाई जनताले रुचाएनन् । कम्युनिस्टहरू विफल हुन्छन् र पालो आइहाल्छ भन्ने ठान्ने हो भने नेपाली कांग्रेसमा कुनै पनि प्रकारको सुधार आवश्यक छैन । अहिलेकै रूप र शैलीमा अडिए हुन्छ । 

समय भने त्यति दयालु हुँदैन । ओरालो लागेपछि नेपाली समाजमा त मृगलाई बाच्छाले पनि खेद्छ । कांग्रेस कसरी अपवाद होला र ? अझै पनि कांग्रेसको जनाधार छ । समानुपातिकमा आएको मत यसैको उदाहरण हो । यथास्थितिमा जनाधार जोगिन सक्तैन । राजनीति गर्ने हो भने त जनाधार जोगाउनेमात्र हैन बढाउने रणनीति अपनाउनुपर्ने हो । यसैले सान्दर्भिक भइरहने हो भने नेपाली कांग्रेसको विनिर्माण अपरिहार्य देखिन्छ । अहिलेका शीर्ष नेताले छाड्दैमा समस्या सकिँदैन । यद्यपि, विनिर्माणको पहिलो पाइला त्यही हुनुपर्छ । तर, अब पात्रभन्दा पनि प्रवृत्तिमा परिवर्तन जरुरी छ । विशेष महाधिवेशन बोलाउने, सभापति हटाउने सबै कर्मकाण्ड गरे पनि वा सभापति शेरबहादुर देउवा आफैँ हटे पनि कांग्रेसले पुनर्जीवन पाउने हैन । नेपाली कांग्रेसलाई लिपपोत, रेट्रोफिट गरेर काम चलाउने प्रयास गर्नु यसको सान्दर्भिकता छोट्याउनुमात्रै हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

के हो विनिर्माण ? 

विनिर्माण इन्जिनियरिङको शब्द हो तर साहित्यमा बढी प्रयोग भएको । शास्त्रीय माथापच्चीमा नलागी उही सामग्री प्रयोग गरेर नयाँ तर उस्तै संरचना तयार गर्नुलाई विनिर्माण भनेर बुझ्दा सजिलो हुन्छ । राजनीतिक सन्दर्भमा उही सिद्धान्त र कार्यकर्ताबाट नयाँ संरचना र शैलीको शक्ति निर्माण गर्नु विनिर्माण हो भन्न सकिएला । नेपाली कांग्रेसका हकमा लोकतन्त्रमा विश्वास गर्र्नेहरूलाई समेटेर पार्टीलाई नयाँ गति र रूप दिनु विनिर्माण हो । यसका लागि कांग्रेसको संरचना भत्काउनु पर्छ । नीति र रणनीतिमा परिवर्तन गर्नुपर्छ । 

Global Ime bank

संरचना किन भत्काउने ?

नेपाली कांग्रेसको अहिलेको संरचना र विधान उदार लोकतान्त्रिक पार्टीको जस्तो छैन । कम्युनिस्टहरूको जस्तो सामूहिक नेतृत्व शैलीको विधान छ । जनाधारित (मास बेस्ड) पार्टीमा नेतृत्व विकासका लागि तालिम लिएर वर्षौं पर्खने परम्परा हुँदैन । कुनै पनि नयाँ सोच भएको नेता नेतृत्वमा जान २० वर्ष पर्खन सक्तैन । नेपाली कांग्रेसकै जस्तो विधान हुन्थ्यो भने टोनी ब्लेयर वा बाराक ओबामा कहिल्यै नेतृत्वमा पुग्ने थिएनन् । यसैले नयाँ विचार लिएर आउने नयाँ व्यक्ति पनि नेतृत्वमा पुग्नसक्ने बाटो विधानमै खोल्नुपर्छ । अर्थात्, संरचनागत परिवर्तन विधानबाटै सुरु गर्नुपर्छ । विधान संशोधन हैन फेर्नुपर्छ । अनिमात्र विनिर्माण सुरु हुन्छ ।


नीतिगत विनिर्माण

कांग्रेसले सन् १९९० को दशकमा पञ्चायत कालमै थालिएको आर्थिक उदारीकरणको नीतिलाई निरन्तरता दियो । त्यतिसम्म ठीकै थियो तर पछि सबै नीति आर्थिक उदारीकरण र खुला बजारकै सेरोफेरोमा केन्द्रित गरियो । मूलतः शिक्षा र स्वास्थ्यमा बजारको प्रभुत्वलाई नीतिगतरूपमै स्वीकार गर्‍यो । नेपालको अर्थतन्त्र र कांग्रेसकै पनि मेरुदण्ड साना किसान हुन् । सजिलो भन्सार अर्थतन्त्रलाई प्रोत्साहन गर्दा उपभोक्तावादको मारमा अर्थतन्त्र र किसान परेका छन् । भन्सार हैन अन्तःशुकबाट अर्थतन्त्रको आकार बढाउने नीति नलिउन्जेल आर्थिकरूपमा आत्मनिर्भर हुन सकिँदैन । आत्मनिर्भरताविना स्वतन्त्रता भ्रममात्र हो । यसैले आर्थिक र सामाजिक दुवै क्षेत्रमा अपनाएको नीति बदलेर पुनर्विचार गर्नुपर्छ । 

रणनीतिक विनिर्माण
 

अहिलेसम्म कांग्रेसमा नेताहरूको समूहे निर्णय गर्ने र कार्यकर्ताले त्यही बोक्ने परिपाटी छ । कम्युनिस्ट पार्टीमा जनताका नाममा पार्टीले, पार्टीका नाममा नेताले निर्णय गर्ने परिपाटी हुन्छ । नेपाली कांग्रेसका नेताहरूको जनतासँग संवाद टुटेको छ । यसमा परिवर्तन जरुरी हुन्छ । जनताको भावना कार्यकर्ताले बुझ्ने, कार्यकर्ताले आआफ्ना तह हुँदै केन्द्रसम्म पुर्‍याउने र केन्द्रीय नेताहरूले त्यसलाई सैद्धान्तिक तथा व्यावहारिक रूप दिने कार्यशैली अपनाउनु पर्छ । यसैगरी सत्ताका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने चरम व्यवहारवादी शैली अपनाएका बेला कांग्रेसलाई जनताले पन्छाएका छन् ।

माओवादीलाई बढी नै काँधमा बोक्ता २०६४ को चुनाव हारेको र सुशील कोइरालाले माओवादीप्रति कठोर नीति लिएका बेला २०७० को निर्वाचनमा पहिलो दल भएको कांग्रेसका नेताहरूले कहिल्यै हेक्का राखेनन् । अर्थात्, कांग्रेस तर्बुजा भएको जनतालाई मन नपर्ने रहेछ । यसैले आदर्श र सिद्धान्तमा सम्झौता नगर्ने अलिकति कट्टरता रणनीति कांग्रेसलाई फाप्दोरहेछ । 
धेरै अलमल भए नेपाली कांग्रेसले २०१५ सालको विधान र नीतिमा सामयिक सुधारमात्र गरेर पनि तत्कालका लागि काम चलाउन सक्छ । तर, अहिलेको विधान, नीति र रणनीति नफेरी कांग्रेस उँभो लाग्ने लक्षण देखिँदैन । 
नेतृत्व परिवर्तनदेखि नीतिगत सुधारसम्ममा खुला छलफल गर्न कांग्रेसका नेता कार्यकर्ता तयार होलान् त ?          
क्रमशः
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC