site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस किन कमजोर ?

केही प्रश्नबाट लेख सुरु गरौँ । गौरवमय इतिहास, व्यापक जनधार, कार्यनीति, रणनीति र जनविश्वास हुँदाहुँदै पनि नेपाली कांग्रेसजस्तो ऐतिहासीक पार्टीमा किन विचलन आयो ? राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विष्यमा, पार्टीको दर्शनको विषयमा बीपीको धारणा स्पष्ट थियो । तर, कांग्रेस आज किन स्पष्ट छैन यस्ता विषयमा ? दक्षिण एसियाकै लगभग पुरानो राजनीतिक पार्टीमध्ये यो पनि एउटा हो । यो पार्टी क्रान्तिको पर्याय, प्रजातन्त्रको पहरेदार, खुल्ला समाज र कानुनको शासनको पक्षधरका रूपमा आफ्नो स्वतन्त्र अस्तित्व हुँदाहुँदै पनि किन कुहिरोमा हराएको कागजस्तो भएको छ ? किन यो पार्टीलाई सत्ता, पद र पैसाको पर्यायका रूपमा हेरिँदैछ ? नेता र नेतृत्वमा किन विचलन ? नेतृत्वले समीक्षा गर्नुपर्छ कि पर्दैन ?

नेपाली कांग्रेस सबै वर्ग र समूहको साझा पार्टी हो । यो सबैको मूल घर हो । साझा सपना हो नेपाली जनताको । तीन करोड नेपाली जनताको स्वामित्व छ यस पार्टीमा । अरू सबै पार्टीको स्रोत पनि कांग्रेस नै हो । यो मुहान हो भन्थे नेपाली कांग्रेसका आदरणीय नेता स्वर्गीय भीमबहादुर तामाङ । बीपीको स्वर्गारोहण हुँदा म २ वर्षको बालक थिएँ । कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहहरूलाई भेट्ने अवसर मिलेन । नेता भीमबहादुर तामाङसँगको छोटो भेटमा उनले भनेको आज पनि सम्झन्छु । आजको नेतृत्वको सैद्धान्तिक विचलन र विलासिता हेरेर उनी भन्थे भुटेको मकै र सातु खाँदै हाम्रा अग्रजले गाउँ गाउँमा पुगेर नाङ्गो खुट्टा हिँडेर बनाएको पार्टी हो यो ।

यो पार्टीमात्रै हैन, चेतना, विवेक र नैतिकताको अर्को नाम हो भन्थे उनी । काँंग्रेस हारे देश हार्छ, प्रजातन्त्र हार्छ । अनि आखिरमा हार्ने त जनता नै हुन् । इतिहासमा कांग्रेस कहिल्यै हारेको छैन । एक थोपा रगत रहेसम्म एउटा अन्तिम कार्यकर्ता रहेसम्म देशको लागि लड्छ यो पार्टी र लड्नुपर्छ भन्थे उनी । तर, कांग्रेसभित्रै कांग्रेस किन भेटिँदैनन् आज ? भ्रष्टाचार र विलासिता किन सामान्य लाग्छन् आज यो पार्टीमा ? 

Prabhu Bank
Agni Group
NIC Asia

यो देश यति निरीह किन ? पाँच हजार वर्षको इतिहास बोकेको देश हो यो । जनता किन निरीह ? संघीय संविधान कार्यान्वयन भइरहेको छ । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको चुनाव सकिएको छ । संक्रमणकाल समाप्त हुँदैछ । तर, जनता आश्वस्त छैनन् । किन शंका र अविश्वास छ त ? सामाजिक सद्भाव किन भत्किँदै छ त ? राष्ट्रिय पार्टीको हैसियतले, जनताको साझा पार्टीको हैसियतले र एउटा ऐतिहासिक पार्टीको हैसियतले यी समस्याको निदान नेपाली कांग्रेसले खोज्नु पर्छ कि पर्दैन ? यो ऐतिहासिक दायीत्व वहन गर्नुपर्छ कि पर्दैन ? अव नेतृत्वको आँखा खुलोस् । अब आफ्नै गौरवमय इतिहासमा पाइला टेकेर नेपाली कांग्रेसले नयाँ इतिहास बनाउने बाटो तय गर्नुपर्छ । नगरी सुखै छैन, धरै छैन । गरोस् ।

राष्ट्र र जनताको लागि कांग्रेसले इतिहासमा धेरै पटक सती गएकै हो । राष्ट्रको लागि, प्रजातन्त्रको लागि, खुला समाजको लागि नेपाली कांग्रेसले जीवनको आहुति दिएकै हो । इतिहास त जिउँदै छ नि त । आफ्नै गौरवमय इतिहासको स्वामित्व लिन किन सक्तैन कांग्रेस आज ? आफैँले गरेको असल कर्मको विवरण जनता समक्ष राख्न किन सक्तैन यो कांग्रेस ? वृद्ध भत्ताको अवधारणा कांग्रेसकै हो जुन दशकौं अगाडि बीपीले नै ल्याएका हुन् । एमालेले त कार्यान्वयनमात्रै गरेको हो । राष्ट्रको ढुकुटीबाट दिने कुरा, आधा पेट खाएर जनताले तिरेको करबाट बाँडिन्छ यो भत्ता तर खड्गप्रसाद ओलीहरू आफ्नै खल्तीबाट निकालेर  दिएसरह बखान गर्छन् ।

Global Ime bank

मेलम्चीको पानीको सपना कृष्णप्रसाद भट्टराईले दिएका हुन् । जुन आज मूर्तरूप लिने अवस्थामा छ । यो कुरा कांग्रेस किन जनता समक्ष ल्याउँदैन ? आजको गणतन्त्र र संविधान सभाको सूत्रधार पनि कांग्रेस नै हो तर खै स्वामित्व लिएको ? इतिहास तोडमरोड गर्ने, भत्काउने, बटार्ने राष्ट्रद्रोही हुन्, समाजद्रोही हुन् भन्ने जनताले बुझ्नु पर्छ । इतिहास फेर्नेले, भत्काउनेले देश फेर्नेछन्, यसको अस्तित्व नै समाप्त गर्नेछन् भन्ने बुझ्नुपर्छ । अब सम्पूर्ण प्रजातन्त्रका पक्षधर, खुला समाजका पक्षधर र कानुनको शासनका पक्षधर सजग वन्ने समय आयो । कांग्रेसले आफूलाई परिमार्जन गर्दै बह्मअस्त्र चलाओस् । यही हो समय । हैन भने यो पार्टी इतिहासको संग्रहालयमा सीमित हुनेछ ।
एउटा महत्त्वपूर्णप्रश्न : इतिहासदेखि आजसम्म कांग्रेस किन पीडित भयो ? किन पीडित बनाइयो ? यो पार्टी किन अरूको स्वार्थ पूरा गर्ने औजारमात्रै बन्यो ? सोच्नु पदैैन अब ? विसं २००७ सालसम्म एकतन्त्रीय राणाहरूको तारोमा कांग्रेस प¥यो । विसं २००७ सालदेखि २०४६ सालसम्म राजदरबारले पीडा दियो, थुन्यो, अनि मार्यो ।

आफू अनुकूल प्रयोग गर्यो, फुटायो अनि खेल्यो । कथित सशस्त्र युद्धमा पनि पहिलो निसाना कांग्रेस नै भयो । प्रजातन्त्रका पक्षधरलाई छानी छानी मारियो, लखेटियो ।

अनि हजारौंलाई विस्थापित गरियो । कांग्रेस लाई किन पटकपटक मारिन्छ ? किन हुर्मत लिइन्छ ? नेतृत्वले सोचोस् । विदेशी दलाल, नोकरशाही सबैले कांग्रेसलाई प्रयोग गरे, गर्दैछन् । हिजो एमाले र माओवादी दुवैले आफू अनुकूल प्रयोग गरे अनि स्वार्थ पूरा भएपछि छाडि दिए । कांग्रेसलाई थोक पसलजस्तो बनाए, बनाउँदैछन् । कांग्रेस किन अरूको औजार हुन छाड्दैन ? कांग्रेस हिजोदेखि आजसम्म नै पीडित भयो, बनाइयो भन्ने कुरा किन जनता समक्ष जाहेर गर्दैन ? सोचौँ गम्भीर भएर । देश हार्ने सूत्रहरूको बीजारोपण भइसकेको छ । उम्रनु दिनु हुँदैन कांग्रेसले ।

प्रथम चरणको निर्वाचन सकिएको छ । अव दोस्रो चरणको पर्खाइमा छन् जनता । हारजित स्वभाविक हुन्छ निर्वाचनमा । प्रजातन्त्रको मान्यता पनि यही नै हो । कम्युनिस्ट गठबन्धनवाट कांग्रेस केही विचलित भएको भान परेको छ । विचलित हुनुपर्ने, आत्तिनुपर्ने कुनै कारण छैन । प्रजातन्त्रका पक्षधरको हार हुँदैन कहिल्यै ।

हारेर पनि जित्ने पार्टी हैन र कांग्रेस ? बहुमत कसैको आउँदैन । यो मेरो विश्लेषण हो । सिद्धान्तमा, निष्ठामा आधारित गठबन्धन भए बहुमत आउन सक्थ्योहोला तर सत्ता स्वार्थको गठबन्धन हो यो । ‘कालेकाले मिलेर खाउँ भाले’ भनेजस्तो हो । यो कुरा चेतनशील नेपालीले बुझेका छन् । खड्गप्रसाद ओली र पुष्पकमल दाहालको टाउको जोडिएरमात्रै के गर्नु यिनका कार्यकर्ताको जोडिएन भने ? कुरो यसैमा छ । कम्युनिस्ट गठबन्धनबाट त कांग्रेसलाई नै फाइदा छ । तर, कांग्रेस जोड घटाउ अनि फाइदा र बेफाइदाको राजनीतिबाट माथि उठ्नुपर्छ । कांग्रेस सिद्धान्तको व्यापारी हैन, खुद्रा पसले हैन भन्ने जनता समक्ष लानुपर्छ । अरूको कारणले कांग्रेस हार्ने हैन हारेमा आफ्नै आन्तरिक कारणले हार्ने हो । चुनावमा हार भएछ नै भने पनि हारलाई पनि सहजरूपमा लिनुपर्छ र सशक्त प्रतिपक्षको भूमिकामा बस्नुपर्छ कांग्रेस । 

कम्युनिस्ट गठवन्धनले दुईतिहाई बहुमतको गुड्डी हाँकेका छन् । यो दिवा स्वप्न हो अहिलेको नेपालको परिवेशमा । राजनीति नबुझ्नु हो । राजनीतिक स्थायित्वको नारा दिएका छन् अनि कम्युनिस्ट सरकारको वकालत गरेका छन् । कुन समयमा हिँड्दैछन् यिनीहरू ? के हो राजनीतिक स्थायित्व भनेको ? नेपाली जनता अब मुसरफ, मुगावे, किम र स्टालिन शैलीको स्थायित्व चाहँदैनन् । नेपाली त खुला समाजभित्रको, प्रजातन्त्रभित्र पलाएको, कानुनको शासनभित्र, संविधानवादभित्र फस्टाएको राजनीतिक स्थायित्वको खोजीमा छन् । 

इतिहासको यो कालखण्डमा हाम्रो राष्ट्र र राष्ट्रियता गम्भीर मोडमा पूगेको छ । जनताले नयाँ तरिकाबाट नसोची हुँदैन अब । देशै नरहे ? यो ठूलो प्रश्न हो । संक्रमणकालीन राजनीतिको अन्त्य हुन बाँकी नै छ । आउँदो चुनावको परिणामले पनि  निकास दिन्छजस्तो लाग्दैन । शान्ति प्रक्रियाको थालनी पनि नेपाली कांग्रेसले नै गरेको हो भने अब यसलाई निचोडमा पुर्याउने ऐतिहासिक दायीत्व पनि कांग्रेसकै हुन्छ । कथित ‘जनयुद्ध’ का हजारौं पीडितलाई न्याय दिने जिम्मा पनि कांग्रेसले नै लिनुपर्छ । अब कांग्रेसले नयाँ सोच, कार्यक्रम र एजेन्डा तय गर्नुपर्छ । पुरानो नीतिले थेग्दैन । 

नेपाली कांग्रेसको नेतृत्वले आफ्नो कार्यशैली बदल्नुपर्छ । पार्टीमा ‘मैमात्र कांग्रेस हुँ’ भन्ने भावना छोड्नुपर्छ । सबल, सक्षम य्वालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । विलासी हुन छोड्नुपर्छ । नेतृत्व र कार्यकर्ता तथा नेतृत्व र जनताबीचमा ठूलो खाडल छ अहिले यस पार्टीमा । जनताको घरदैलो र झुपडीमा हुनुपर्छ कांग्रेस अब । गुटबन्दी र भ्रष्टाचारलाई निर्मूल गर्नुपर्छ । पार्टीभित्रै पनि प्रजातन्त्रको अभ्यास गरिनुपर्छ । भ्रष्ट, स्वार्थी व्यापारी, मण्डले, डन र अपराधीलाई पार्टीमा निषेध गर्नुपर्छ । छन् भने निकाल्नुपर्छ । भिड जम्मा गरेर पार्टी बन्दैन, बलियो हुँदैन । साथसाथै नेता, नेतृत्व र सबैले कमीकमजोरीको आत्मसमीक्षा गरेर पार्टी अघि बढाउनुपर्छ ।

दोस्रो, चुनावी घोषणापत्रमा मात्रै, नारामा मात्रै हैन अब कांग्रेसले नयाँ विकासका मोडेल जनसमक्ष पेस गर्नुपर्छ । पेस गरेरमात्रै हुदैन । किन र कसरी अनि कहिलेसम्म कार्यान्वयन हुने र गर्ने भन्ने कुराको पनि विस्तृत योजना बनाएर त्यसको कार्यान्वयन सुरु गर्नुपर्छ । जनतालाई आश्वस्त पार्नुपर्छ । अहिलेकै अवस्थामा पार्टी अघि बढ्न सक्तैन । अहिलेकै नेतृत्वले निकास दिन सक्तैन । कांग्रेस व्यक्ति हैन । यो समग्रमा जनता हो भन्ने बुझ्नुपर्छ । नयाँ बौद्धिक क्रान्ति, जनजागरण अभियानलाई कांग्रेसले फेरि सुरु गर्नुपर्छ । नयाँ सैद्धान्तिक एजेन्डा, बीपी कोइरालाको दर्शनलाई फेरि ब्युँताउनुपर्छ । सबैले अंगीकार गर्नुपर्छ । तल्लो तहसम्म पुर्याउनुपर्छ ।

राजनीतिक एजेन्डा र सवालमा धर्म निरपेक्षता र संघीयताको विषयमा ८० प्रतिशत नेपालीको चित्त बुझेको छैन । जनतामा शंका छ । यसको निदान गर्ने जिम्मा कांग्रेसको हो । अब राजतन्त्र कांग्रेसले बोक्नु हँुदैन । सकियो । तर, धर्म निरपेक्षता र संघीयताको मामलामा नेपाली कांग्रेसले जनमत संग्रह गराओस् । राजनीतिक एजेन्डाका रूपमा यसलाई सशक्तरूपमा अगाडि बढाओस् । यो राष्ट्रिय आवश्यकता हो । राष्ट्रको भविष्यको सबाल यो हो । 

इतिहासमा कहिल्यै नहारेको कांग्रेस आफूलाई रुपान्तरण गरेर अघि बढ्नुपर्छ । प्रजातन्त्र एउटा संस्कार, अभ्यास र नैतिकतासमेत रहेछ । यसको जर्गेना गर्न महान् दायित्व पनि अब कांग्रेसकै हो । यस दायित्वबाट आजको नेतृत्व भाग्नु हँुदैन । व्यक्ति आपुूmलाई रूपान्तरण, पार्टीलाई रूपान्तरण गर्दै अघि बढोस् कांग्रेस । हैन भने, अग्रजहरुको आँसुले अहिलेको नेतृत्वलाई पोल्नेछ, पिर्नेछ र कांग्रेस इतिहासमा सीमित हुनेछ । त्यस अवस्थामा राष्ट्र र जनता दुवै हार्ने निश्चित छ । इतिहासमा हिजो आफू हारेर देश र जनतालाई जिताएको यो पार्टी अब आफूले पनि जितोस्, देश र जनताको पनि विजय गराओस् । गम्भीर भएर सोचौँ ।

बेलायतबाट अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा विद्यावारिधि 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC