site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वत्र शिशुपाल 

तीन आँखा र चार हातसहित जन्मेका थिए उनी । उनका बाबुआमा त उनलाई नवजात अवस्थामै त्याग्न तयार थिए तर एउटा आकाशवाणीले रोकिए । आकाशवाणीका अनुसार एक जना आफन्तको काखमा पुगेपछि ती नवजात शिशुको तेस्रो आँखा र थप दुई हात झर्नेछ । भयो त्यस्तै, उनका मामाका छोराको काखमा पुग्नेबित्तिकै आकाशवाणी चरितार्थ भयो । अतिरिक्त आँखा र हात झरे । आकाशवाणीमा अर्को कुरा पनि भनिएको थियो - जसले काखमा लिँदा उनको अतिरिक्त आँखा र हात झर्नेछन् उनैको हातबाट कालान्तरमा त्यस शिशुको बध पनि हुनेछ । यो महाभारतको प्रसंग हो र पात्र शिशुपाल र कृष्ण हुन् । शिशुपाल महाभारतका त्यस्ता कृतघ्न पात्र हुन् जसले आफूलाई एक अर्थमा जीवनदान दिने आफ्ना मामाका छोरा कृष्णलाई समेत गाली गर्न र मानसिक हिंसा गर्न छोडेनन् ।

राजा युधिष्ठिरले गरेको राजसुय यज्ञका विशेष अतिथि थिए कृष्ण र निम्तालु थिए चेदी नरेश शिशुपाल पनि । यज्ञका सहश्र निम्तालुका अघि आफ्ना मामाका छोरा कृष्णलाई गाली गर्न छोडेनन् शिशुपालले । कृष्णले सुनिरहे, खपिरहे । 'सौ खत माफ' भन्ने कहावत सायद त्यसैसँग गाँसिएर आउँछ । शिशुपालकी आमाले छोराको जीवनदान माग्दा कृष्णले सयपटक सम्मको आफूविरुद्ध जे गरे पनि क्षमा गर्ने वचन कृष्णले दिएका थिए । जब शिशुपालको बिज्याइन्ले सय नाघ्यो, कृष्णले सुदर्शन चक्र प्रहार गरी यज्ञमा सबैका सामु शिशुपालको शिर छेदन गरिदिए ।

जन्मभूमिमा चुनावको चर्को वातावरण छ । सामाजिक सञ्जालको जन्जालले संसारभर छरिएका मजस्ता कागतको वा रगतको नेपालीलाई समेत चुनावले गाँजेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यही मेसोमा आफूलाई शीर्षस्थ मनाउने, भनाउने अधिकाधिक नेता, उनका लम्पट कार्यकर्ता, रौसे संजालेहरू, बतासे बुद्धिजीवी, पत्रकारलगायत मजस्ता विचार लेखिटोपल्ने जो जति दृश्यपटमा छौँ लाग्छ, शिशुपालका नेपाली अवतार हुनपुगेका छौँ । प्रधानमन्त्री भइसकेको कोही प्रतिस्पर्धीलाई स्त्रीलम्पट, व्यभिचारी भन्न छोड्दैन, कोही उस्तैपरे खोलेर देखाइदिन्छु, त्यसले के खोजेको? भन्न बाँकी राख्दैन । त्यो जस्तो घामट र कुबुद्धि कोही छैन भन्छ कोही, कोही मुख सम्हालेर बोल भनेर सम्साँझै  हप्काउँछ । कोही हजारौं जनताको अघि उभिएर 'प्रतिस्पर्धी मर्‍यो, तिनका तिमी रैतीहरु बरखी बार भन्छ कहिले, कहिले त्यो नाथे चक डस्टर घोट्नेले हामीसँग जोरी खोज्ने? सक्छस् भने पार्टी खोलेर चुनाव लड्न आइज' भनेर लल्कार्छ । नजाने के भइरहेको छ ? ऋणात्मक ऊर्जाको यो उत्सर्जन र प्रसारण कहिलेसम्म ? केका लागि ? यो मानसिक प्रताडना किन ? यसअघि सायद योजस्तो अशिष्ट, अभद्र र अयोग्य पुस्ता नेपाली राजनीतिमा जन्मेकै थिएन र पछि नजन्मोस् पनि । लाग्छ, यो युग शारीरिक हिंसापछि सुरु भएको मानसिक हिंसायुक्त पतित युग हो, नजाने कहिलेसम्म यो युग लेखिएको छ मेरी जन्मभूमिको प्रारब्धमा । आउनुहोस्, एक फाँकी विवेचना गरौँ ।

केही तथ्य ऐतिहासिक छन् र भन्नेले घोक्रो फुलाएर होइन भने पनि सुन्नेले ओठ लोब्रयाउने गर्छन् । ००७ सालको, ०४६को र ०६२-६३को परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा नै भएको हो । इतिहास साक्षी छ पन्ध्र सालको संविधान लेख्न २०१४ सालको सत्याग्रह कांग्रेसले नै गरेको हो, ४७ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको हो, २०७४ को संविधान बनिसक्ने बेलामा समेत कांग्रेस नै नेतृत्वमा थियो । उसले यसमा गर्व गर्दा अरूलाई केको आपत्ति ? २०१५ को दुई तिहाइ बहुमतको सरकार, अठ्चालीसको र ५६ को बहुमतको सरकार कांग्रेसले थेग्न नसकेको पनि इतिहास हो । राजालाई देखाएर उम्कने यत्न गर्ला तर हुतिहाराले मात्र अर्कालाई दोष दिन्छन् । आफूले गर्न नसकेका कामको जिम्मा लिन नसक्नेले अरूलाई सराप्नुको के अर्थ ? 

Global Ime bank

एकथरी काँग्रेसले देश बेच्यो भनेर त्यहीँभित्र बसेर उफ्रीपाफ्री गर्छन् । 'गोपी कृष्ण कहो’ मार्का उफ़्राइको के विवेचना गर्नु ? देश त्यसरी न बेचिन्छ न किनिन्छ । देश चन्द्रशेखर र गजराजमार्फत सुगौली सन्धि ताका नै बेचिइसकेको थियो । ब्रायन हड्सन पढेका रमेश ढुङ्गेलले अझ बढी प्रष्ट पार्न सक्लान् ।  नदी बेचेर ढाडिएको कांग्रेस राष्ट्रघाती नै हो । किनभने, कांग्रेस करिब २५ वर्ष सत्तामा बस्यो, अर्बौं क्युसेक पानी भारतमा बग्नबाट रोक्न सकेन । अब यो तर्कसँग जुध्न सक्छ कांग्रेसले ? जस्ता चपाएर सुन्निएको काँग्रेस हालसालै एम्बुसमा परेर शुद्ध मरेन । हिजो कुटिएर, काटिएर, लखेटिएर, सेरिएर, फ़ोरिएर, डढेर, लडेर पनि गाउँगाउँमा सकिएन कांग्रेस । घरी प्रतिगमन आधा सच्याएर, घरी हेलिकप्टर चढाएर, घरी छोरीलाई बुइमा बोकिदिएर लोकतन्त्रको उच्चाटलाग्दो मन्त्र जपिरह्यो कांग्रेसले । अवस्था त योसम्म आएछ जसले बीपी कोइरालामाथि समेत 'सब्ब मण्डलम' को राजनीति गर्‍यो उसैलाई डोली चढाएर बुटवल हेटौंडा गरिरहेछ । 

वस्तुपरक ढंगले सोच्ने हो भने कांग्रेसले बीसौं कलकारखाना बेचेकै हो । मानौं, साहु हो कांग्रेस र राष्ट्र उसैको बिर्ता । मन लाग्यो, बेच्यो । सम्भवत: यो जति पंगु र निकृष्ट दृष्टान्त हुनै सक्दैन । नितान्त: व्यक्तिगत अनुभव लेख्दैछु - प्रशासनिक अनुभवको । इञ्जिनियरिङ्ग शिक्षा परियोजनाको रहलपहल पुछपाछ बाँकी रहँदाको बखतको कुरा । त्रिविको एक आंगिक क्याम्पसको क्याम्पस प्रमुख भएर जाँदै गर्दा चौकीदार आन्दोलनले रातिराति आफैँ गस्ती लगाउनुपर्ने जस्तो बाध्यता थियो । युनिफर्म पहिरिदिए बापत तलब र राति ड्युटी गरेबापत भत्ता दिनुपर्ने जस्तो परिस्थिति थियो । सुरक्षा आकाशको फल जस्तो- हाकिम त सँधै त्राहीमाम् हुनुपर्ने ।

कर्मचारी संघका तत्कालीन सचिवले भनेको मृदुवाक्य सम्झिन्छु - सरका बाउले पढाउन सके र पो हाकिम हुनुभयो, नत्र मै पनि चलाउन सक्छु क्याम्पस । माओवादी सम्बद्ध थिए क्यार तिनी, पद चौकीदारको थियो । ‘भत्ता दिन सकिन्न भन्दा खै  छोड्नुस्, मै चलाउछु’ भने एकपल्ट कर्मचारी संघका सभापतिले । पद उनको पियनसरह थियो । यस्तो मैमत्त तर अनुत्पादक क्षेत्र पाल्न सक्ने क्षमता इञ्जिनियरिङ्ग अध्ययन संस्थानले निजी-सार्वजनिक शुल्क पद्धति बनाइ सकेकाले सजिलो भयो र अत्यन्तै संवेदनशील क्षेत्र - छात्रावासको सुरक्षा निजी क्षेत्रलाई दिने पुँजी र आँटको जोहो गरियो । क्याम्पसमा जम्मा भएका भौतिक कबाडी सम्पत्ति नबेचेको भए सम्भवत: नेपाली कृषि इञ्जिनियरको पहिलो उत्पादन न उतिखेर बजारमा आउँथ्यो न अहिले नासालगायतका विश्व हल्लाउने संस्थामा नेपालले प्रतिनिधित्व गर्न सक्थ्यो । गर्व लाग्छ, अहिले तिनै चेलाचेली प्राज्ञिक, प्रशासनिक र प्राविधिक क्षेत्रमा आफ्नो योग्यता पुष्टि गरिरहेछन् देश देशान्तरमा ।  

सामान्य कुरो गरौँ - जसरी एक अमुक नेताको स्वास्थमा केही करोड खर्च भयो भनेर कोहोलो मच्चिन्छ सन्जालमा, त्यसभन्दा सयौं गुणा बेसी ती अनुत्पादक उद्योग र मैमत्त ट्रेड युनियनमा खर्च गर्न बाध्य थियो सरकार । पञ्चायतले खोलेका अधिकाधिक कारखाना रुग्ण र जीर्ण अवस्थामा थिए । पारखीहरू भन्थे - याक चुरोट त खलाँती फुकेरमात्र सल्किन्थ्यो । यसो भन्दै गर्दा, जे सरकारले गर्‍यो, ठीक गर्‍यो भन्ने अर्थ नलागोस् बरु के बुझियोस् भने प्रतिस्पर्धामा अड्न नसकेका उद्योगमाथि अनुशासनको परिधिबाहिर गएका ट्रेड युनियनले समेत राष्ट्रिय दायित्व सम्झेर न्याय गर्नुपर्थ्यो, गरेनन्  ।

विसं ६२-६३ को आन्दोलनमा पाटनका गल्लीगल्ली रल्लिँदा लाग्थ्यो - नवयुवकहरूमा स्वतन्त्रताको राँको छ मुटुभित्र, ती अन्यायी बन्धन तोड्न काबिल छन् । अब यो 'न्यु फेस'लाई देशले 'फेस' गर्नेछ । विडम्बना, त्यो हुन सकेन । न ती युवा, न नागरिक समाजका प्रौढहरू, सबै दलीय दाम्लाबद्ध भए । स्वतन्त्रतालाई दलीय घेरोभित्र बाँधेपछी दौराको फेरो समाउनै पर्दो रहेछ । अहिले ती सबै फलाना दाइका डरले, फलाना कमरेडका डरले आफ्नो पुस्तामाथि भएको अन्याय उपर अ  गर्दैनन्, विरोधीतिर धारे हात लगाएर त्यसको सर्वनाश होस् भन्दै उस्तै परे लाप्पा खेल्न तम्सिन्छन् ।  

इतिहासले देखाएको छ नेपालको भलो राजनीतिक शक्तिको मिलनबाट भएको छ । चाहे, त्यो छयालीस होस् वा त्रिसट्ठी वा बहत्तर, हरेक पटक राजनीतिक दल एकार्का प्रतिको विश्वाशका कारण सफल भए । त्यही नै तथ्य हो । जनतालाई जनार्दन भनिन्छ, जनार्दन कृष्णको अर्को नाम । जनता मिल, नबाझ, नलड भनी भनी भोट दिन्छ । प्रत्येक निर्वाचनको, संविधान सभाको वा भर्खरै सम्पन्न स्थानीय सरकारको चुनाव परिणाम हेर्ने हो भने त्यस्तै देखिन्छ ।  सेलरोटी, क्यामेराले भोट काट्यो भनेर आँसु बगाउनुको पनि अर्थ छैन, सिक्री बाँढेर छोरी जितायो भन्नुको समेत तुक छैन ।

परिणाम हेर्दा पत्तो लाग्छ - जनताले तिमीलाई साइजमा राखिदिएका छन् तर तिमीहरू जुन अभिमानको बाटो हिंडिरहेछौ, त्यो गलत छ । जनता पटकपटक मिलेर काम गर भनिरहेछन् । तिनै जनता हुन् जसले कांग्रेस वा अरू कसैलाई भोट दिने । कांग्रेसलाई वा अन्य कुनै दललाई सराप्दै गर्दा अप्रत्यक्ष जनतालाई सरापिरहेको नभुल । एकपटक, दुईपटक त जनताले पनि यो मानसिक हिंसा नसुन्न कानमात्र थुन्लान् तर धैर्यको सीमा टुटेपछि उनीहरू कृष्णरुपी जनार्दन हुन्, मतको सुदर्शन चक्र कसो नचलाउलान् ?

मैले बुझेको प्रजातन्त्र, लोकतन्त्र, स्वतन्त्रतामा अर्काको सम्मान, अर्काले गरेको योगदानको कदर, संयमपूर्ण भाषा, ओजपूर्ण कटाक्ष, तार्किक व्यंग्य, तथ्यपरक प्रस्तुति हुन्छ । सर्वत्र शिशुपाल रगरगाइरहेको बेला मानसिक हिंसा त व्याप्त छ नै उसैमाथि भौतिक हिंसाको पुनरावृत्ति देखिएको छ ।

वर्षमान हुन् कि रामशरण, रामचन्द्र हुन् कि राजेन्द्र लिङ्ग्देन- यो निर्वाचन पद्धतिमा  होमिइसकेपछी अब स्वतन्त्रतापूर्वक घुम्न, आफ्नो कुरा राख्न र मत माग्न पाउँछन् । तिनलाई एम्बुस थापेर त यस्तो अधिनायकवाद जन्मिन्छ जसले अहिले एम्बुस थाप्नेलाई सबभन्दा पहिले उडाउँछ । अधिनायकवाद ल्याउँछन् भनेर चिच्चाउँछन्, संघारमा आइसकेको पत्तै पाउन्नन् । 

 अन्त्यमा, प्रतिस्पर्धीमार्फत् उनका मतदाता उपर जसरी मानसिक हिंसा गर्दैछन् आफूलाई शिशुपाल मार्का ठूला भन्ने दल, तीमध्ये कुनै कसैको मानसिक हिंसाले सीमा काटेको हो कि अझै बाँकी छ, हेर्न भने मंसिरको अन्तिमसम्म कुर्ने बाहेक अरू उपाय छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०७४  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC