बीपी कोइरालाले कम्युनिस्टसँग कहिल्यै सहकार्य गरेनन् । यसका पछाडि केही दार्शनिक र केही व्यावहारिक कारण थिए । यी दार्शनिक र व्यावहारिक पक्ष नबुझी बीपीको निर्णयलाई सही वा गलत भन्नु उचित हुँदैन । बिश्वभर कम्युनिस्ट अधिनायकवादको बढ्दो प्रभाव, अक्टुबर क्रान्तिका नाममा भएको लोकतान्त्रिक पद्धतिमाथिको प्रतिक्रान्ति र जनवादी केन्द्रीयताको नाममा जनताका चाहना बुटले कुल्चने कम्युनिस्ट चरित्रसंँग लोकतन्त्रवादी नेताको सहकार्य हुन नसक्नु स्वाभाविक पनि थियो । यता, नेपालको लोकतान्त्रिक शक्तिसँंगको सहकार्यलाई तत्कालीन कम्युनिस्ट पार्टीले पनि रुचाइरहेका थिएनन् । कांग्रेससंँग सहकार्य गनुपर्ने विचार राख्ने पुष्पलाललाई कम्युनिस्ट मूल प्रवाहले ‘गद्दार’ को उपमा दिएको थियो । पुष्पलालको प्रस्तावलाई स्वीकारेको भए तथा कम्युनिस्ट पार्टीभित्रै पुष्पलाललाई त्यसरी लाञ्छित नगरिएको भए सायद अवस्था अर्कै पनि हुनसक्थ्यो ।
बीपीको सहमतिविना डेग नचल्ने गणशमन सिंह पनि यस विषयमा प्रष्ट थिए । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहले कम्युनिस्ट अधिनायकवादप्रतिको मोह छाडेर प्रजातान्त्रिक आन्दोलनमा आउन आह्वान गरेपछि नेपालका अधिकांश कम्युनिस्टहरूले लोकतन्त्रको संघर्षमा भाग लिन एउटा मोर्चा बनाए । त्यसैबेला प्रजातन्त्र पुनस्र्थापनाका लागि निर्णायक आन्दोलनको उद्घोष गरेको कांग्रेससंँग सहकार्य गर्न मनमोहन अधिकारी, साहना प्रधानलगायतका नेता गणेशमान सिंहको सम्पर्कमा थिए । निर्णायक आन्दोलनमा आउनेसँग मिलेर काम गर्ने तर कार्यगत एकता भने नगर्ने गणेशमान सिंहको अडान थियो । विभिन्न समूहमा विभक्त कम्युनिस्ट नेतालाई बोलाएर गणेशमान सिंहले भने, ‘मैले कुन कम्युनिस्ट घटकसँग सहकार्य गरु ? पहिले तपाईहरु आफूबीच मोर्चा बनाएर आउनुस्, अनि सहकार्य गर्न सहज हुन्छ ।’
गणेशमान सिंहको यही आग्रहपछि नेपालका कम्युनिस्टहरूले गठबन्धन बनाउने अभ्यास सुरु गरेका हुन् । त्यतिबेला वाममोर्चाका नाममा उनीहरू जनआन्दोलनमा आएका थिए । देशमा लोकतन्त्र स्थापना भएलगत्तै वाममोर्चाका केही पार्टीबीच एकता पनि भयो । त्यसपछि अहिलेसम्म आइपुग्दा कम्युनिस्टका बीचमा धेरै पटक गठबन्धन भएका छन् । सत्ता गठबन्धन होस् वा आन्दोलनका मोर्चा हुन् धेरै पटक यो अभ्यास भएको छ । अहिले त चुनावी गठबन्धन नै हुन पुगेको छ । पञ्चायती तानाशाही ढलिसकेपछि फेरि अक्टुबर क्रान्तिजस्तै प्रतिक्रान्ति हुने त हैन भनेर झस्केका सिंह उनीहरुसबै लोकतान्त्रिक प्रक्रियामा आएर चुनावमार्फत सत्तारोहणको प्रयासमा लागेको देख्दा पनि खुसी नै हुन्थे होलान् ।
आज गणेशमान सिंहको जन्मजयन्ती हो । उनलाई देशभरका नागरिकले एउटा साहसी, त्यागी, निडर नेताका रूपमा संझिरहेका छन् । राजनीतिक क्रान्तिको सफलतासँंगै २०४६ सालको विजयउत्सव मनाइरँदा अब आर्थिक क्रान्तिको पालो भनेर उद्घोष गर्ने गणेशमान सिंह देशका सबै शक्तिबीचको सहकार्यबाटमात्रै नेपाल बन्छ भन्ने मान्यता राख्थे । वीपीले राष्ट्रियताका सवालमा राजासँग सहकार्य गर्न तयार रहेको उद्घोष खुलेआम गरेका थिए । यसको अर्थ पनि नेपालभित्रका शक्तिहरूबीचको सहकार्यका लागि दलीय घेरा र स्वार्थभन्दा माथि उठ्नुपर्ने सन्देह थियो ।
प्रजातान्त्रिक शासन प्रणाली स्थापना र त्यसको सस्थागत विकासका सन्दर्भमा भने बीपी राजा र कम्युनिस्ट दुवैबाट खतरा देख्थे । प्रजातान्त्रिक आन्दोलनमा कम्युनिस्ट सरिक भएपछि बीपीका साथी गणेशमान सिंहले कम्युनिस्टलाई खतराको सूचीबाट हटाइदिए । यो नेपालको आन्तरिक एकतालाई सुदृड गराउने सन्दर्भको महत्त्वपूर्ण सोच थियो । त्यसैगरी, अर्को चरणमा बीपीकै भाइ गिरिजाप्रसाद कोइराला प्रजातान्त्र र त्यसको विकासमा समस्याकै रूपमा रहेका राजालाई फ्याँक्ने निर्णयमा पुगे । आन्तरिक एकता बलियो गराउन राजसंस्था समस्या बनेको ठानेर गिरिजाप्रसादले यो कदम चालेका थिए । यो पनि राष्ट्रिय एकता निर्माणका लागि अर्को ऐतिहासिक कदम भयो ।
राष्ट्रिय एकता निर्माणका सन्दर्भमा भएका यी घटनालाई हेर्दा र विश्लेषण गर्दा लोकतान्त्रिक शक्तिले राष्ट्रिय एकता निर्माण गर्दै बलियो राष्ट्रिय भावनाका साथ देशलाई समृद्धिको मार्गमा हिँडाउनका लागि कम्युनिस्टलाई पनिसाथै हिँडाउर्न अगुवाइ गर्दैआएको छ । त्यसको प्रारम्भ २०४६ सालको जनआन्दोलनमा उनीहरूको सहभागिताको स्वीकृति थियो । त्यसका लागि गणेशमान सिंहले लिएको निर्णय र कम्युनिस्ट घटकहरुलाई गठबन्धन गर्न दिएको सुझाव नेपालका कम्युनिस्टको लोकतन्त्रप्रतिको रुझान बढाउन र लोकतन्त्रीकरणको अभियानको हिस्सेदार बन्न प्रेरणादायी हुन पुगेको देखिन्छ ।
अहिले देशका दुई प्रमुख कम्युनिस्ट पार्टी गठबन्धन बनाएर चुनावमा जाँदैछन् । यो गठबन्धनको जग पनि २०४६ को वाममोर्चा नै हो । लोकतन्त्रीकरणको यो चरणमा आएर फेरि कम्युनिस्टहरू एउटै ठाउँमा उभिन्छौ भन्दा कम्युनिस्ट शासन व्यवस्थाका नाममा अधिनायकवादी शासन स्थापित गर्ने महत्त्वाकांक्षा त जागेको होइन ? भन्ने संशय उत्पन्न भएको छ । यसो भयो भने लोकतन्त्रका लागि आन्दोलन गर्न कम्युनिस्टहरूलाई मोर्चा बनाउन प्रेरित गर्ने गणेशमान सिंहप्रति धोका हुनेछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउन र राष्ट्रियता सुदृढ बनाउन कम्युनिस्टहरूलाई एकत्रित हुन सुझाव दिने नेता गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा उनको योगदानप्रति कृतज्ञ हुँदै कम्युनिस्ट गठबन्धनकारहरूले लोकतन्त्र र राष्ट्रियता सुदृढ बनाउन विश्वसनीय प्रतिबद्धता जनाउनु उत्तम हुनेछ ।
नेपाली जनताले र नेपालकाम राजनीतिकर्मीले गणेशमान सिंहलाई सम्झने र सम्मान गर्ने विषयमा दुईमत छैन । उनको संघर्षशील जीवनबाट सबैले प्रेरणा पनि लिन सक्छन् । तर, आर्थिक क्रान्तिका लागि सबै राष्ट्रिय शक्तिबीचको एकताका लागि उनले गरेको उद्घोषलाई राजनीतिकर्मीहरूले जति गंभीररूपमा लिनु पर्ने हो, त्यो लिन सकिरहेको देखिँदैन । गणेशमान सिंह समानताका पक्षमा थिए ।
समाजमा कुनै पनि प्रकारको विभेद नहोस् भन्ने उनको स्पष्ट अडान थियो । उनको यही चरित्र अनुसरण गर्दै मुलुकलाई एउटा दिशा दिन आवश्यक छ । राष्ट्रिय एकता बलियो बनाउन आपसी कटुता हटाउँदै सहकार्यको मार्गलाई चौडा बनाउने गणेशमान स्रिह कम्युनिस्ट गठबन्धनका पनि प्रेरणा स्रोत हुन् । उनको प्रेरणाबाट निर्मित संयन्त्र वा गठबन्धन लोकतन्त्र र राष्ट्रियताको पक्षमा उभिँदा नै उनीप्रति सच्चा सम्मान हुनेछ । वीर गणेशमानप्रति हार्दिक नमन ।