site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अवकाशको संस्कृति 

अवकाशको संस्कृति विशिष्ट लाग्यो क्यानाडामा  । बुझ्नमा आएअनुसार कुनै निश्चित उमेर पुगेपछि कसैले चाहेरसमेत काम गर्छु भन्न मुस्किल हुने रहेछ । अहिले म जुन संस्थामा कार्यरत छु त्यहाँ अवकाशयोग्य समयसम्म काम गर्ने हो भने मेरो उमेर ६४ वर्ष ६ महिना भएपछि मैले अनिवार्य अवकाश लिनै पर्छ । लिन्न भन्न त पाइन्छ तर संस्थाले पालेर राख्ने रहर गर्दैन । बुढ्यौली उमेरका कर्मचारी अनुभवले खारिएका त होलान् तर तिनीहरूमाथि संस्थाले अनिवार्यरूपमा तिर्नु पर्ने बीमा अकल्पनीय हुने रहेछ । सरकारी सेवामा जीवन बिताएकालाई केही वर्ष निजी क्षेत्रले चाख्दा रहेछन्, केही समय राख्दा रहेछन् । यद्यपि त्यो पनि निश्चित अवधिका लागि । 

नेपालको व्यावसायिक काम सुरु गर्ने उमेर २५ वर्ष मान्ने हो भने क्यानेडेली पद्धतिमा एक व्यक्ति ५५ वर्षमै अवकाश योग्य हुने रहेछ । रमाइलो कुरो त के भने १६ वर्षे ठिटाठिटी जब काम गर्न थाल्छन् जुनसुकै काम किन नहोस् राज्यलाई अनिवार्य कर तिर्छन्, पेन्सन योग्य भइहाल्छन् र ५० वर्ष ६ महिनाको उमेरमा अवकाश योग्य भइहाल्ने रहेछन् ।

भर्खरै मेरी एक सहकर्मी दुई पटक रिटायर्ड भइन्, एकपल्ट सन् २०१३ मा पद्धति मुताबिक तर उनको अनुभवलाई कदर गर्दै संस्थाले उनलाई काममा बोलायो, ६५ वर्ष नहुन्जेल काम गरिन्, ६५ पुगेपछि ‘काम गर्न सक्षम, उपलब्ध, निरोगी र  प्रौढ एकल महिलाबाट राज्यले जति लिन सक्यो, लियो, तपाईंको भावी जीवन सुखद रहोस्’ भन्ने आशयको पत्रसहित  उनलाई अनिवार्य अवकाश दिइयो ।

Prabhu Bank
Agni Group
NIC Asia

अवकाश लिनासाथ उनी ग्रिस घुमेर आइन् । उनी अत्यन्त प्रशन्न छिन् अवकाश जीवनको सुरुआतमा ।  यसबाट के थाहा हुन्छ भने मान्छे अवकाशका लागि लालयित रहन्छन्, योजना बुन्छन्, घुम्छन्, फर्केर हेर्छन्, अनुभव साँट्छन्, स्वयंसेवी बनेर समय बिताउँछन् ।  एउटा पद्धतिमात्र नभएर संस्कृति बनिसकेको छ क्यानाडामा । ताज्जुब त के भने, यो सामान्य रेस्टुराँमा वेटर काम गर्नेदेखि प्रदेश मुख्यमन्त्री बनिसकेको मान्छेमा समान रूपमा लागु हुन्छ । 

हालसालै, काम गरिरहेका र बहुमत प्राप्त पार्टीको नेतृत्व गरी प्रदेशको मुख्यमन्त्री रहेका सस्काचेवन राज्यको प्रमुखले राजीनामा दिए । उनको तर्क थियो- मेरो अवकाश योग्य उमेर भयो । सन् १९६५ मा जन्मेका उनी अहिले ५२ पूरा भएर ५३ लाग्दैछन् । राजनीति लफडाझगडा पनि होलान् तर बुझ्नु पर्ने कुरो के हो भने _- मेरो योगदान यति नै हो, मैले पाखा लागिदिँदा नयाँ पुस्ता अघि आउँछ, नयाँ सोच ल्याउँछ, मेरो योगदानको समय सकियो भन्ने सोच उनले प्रस्तुत गरेका छन् १० वर्ष उक्त पदमा बसेपछि । राजिनीतिमा सायद १० वर्षको सक्रियताले जे दिन सकिन्छ । त्यसपछि सकिंदैन भन्ने स्वीकारोक्ति समेत हुन सक्छ ।

Global Ime bank

समाजले र पत्रकारले सोध्ने शाश्वत प्रश्नको सहज जबाफ दिए तिनले - अब सक्रिय जीवनबाट सन्यास लिन्छु, पुर्ख्यौली खेत छ, त्यहाँ खेती गर्छु, उब्रेको समय देश देशान्तर घुम्छु । पेटमा अर्कै कुरो राखेर मुखबाट अर्को कुरो बोल्न माहिर हुन्छन् संसारैभरका राजनीतिकर्मी । यद्यपि, मनन योग्य कुरो के हो भने सन्यास, खेती, घुमाइजस्ता सामान्य लाग्ने तर्क गर्छन् यताका राजनीतिज्ञहरू ।

सहजै आउने पुस्तालाई बाटो खोलिदिएर जोगीजस्तै हिँडिदिन्छन् शिर ठाडो पारेर । यही कुरो नेपालमा किन लागु हुँदैन? यो जटिल प्रश्न हो । दिनानुदिन जसो नागरिकतामा उमेर सच्याएका कुरा, किताबखानाको ढड्डा केरमेट गरिएका कुरा, ७-७ पटक चुनाव उठेका, हारेका/ जितेका, जितेरसमेत केही तात्विक परिवर्तन गर्न नसकेकाहरू समेत आजकाल खेताला लगाएर फेसबुक, ट्विट्टर, यु ट्युब मार्फत आफ्ना तमाम अकर्मण्यतालाई सयपत्रीका माला, खादाले छोपेर निर्लज्ज भोट माग्छन्, तिनकै पछाडि हजारौँ जनता झन्डा, डण्डा साथ देखिन्छन्, प्रश्न त उठ्छ नै - के समृद्धि सम्भव छ हाम्रै जीवनमा ?
कहीँ न कहीँ हाम्रो पद्धतिले लोप्पा खाएकै छ ।

सम्भवत: औपनवेशिक उपहार होला, आफ्नो संस्कृतिमा पूर्णत: विश्वास पनि नगर्ने, पाश्चात्य संस्कृतिलाई समेत पूर्णत: अङ्गाल्न नसक्ने, जसो जसो भेट्यो, उसै उसै टिप्दै हिँड्ने तर त्यसको अन्तर्वस्तुको परख पनि नगर्ने, विद्या घोक्ने, दर्शन पढ्ने- लागु नगर्ने, बाहिर बाहिर हाम्रो मौलिक भन्ने, भित्रभित्र 'भाँड मे जाए दुनियाँ’ गर्ने महारोगले ग्रसित छ । हाम्रो समाज, नेता हाम्रै उपज हुन् । हाम्रो उपमहाद्वीपमा ज्ञानी पूर्वजहरूले जीवनका ४ आश्रम पद्धतिको विकास र अनुसरण गरेका थिए - ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रम । २४ वर्षको अन्तरालमा स्थापित गरिएको सो पद्धतिमा पहिले २४ वर्ष जीवनोपयोगी शिक्षा आर्जन गर्ने, २४ देखि ४८ सम्म आफूले जानेका ज्ञान र सीपलाई प्रयोग गरी जीवन सहज बनाउने, गृहस्थ हुने, ४८ देखि ७२ सम्म वानप्रस्थ जाने -  लौकिक जिम्मेदारी हस्तान्तरण गर्दै जाने र अन्त्यमा ७२ उप्रान्तको सम्पूर्ण जीवन मोक्ष प्राप्तिका लागि केन्द्रित गर्ने नीति थियो ।  

अझ विस्तृतमा भन्ने हो भने वानप्रस्थ उमेर समूहको दायित्व भनेकै आफू क्रमशः शक्ति हस्तान्तरणमा जाने, बुज्रुगका रूपमा परामर्शदात्री भूमिका निर्वाह गर्ने, आफूलाई सांसारिक मायाबाट अलग्याउँदै जाने र मोक्ष प्राप्तिका उपायको खोजी गर्ने थियो । सन्यासी उमेर समूह त अझ निस्पृह एवं निर्लिप्त परिकल्पित थियो । यो  आफ्ना इच्छा र आग्रहको त्यागको आश्रम थियो, सांसारिक मोहप्रतिको निस्पृहता र अलगावका लागि थियो, क्रमिकरूपमा आफूले आर्जन गरेको सम्पत्तिबाट उन्मुक्ति खोज्ने र शान्ति, मोक्ष र आध्यात्मिक जीवनको खोजीको आश्रम थियो ।

संस्कृत भाषा आफैँमा यति धनी छ कि जसका एक शब्दका सयौं अर्थ लगाउन सकिन्छ । प्रचलनमा आश्रमको अर्थ बासस्थान बुझिने भए पनि वर्णाश्रमको अर्थ गहन छ, त्यसले जीवन यापनको पद्धतिलाई चित्रण र निर्दिष्ट गर्छ ।
जन्मभूमिमा चुनावको चटारो छ । त्यही चटारोमा देखिएका अधिकांश पदका आकांक्षी देख्दा वर्णाश्रम उल्टो भएको छ । अधिकांश ती ४८  सम्म खुब सन्यासीजस्ता देखिए, हालका प्रधानमन्त्रीको त गृहस्थाश्रम नै वानप्रस्थको उमेरमा सुरु भएको हो क्यारे ? अन्यको विगतमा पनि खासै उत्साहजनक कथा छैन । लोभ, लालच त्यागेर सन्यास लिनुपर्ने उमेरमा पुगेका सयकडा ८०% आकांक्षी सदृश छन् पर्दामा, यस्तो अलौकिक अवसर देख्दा एउटा प्रसंग याद आयो । एकरात हामी बसेको पूर्व सोभियत संघको एउटा गणराज्यको एउटा ट्रलिबस स्टपमा प्रत्यक्ष देखेको एक घटना हो यो ।  

आवरण हेर्दा सहजै ७० कटेका एक वृद्ध पुरुषलाई एउटी २२-२३ कि रुपासे महिला ठूलोठूलो स्वरले गिल्ला गर्दैथिइन् । बुझ्दै जाँदा थाहा भयो उक्त वृद्ध पुरुष वोद्काको प्रचुर खपतपछि सहर घुम्न निस्केछन् र उक्त रुपासेलाई देखेर कुर्लीकुर्ली ‘ म तिमीसँग सम्भोग गर्न चाहन्छु' भन्दा रहेछन् । रुपासे महिला त्यो आग्रह सुनेर चकित परिछन् र भन्दै रहिछन् - म तिम्रो कुण्ठा बुझ्न त सक्छु  तर हे वृद्ध अग्रज, तिमी न शारीरिकरूपमा समर्थ छौ न अहिलेको तिम्रो अवस्थाले तिम्रो आग्रहको कुनै अर्थ राख्छ । यो उमेर बाँकी जीवन कसरी स्वस्थ, शुभ्र र समाजोपयोगी बनाउन सकिन्छ भनेर सोच्ने उमेर हो । नशामा धुत तिमी आउने पुस्तालाई के सिकाउन खोज्दैछौ ?
विसं २०४९ सालतिर नेपाली कांग्रेसका एक केन्द्रीय नेता ( कालान्तरमा उनी मन्त्रीसम्म भए, हाल पाखा परे) सँग त्यस्तै एक चर्काचर्की परेको पनि सम्झना छ । हरेक प्रहर हामीले जेलनेल खेपेर, त्याग गरेर ल्याएको प्रजातन्त्रमा तिमीहरुको पालो आउँदैन, आए पनि अझै ५० वर्ष लाग्छ भन्थे उनी । मेरो तर्क सिधा सपाट थियो- हाम्रो पालामा त्यो आवश्यकता नै परेन ।

परेछ भने त्यो पनि गरिएला तर जेलनेल खेपेको, त्याग गरेको समय बैंकमा राखेको मौज्दात हो र त्यसको ब्याज खाने? न त्यो दिनको तपाईँहरूको त्याग चुनावैपिच्छे टिकेट पाउनुपर्ने वातावरण निर्माण हेतु थियो । मेरो तर्क अझै त्यही छ । त्याग र वलिदानका कथाले मुलुकको सर्वश्व ढुटीमाटी भइसक्ता समेत केही शीर्ष वृद्धहरू अझै राज्यलक्ष्मी उपर लालायित छन् । पटकपटक मौका पाएका, पटकपटक तात्विक योगदान दिन नसकेका जीर्ण, आफूलाई त्यागी भन्न रुचाउने, त्याग गर्न नरुचाउने झुन्डबीच एक नारायणमान बिजुक्छे कागका हुलमा बकुल्ला निस्केका मात्र हुन् । पूर्वेली वर्णाश्रम संस्कृति त उल्लेखित जीर्णहरूलाई दुरुह त हो नै तैपनि पाश्चात्य अवकाश संस्कृतिको अनुशरणमात्रै गर्न सके पनि मुलुकलाई त्राण मिल्दो हो ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०७४  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC