site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
अमेरिकाबासी नेपालीको बदख्वाइँ : ईर्ष्या कि अज्ञान ?    

पत्रकार किशोर नेपालको अमेरिकाको यात्रा स्मरणसम्बन्धी लेख ( स्वर्गभन्दा रमाइलो अमेरिका, श्रावण २५, २०७४, साप्ताहिक ) पढ्ने अवसर अलि ढिलो पाइयो ।

अमेरिकाको शक्ति, कानुन वा राजनीतिसँग नेपालीहरू जानकार नभएको, अमेरिका 'क्रेज'ले मात्र नेपालीहरू अमेरिका गएको उनको विश्लेषण रहेछ । अमेरिकालाई स्वर्गभन्दा रमाइलो भनेर शीर्षक नै राखिएको छ तर त्यहाँ बस्ने नेपालीलाई लेखकले यसरी प्रस्तुत गरेका छन् - “भात अमेरिकामा खान्छन् । काम स्टोरमा गर्छन् । लेख नेपालमा लेख्छन् । आफू अमेरिका आएपछि नेपालको बौद्धिक क्षेत्र शून्य भएको लागेको छ उनीहरूलाई । नेपालबाट कोही मानिस आएको थाहा पाए भने त्यसको ठेगाना पत्ता लगाएर भात खान बोलाउँछन् । देशको हालचाल सोध्छन् । त्यसपछि आफू अमेरिका आएपछि देशको अवस्था दिनपरदिन घायल भएको कन्याउँछन् । यो अमेरिकामा बस्ने नेपालीहरूको निकै प्रचलित धन्दा हो ।”  

पंक्तिकारले किशोर नेपालका स्तम्भ पढ्ने गरेको चालीसको दशकदेखि हो । नेपालको नियमित स्तम्भ त्यसबेला देशान्तर साप्ताहिकमा प्रकाशित हुन्थ्यो । त्यसबेला पत्रकारहरूलाई पंचायतले सजिलै किन्ने गर्थ्यो । नेपालमा थोरै पत्रकार थिए जो लोकतान्त्रिक पद्धतिमा विश्वास गर्थे । किशोर नेपाल त्यस्तै एउटा पत्रकार हुन् जो सायद पंचायतको वा बाहिरी प्रभावमा परेनन् ।

Agni Group

यसको प्रमुख कारण हो उनको क्षमता र पेसाप्रतिको लगन । पत्रकारका रूपमा नेपालका लेखहरू लाखौंले सयौंपटक पढेका होलान् । अनेक विवादास्पद विषयमा उनका लेखमार्फत सही र गलतको पहिचान गरेका होलान् । सामान्य जनमानसको चेतनाको स्तरमा थोरबहुत प्रभाव नेपालजस्ता पत्रकारले पारेकै हुनुपर्छ ।    

नेपालको “स्वर्गभन्दा रमाइलो अमेरिका” आलेख पढेपछि प्रतिवाद गर्ने पंक्तिकारको मनसाय थिएन ।  विषयगत सबालमा लेखकसँग सहमत हुनुपर्छ भन्नेछैन तर प्रस्तुत गरिएका तर्क भने सत्यमा आधारित हुनै पर्छ । करिब चालीस लाख नेपाली विदेशिएको अनुमानित तथ्यांक छ । करिब चार लाख जति अमेरिकामा रहेको अनुमान छ ।

Global Ime bank

नेपाललाई घृणा गरेर नेपालीहरू विदेशिएका होइनन् । नेपाली विदेशिनुको प्रमुख कारण विदेशमा प्राप्त हुने रोजगारी र सुविधा हो । नयाँ बानेश्वरको लक्ष्मी दिदीको चिया पसलमा काम गर्ने कामदार र न्यु योर्कको कुनै कफी पसलमा कफी खुवाउने कामदारको आर्थिक हैसियतको तुलना गर्ने हो भने विदेशिनुको कारण सजिलै निकाल्न सकिन्छ । पंक्तिकार आफ्नो शोध गुरुसँग अमेरिकाको एक भारतीय रेस्टुराँमा जाँदा नेपाल राष्ट्र बैंकको अधिकृतले वेटरको रूपमा काम गरेको देखेर गुरु छक्क परेका थिए । गुरुले भनेका थिए - यसले आफू राष्ट्र बैंकको कर्मचारी भएको भनेर झुटो बोल्दैछ । सत्यतथ्य लेखिरहनु पर्दैन ।

स्वदेशमा अवसरको कमीले आफ्नो मेहेनत र पसिना विदेशमा बगाउन बाध्य विदेशिएका नेपालीमध्ये अमेरिका जानेको स्थिति अपेक्षाकृत सहज छ । नेपालको लेखमा सहजरूपले अमेरिकामा बसेका नेपालीको चिताको धुवाँप्रति समेत सम्मान प्रकट गरिएको छैन ।

नेपालको लेखमा खासगरी यी वाक्य आपत्तिजनक छन् - “भात अमेरिकामा खान्छन् । काम स्टोरमा गर्छन् । लेख नेपालमा लेख्छन् ।" हालै तिहारमा फूलमालासमेत भारतबाट आयात गरेको समाचार पढियो । खाद्यान्न आयात गर्ने गरेको लेखिरहनै पर्दैन । नेपालमै बसेर आयातित खाद्यान्नको उपभोग गर्नु र अमेरिकामा बसेर भात खानुमा के फरक छ ? आफ्नो पौरखले कमाएको भात अमेरिकामा खाउन् वा नेपालमा किन कसैको चासो वा ईर्ष्याको विषय हुन्छ ?  स्टोरमा काम गर्नु अपमानजनक हो वा अपराधपूर्ण ? दूतावासमा भतेर खाने नेपालका नेता र पत्रकारको सूची लामै छ ।

दूतावासको भात खाएर उतैको पक्षमा लेख्नु असल कि स्टोरमा कामगर्नु असल ?  पत्रकारहरूले दलीय आधारमा विभाजित भएर राजनीतिक समाचार सम्प्रेक्षण गर्नुभन्दा स्टोरमा काम गरेर निष्पक्ष समाचार लेख्नु सम्मानजनक हुन्छ । के नेपालमा भ्रष्टाचार गरेर खानु अझै सम्मानजनक मानिन्छ ? स्टोरमा काम गरेर खानेलाई घृणा गरिन्छ ?  नेपालमा लेख लेख्न नेपालमै बसेको, नेपालकै खाएको र नेपालमै कमाएको हुनुपर्ने लेखकको आशय हो भने त्यो स्वीकार्य हुनसक्तैन । रोजगारीका लागी विदेश जाने नेपालीले नेपालमा सामाजिक कार्यमा सहयोग गर्नु, नेपाली पत्रिका पढ्नु, लेख लेख्नु, राजनीतिमा चासो राख्नु अपराध होइन । नेपालको लेखबाट स्पष्ट हुन्छ उनी अमेरिका पुगेर फर्केका पत्रकार हुन् ।

पर्यटकको रूपमा नेपालबाट अमेरिका आफ्नै खर्चमा भ्रमण गर्ने आर्थिक हैसियत नेपालका कमै पेसाकर्मीको होला । नेता, कलाकार वा पत्रकार प्रायः विदेशबाटै आएको कसैको खर्चमा अमेरिका भ्रमण गर्ने गर्छन् । कामको लागि ख्याद्यान्न भन्ने कार्यक्रमअन्तर्गत धेरै नेपालीले विदेशीको चामल र गहुँ खाएका होलान् । तिनले पनि लेख्न, बोल्न नपाउने ?

आफ्नो मानसिकताको परिचय उनले यस्ता वाक्यबाट दिएका छन् - “आफू अमेरिका आएपछि नेपालको बौद्धिक क्षेत्र शून्य भएको लागेको छ उनीहरूलाई । नेपालबाट कोही मानिस आएको थाहा पाए भने त्यसको ठेगाना पत्ता लगाएर भात खान बोलाउँछन् । देशको हालचाल सोध्छन् । त्यसपछि आफू अमेरिका आएपछि देशको अवस्था दिन–परदिन घायल भएको कन्याउँछन् । यो अमेरिका बस्ने नेपालीको प्रचलित धन्दा हो ।”

यसमा उनले कुनै वस्तुगत तर्क राखेका छैनन् । विनाआधार प्रस्तुत यस्ता वाक्यलाई अंग्रेजीमा हिप्पोक्रेसी भनिन्छ । नेपालीमा के भनिन्छ मैले लेख्नै परोइन । अमेरिका भौगोलिक रूपले विशाल छ, नेपालीहरू त्यहाँ छरिएर बसेका छन् । नेपालले  भात खाएको व्यक्तिको घर नै सम्पूर्ण अमेरिका हो भन्ने ठान्नु मानसिक दरिद्रता हो ।एउटा खलपात्रको आतिथ्यलाई सम्पूर्ण समुदायसँग जोड्ने संकीर्ण सोच लोकतान्त्रिक नेपालको बौद्धिक जगतमा हुनु लज्जाको विषय हो । कसैलाई खान बोलाउनु र हालचाल सोध्नु घृणित कार्य हो भने असल कार्य चाहिँ के हो ? देशको अवस्था असहज भएको यथार्थ नै हो । संक्रमणकाल भएकोले ६४ जना मंत्री राख्नुपरेको प्रधानमन्त्रीको भनाइ छ । विगत दस वर्षमा चीन र भारतको तुलनामा  हाम्रो आर्थिक प्रगति भएको छैन । संसारको जुनसुकै ठाउँमा बस्ने नेपाली नागरिकले आफ्नो देशमा भएको प्रगति वा दुर्गतिको विषयमा बहस गर्न कसैको अनुमति लिनुपर्दैन ।

वाक्यको अन्त्यमा उनले “धन्दा” भन्ने शब्द लेखेका छन् । “धन्दा” नेपाली शब्द होइन । दिल्ली वा मुम्बई गएर कसैलाई “धन्दावाला  वा धन्दावाली ” भनेर सम्बोधन गरे यसको अर्थ बुझिएला । अमेरिकामा बस्ने नेपालीको स्तरको विविधता छ । त्यहाँ दैनिक ज्यालादारी गर्नेदेखि वरिष्ट वैज्ञानिकसम्मको पदमा नेपाली कार्यरत छन् । विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्ने नेपालीले उलेख्य प्रगति गरेका छन् ।

तिनको क्षमाताले मागेको काम नेपालमा प्राप्त छैन । चिकित्सा र सूचना प्रविधीको क्षेत्रमा काम गर्ने पनि छन् । ती सबैलाई समेट्न सक्ने नेपालको सूचना प्रविधिको बजार छैन । माइक्रोसफ्ट र गुगलजस्ता कम्पनीमा नेपाली हुनु गर्वको विषय होइन ? अमेरिकामा कामबाट निकाल्न कुनै पार्टीको जनवर्गीय संगठनले रोक्न सक्तैन । त्यसैले पाएको काम जोगाउन अत्यन्त लगन र इमानसाथ काम गर्नुपर्छ । अवैध रूपले अमेरिका पस्ने नेपाली पनि होलान् तर तिनले आफ्नो लागत निकाल्न दैनिक १६ घण्टासम्म काम गर्नुपर्छ ।  नेपालीहरू बकबासको धन्दामा लागेको कसरी सत्य होला ?  

विषम परिस्थितिमा हुर्केकाले हुनसक्छ नेपाली पेसाकर्मी अमेरिकामा तुलनात्मक रूपले सफल छन् । यहाँ सफल नेपालीहरू स्वेच्छाले नेपाल फर्केका थुप्रै उदाहरण छन् तर आफ्नो पेसामा असफल भएको कारणले कुनै पेसाकर्मी नेपाल फर्केको एउटै उदाहरण छैन । अमेरिकामा रोजगारीका लागि भारतीय व्यापारीको पहिलो रोजाइमा नेपाली पर्छन् । कतिपय यस्ता भारतीय व्यापारीले नेपालमा डीभी परेकाको जानकारी लिएर उनीहरू अमेरिका जानुपूर्व नै रोजगारको व्यवस्था गरेका उदाहरण छन् । यो नेपालीको मेहनत र इमानदारीको परिणाम हो । यो धन्दाको प्रतिफल होइन ।     

रह्यो प्रश्न विदेशको सुविधा भोगेर नेपालको राजनीतिमा चासो राख्नु उचित हो वा होइन ? नेपालमा प्रयोग भइरहेका मोबाइल फोन, कार, बस, मोटरसाइकल वा साइकल समेत आयातित हुन् । तिनको प्रयोग सुविधाका लागि गरिन्छ । बिजुलीमा समेत भारतको भर परिएको छ । विदेशीको लगानीमा सञ्चालित संचार गृहमा समेत नेपाली संचारकर्मी कार्यरत छन् । त्यो गर्ने कि नगर्ने ? भूकम्पको बेलामा विदेशबाट ठूलो सहयोग आएको थियो ।

धुर्मुस सुन्तली फाउन्डेसनको पेजमा हेरे देखिन्छ त्यहाँ आर्थिक सहयोग गर्ने बहुसंख्यक दाता प्रवासी नेपाली नै छन् । त्यो अनुचित हो ? नेपालले आफ्नो लेखमा “जबर्जस्त, धन्दा, जुनुन, टाइट, टेन्सन “ जस्ता विदेशी भाषाका शब्द प्रयोग गरेका छन् । विदेशमा बसेर नेपालमा लेख्नुलाई आपत्तिजनक मान्नेले आफ्नो पेसामा विदेशीका शब्द  प्रयोग गर्नु उचित हुन्छ ? विदेशीले लेखेका विश्वविद्यालयका पाठ्यपुस्तक आपत्तिजनक हुन् ? बजारमा बिक्छ भन्दैमा राज्यको चौथो अंगका बरिष्ट पात्रले कुनै वर्ग, लिंग वा वर्णको विरुध्द लेख्नु शोभनीय होइन । 

नेपालले कोरिया अमेरिकाभन्दा अघि बढिसकेको नेपालीलाई थाहा नभएकोसम्म लेख्न भ्याए । नेपालका छापाहरूले कलाकार सरोज खनाल नेपाल फर्केको अनावश्यक रूपले बढी चर्चा गरेका छन् । सरोज खनाल अमेरिकामा सामान्य व्यवसाय गरेर बसेका थिए । उनी हलिउडमा सफल भएर नेपाली सिनेमाको प्रबर्धन गर्न फर्केका होइनन् । कोही अमेरिकाबाट नेपाल फर्कँदैमा राष्ट्रिय छापा र टीभीका पत्रकारले किन बढी महत्त्व दिएको होला ? अमेरिकाबाट नेपाल फर्किनु किन समाचारको विषय बन्छ ? नेपाल स्वयंले स्वर्गभन्दा रमाइलोको उदाहरणमा अमेरिका लेखेका छन् । त्यो किन होला ? 
  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC