site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्युत् विकास कि कम्युनिज्म ?
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
नारायणप्रसाद सापकोटा
विद्युत्को अभावले आर्थिक गतिविधिसमेत सुस्त भएपछि नेपाली समाज विद्युत् विकासका लागि तातेको छ । सरकार, राजनीतिक नेतृत्व, उद्यमी व्यवसायीमात्र हैन सर्वसाधारण नेपालीसमेत जलविद्युत् उत्पादनको पक्षमा देखिएका छन् । यही उत्साह र अठोट कायम रहे आगामी केही वर्षमै विद्युत्को अभाव अन्त्य भएर नेपाल आर्थिक विकासको स्वर्णयुगमा प्रवेश गर्नेछ । तर यसका लागि कम्युनिस्ट सिद्धान्तका नाममा अवलम्बन गरिने विकास विरोधी राजनीति छाडेर सबै शक्ति र समूह विकासको पक्षमा लाग्नुपर्ने हुन्छ ।
 
अरुण तेस्रो जलविद्युत् आयोजना आउन नदिएर मुलुकलाई अहिलेको अन्धकारमा धकेल्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले)कै नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । तैपनि, इमानसाथ कार्यान्वयन गर्ने हो भने यो लक्ष्य हासिल गर्न असम्भव छैन ।
 
केही यता विद्युत् उत्पादनका लागि लगानी बोर्डको सक्रियता तीव्र भएको छ । विद्युत् आयोजनाहरूलाई प्रारम्भिक सम्झौताको चरणमा प्रवेश गराउन बोर्डको भूमिका उल्लेख्य रहेको छ । राजनीतिक नेतृत्वले पनि अब विद्युत् अभावको संकटलाई गम्भीररूपमा लिन थालेको हो कि जस्तो देखिन थालेको छ । यसैले विद्युत् विकासका लागि सकारात्मक वातावरण बनेको मान्न सकिन्छ । बूढीगण्डकी, अरुण तेस्रो, पश्चिम सेती, माथिल्लो तामाकोसीलगायत दर्जनौं विद्युत् आयोजनाको निर्माणका लागि भएका प्रयासले पनि विद्युत् विकासको सम्भवना बढाएको छ ।
 
अहिले ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी समयमै निर्माण हँुदैछ । तामाकोसीको विद्युत् उत्पादन सुरु हुन अब धेरै समय नलाग्ला । यसले विद्युत् अभावको वर्तमान संकटलाई केही कम गर्नेछ । तर, विद्युत् क्षेत्रमा थप लगानी आकर्षित गर्न र तयार अवस्थामा रहेका आयोजनालाई द्रूतगतिमा अगाडि बढाउन जनदबाब भने जरुरी हुनेछ ।
 
जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी आउन नदिन विगतमा जस्तो विरोधी समूह अब सक्रिय हुनसक्ने अवस्था छैन । तर पनि लगानीको चर्चा चल्नेबित्तिकै कुनै न कुनै निहित स्वार्थी समूह सधैँ नै विरोधमा देखा परिहाल्छ । सोझा जनतालाई झुक्याएर अरू नै एजेन्डा देखाएर योजनाको विरोधमा उकास्ने गरिएको हुन्छ । विकास आयोजनाको विरोध गर्दा देखाउने र भित्री उद्देश्य सधैँ फरक फरक हुन्छन् । तर यो रहस्य सामान्य जनताले थाहा पाउँदैनन् ।
 
वास्तवमा एमालेले अरुण तेस्रो बन्न नदिएकै कारण मुलुक अहिलेको चरम विद्युत् संकटमा फसेको हो । अब एमाले लगानीका पक्षमा जाने हो भने ठूला विद्युत् आयोजना बन्ने वातावरण बन्नेछ । एमालेले भन्ने र गर्ने कुरामा फरक नगर्ने हो भने अब उसलाई विकासको पक्षमा आएको मान्नुपर्ने हुन्छ ।
 
नेपाली कांग्रेस त यसैपनि विकास आयोजनामा वैदेशिक लगानीकै पक्षमा थियो र छ । आयोजनाको सोझै विरोध नगरेर विदेशी लगानी आउन दिन हुँदैन भन्नु पनि यथार्थमा आयोजना रोक्नु नै हो । कारण, ठूला आयोजनामा वैदेशिक लगानी अपरिहार्यजस्तै हुन्छ । आगामी दिनमा एमालेका थप गतिविधिले हिजोको विकास विरोधी छाप मेटाउन खोजेको हो कि होइन भन्ने स्पष्ट हुनेछ । अब माओवादीले कुनैपनि नाममा विकास आयोजनामा अवरोध नगर्ने व्यावहारिक प्रतिबद्धता गर्ने हो भने विकासका लागि बाटो सहज हुनेछ । मुलुकलाई अन्धकार युगमा धकेल्नेमा माओवादीका विभिन्न घटकहरू एमालेपछि दोस्रो तहमा छन् । माओवादीले राजनीतिका नाममा मान्छे मार्ने कामसँगै विकास आयोजना भत्काउने र अगाडि बढ्न नदिने पनि गरेको छ । अझै पनि माओवादी विकास आयोजनाका पक्षमा सकारात्मक छ भन्न सकिँदैन ।
 
विद्यालय खोलेर शिक्षा दिए राणा शासन अन्त्य हुन्छ भन्ने राणाकालीन सोचजस्तै जनतालाई विकास र शिक्षाको अवसर दिए समर्थन र भोट बैंक गुम्छ भन्ने कम्युनिस्ट मान्यता नै मुलुकको विकासका लागि अवरोध हो । विकास हुन नदिएर अज्ञान र अभावमा रहेका युवामात्र कम्युनिस्ट पार्टीप्रति आकर्षित हुन्छन् । चेतना र समृद्धिको निषेध गर्ने कम्युनिस्ट राजनीति बन्द भएमात्र मुलुक विकसित हुने हो ।
 
देशमा कामको अवसर नदिने तर खोक्रो ‘राष्ट्रवाद’को नारा लगाइरहने आडम्बर कम्युनिस्टहरूले छोडेका दिन नेपाल विकासको युगमा प्रवेश गर्नेछ । ‘राष्ट्रघात’ स्वदेशमा रोजगारीको अवसर सृजना गर्न नदिनु पो हो । यस्तो द्वैध चरित्र र आडम्बर भएका विकास विरोधीको पहिचान जनताले गर्ने दिन धेरै टाढा छैन । त्यसपछि बल्ल देशको चौतर्फी विकास हुनेछ ।
 
नेपालको विद्युत् अब त दुवै छिमेकी भारत र चीनलाई बेच्न सकिनेछ । भारतसँग त विद्युत्को लेनदेन सुरु भइसकेको छ । अब चीनसँग पनि सुरु हुने वातावरण बनेको छ । विद्युत् निर्यात गरेर नेपाल भारतसँग बराबरीमा उभिन सक्नेछ । दिल्लीको बिजुलीको स्वीच काठमाडौंमा भयो भने भारतले पनि नेपाललाई हेप्न सक्नेछैन । यसका लागि नेपालसँग रहेको एउटैमात्र विकल्प जलविद्युत् उत्पादन गरी निर्यात गर्नु हो । सहजरूपमा सस्तो र भरपर्दो बिजुली पाइने भयो भने भारत र चीनको बजारलाई लक्षित गरेर नेपालमा ठूला उद्योग स्थापना गर्न विश्वभरका लगानीकर्ता आकर्षित हुनेछन् । त्यसपछि नेपाली युवा रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यताबाट मुक्त हुनेछन् ।
 
विद्युतमा लगानीका लागि अहिले भारत र चीनका लगानीकर्ता आउँदा राजनीतिक दलहरूले विवाद गर्ने गरेकाछन् । जहाँका लगानीकर्ता आए पनि आयोजना नेपालमै बन्ने हो । विवादको वास्तविक कारण बुझ्नै सकिंदैन । पूर्वाधारमा लगानी गर्नेले त्यसलाई उठाएर लैजान सक्दैन । जसले लगानी गरेपनि संरचना नेपालीकै हुन्छ, नेपालकै भूभागमा रहन्छ । त्यसैले विद्युत्को क्षेत्रमा लगानी जहाँबाट आए पनि नेपालले स्वागत गर्नुपर्छ । यसो गर्न सकिएमा मात्रै आत्मनिर्भर हुनसकिन्छ ।
 
अहिले नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य छ । जलविद्युत् विकासमा कम्युनिस्टहरूले निषेधको राजनीति छाडे भने अबको १० वर्षभित्रै यो स्थान जलविद्युत् कम्पनीले लिनेछन् । विगतमा बैंक तथा वित्तीय संस्था स्थापना गरी सेयर किनबेच गरी लगानीको पाँच गुणासम्म हातमा पर्न थालेपछि पैसा हुनेहरू यस क्षेत्रतर्फ आकर्षित भएका थिए । अब यस्तै अवस्था जलविद्युत् कम्पनीमा आउने छ । सेयर बजारमा पुगेका जलविद्युत् कम्पनीको मूल्य अहिले नै उच्च हुन थालेको छ ।
 
प्रमुख राजनीतिक दलहरू जलविद्युत् आयोजना बन्न दिएर मुलुकलाई अन्धकार मुक्त गर्ने पक्षमा उभिने हो भने विश्वभरबाट नेपालमा लगानी ओइरिनेछ । तर, यसो नगर्ने वा हुन नदिने दललाई मतदान गर्नेको संख्या भने धेरै कम हुनेछन् । विकासको सधैँ विरोध गरेर सबैलाई शङ्का र निषेध गर्ने कम्युनिस्ट राजनीति लामो समय दिक्नेछैन ।
 
(सापकोटा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष हुन्)
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC