site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
ग्रेडिङ र अंकबिच भिन्नता छैन
Agni Group
Global Ime bank
डा. विद्यानाथ कोइराला
 
परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका परीक्षाको नतिजा भर्खरै प्रकाशित गरेको छ । प्रवेशिका परीक्षाको इतिहासमा यसपटक अक्षरांकन पद्धति अर्थात् ग्रेडिङ प्रणालीबाट परीक्षाफल प्रकाशित भयो । त्यसकारण ग्रेडिङको विषयमा सर्वत्र चासो हुनु स्वाभाविकै हो । यस विषयमा अझै पनि अन्योलता देखिएका छन् । ८३ वर्षे एसएलसीको इतिहासमा अन्तिम पटक भएको भनिएको एसएलसी अक्षरांकन प्रणालीको माध्यमबाट गरेर पनिकाले भद्रगोल गर्यो भन्नेहरू पनि नभएका होइनन् । तथापि यो विश्वव्यापी अभ्यास नै हो । हामीलाई पनि विश्वबैंकले भन्यो– “तिमीकहाँ पनि ग्रेडिङबाटै प्रवेशिका परीक्षाको नतिजा प्रकाशित गर, त्यसो गर्यौ भने आन्तरिक सक्षमता देखिन्छ । त्यसबाट कक्षा छोड्ने, विद्यार्थी फेल हुने र उनीहरूमा विभिन्न मनोवैज्ञानिक समस्याहरू देखिने कुराहरू हुँदैनन् ।” त्यसमा शिक्षा मन्त्रालयका पदाधिकारीहरू सहमत भएपछि यो लागु भएको हो । यस विषयमा धेरै भ्रम पाल्न जरुरी छैन ।
 
यो लागु हुँदा अनौठो मान्नुपर्ने कुरा थिएन । हाम्रा शिक्षकहरूका संस्कार, शिक्षण–सिकाइ क्रियाकलाप र पठनपाठन पद्धति ग्रेडिङ–सुहाउँदो थिएन । जसका कारण ग्रेडिङ प्रणालीप्रति शिक्षक–विद्यार्थी दुवैको भ्रम निवारित हुन सकेन । यसबिच सुुधारात्मक र उदार कक्षाको नीति अवलम्बित गर्न खोजियो । त्यसमा पनि शिक्षकहरूले उदार कक्षाको नीति मात्रै लागु गरे र कक्षा चढाउँदै लगे । त्यसले हाम्रो समग्र शैक्षिक गुणस्तरीयतामा ह्रास ल्यायो ।
 
यो लेटर–ग्रेडिङ प्रणालीमा पनि शिक्षकले ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ ग्रेड छुट्ट्याएका होइनन् । उनीहरूले नम्बरकै आधारमा उत्तरपुस्तिकाको परीक्षण गरेका हुन् । शिक्षा मन्त्रालयका अधिकारीहरूले पछि यसलाई ग्रेडिङ प्रणालीमा रूपान्तरित गरेका हुन् । यो चाहिँ ‘भात पकाउने एउटाले बाँड्ने अर्काले’ भने जस्तो भयो । यदि शिक्षकलाई ग्रेड छुट्ट्याउन दिइएको भए उनीहरूले ग्रेडिङका आधारमा विद्यार्थीका गुण–दोष पहिचान गर्न सक्थे र आगामी परीक्षामा ‘यसमा राम्रो गर, त्यसमा सुधार गर’ भन्ने मौका पाउँथे ।
 
हाम्रा विद्यार्थी ज्यादा लचिलोपना खोज्छन् । ‘ई’ आए पनि चाहेकै विषय पढ्ने उनीहरूको रहर हुन्छ । ग्रेडिङ प्रणालीले के खतरा निम्त्याउन सक्छ भने– जसरी सुधारात्मक कक्षानीतिअनुरूप कक्षा चढाउँदै लैजाँदा केही नजानेका विद्यार्थी कक्षा सातसम्म पुग्न सक्छन् त्यसैगरी ती विद्यार्थी कक्षा १२ सम्म त पुग्ने होइनन् ? यसकारण यसबाट अहिल्यै धेरै हौसिनुपर्ने कुरा छैन । फरक यत्ति हो कि हिजो अंकमा आउँथ्यो, अहिले एबीसीडीमा आएको छ । अन्तर केही छैन– ग्रेडिङ प्रणाली लागु गर्नै हुँदैनथ्यो र गरेर के–केन गर्यौं भन्ने दुवै अतिवादी सोच हुन् ।
 
‘ए’ ‘बी’ ‘सी’ ‘डी’ ग्रेड र अंक हाल्नुमा कुनै तात्त्विक अन्तर छैन । हामीसँग केही त्यस्ता अन्तर्राष्ट्रिय उदाहरणहरू पनि छन् । डेनमार्कको डेनिस विश्वविद्यालयले १ देखि १३ अंकमा परीक्षा लिन्छ । त्यस्तै क्यानेडियन विश्वविद्यालयले ९ अंकमा परीक्षा लिन्छ । उनीहरूले पनि के भन्छन् भने– ६ अंक ल्याउनेले यो पढ, ७ ल्यायौ भने यो पढ्न पाउँछौ । क्यानेडियन विश्वविद्यालयले एकदेखि ९ अंकमा ग्रेडिङ छुट्ट्याउँछ । उसले आठभन्दा माथि ल्यायौ भने विद्यावारिधि गर्न पाउँछौ भनेर वर्गीकरण पनि गरेको हुन्छ । त्यस्तै डेनिस विश्वविद्यालयले १० भन्दा माथि ल्याउनेलाई विद्यावारिधि गर्न पाउँछौ भन्छ । यसको तात्पर्य के हो भने ग्रेडिङअन्तर्गत ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ भनेर नै छुट्ट्याउनुपर्छ भन्ने होइन ।
 
त्यसको एउटा रूपान्तरीयता हुन्छ । भन्नुको तात्पर्य अक्षर छ भने अंकमा र अंक छ भने अक्षरमा पनि रूपान्तरित गर्न सकिन्छ । ग्रेडिङ प्रणालीले गर्दा विभिन्न विषयमा कमजोर भएकाहरू पनि कक्षा ११ मा पुग्ने अवस्था छ । ग्रेडिङ प्रणालीमा कमजोर ठहरिएका विद्यार्थीहरूलाई कक्षा ११ मा सुधारात्मक कक्षामा हाल्न पनि सकिन्छ ।
 
त्यसका लागि उच्च माध्यमिक शिक्षा अलि लचिलो हुनुपर्छ । उसले तिन महिना समय दिएर कमजोर विद्यार्थीलाई सुधार गर्न सक्छ । मैले यति जीपीए प्राप्त गर्न नसकेकोले यो विषय पढ्न पाइन भनेर विद्यार्थी निराश हुने, ड्रप आउट हुने भय पनि हुँदैन । उच्च माध्यमिक विद्यालयले ११ कक्षा पनि पढाउन र माध्यमिक तहमा कमजोर देखिएका विषयलाई सुधार पनि गर्न सक्छ । यदि विद्यार्थी नियमित कक्षामा जान सक्दैन भने खुला शिक्षा पनि राखिदिनुपर्छ । किनभने हामीकहाँ पढ्ने मन हुँदाहुँदै पैसा र समयको अभावले कक्षा छुटाउने विद्यार्थीको संख्या ज्यादा छ ।
 
अर्को– ग्रेडिङ प्रणालीलाई टोफेल, जीआरईका परीक्षा जस्तै अझ विश्वसनीय बनाउन सकिन्छ । जहाँ कुन विषयमा कति आयो भन्ने नभएर समग्र विषयमै कति आयो भनेर मूल्यांकन गरिन्छ ।
 
विद्यार्थीलाई अनेक विकल्प खुला गरिनुपर्छ । कुनै विद्यार्थी अब म पढ्दिन, कुनै सिप सिक्न चाहन्छु भन्छ भने उसलाई त्यस्तै प्राविधिक र व्यावसायिक तालिमहरूको व्यवस्था गरिनुपर्छ । हामीकहाँ सीटीईभीटी छ, त्यसले दुईवटा बाटा खुला गरेको छ । एउटा– विद्यार्थीहरूलाई सिपमूलक र व्यावसायिक तालिम दिन्छ र अर्को– प्राविधिक एसएलसीको पनि व्यवस्था गरेको छ । जसले गर्दा विद्यार्थीहरूले आफ्ना बाटा तयार गर्न पाउँछन् । सीटीईभीटीको क्षमता अहिले २६/२७ हजार विद्यार्थी मात्रै भएकाले यसमा विस्तार गरिनुपर्छ ।
 
त्यसका लागि सीटीईभीटीलाई पर्याप्त बजेट र जनशक्तिको व्यवस्था गरिनुपर्छ । त्यसो गर्न सकियो भने विद्यार्थीका क्षमता र सिप दुवैमा निखारता ल्याउन सकिन्छ र त्यो राष्ट्रनिर्माणमा सहयोगी पनि हुन सक्दछ ।
 
जति नयाँ–नयाँ नीतिनियम लागु गर्दै गयो त्यति शिक्षाको औसत गुणस्तरीयता घट्दै गएको छ । त्यसलाई शिक्षा मन्त्रालयको ईआरओले पनि पुष्टि गरेको छ । त्यसकारण नीतिनियमको निर्माणसँगै विभिन्न छेकबार पनि हालिनुपर्छ, जसबाट कार्यान्वयन र परिणाममा पनि सकारात्मकता देखियोस् ।
 
हामीकहाँ दश जोड दुई सिंगल ट्र्याक पद्धतिमा छ । त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह फेज आउट भएपछि उच्च माध्यमिक शिक्षाले त्यही पद्धतिको अनुसरण गरेको छ । त्यसले विज्ञान संकाय पढ्ने विद्यार्थीले संगीतमा रुचि हुँदाहुँदै पनि पढ्न पाएको छैन । अरू थुप्रै यस्ता उदाहरण छन् जसमा हामीले ध्यान पुर्याउनुपर्छ । त्यसअनुुसारका साधनस्रोतको जोहो गर्दै जानुपर्छ । शिक्षामा पारस्परिक अन्तर्सम्बन्ध हुनैपर्छ ।
 
कलेजमा भर्ना हुन आउने विद्यार्थीलाई आवश्यक परामर्श दिने व्यवस्था हामीकहाँ छैन । विदेशतिर त छुट्टै परामर्शदाता नै राख्ने अभ्यास छ । तिनले विद्यार्थीका ज्ञान, सिप र क्षमतामुताबिकका विषय पढ्न सल्लाह दिने गर्दछन् । तर हामीकहाँ त्यो व्यवस्था नै नभएकोले अब त्यसको सुरुआत गरिनुपर्छ । त्यसका लागि कलेज आफैंले पनि परामर्शदाता राख्नुपर्छ । नभए सञ्चारमाध्यमले पनि त्यो भूमिका निर्वाह गर्न सक्छ या सरकारले पनि त्यसको व्यवस्थापन गर्न सक्छ । एउटा तह पार भएपछि विद्यार्थी महिनौँ के पढ्ने र कसो गर्नेमै अल्झिइरहेका पाइन्छन् ।
 
अहिले प्रवेशिका परिक्षाको नतिजा निकाल्नुअगावै परीक्षा नियन्त्रण कार्यालयले यो ग्रेड अथवा यति जीपीए आउने विद्यार्थीले यो विषय पढ्ने भनेर छुट्ट्याइसकेकाले त्यसले कुन विषय पढ्ने भन्ने अन्योलता हटिसकेको छ । तथापि विद्यार्थीलाई अर्को समस्याले गाँजेको छ, त्यो हो– कुन कलेजमा पढ्ने भन्ने । त्यसमा विद्यार्थी स्वयं मुख्यतया आफ्नो पहुँच, क्षमता र आर्थिक हैसियतबारे प्रस्ट हुनुपर्दछ । पछिल्लो समयमा कलेजहरू शिक्षामुखीभन्दा पनि प्रचारमुखी ज्यादा देखिएकाले उनीहरूका कुरालाई मात्र विश्वासका आधार बनाइनु हुँदैन । त्यहाँ पढेका अग्रज विद्यार्थी, दाइ–दिदीहरूसँग सल्लाह लिन र सोधपुछ गर्न पनि सकिन्छ ।
 
कलेजको छनोट गर्दा बालबच्चा र अभिभावकबीच प्रशस्त संवाद हुनुपर्छ । बालबालिकाका रुचि, ज्ञान र क्षमताका बारेमा अभिभावक जानकार हुनुपर्छ । त्यसो भयो भने संवादहीनताको अवस्था रहँदैन र अन्तद्र्वन्द्वको सृजना पनि हुँदैन । बालबच्चा सही बाटामा हिँड्छन् । पछिल्ला समयमा यस कुराको कमी देखिएको छ । त्यसै कारण पनि प्रवेशिकामा राम्रो स्थान हासिल गरेका किशोरकिशोरीको पढाइ माथिल्ला तहमा पुगेपछि खस्कन थाल्छ । त्यसतर्फ अभिभावक बेलैमा सजग हुनुपर्छ ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC