बाह्रखरी
sticky  ncell
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
उच्च रक्त चाप (हाइ ब्लडप्रेसर) बारे जान्नै पर्ने कुरा डा. मिलनप्रकाश श्रेष्ठ
बाह्रखरी - मंगलबार, भदौ ७, २०७३
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement
डा. मिलनप्रकाश श्रेष्ठ 
आधुनिकीकरणसँगै संसारमा नयाँनयाँ समस्या पनि उत्पत्ति हुँदै गएका छन् । रक्तचाप अर्थात् ब्लडप्रेसर यसैको एउटा उदाहरण हो । पहिले आक्कलझुक्कल देखिने ब्लडप्रेसरको समस्या हाल प्रशस्तै देखिन थालेको छ । कतिपय २० – ३० वर्षका युवाले समेत यसको नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये २ – ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन । 
बदलिँदो जीवन शैलीसँगै मानिसहरूमा विलासको रहर पनि बढेको छ । मीठामीठोे खानुपर्ने, मांसाहारी खाना बढी रुचाउने, रक्सी, सुर्तीजन्य नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिँदै गएको देखिन्छ । फलस्वरूप हृदयाघात, प्यारालाइसिस् (मस्तिष्कघात), मिर्गौलामा तथा आँखामा क्षतिआदि ह्वात्तै बढेको पाइएको छ । 
ब्लडप्रेसर सुन्दा सामान्य लागे पनि यसका भयानक असरबारे पर्याप्त जानकारी नभएर हो कि खासै महत्व दिइएको देखिँदैन । ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका, भोगेकाले मात्रै यसको भयावहता बुझेका हुन्छन् । ब्लडप्रेसरको औषधि खायो भने यस्तो हुन्छ रे, जिन्दगीभर खानुपर्छ रे, साइडइफेक्ट गर्छ रे भन्नेजस्ता अनेकौं भनाइ सुनिन्छन् तर औषधि नखाई सर्धै हाई ब्लडप्रेसर लिएर हिँड्दा के कस्ता खतरा हुन्छन् भन्नेमा भने खासै ध्यान दिइएको देखिँदैन । यस लेखमा ब्लडप्रेसरसम्बन्धी बिरामीका धारणा र जिज्ञासामा प्रष्ट पार्ने जमर्को गरेको छु । 
  • केही भएकै छैन किन औषधि खानु ?
ब्लड पे्रसर उच्च भएका बिरामी सबैमा लक्षण देखिनैपर्छ भन्ने हुँदैन । कसैलाई माथिको (सिस्टोलिक) प्रेसर १५० पुग्नासाथै टाउको दुख्ने, रिंगटा लाग्ने हुनपुग्छ भने कोही कोहीमा २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुनसक्छ । बिरामीहरू प्रायः अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा हाई देखिएपछि डाक्टरकहाँ पुग्छन् । कतिपय अवस्थामा प्रेसर हाई भएर पनि लक्षण नदेखिनु लक्षण देखिने प्रेसरभन्दा खतरनाक हुन सक्छ । किनभने लक्षण नदेखिँदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या गराउन सक्छ । केही लक्षण नदेखिए पनि निरन्तर हाई प्रेसरले शरीरका अंगमा पुर्याउने क्षति पुर्याइ नै रहेको हुन्छ – विशेषगरी मुटु, मिर्गाैला, आंखा र मस्तिष्कमा । यस्ता प्रेसर हाई भएर पनि लक्षण नदेखिने बिरामी नै धेरैजसो एकै चोटि हृदयघात, मस्तिष्कघात भइसकेको अवस्थामा आउने गरेको भेटिएको छ । त्यसैले आफ्नो ब्लडप्रेसर समय समयमा जँचाइरहनु आवश्यक छ । साथै प्रेसर हाई भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधि सेवन गर्नु आवश्यक छ । 
  • औषधि खानैपर्छ र? औषधि खाएपछि त सधैं खानुपर्छ रे होइन ?
मानिसहरू अरु समस्याका लागि औषधि खान खासै डराउँदैनन् तर ब्लडप्रेसरको औषधि भनेपछि हच्किहाल्छन् । ब्लडप्रेसरले गर्न सक्ने नोक्सानी बारे पर्यात ज्ञान नभएकाले नै मानिसहरु यति साह्रो हच्केको हुनसक्छ । हुनत, ब्लडप्रेसर धेरै हाई नभएको र शरीरका अंगमा क्षति नपुगिसकेको अवस्थामा पहिलोपल्ट देखिएको ब्लडप्रेसरका लागि केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर घटाउने कोसिस गर्न सकिन्छ । तर, यस्ता उपाय अपनाउँदा पनि ब्लडप्रेसर उच्च रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन । अरु उपाय भनेको खानामा नुन, चिल्लोको मात्रामा कमी गर्ने, दिनहुँ शारीरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने आदि हुन् ।
  • औषधि बन्द गर्न मिल्छ र ?
औषधिको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लडप्रेसरलाई नियन्त्रणमा राखेर शरीरका अन्य अंगमा क्षति पुग्नबाट यसले बचाइरहेको हुन्छ । नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाहबमोजिम खानामा परहेज, नियमित व्यायाम आदि गर्दै गएमा कुनै समय ब्लडप्रेसर घट्दै पनि जानसक्छ । बारम्बार नाप्दा पनि आवश्यकभन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाहलिएर खाने औषधिको मात्रा कम गर्ने वा औषधि नै बन्द पनि गर्न सकिन्छ । तर, औषधिको मात्रा घटाउने वा खान छोड्ने निर्णय गर्नुभन्दा पहिले डाक्टरको सल्लाह भने लिनै पर्छ । 
  • औषधिले त किड्नी खराब गर्छ रे नि !
‘साइड इफेक्ट’ सबै औषधिको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मिर्गाैला खराब गर्छ । खानेकुराको पनि आफ्नै किसिमको साइड इफेक्ट हुुन्छ । चिनी, गुलियो धेरै खाए मोटोपना बढ्छ, नुन धेरै भए प्रेसर बढ्छ । चिल्लो धेरै खाए रगतमा कोेलेस्ट्रोल बढ्छ र त्यसबाट मुटुरोगको खतरा हुन्छ । तर, यसो भनेर खानेकुरै नखान त सकिँदैन । खाना किन खान्छौं – स्वस्थ रहन । त्यस्तै ब्लडप्रेसरको औषधि पनि स्वस्थ रहनै खाने हो । ब्लडप्रेसरका औषधिको पनि आफ्नै किसिमका साइड इफेक्ट छन् । तर, ती सबै साइड इफेक्ट सधँ रै सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइड इफेक्ट छोटो समयमै देखापर्छन् भने कुनै २०, – ३० वर्ष लगातार औषधि सेवनपछि देखिन्छन् । डाक्टरको सम्पर्कमा बसेर डाक्टरकै सल्लाहअनुसार नियमित जाँच गरिरहेमा साइड इफेक्ट देखिन थालेको तुरन्तै पत्ता लाग्छ । साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधि अदलबदल गरेर साइड इफेक्टले गर्ने क्षतिबाट जोगिन सकिन्छ । तर, साइड इफेक्ट गर्छ भनेर औषधि सुरु नगरी सँधै ब्लडप्रेसर हाई लिएर बस्दा प्यारालाइसिस, हृदयघात हुने, मिर्गाैला कामै नलाग्ने अवस्थामा पुग्ने, आंखाको ज्योति गुम्नेजस्ता भयानक असर हुनसक्छन् । यस्ता असरको तुलनामा औषधिको साइड इफेक्ट महत्वहीन हुन्। 
  • औषधि खाएपछि पनि रक्सी, चुरोट छोड्नु पर्छ र ?
रक्सी, चुरोट, सूर्तीसेवनले राम्रो गर्छ भनेर कतै लेखेको देख्नुभएको छ ? यस्ता कुराको सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिक स्थिति सबैतिर क्षतिबाहेक केही गर्दैन । धूमपान गर्ने मानिसलाई हाइ ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सरलगायत हृदयघात हुने सम्भावना रहिरहन्छ । जाँड, रक्सी खाँंदा हामीमध्ये कति जनाको एउटा सीमामा रहेर खाने बानी छ ? मैले देखेको ब्लडप्रेसरका धेरै बिरामीमध्ये ५ प्रतिशतमात्र संयमी भेटेको छुु । रक्सी खाएपछि बेहोसै हुनेगरी खानुपर्ने, रक्सीसँग भुटेको तारेको, पीरो, नुनिलो स्न्याक्स नै चाहिने तथा ड्रिंक गर्दा चुरोट खानुको छुट्टै मजा हुने बिरामीहरू नै बताउँछन् । रक्तचाप बढाउनुमा धूमपान तथा रक्सीको पनि उत्तिकै योगदान रहन्छ । त्यसैले विदेशमा गरिएको केही अध्ययनमा केही मात्रामा अल्कोहोल सेवन राम्रो भने पनि ब्लडप्रेसरका बिरामीले नपिउनु नै ठीक हुन्छ । 
  • रक्सी खान्न २ –४ बोतल बियरमात्र पिउने हो ।
अधिकांश मानिस रक्सी भनेको ह्विस्की मात्रै हो भन्ने ठान्छन् । तर बियर, वाइन, रम, जिन, भोड्का, ब्रान्डी यी सबै रक्सीकै वर्गमा पर्छन् । फरक यत्ति हो बियर, वाइन आदिमा अल्कोहेलको मात्रा कम हुन्छ, अरूमा बढी ।
  • मैले यो ५ र ५० गरी ५५ मिलिग्राम खाँदै छु । तर पनि प्रेसर घट्दैन ।
ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधि मानिसको शारीरिक बनावट, ओजन, साथमा रहेको अरू समस्या, खानपान, व्यक्तिले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधिको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई, तीनवटा त्यो पनि दिनको दुई पटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । ब्लडप्रेसरको औषधि कति मात्राको खाने भन्ने व्यक्तिपिच्छे फरक हुन्छ । 
 
ब्लडप्रेसरको औषधि कुनै २.५ मिलिग्रामबाट सुरु हुन्छ, कुनै २५ बाट त कुनै २० बाट । एउटा किसिमको औषधिको २.५ मिलिग्राम  बराबर अर्को किसिमको औषधिको २५ मिलिग्राम पनि हुनसक्छ । त्यसैले २५ मिलिग्राम भन्दैमा एकदम ‘हाई डोज’ भन्ने बुझ्नुहँंदैन । 
  • अँ त्यो रातो पान आकारको खाएँ । अरू त खाएको छैन । 
विशेषगरी घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका बिरामीमा तथा ब्लड प्रेसरका साथै अन्य समस्याको पनि औषधि खाने बिरामीमा यस्तो समस्या देखिन्छ । एउटाभन्दा धेरै गोली खानुपरेको अवस्थामा यस्ता बिरामी झुक्किएर एकपटक खानुपर्नेमा दुईपटक खाएको, खानुपर्ने चाहिँ नखाएको, राति खानुपर्ने बिहान खाएको, खानापछि खानुपर्ने अगाडि खाएको जस्ता समस्या सामान्य हुन् । अझ कति त औषधि सकिएपछि ल्याइदिने मान्छे नभएको भनेर औषधि खानै बन्द गरेर पनि आउँछन् । यसको कारण रक्तचाप अनियन्त्रित भइदिन्छ र फलस्वरूप, कतिपय अवस्थामा प्यारालाइसिस, हृदयघात भएका अवस्थामा पनि बिरामी आउँछन् । यस्तो कुरामा घरमा भएका पढेलेखेका मानिसको जिम्मेवारी हुन्छ । त्यस्ता बिरामीलाई नामभन्दा पनि औषधिको आकार, रंग तथा साइजको जानकारी बढी हुन्छ । एकभन्दा बढी औषधि खानुपरेको अवस्थामा हरेक औषधिलाई छुट्टाछुट्टै सानो सानो बट्टामा राखेर यो बट्टाको यतिखेर खाने भनेर बुझाउने गरेमा गल्ती हुने समस्या कम हुन्थ्यो ।
  • के गर्नु बिजनेस म्यान परियो, साँझ त यसो बस्नै पर्यो नि !
व्यापारी व्यवसायीे धेरैको निहुँ यही हुन्छ । ‘विजनेस’ पनि चलाउनैपर्यो, विजनेस चलाउन पार्टीको मन राख्नैपर्यो । अनि मन राख्न यसो बसिदिनैपर्यो । अनि उनीहरूको कामको कुनै समय नै हुँंदैन । यता पैसा उठाऊ, उता झगडा गर, यता सामान सप्लाइ, उताबाट सामान छुटाउ, बिहान उठेदेखि फोन, अफिसमा मिटिड, यता जाऊ, उता जाऊ, यता कराऊ, गाली गर, बेलुकी अफिस छुटेपछि पार्टीसँग मिटिड, राति घर आयो, नसुतुन्जेल फेरि फोन । सुत्यो, बिहान उठ्नेबित्तिकै उही दैनिकी । न शनिवार, न बिदा । न शारीरिक आराम, न मानसिक आराम । सधै तनावपूर्ण वातावरण, आरामको कमी, शारीरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जाँचको कमी भएपछि तिनमा ब्लडप्रेसर, सुगरको समस्या देखापर्छ । त्यसैको कारण पछि गएर हृदयघात, पक्षघातजस्ता भयानक समस्या भोग्नुपर्छ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन्, स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा पाउँछन् तर पनि स्वास्थ्य परीक्षणका लागि समय छुट्याउन सक्दैनन् । 
  • मेरो घर छेउको दाइलाई अलि अलि प्रेसर छ भन्थ्यो, आज त हिंँड्दा हिंँड्दै ढलेछ, अब त औषधि सुरु गर्नैै पर्ने भयो । 
कतिपय अवस्थामा बिरामी जतिसुकै सम्झाउँदा पनि औषधि सेवन गर्न राजी हुंँदैनन्। तर, जब छरछिमेकमा, आफन्तमा कोही ढलेको, प्यारालाइसिस भएको, हृदयघात भएको अथवा कसैको स्वास्थमा ब्लडप्रेसरको असर परेकोे प्रत्यक्ष देख्छन् त्यसपछि बिरामी पूर्ण तनावमा आउँछन् र जतिसक्दो छिटो औषधि सुरु गरिदिन डाक्टरलाई अनुरोध गर्छन् । 
  • प्रेसरको औषधि सुरु गरेको, चक्कर आएर उठ्नै सकिन
ब्लडप्रेसरको औषधि सुरु गर्दा एकैपटक ठूलो मात्रामा सुरु गरिँंदैन । एउटा मात्राबाट सुरु गरेर केही दिनपछि फेरि रक्तचापको मात्रा हेरेर औषधिको डोज आवश्यकतानुसार घटबढ गरिन्छ । त्यसैले औषधि सुरु गरेको केही दिनमा रक्तचाप धेरै कम पनि हुनसक्छ वा औषधिको डोज कम भएर रक्तचाप उच्च नै रहिरहन पनि सक्छ । साथै औषधि सुरु गर्नासाथ केही साइडइफेक्ट भइहाले औषधि बदल्नुपर्ने पनि हुन्छ । त्यसैले औषधि सुरु गरेपछि डोज मिलाउनुपर्ने भएकाले रक्तचाप नियन्त्रणमा नआएसम्म आवश्यकतानुसार आफ्नो डाक्टरको सम्पर्कमा बस्नु नै राम्रो हुन्छ । 
  • प्रेसरको औषधि खाएपछि खुट्टा सुन्निन थाल्यो 
माथि भनिएजस्तै ब्लडप्रेसरको औषधिका पनि केही साइड इफेक्ट हुन्छन् । कुनै औषधि खाँदा खुट्टा सुन्निने समस्या हुनसक्छ । कुनैले मुटुको ढुकढुकी बढाउन सक्छ । कुनैले ढुकढुकी चाहिनेभन्दा कम गराउनसक्छ । ब्लडप्रेसरकै कुनै औषधिले सुख्खा खोकी लाग्ने गर्छ । कुनै औषधि सुरु गरेपछि पहिले नहुने स्वँंस्वाँ सुरु भएको हुनसक्छ । कुनै औषधिले मिर्गाैलामा असर पार्न पनि सक्छ । एक किसिमको औषधिले लोग्ने मानिसको लिंगको उत्तेजनामा कमी, यौनेच्छामा कमी आउने आदि समस्या पनि गर्नसक्छ । ब्लडपे्रसरको औषधि सुरु गरेपछि पहिले नभएका समस्या देखापरेजस्तो लागे आफ्नो डाक्टरसँग सम्पर्क राखिहाल्नुपर्छ । साइड इफेक्ट औषधि खानासाथै सबैलाई सधैँ हुने चाहिँ होइन ।  
 
त्यसैले ब्लडप्रेसरको औषधि विशेषज्ञ डाक्टरलाई जँचाएर मात्र सुरु गर्नुपर्छ । कुनै जांँच नगराई औषधि पसलबाट सिधै किनेर खाने गर्नुहुंदैन । साथै औषधि सुरु गरेपछि ब्लडप्रेसर ठीकै रहिरहे पनि तथा शारीरिक र मानसिक रूपमा ठीकै लागे पनि कम्तीमा १५ दिनमा एकचोटि ब्लडप्रेसर नाप्ने बानी बसाल्नैपर्छ र डाक्टरसँग कम्तीमा ३ महिना र बढीमा ६ महिनामा एकचोटि भेट्ने गर्नैपर्छ ।  
  • प्रेसरको औषधि खानथालेको २ वर्ष भयो, सबै ठकै थियो, किन जाँच्नुपर्यो र ?
धेरै बिरामी औषधि सुरु गरेपछि शरीर आराम भएको महसुस भएमा नियमित औषधि खाइरहे पनि डाक्टरसँग वर्षौसम्म जांँच गराउदैनन् न त पटकपटक रक्तचाप जँचांएरै हेर्छन् । कारण सोध्दा औषधि सुरु गरेपछि आफूलाई आराम भएको, कुनै नयाँं समस्या नआएको, घर टाढा भएर आउने मौका नपाएको जस्ता बहाना बताउँछन् । 
 
माथि भनिएजस्तै ब्लडप्रेसर आफैले शरीरका विभिन्न अंगमा असर पुर्याइरहेको हुन्छ । त्यसमाथि नियमित औषधि खानेलाई औषधिको साइडइफेक्ट पनि हुनसक्ने जोखिम रहन्छ । आफूलाई नयाँं समस्या केही नभए डाक्टरसँग नियमित कम्तीमा छ महिनामा एकचोटि जाँंच गराउने गरे शरीरमा कुनै किसिमको हानिनोक्सानी हुनलागेको भएमा तुरन्त पत्ता लाग्छ र भविष्यमा हुनसक्ने क्षतिबाट जोगिनसकिन्छ । 
  • प्रेसरका बिरामीले के के जाँच नियमित गर्नुपर्छ ?
प्रेसरका बिरामी तथा प्रेसरको औषधि खाने बिरामीले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मिर्गौला तथा पिसाबको जांच तथा कोलेस्ट्रोलको जँंच कम्तीमा ३ बढीमा ६ महिनामा नियमितरूपमा  गरिरहनुपर्छ । साथै इसीजी, इको जांच, मुुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहोर्याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहेनरहेको पनि पत्ता लाग्छ। सबभन्दा महत्वपूर्ण शरीरमा कुनै साइड इफेक्ट भो कि पत्ता पनि लाग्छ। 
  • यो डिजिटल मेशिनले जांचेको ठीक हुन्न कि कसो ?
समयले मानिसको जीवनमा ल्याएको परिवर्तनसँगै ब्लडप्रेसर नाप्ने मेसिन, मोबाइल एप्लिकेसनहरू अचेल सजिलै उपलब्ध हुनथालेका छन् । तर, अस्पतालहरुमा भने एनोरोइड मेसिननै बढी प्रयोगमा आउँछन् । यसको मुख्य कारण यसबाट नाप्दा रक्तचापको मात्रामा खासै धेरै तलमाथि नहुनु पनि हो । कतिपय डिजिटल मेसिनले पनि राम्रै काम गर्छन् तर कतिपय अवस्थामा तुरुन्तै दोहोर्याएर नाप्दा पनि ब्लडप्रेसर धेरै नै फरक देखिएको, सुनिएको छ । त्यसैले यस्ता मसिनबाट नाप्दा ब्लडप्रेसर धेरै वा चाहिनेभन्दा थोरै देखिएको खण्डमा नजिकैको मेडिकल वा स्वास्थ्यकर्मीकहाँ गएर फेरि नापेर ‘कन्फर्म’ गरेको राम्रो हुन्छ। 
  • घरमा नाप्दा ठिकै हुन्छ । अस्पताल गयो कि बीपी बढिहाल्छ ।
मानिसको ब्लडप्रेसर मानिसले गर्ने शारीरिक व्यायाम, खानेकुरा, निद्रा, तनाव आदि विभिन्न कुरामा भर  पर्छ ।  तनावका बेला, निद्रा नपरेको बेला, भर्खरै शारीरिक व्यायाम गरेको बेला, परिश्रमको काम गरेको बेला आदिमा केही क्षणको लागि ब्लडप्रेसर हाइ देखिनसक्छ । तर, सबै कुरा सामान्य भइसकेपछि ब्लडप्रेसर ‘नर्मल लेबल’मा आउंँछ । जहिले पनि ब्लडप्रेसर नाप्दा केही क्षण आराम गरेर, दिसापिसाब त्याग गरेर, तनावरहित रहेर नाप्दा सही परिणाम आंउँछ । तर, सामान्य अवस्थामा रहेको बेला पनि ब्लडप्रेसर बढिरहने भएमा बढेकै मान्नुपर्छ । 
 
कोही कोहीलाई घरमा ब्लडप्रेसर नाप्दा सधै एकदम नर्मल भेटिने तर डाक्टर, नर्सको अगाडि पुगेपछि वा अस्पतालको वातावरणमा पुगेपछि अचानक बढ्ने समस्या हुन्छ । डाक्टरहरूले लगाउने सेतो कोट देखेपछि डराएर वा के होला कस्तो होला भन्ने त्रास मनमा लागेपछि यस्तो समस्या हुने भएकोले यसलाई ‘ह्वाइट कोट इफेक्ट’ पनि भनिन्छ । हाइ ब्लडप्रेसरका बिरामीमध्ये करीव २० प्रतिशत समूहमा यो समस्या देखापर्ने अध्ययनमा देखिएको छ । त्यसैले साँच्चिकै हाई हो वा इफेक्टमात्रै हो भन्ने पहिचान गर्न २४ घन्टा मेसिन लगाएर ब्लडप्रेसरको अध्ययन र्गे एबीपी मेसिनको सहयोग पनि लिइन्छ । 
  • मैले त ब्लडप्रेसर बढ्यो भनेर ५ दिनदेखि नुन मुखाँ हालेकै छैन ।
ब्लडप्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नुनको मात्रा कम गर्न भनेका हुन्छन्, बन्द गर्न होइन । नुन कम गर्ने भनेको नुन भएको धेरै किसिमको परिकार नखाने भनेको हो । शरिरलाई चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नुन हो । त्यसभन्दा बढी ब्लडप्रेसरका लागि ठीक हुँदैन । केही मात्रामा नुन त शरीरका लागि पनि चाहिन्छ । नुन चटक्कै बन्द गर्नाले शरीरमा अन्य समस्या हुनसक्छ । त्यसैले नुन चटक्कै बन्द गर्न हुँदैन । 
  • दिनहुँ करेला खाए हुंँदैन ?
कति बिरामी औषधि नखाने तर करेला, मेथी, नीमको पात, घ्युकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योग, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन ्। जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुपर्छ । माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन तर यी सबै गरे पनि ब्लडप्रेसर नाप्दै पनि गर्नुपर्छ । र, ब्लडप्रेसर नियन्त्रण भएन भने औषधि त खानै पर्छ । 
  • यो औषधि खाएपछि त डिप्रेसन हुन्छ रे नि, मैले नेटमा पढेको
एउटा वर्गको मानिसमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी पाइन्छ भन्ने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो पनि हो तर पूर्ण कुरा प्रष्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पनि पर्छ । कुनै रोगका बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्द, मेडिकल भाषा सबैले प्रष्ट बुझ्ने हुँदैन । अनि यो भनेको यसो होला भन्दै अनुमानमा अर्थ लगाउँदै त्यस विषयमा लेखिएका कुनै रोगका लक्षण आफँैलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनःस्थितिको विकास हुने, अब म मर्छु भन्नेजस्ता निराशावादी सोचको विकास हुने आदि समस्या पनि पाइएको छ । 
इन्टरनेटमा दिइएका रोगसम्बन्धी जानकारी धेरैजसो किताब पढेजस्तै हुन्छ । कुनै रोगको बारेमा पढ्दा यस्तो लक्षण यति प्रतिशतमा देखिन्छ, यस्ता साइड इफेक्ट फाट्टफुट्ट मात्र पाइन्छ, यो धेरै देखिन्छ, यो साइड इफेक्ट विश्वको यस कुनामा मात्र पाइन्छ, यो साइड इफेक्ट यो जातिमा मात्र बढी देखिन्छ, यसमा देखिन्न जस्ता कुरा विस्तृतमा लेखिएको हुन्छ । तर मानिसको मन न हो, त्यहाँ जे सुकै लेखेपनि आँखाले त्यहां लेखिएका गम्भीर कुराहरुजस्तै मात्र देख्नपुग्छ । अनि होस् न होस् मलाई पनि यस्तो भयो कि भन्दै डराउँदै बस्छन् ।
त्यसैले कसैको त्यस्तो बानी छ भने इन्टरनेटमा लेखिएका कुरा प्रष्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । हैन भने यस्तो सामग्री नपढ्नु नै राम्रो हुन्छ । 
कुनै कुनै व्यक्तिमा डाक्टरलाई जाँच गराउन जानै हिच्किचाउने बानी हुन्छ । डाक्टरकहांँ गएपछि केही न केही देखाइहाल्छन्, यो नखानु, यो नगर्नु भन्छन्, औषधि खान भन्छन्, अथवा केही समस्या देखिहाल्यो भने त टेन्सन हुन्छ त भन्ने खालको सोचले उनीहरू जाँच नै गराउँदैनन् । यो पनि राम्रो बानी होइन । 
ब्लडप्रेसको नकारात्मक असरबाट जोगिन व्यक्ति स्वयं आफ्नो स्वास्थ्यका विषयमा सचेत हुनु जरुरी हुन्छ । साधारणतया ४० वर्षको  वरिपरि पुगेपछि दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सुर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने जस्ता नियम पालना गर्नैपर्ने हुन्छ । उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगले छुन थाल्छन् ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल)
 

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, भदौ ७, २०७३ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्