site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अब कहिल्यै त्यस्तो हुँदैन !
Ghorahi CementGhorahi Cement

– कल्पना भण्डारी


“दिदी दशैं आयो नि !” छिमेकी भाइ चंगा देखाउँदै खुसी भयो । 

मैले बनावटी मुस्कान छर्दैै भनें, “ल ल, रमाइलो गर्नू ।”

Agni Group

उसले तुरुन्तै लट्टाईको धागो चंगामा बेर्‍यो र आकाशतिर फ्याँक्यो । चंगा जसरी नीलो आकाशमा बत्तिन थाल्यो, म उसैगरी आफ्नो बालापनमा बत्तिएँ ।

साँच्चै दशैं आयो !

Global Ime bank

बजारमा भीडभाडसँगै दशैंको रौनक आउँछ । तर, मनमा रस नभएपछि यस्ता रौनकले छुँदैनन् । दशैं बजारमा त केवल आँखा घुम्छन्, मन त सम्झनाहरूमा अल्मलिन्छन् । सामानहरू ओल्टाउँछु, पल्टाउँछु तर किनूँकिनूँजस्तो कुनै लाग्दैन । आवश्यकता छैन, रहर पलाएन । बरु, बजारमा सजाइएका सामानजस्ता अनगिन्ती यादहरू छाइरहन्छन् मनमा । खासमा दसैं सम्झनाहरूको खुद्रा पसल न हो !

राम्रा लुगा बिकेपछि रित्तै झुन्डिएको ह्याङ्गरजस्ता छन् केही याद । पसलेले मिलाउन नभ्याएको छरपस्ट सामान जस्ता छन् केही याद । केही याद छन्, सामानको डुंगुर खोतल्दा खोतल्दै मन परेको चिजमा टक्क अडिएको हात जस्तो ।

जस्तोः बच्चामा बुबाको हात समाउँदै बजार गएको । 

“गोडा पाङ्ग्रामा छिर्ला, होस गरेर बस् है,” भन्दै बुबाले साइकलको पाउदानी दबाएपछि मनका फर्माइसहरू मस्तिष्कमा दगुर्न थाल्थे । सम्म बाटोमा साइकलको चेन जति छिटो घुम्थ्यो, त्योभन्दा बेचैन हुन्थ्यो मन ।

बुबाले कस्तो पसलमा लैजानु होला ? त्यहाँ कति धेरै लुगा होलान्, आफूलाई मन परेको कसरी छान्ने ? साथीका भन्दा नराम्रो पो पर्ने हो कि ? बरु अस्ती सुस्माले लगाएको जस्तै रातो सर्ट किन्नु पर्ला ! ह्या दसैंमा नि के सर्ट लगाउनु, त्यो त स्कुल जाँदा सधैं लगाइन्छ नि !

साइकलका पाङ्ग्राभन्दा छिटो घुम्थे मनमा तर्कना ।

रातोमाटोले लिपेका, सेतो कमेरो पोतिएका, हरियो इनामेल लगाइएका घरहरू पार गथ्र्यौं । मनमा धेरै रंगको इन्द्रेणी बन्थ्यो, उत्तिखेरै क्षितिजपारि हराउँथ्यो । म कुन रंगको लुगा किन्ने– निष्कर्षमा पुग्नै सक्दिनथें ।

त्यो दिन बाटोमा मालती भेटिएकी थिई । उसले सोधेकै थिइन, मलाई सुनाउन हतार भइहाल्यो ।

“ओइ, म त बुबासँग दसैंको लुगा किन्न जान लागेको, तैंले किनिस् ?”

उसले सुनी कि सुनिन, म भने सुनाउन पाएकोमा मख्ख परें । यस्तो बेला बाटोमा कक्षाभरिका साथीहरु भेटिऊन् जस्तो लागे पनि मलाई मालतीले मात्रै देखी ।

बुबाले बजारको बीचमा रहेको एउटा रंगीचंगी फेन्सी पसलअगाडि साइकल रोक्नुभयो । र, पसलेलाई लुगा देखाउन अह्राउनुभयो । मेरो अनुहार र आकार एकैपटक हेरेर उसले फटाफट लुगा फिँजाउन थाल्यो । मेरा आँखा तिरिमिरी भए ।

बल्लबल्ल एउटा छानेँ गुलाबी रंगको फूलबुट्टे घाँघर । त्यो घाँघरको गुलाबी याद हरेक दसैंमा, हरेक किनमेलमा ताजा भएर आइरहन्छ मलाई । त्यो बेलै ‘गुलाबी’ थियो । त्यसको बासनाले अहिले पनि मेरो सम्पूर्ण शरीरलाई छोएर जान्छ । मलाई काठमाडौंका दसैं बजार कागजका फूल जस्ता लाग्छन् । मनमा गुलाब फुलेन भने मनको बगैंचामा पनि बासना आउँदैन । बुबा बित्नुभएपछिको दसैं यस्तै छ । खै त्यो गुलाबी घाँघर राम्रो हो कि बुबाको प्रेम, जति हजार तिरे पनि, ‘विशाल’ बजारमा खोजे पनि पाउन सकेकी छैन । र, पाउँदिनँ पनि ।

त्यसैले आजभोलि दशैं मनाउन म उति रहर गर्दिनँ । मेरो जीवनका सम्झनाहरू दशैंभन्दा कैयन् गुणा मूल्यवान छन् ।

आफूअगाडि फिँजिएको वर्तमानभन्दा मनमा जतन गरिएको विगत रमाइलो लाग्छ । स्मृतिहरू लिंगेपिङमा मच्चिन्छन्, रोटे पिङको फन्कोमा छिनछिनमा चक्कर मार्छन् ।

कसैले कहीँ लेखेको थियो– सम्झनाहरू जीवनका निधि हुन् । र, म तिनै निधि सम्हालेर तिनै निधिको पहरेदार भएर बाँचिरहेकी छु ।

दसैंका प्रत्येक प्रहरमा तिनै स्मृतिले मलाई ऐंठन पार्छन् । बुवाले बनाइदिएको पिङमा निष्फिक्री झुल्ने मन, अकासिएको चंगासँगै हलुका हुने मन अहिले जाँतोजस्तै गह्रौं किन हुन्छ होला ?

हो, अब त्यस्तो गुलाबी दशैं कहिल्यै आउँदैन ।

बुबाजस्ता आफन्तबाट टीका लगाएँ, बुबाको जस्तै माया पनि पाएँ तर निधारमा बुवाका हात परेनन् । बुबा हुँदा कहिलेकाहीँ कामको चटारोले कुनै–कुनै टीका छुटे । काम र परिस्थितिले टाढा बनाउँदा सँगै दशैं मनाउन पाइनँ । तर, त्यो अस्थायी पीडा थियो । अर्कोपालि लगाउँला भनेर मन बुझाइन्थ्यो । तर अब त त्यो ‘अर्कोपालि’ कहिल्यै आउँदैन ।

त्यसैले बा–आमा हुनेहरूले सकेसम्म टीका लगाउन नछुटाऊन् जस्तो लाग्छ । किनकि टीका केवल अक्षतामात्र होइन, आशीर्वाद र आत्मीयता निधारभरि छाप्ने अवसर पनि हो । डाँडामाथिको घाम कतिखेर अस्ताउँछ, पत्तो हुँदैन । बा–आमा हुँदाको जस्तो दशैं कहिल्यै हुँदैन । बामात्रै हुनेहरूलाई पनि पिरोल्छ, आमामात्रै हुनेहरूलाई पनि पिरोल्छ । किनकि बा–आमा सँगै हुँदाको जस्तो दशैं कहिल्यै हुँदैन ।

हर चिजले भाग्यमानी भएर पनि बुबा गुमाउनुको सत्यले मलाई अभागी महसुस गराउँछ । त्यही एउटै कुराले पटक–पटक बिथोल्छ । तर, फेरि सम्झाउँछु आफैंलाई, बा–आमा दुबै नहुनेहरूको मन कति गह्रुंगो जाँतोले थिचिँदो हो !

फेरि बा–आमा भएर पनि नभए झैं गर्नेहरू पनि देख्छु । साँच्चै तिनीहरूको मन कुन तत्वले बनेको हुन्छ होला ?

पहिलेजस्तो परिवारको आत्मीयता अहिले पाइन्न । पहिलेजस्तो दशैं अहिले मनाइन्न । हजुरबा, हजुरआमादेखि नाति–पनाति पुस्तासम्म एउटै घरमा अटाउँथे । बा घरको मियो हुन्थे, आमा घरकी देवी हुन्थिन् । बा–आमालाई श्रद्धाले निहुराउने शिर अचेल अभिमानले गजक्क पर्छन् । बा–आमालाई भगवान् ठानेर पूजा गर्नेहरू आजभोलि थाली बोकेर मन्दिर पुग्छन् र ढुंगालाई पूजा गर्छन् । मान्छेले बनाएका ढुंगा पुज्छन्, तर आफूलाई जन्माउने मान्छे बिर्सिन्छन् । धेरै बा–आमाहरू दशैंमा टीकाको रित्तो थाली लिएर आँखा बिछ्याउँछन् । गुनासो गर्ने र चित्त दुख्ने हजार कारण हुन सक्छन् तर बा–आमा शत्रु र अरु मित्र कहिल्यै हुँदैनन् । बेहिसाब माया गर्ने बा–आमासँग सन्तानले ठूलो भएपछि थाल कचौराको हिसाब माग्छन् । सम्बन्ध र संस्कारमा डढेलो यहीँँबाट सुरु हुन्छ ।

साँच्चै दशैं त बा–आमाको हातबाट टीका लगाएपछि मात्रै हुन्छ । किनकि त्यसपछि दशैं कहिल्यै त्यस्तो हुँदैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २१, २०७४  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC