site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चुनावमा वाम एकता : मिसन कि फेसन ?   
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

(नेकपा (एमाले) स्थायी कमिटी बैठकले प्रान्तीय र केन्द्रीय निर्वाचनमा सबै वाम शक्ति अनि मुख्यतः नेकपा (माओवादी केन्द्र)सँग चुनावी एकता गर्ने निर्णय गर्यो । यसपछि राजपाका केही नेता सूर्य चिह्नबाट चुनाव लड्ने सहमति भएको प्रचार भयो । त्यसपछि त माओवादी केन्द्र र एमालेबीच एउटै चुनाव चिह्न प्रयोग गरेर चुनाव लड्ने र त्यतिमात्र हैन पार्टी एकतासम्म हुने सहमति भएको बताइएको छ । निर्वाचनमा कम्युनिस्टहरूको अग्रता कायम राख्न यस्तो निर्णय भएको भनिएको छ । चुनावमा मात्रै नभएर वामपन्थी विचारका सबै शक्तिकै एकीकरण हुनुपर्ने बहस बेलाबखत हुने गरेको छ । माओवादीबाट फुटेर नयाँ शक्ति पार्टीमा गएका कतिपय नेता पुरानै पार्टीमा फर्किसकेका छन् । यस्ता जुट र फुट हुँदैआउँदा नेपालमा कम्युनिस्टहरूकोे समग्र राजनीति नै नराम्ररी थलिँदैछ । यद्यपि कम्युनिस्ट विचारप्रतिको आम आर्कषण भने कमभएको छैन । 
आर्कषणमा वाम प्रगतिशीलता
परम्परागत सामाजिक, आर्थिक राजनीतिक संरचनाको विरोध गर्दै क्रान्तिकारी कुरा गर्ने स्वभावका कारण वाम विचारधाराप्रति मानव आकर्षण बढी नै रहन्छ । उच्च गरिबी, बेरोजगारी र सम्पत्ति एवं स्रोतको अन्यायपूर्ण वितरण भएको अवस्थामा मानिस स्वभावैले पहिले समताको अभ्यास गर्न चाहन्छ । आफूले पनि उचित स्थान अनि अधिकार पाउनुपर्ने एजेन्डामा आकर्षित हुन्छ । ती राजनीतिक विषय चाँहि वाम विचारकसँग बढी हुन्छन् । उनीहरूको संचारण अभ्याससमेत  तीव्र रहन्छ । नेपाल त्यही अवस्थामा भएकाले सामान्य मानिसहरू कम्युनिस्ट विचारमा बढी आर्कषित हुनु स्वाभाविक हो ।
कम्युनिस्ट  विचारबाट प्रेरित राजनीतिक प्रणाली र व्यवस्थाबाट विश्वका केही देशमा विकास पनि भएको छ । छिमेकी राष्ट्र चीन एउटा उदाहरण हो । सन् १९२१ तिर चेन दुहिऊ र ली दह्याजो नामक नेताको अगुवाइमा गठन भएको ‘कम्युनिस्ट पार्टी अफ चाइना’ आज त्यहाँको सर्वशक्त्तिमान पार्टी छ । त्यही दलले बिनाविभाजन देश, काल, परिस्थितिअनुसार आफ्ना नीतिगत पक्ष र अन्य अवस्थामा सुधारको अवलम्बन गर्दैछ । त्यस्तै लगभग १९३० तिर स्थापना भएको ‘कम्युनिस्ट पार्टी अफ भियतनाम’ पनि आजसम्म एक नै छ । उत्तर कोरिया महाशक्ति अमेरिकालाई चुनौती दिने सार्मथ्य राख्छ । 
नेपाल नियति
नेपालमा प्रजातन्त्रको अभ्युदय (२००७) आसपास स्व. पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो । यद्यपि, त्यसपछि विराट बन्नुसट्टा कम्युनिस्टहरू उराठ लाग्ने कमजोर बन्यो । परिणाम आज प्रगतिशील भनेर स्वउद्घोष गर्ने कम्युनिस्टहरूका मसाल, मार्सल, एकीकृत, विकेन्द्रित, क्या्स, ड्यासजस्ता नाममा लगभग दुई दर्जन कम्युनिस्ट पार्टी छन् । नेपालमा यस्ता पार्टी निश्चित मिसनभन्दा कुनै फेसनमा आधरित भएर खुलेका देखिन्छन् । अन्य देशमा प्रजातान्त्रिक भन्ने दलहरु धेरै र प्रगतिशील भन्ने दल एकाधमात्र हुने गरेका छन् तर नेपालमा ठीक उल्टो छ । 
प्रगतिशील वाम विचारमा आस्था राख्ने नागरिकको आज पनि नेपालमा बहुमत छ । तर, बहुमत नागरिक वामपन्थी हुँदाहुदै पनि वामपन्थी विचार भएका शक्त्ति एकै ठाउँमा उभिन नसक्नु दुर्भाग्य नै हो । सबै मजदुर, दलित, गरिब, न्यायप्रेमी, मधसी, पिछडिएका एक हाँै भनिरहँदा ती भन्नेहरू नै एक हुनसकेका छैनन् । अनि पद पट्याउनकै लागि बजारमा खुल्ने नयाँ सुपरमार्केट जसरी पार्टी जन्मन्छन् । एउटै पार्टीभित्र पनि फरक÷फरक गुट बन्छन् । 
कम्युनिस्ट शासनकै सबल र सशक्त्त प्रयोग गर्दै चीनले आफूलाई आज विश्वको उदीयमान राजनीतिक र आर्थिक केन्द्र बनाएको छ । मार्च १, २०१३ मा ‘चाईना डेल्ली डटकम’मा प्रकाशित मनिस वापनाको लेख ‘इम्ब्रासिंग इकोलोजिकल प्रोग्रेस इन चाईना’मा बताइएअनुसार चीनमा गत दुई दशमा साबिकभन्दा थप बीस करोड मानिसले स्वच्छ खानेपानी पाएको, औसत आयु १० वर्ष बढेको, औसत आय दोब्बर भएको र साक्षरता लगभग ९० प्रतिशत पुगेको तथ्यांक छ । आर्थिक वृद्धिदर लगभग १० प्रतिशतको रहेको देखाइएको छ । आज चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र बन्दैछ । पछिल्लो २० वर्षमा मात्रै चीनले आश्चर्यजनक तरिकाले ६६ करोड जनतालाई गरिबीको रेखाबाट बाहिर निकालेको छ ।  
नेपालमा धेरै प्रगतिशील भनेर उद्घोष गर्ने कम्युनिस्ट पार्टीहरूसँग न त कुनै मार्ग निर्देशक सिद्धान्त छ न त निश्चित कार्यक्रम छ । अधिकांशसँग अबको ५, १०, वा १५ वर्षमा देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तन कुन गति र आयतनमा हुन्छ भन्ने आकलन छैन अनि त्यसो गर्ने क्षमता र सोच पनि छैन । अधिकांश प्रगतिशील भन्नेहरू कार्ल माक्र्सकै कम्युनिस्ट घोषणापत्रलाई आधार मानेर मजदुरको आन्दोलनबाट रातारात सत्ता कायापलट हुने सपनामा अझै रमाउँदैछन् । औद्याैगिक देशहरूलाई हेरेर बनाइएको अवधारणालाई यहाँको परिस्थितिसँग मेल खाने गरी कसरी र किन पुनर्लेखन गर्ने भन्ने चिन्तनसमेत देखिँदैन । 
आफूलाई क्रान्तिकारी बताउने माओवादी केन्द्रले प्रयोग गर्दै आएको अघोषित प्रचण्डपथले अझै पनि आफैँलाई र आफ्नै परिवारका सदस्यलाई जनतासामु स्वीकार हुने पथ देखाउन सकेको छैन । एमालेको जबजसँग के योजना छन् जसले किसानको आय प्रतिव्यक्त्ति पचास हजार डलर होस् ? साक्षरता सय होस्, औसत आयु ८० बनोस् । गाउँमा आफ्नो उद्यम गरेर बसेका सामान्य मानिसलाई द्वन्द्वकालमा अराजकताको उच्च अभ्यास गर्दै आतंकित पार्दै जनराज्यको हवला दिएको माओवादीसँग कुन त्यस्तो योजना छ जसबाट देशका भ्रष्टाचारीलाई कारबाही गर्न सकियोस् । अनि नेपाल भ्रष्टाचारको सूचीमा लगभग १५४ औँ बाट न्यून भ्रष्टाचार हुने पाँच वा दशको पंक्तिमा पर्न सकोस् । देश स्वाधीन, समृद्ध र आत्मनिर्भर होस् । दुर्भाग्य, तीनकै नेता लडाकुका नाममा निकासा गरेको अर्बाँै रुपियाँ हिनामिना गरेकोमा शंकाको घेरामा छन् । 
अबको बाटो
विगतमा पनि प्रगतिशील भनिएका कम्युनिस्टहरू जनताका लागि हुन सकेनन् । उनीहरूको अहिलेसम्मको दर्शन खालि सम्भ्रान्तहरूको विरोध गर्ने र सामन्तीलाई हटाउनेमात्र हैन  आफूलाई त्यहाँ स्थापित गराउनु पनि भयो । राजा फालेर आफू राजा हुने दौडमा नेपालको कम्युनिस्ट आन्दोलन नराम्ररी अल्झियो । 
लुट्नलाई फुट्नु र लुट्न नसक्दामात्र जुट्नु कम्युनिस्ट नेताहरूको नियम र नियत बन्यो । वास्तवमा नै सफल नेपालको सपना देख्ने होे भने पहिले सबै प्रगतिशील वामपन्थी विचारका दलहरू एक ठाँउमा उभिनुपर्छ । प्रगतिशील वाम विचारमा विश्वास छ भने त्यस्को मार्गर्दशक सिद्धान्त, लक्षित नागरिक र उद्देश्य एउटै छ भने पार्टी दुई वा बढी हुनुहुँदैन ।  
देशको विकास र परिवर्तन प्रगतिशील वाम शक्तिबाट हुनसक्छ । तर, जनतालाई बुझ्ने योजना नदिए र विश्वास गर्नसक्ने गरी उनीहरू एक नभए जनताले पत्याउँदैनन् । बीसौँ शताब्दीको उत्तरार्धमा  लगभग चार दर्जन राष्ट्रमा कायम रहेको कम्युनिजम एक्काईसौँ शताब्दीको सुरुमा आँउदा आधादर्जनमा खुम्चिएको छ । नेपालका कम्युनिस्टहरूले यसबाट गम्भीर पाठ सिक्नुपर्छ । एमालेले भनेजस्तै चुनावी एकता भएमा त्यो गठबन्धन समग्र कम्युनिस्ट राजनीतिलाई यही दिशामा डोहोर्याउने एक नयाँ अध्याय बन्न सक्नुपर्छ । सबै कम्युनिस्ट एक भए राजनीतिक स्थिरता कायम हुन्छ । छिमेकीले असहयोग तथा अप्ठेरो पार्न सक्दैन । स्पष्ट योजना, राम्रा कार्यक्रम, तिनलाई पूरा गर्ने कार्य प्रणाली र विश्वासिला उमेदवार दिए नागरिकले पत्याउने छन् । चुनावी फेसनका लागि नभई देशको विकास र नागरिक सम्पन्नताको ’मिसन’का लागि एकता भए त्यो स्वीकार्य हुनेछ । अरूलाई हराउन हैन, देशलाई बनाउन हुने एकता आवश्यक छ । तर, आलोपालो सरकार बनाउनमात्र भए त्यो दलीय सिन्डीकेटको अर्को तानाशाही स्वरूपमात्र बन्नेछ । 

सहप्राध्यापक, काठमाडौँ स्कुल अफ ल 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC