site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरिया प्रायद्विपमा सम्भावित युद्धको त्रासदि   
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank


अघिल्लो लेखमा मैले विशेषत: ऐतिहासिक पृष्ठभूमिसहित ‘उत्तर’ र ‘दक्षिण’ कोरियाको स्थापना र अस्तित्व, तिनका भिन्नभिन्न आर्थिक, सैनिक, सामरिक र राजनीतिक प्राथामिकता, तिनको छिमेक र अन्य राष्ट्रसँगको सम्बन्ध, तिनले अपनाएका पृथक सामरिक धुरीप्रतिको सम्बद्धता, महाशक्ति मानिएका राष्ट्र वा राष्ट्र समूहका स्वार्थ र चालबारे संक्षिप्त चर्चा गरेको थिएँ । प्रस्तुत लेखम अलिक गहिरिएर विद्यमान तनाब, त्यस्को अन्तर्य र सम्भावित निकासको चर्चा गर्ने प्रयास गर्नेछु । 
अघिल्लो लेखमा आधुनिक विश्वको यथार्थको पनि चर्चा गरेको थिएँ । युद्धको हुंकार र शब्दास्त्र वर्षाएर एकअर्कामाथि जति आक्रोश व्यक्त गरे पनि आक्रोश र आवेगको सतहभन्दा तल कतिपय यस्ता जटिल र बाध्यकारी परिस्थितिसमेत हुन्छन् जसले गर्दा सिँगौरी खेल्दै गरेका पक्षले रहर हुँदाहुँदै पनि युद्ध सुरु गरिहाल्न नसक्ने हुन्छ  । डोनाल्ड ट्रम्प र किम जोङ अन दुवै आआफ्ना मुलुकका कार्यकारी राष्ट्र प्रमुख हुन् र दुवैले एकल निर्णय लिएर युद्ध घोषणा गर्ने सामर्थ्य राख्छन् । उनीहरूका पछिल्लो समयमा एकअर्काका नाममा गरिएका ट्विट र अन्य विज्ञप्तिबाट लाग्छ, मानौँ दुवै नेता कठालो समातेर भिडिहाल्न जम्जमाएका छन् र आआफ्ना राष्ट्रिय सेनाका सर्वोच्च कमान्डर र हतियार भण्डारका मुख्य खजाञ्चीसमेत रहेका ती दुईजना निमेष भरमा युद्ध मच्चाउन तम्तयार छन् । यसो हुँदो हो त उनीहरूको सनकको भरमा युद्ध सुरु भइहाल्नु पर्थ्यो । तर, युद्ध सजिलै हुँदैन । दुवै नेताका पछिल्ला भाषण, वक्तव्य र विज्ञप्तिले  युद्धप्रतिको उत्तेजना बढाउन (प्रोभोकेशन) र चर्काउन (स्कलेट) इन्धन भर्ने काम गरे पनि विभिन्न वैश्विक र क्षेत्रीय आयतनका सैनिक, सुरक्षा, आर्थिक, व्यापारिक र सामरिक स्वार्थका यस्ता व्यूह र जञ्जाल बहुपक्षीय अन्तर्राष्ट्रिय जालोको रूपमा जेलिएकका छन् कि तिनैले भयानक युद्ध सम्भावनाबीच पनि एउटा अचम्मको शक्ति सन्तुलन निर्माण गर्दै युद्ध टारेका हुन्छन् । जसरी आणविक शक्तिले सुसज्जित देश र हतियार भण्डार युद्ध र विनाशका जति अनिवार्य कारण हुन् त्यत्ति नै युद्ध टार्ने निवारक (डिटरेण्ट) पनि । पहिला कुरा गरौँ अमेरिका वा उत्तर कोरिया के चाहन्छन् ? अनि किन उत्तर कोरियाले गरिरहेको आणविक एवं क्षेप्यास्त्र परिक्षणका शृंखलालाई रोक्नै पर्छ भनिँदैछ र किन यो अमेरिकाको टाउको दुखाइ बनेको छ?
परमाणु अप्रसार सन्धि (न्युक्लियर नन-प्रोलिफरेशन ट्रिटी)
परमाणु शक्ति सम्पन्न देशहरु अमेरिका, तत्कालीन सोभियत संघ (वर्तमान रुस) र बेलायतले १ जुलाइ १९६८ मा एउटा सम्झौता गर्दै नरसंहार हुनसक्ने खतरनाक परमाणु शक्ति र यसको सम्भावित प्रसारलाई अनुगमन र नियन्त्रण गरिनुपर्ने ठहर गरे । चालीस राष्ट्रले हस्ताक्षर गरेको यो सन्धिको पक्ष राष्ट्रका रूपमा संसारका सबैजसो अर्थात् १९० देश रहेका छन् । पछि गएर, परमाणु शक्ति सम्पन्न राष्ट्रका रूपमा फ्रान्स र चीनलाईसमेत समावेश गरी यसको संख्या ५ पुग्यो । तिनै राष्ट्रहरू संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य पनि छन् । विश्व परमाणु अप्रसार सन्धिले विशेषत: आणविक विकास कार्यक्रमलाई जिम्मेवार बनाउन र शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नमा सीमित गर्न ३ विषयलाई केन्द्रमा राखेर काम गर्छ । तिनीहरू यसका ३ स्तम्भ मानिन्छन्:
१. आणविक अप्रसार
२. निशस्त्रीकरण
३. आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग
संयुक्त राष्ट्रसंघ मातहत सुरक्षा परिषद्का स्थायी सदस्यले संसारका अन्य विभिन्न मुलुकले गर्ने वा गर्न सक्ने आणविक हतियार, युद्ध र मानव नरसंहारका लागि प्रयोग हुनसक्ने विभिन्न जैविक र रासायनिक साथै अन्य सांघातिक प्रकृतिका हतियार तथा परमाणविक भार बहन गरी लामो दूरीमा मार गर्नसक्ने अन्तरमहाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्रको (मिसाइलको उच्च स्तर र सबैभन्दा लामो दूरीको प्रकार)  परीक्षण, विकास, हस्तान्तरण, प्रसार, व्यापार र प्रयोगलाई निषेध गरेको छ । तथापि, माथिका ५ मुलुकबाहेक दक्षिण एशियाका दुई देश: भारत र पाकिस्तान पनि आणविक शक्ति सम्पन्न राष्ट्रको क्लबमा पुगिसकेका छन् भने इजरायल, उत्तर कोरिया, इरान र दक्षिण अफ्रिकालाई पनि यस्तो शक्ति प्राप्त गर्ने कोटीमा पुगिसकेका वा पुग्न खोज्दै गरेका मुलुकका रूपमा चिनिन्छ । यद्यपि यो वैध मानिएको छैन । तर, अरू थुप्रै युरोपेली राष्ट्रसहित जापानले भने आणविक शक्तिलाई ऊर्जा (बिजुली, इन्धन) स्रोतको रूपमा मात्र प्रयोग गर्ने प्रतिबद्धता र कार्यान्वयनमा अडिग देखिएका छन् । पश्चिमा राष्ट्र (युरोपेली र पुँजीवादी अर्थतन्त्र एवं विशेषत: बहुलवादी राजनीतिक प्रणाली भएका देश) र विशेष गरी संयुक्त राज्य अमेरिकाले वर्तमानको विश्व व्यवस्थामा (ग्लोबल अर्डर) विघ्न र चुनौती नआओस् भन्ने सोचले पनि आफूले कमजोर, गैरजिम्मेवार ठानेका मुलुक र तिनको सनकी नेतृत्वको हातमा तिनको क्षमताले नधान्ने हतियार पुग्दा विपत्ति निम्तिन सक्छ भन्ने ठानी रोक्न चाहन्छ । 
अमेरिकाको चासो र चिन्ता
आणविक शक्तियुक्त मुलुकमध्ये विशेषगरी इरान र उत्तर कोरियाले त्यो प्रविधिको प्रयोग हतियार निर्माणमा लगाइसकेको वा लगाउन खोजेको हुनाले त्यस्ले क्षेत्रीय वा विश्व शान्तिमा पार्नसक्ने भयंकर खतराको बारेमा अमेरिकासहितका केही राष्ट्र चिन्तित रहिआएका देखिन्छन् । यी दुवै मुलुकको शासन सत्ता घोषितरूपमा नै अमेरिका र पश्चिमा राष्ट्र, तिनले अँगालेको सभ्यता, राजनीतिक पद्धति , विश्व व्यवस्था (वर्ल्ड अर्डर) र सामरिक स्वार्थलाई क्षति पुर्‍याउन उद्यत छ । साथै, तिनको नेतृत्व पनि उत्तिकै गैरजिम्मेवार, अविश्वासिलो र अप्रत्याशित छन् भन्ने अमेरिका पक्षीय मुलुकको बुझाइ छ । यही कारण इरान र उत्तर कोरियाका हतियार र क्षेप्यास्त्र प्रयोग एवं निर्माणको चाललाई समयमै नियन्त्रण गरिनुपर्छ, भन्छ अमेरिका । विशेषत: अमेरिका मध्यपूर्वस्थित साउदी अरेबियादेखि इजरायलसम्मको सुरक्षाका बारेमा इरानसँग चिन्तित छ भने जापान र दक्षिण कोरियाको विषयलाई लिएर उत्तर कोरियासँग अझ बढी चिन्तित छ । अमेरिकाको बुझाइमा आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगका बारेमा इरानसँग बरु आश्वस्त हुन सकिने केही आधार छन् तर उत्तर कोरियाको बारेमा उसको नेतृत्वको सोच, व्यवहार र कार्यशैली के हुन सक्छ भन्ने चाल नै बुझ्न नसकेर सशंकितमा देखिन्छ । राष्ट्रपति ओबामा कार्यकालको पछिल्लो समयमा संयुक्त राष्ट्रसंघकै पहलमा इरानसँग उसको परमाणविक प्रविधि कार्यक्रम र त्यसको शान्तिपूर्ण प्रयोगका बारेमा सम्झौता भइसकेको हुनाले अमेरिका केही आश्वस्त भएको हुनसक्छ इरानका सन्दर्भमा । तैपनि अमेरिकाको रिपब्लिकन पार्टी र यसका कट्टरपन्थी पक्षका नेता र राष्ट्रपति बन्नु पूर्वदेखि नै डोनाल्ड ट्रम्पले इरानको भर पर्न नसकिने कुरा बताउँदै आइरहेका छन् । सिया मुसलमान बहुल इरानले मध्यपूर्वमा रहेका अमेरिकी सामरिक धुरीका मुलुकहरू र कतिपय नजिकका मुसलमान देशले राजनीतिक अस्तित्व नै स्वीकार नगरेको इजरायल बारेमा इरानबाट सुरक्षित महसुस गर्दैनन् । यस्तो स्थितिमा मध्यपूर्वमा इरान र सुदूर पूर्वमा उत्तर कोरियाले बेलाकुबेला आणविक हतियारको धम्की दिने र परीक्षण गर्ने गर्दा  अमेरिकाका लागि यी दुई मुलुक ‘भालुको कन्पट’ बनेका छन् । तिनले प्राप्त गर्नसक्ने खतरनाक हतियारका कारण विश्व शान्तिमा भयंकर जोखिम सिर्जना हुनसक्छ भन्ने सोच अमेरिका राख्छ र त्यो सम्भावना ढिलो नहुँदै नियन्त्रणमा लिन चाहन्छ ।
जापान र दक्षिण कोरिया
दोस्रो विश्वयुद्ध नसकिउन्जेल जापान विश्व मानचित्रमा एउटा आक्रामक र युद्धकारी मुलुक थियो । उसको विश्व विजयी बन्ने महत्वाकांक्षा अमेरिकाले हिरोसिमा र नागासाकीमा अणु बम खसालेर ध्वस्त बनायो । दोस्रो विश्वयुद्ध पश्चात सो युद्ध सुरु गर्ने उन्मादी दोषको अभियुक्त बनेका जर्मनी, जापान, इटालीलाई कुनै पनि सैन्य वा हतियार प्रविधिको विकास, निर्माण र महत्वाकांक्षा राख्न प्रतिबन्ध लगाइयो । उता दक्षिण कोरिया पनि अमेरिकाकै पोल्टामा बसेर आर्थिक समृद्धिको एक ध्येय बाटोमा अघि बढ्यो । अहिले जापान र दक्षिण कोरिया भौतिक, मानवीय र वैज्ञानिक प्रविधिको विकास तथा आर्थिक सम्पन्नताका कारणले आफ्नो विशिष्ट परिचय बनाएका एसियाली मुलुक मानिन्छन् । यी दुवै मुलुक राजनीतिकरूपमा स्थिर र विकास एवं वैभवको बाटोमा भए पनि, यिनको सुरक्षा पारस्परिक सन्धिका कारण अमेरिकाको जिम्मेवारी हो । अहिले पनि लगभग ३९ हजार अमेरिकी सैनिक जापानको ओकिनावा टापु र अन्यत्र सैन्य शिविर बनाएर बसिरहेका छन् भने दक्षिण कोरियामा पनि लगभग २४ हजार अमेरिकी सैनिकको उपस्थिति छ । अमेरिकासँग विश्वकै सबैभन्दा उत्कृष्ट प्रविधिका हतियार, क्षेप्यास्त्र, जल, स्थल र नाभिकीय क्षमता छ भन्नेमा शंका छैन । समयसमयमा अमेरिकाले दक्षिण कोरिया र जापानसँग छुट्टाछुट्टै सैन्य अभ्यासको प्रदर्शन गरी त्यो क्षेत्रको तनाबमा अमेरिकी उपस्थिति र साथको आभाष गराउने गरेको छ । यसै पनि प्रविधिको प्रयोग र सुरक्षा विज्ञताको मामिलामा स्वयं जापान र दक्षिण कोरियाको श्रेष्ठता पनि अब्बल नै छ । अमेरिकाले त आफ्ना मित्रराष्ट्रका लागि क्षेप्यास्त्रले समेत भेदन गर्न नसक्ने क्षेप्यास्त्र प्रतिरोधी गुम्बज (एन्टी मिसाइल सिस्टम वा सिल्ड) को समेत अवधारणा र स्थापना अघि सारेको छ । सैन्य, अत्याधुनिक प्रविधि र हतियारसहित मानवीय संसाधनको प्रयोग परिचालनमा अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सामर्थ्यको उत्तर कोरियासँग तुलना नै कतैबाट न्यायोचित देखिन्न । त्यसैले पनि यो क्षेत्रको तनावको मुख्य मुद्दा र अमेरिकी चिन्ता, उत्तर कोरियाले अमेरिकालाई कति क्षति गर्ला भन्ने भन्दा पनि केही अनपेक्षित भइहालेमा त्यसबाट हुनसक्ने जापान र दक्षिण कोरियाको क्षति हो ।
उत्तर कोरिया र यसको सामर्थ्य
लगभग अढाइ करोड जनसंख्या भएको उत्तर कोरिया जनसंख्या र सेनाको अनुपात सबैभन्दा बढी हुने मुलुक हो भने यसको सैन्य सामर्थ्य विश्वमा २३ औं मानिन्छ । सम्पूर्ण नागरिकलाई अनिवार्य सैनिक तालिम दिलाउने हुनाले जनसंख्याको एक चौथाइ अथवा ६५ लाख जनालाई परेको बेला युद्धमा खटाउने सामर्थ्य राख्ने उत्तर कोरियाले आफ्नो नियमित सेनामा नै लगभग १० लाख र जगेडामा अरु ५ लाख संख्यामा सैनिक राखेको छ । यो स्थल सेनाको विशाल डफ्फाले दक्षिण कोरियालाई आक्रमण र दु:ख दिने सामर्थ्य राखे पनि यिनको पहुँच र क्षमता अरू प्रविधि र साधनको अभावमा धेरै प्रभावकारी नहुन सक्छ, अबको प्रविधियुक्त युद्धमा । उत्तर कोरियाको हवाई सामर्थ्य यसको वायु सेनामा रहेका एक हजार विभिन्न हवाइ साधनमध्येका पाँच सय जति लडाकु विमान हुन् । तर, सोभियतकालीन मिग विमानमा आधारित उसको हवाई सामर्थ्य, अमेरिका-जापान-दक्षिण कोरियाको तुलनामा आदिम र कमसल नै देखा पर्छ । अर्थात्र, तुलनै हुँदैन । तसर्थ, उत्तर कोरियाको मुख्य मारक क्षमता भनेको ऊसँग रहेका ७० भन्दा बढी पनडुब्बी (धेरै जसो पुराना), दुई हजार जति रकेट प्रक्षेपक (प्रोजेक्टर) र उसले पछिल्लो समयमा विकास गरेको हुनसक्ने मानिएका अन्तरमहाद्विपीय क्षेप्यास्त्र र आणविक हतियार नै हुन् । उत्तर कोरियाको वार्षिक सुरक्षा बजेट ७-८ अर्ब डलर रहेको छ भने अमेरिकाको लगभग ९० गुणा बढी अर्थात् (६ खर्ब डलर जति, सुरक्षा उद्योग समेत) । यो तुलनाले नै तस्बिर प्रकट गर्छ ।  सैनिक र सामरिक विषयका विज्ञ पनि बताउँछन् - पछिल्लो समयमा उत्तर कोरियाले गरिरहेका विविध खाले क्षेप्यास्त्र र आणविक परीक्षण गरे पनि उसको मारक क्षमता (अट्याकिङ क्यापाबिलिटी) दक्षिण कोरिया, जापान, ती दुई देशमा रहेका अमेरिकी सैनिक अड्डा र बढीमा अमेरिकाको प्रशान्त महासागर स्थित भूभाग गुआम टापू (जुन उत्तर कोरियाबाट) ३ हजार ५०० हवाई (नटिकल) किलोमिटरको दूरीमा पर्छ सम्म हुनसक्छ । उसका पछिल्ला परीक्षण साँचो र सफल नै भए पनि तिनको सैनिक साधनको (मिलिटरी हार्डवेयर) रूपमा पूर्ण प्रयोगमा आउन अझै केही वर्ष लाग्न सक्छ ।  उत्तर कोरियाले कहिलेकाहीँ आफ्ना क्षेपयास्त्रले यो क्षेत्रमा अमेरेकी सामरिक धुरीको अर्को राष्ट्र अस्ट्रेलिया समेतलाई पर्‍यो भने ध्वस्त पार्ने धम्की दिनेगरेको छ  । तर, अस्ट्रेलियाको मुख्य सहर नै उत्तर कोरियाबाट ७-८ हजार किलोमिटरको दूरीमा पर्छ भने अमेरिकाको हवाई राज्य पनि करिब ७ हजार ५०० किलोमिटर टाढा छ । यी दुवै ठाउँ, उसको क्षेप्यास्त्रको दायरामा पर्न सक्छन् तर त्यो दूरी छिचोलेर आणविक हतियार हान्ने प्रविधि सायद उसले प्राप्त गरिसकेको छैन । त्यो दूरी छिचोल्ने क्रममा तिनलाई प्रतिरोधी प्रक्षेप्यास्त्र अथवा क्षेप्यास्त्र प्रतिरोधी प्रणाली (मिसाइल डिफेन्स सिस्टम) स्वत: परिचालित भई आकाशमा नै ध्वस्त बनाउने सामर्थ्य अमेरिका र कतिपय विकसित देशसँग छ । तसर्थ, उत्तर कोरियाको क्षमता उसले जापान र दक्षिण कोरियालाई गर्नसक्ने सम्भावित क्षति नै हो  । उसको जोखिम उत्तर कोरिया स्वयं विश्व मानचित्रमा एउटा अलग देशको रूपमा कायम रहिरहन सक्ला त भन्ने नै हो ।
युद्ध भइहाल्ला त ? 
यत्रो तनाब, धम्की र आक्रोशबीच पनि पूर्ण प्रकारको युद्ध (फुल फ्लेज्ड वार) नहोला । उत्तर कोरियालाई फकाएर पुल्पुलाउन दक्षिण कोरियाले वर्षेनी अर्बौँको जिन्सी र नगद अनुदान दिने गरेको छ । उत्तर कोरियाको नेतृत्व किम जङ अनको भए पनि मूलत: त्यो देश सेनाका जनरलहरूको खटनपटनमा चल्छ र तिनलाई राम्रोसँग थाहा छ, साँचै युद्ध भइहाल्यो भने त्यो मुलुक नै बाँकी नरहन सक्छ र त्यहाँको राजनीतिलाई ३ पुस्तादेखि नियन्त्रणमा लिएका एलिट (ठालु) हरू लुक्ने वा भाग्ने ठाउँ पनि संसारमा उपलब्ध हुनेछैन । शीत युद्धकालीन दिनमा एउटै देश बाँडिएर बनेका पूर्व र पश्चिम जर्मनी, उत्तर र दक्षिण यमनजस्ता देश २ दशक अघिदेखि जोडिइसके तर अलग राजनीतिक कम्युनिस्ट प्रणाली बोकेर र बाँकी संसार नै साम्राज्यवादी देख्ने उत्तर कोरियाको अस्तित्व उसको दुम्सी रणनीति (प्रोकुपाइन ट्याक्टिक्स) ले नै जोगाइराखेको हो र कुनै जोखिम मोल्दा त्यो पल्टिन सक्छ भन्ने उनीहरूलाई थाहा छ  । तसर्थ, उत्तर कोरियाली नेतृत्वले बेलाबेलामा आफू अप्रत्याशित र खतरनाक छु भन्ने सन्देशमार्फत् अरूलाई आफूँसँग नजिस्किन तर्साउन खोज्छ तर युद्ध चाहँदैन । उसले गर्ने र चाहने भनेकै नजिकका देश उत्तर कोरिया र जापानलाई सानोतिनो हानी र मोलतोल (बार्गेनिङ) गर्नु नै हो । अमेरिका भने उत्तर कोरियालाई मानचित्रबाटै नामेट पार्न चाहन्छ ता कि ‘नरहोस् बाँस, नबजोस् बाँसुरी’ । तर, यसो गर्दा एकदम छोटो समयमा र विशेषत: जापान र दक्षिण कोरियालाई उत्तर कोरियाले क्षति नपुराउँदै, उसको आणविक हतियारको भण्डार नियन्त्रणमा लिनु र त्यहाँको राजनीतिक एवं सैनिक नेतृत्वलाई ध्वस्त बनाउनु अमेरिकाको उद्देश्य हुनेछ । आणविक शक्ति सम्पन्न उत्तर कोरियालाई यति सजिलै नियन्त्रणमा लिन त्यति सजिलो पक्कै छैन । त्यस्ले निम्त्याउने क्षति अकल्पनीय र परिणाम अर्थहीन हुनेछ ।
तसर्थ, तत्कालको लागि रसिया, चीनजस्ता उसका मित्र शक्ति राष्ट्रमार्फत् उत्तर कोरियालाई भड्किनबाट थाम्नु (कण्टेन), अनि समयको उपयोग गर्दै योजना बनाएर उत्तर कोरयाली राजनीतिक एवं सैनिक नेतृत्वबीच मतभेद पैदा गर्नु र त्यो ध्वस्त गर्नु (साबोटेज) अमेरिकी नियत र दृष्टि हुनसक्छ । युद्ध भइहाल्न गाह्रो छ । किनभने आधुनिक युद्ध सनकको भरमा बीना ठोस योजना लडियो भने त्यो आत्मघाती (सुसाइडल) हुन्छ भन्ने त सबैले बुझेकै छन् । दुई सनक शिरोमणी राष्ट्रपति ट्रम्प र नाति राष्ट्रपति किमले पनि पक्कै बुझेका होलान्  ।

(समाप्त) 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १३, २०७४  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC