देश एकपटक फेरि दसैं मनाउँदै छ । अधिकांश परदेशी घर फर्किसकेका छन् । नभए पनि घर फर्कने तरखरमा छन् । हिन्दु धर्मावलम्बी बडा दसैंलाई अधर्म र अन्यायविरुद्ध धर्म र न्यायको विजय पर्वका रूपमा मनाउँछन् । हिन्दुहरूका लागि बडा दसैं धार्मिक पर्व पनि हो तर, सबै हिन्दुले दसैं एकै प्रकारले भने मनाउँदैनन् । यसैले दसैं सांस्कृतिक पर्व पनि हो । त्यसैगरी नेपाली समाजमा दसैं हिन्दु धर्मावलम्बीबाहेक अरूले पनि उत्तिकै उत्साहसाथ मनाउँछन् । अर्थात्, दसैं सामाजिक पर्व पनि हो ।
दसैंलाई वर्षको सबैभन्दा ठूलो चाडका रूपमा मनाउनेहरूले आफ्नो हैसियतअनुसार र कहिले कहीँ त हैसियतभन्दा बढी खर्च गरेर दसैं मनाउने गरिएको छ । अगिल्लो आर्थिक वर्षको अन्त्यसँगै सुस्ताएको बजारमा नगद प्रवाह दसैंबाटै सुरु हुन्छ । बजारसँगै अर्थतन्त्र पनि गतिशील हुन्छ । यसैले दसैं सामाजिक, सांस्कृतिक र आर्थिकरूपमा पनि महत्त्वपूर्ण छ । सायद यही कारणले जीवनशैलीमा भएको परिवर्तनसँगै बदलिए पनि दसैंको महत्त्व कम भएको छैन । नेपाली समाजमा पनि पारिवारिक विखण्डन बढ्दै गएको छ । दसैंले पारिवारिक मूल्य कायम राख्न थोरैमात्रै भए पनि सहयोग गरेको छ ।
दसैं सामाजिक पर्व पनि भएकाले यसको महत्त्व कम हुने त देखिँदैन । तर, नेपाली समाजले जीवनशैलीमा आएको परिवर्तनसँगै दसैं मनाउने तरिका भने बदल्नुपर्ने देखिन्छ । सायद, अबको केही वर्षमा घरघरै खसी बोका काट्ने चलन बदलिनेछ । निर्धारित पशुबध शालामा मात्र पशुपंक्षी बध गर्नुपर्नेछ । यसैगरी अरू खर्चका लागि पनि आफ्नो आर्थिक हैसियतको ख्याल बढी गर्नुपर्नेछ । अहिले नै दसैंका बेला घरमा बस्नुको साटो घुमघाममा जाने प्रवृत्ति देखिन थालेको छ । आर्थिक उन्नतिसँगै यस्तो परम्परा बढ्दै जानेछ । दसैंका बेला पशुबलिको विरोध गर्नेहरू पनि सक्रिय हुन्छन् । पशुबलि परम्पराका समर्थक पनि छन् । बलि दिने र नदिने सबैले उत्तिकै उत्साह र आनन्दपूर्वक दसैं मनाउन सक्छन् । अर्थात् यो मेलमिलाप र सद्भावको पर्व पनि हो ।
बाह्रखरी परिवार हाम्रा पाठक, सहकर्मी, शुभेच्छुक सबैलाई प्रगति र सुस्वास्थ्यको हार्दिक शुभकामना !