उदाहरण १ : मेरी साथीकी आमालाई राति बाह्र बजेतिर एक्कासि ज्वरो आयो र घर नजिकैको निजी अस्पतालमा लग्यौं । डाक्टरले ज्वरो धेरै छ आईसीयुमा राख्नुपर्छ भने | डाक्टरले भनेको नमान्ने कुरै भएन र हामीले पनि हुन्छ भन्यौ | आमालाई आईसीयुमा राखियो । अनि काउन्टरमा गएर २० हजार रुपियाँ जम्मा गर्नु भने | रातिको समय छ अहिले हामी सक्तैनौ भोलि बिहानै जम्मा गर्छौं भन्यौँ । त्यसो भए बिरामीलाई पनि बिहानै लिएर आउनु भन्ने रुखो जबाफ दिए | आमालाई फिर्ता लैजाने अवस्था थिएन र जसोतसो २० हजार रुपियाँ जम्मा गरियो | आईसीयुमा बेडको शुल्कमात्रै एक रातको छ हजार रुपियाँ लिइयो | डाक्टरले औषधि लेखे र यो रिमा फार्मेसीबाट लिएर आउनु भने |
मेरो मनमा कौतुहल लाग्यो - किन डाक्टरले त्यही नै फार्मेसीबाट औषधि ल्याउन लगाए? आजसम्म पनि त्यस प्रश्नको उत्तर मैले पाएको छैन | पछि बुझ्दा त त्यो फार्मेसीमा अन्तभन्दा औषधि २० - ३० रुपैयाँ महँगो लिँइदो रहेछ | एउटा सामान्य ज्वरोको बिरामीलाई पाँच दिनसम्म आईसीयुमा राखियो र अस्पतालले ५० हजार रुपियाँ असुल्यो |
उदाहरण २ : उच्च रक्तचाप र मधुमेहको बिरामी मेरो साथीलाई राति एक्कासि रक्तचाप बढ्यो र हतार हतार ट्याक्सीमा राखेर शिक्षण अस्पताल महाराजगन्ज लग्यौँ | प्रेसर धेरै नै बढेकाले इमर्जेन्सीमा भर्ना गरियो | शिक्षण अस्पतालको आकस्मिक कक्षमा मान्छेको भिड कुनै ठूलै मेलाजस्तो थियो | एउटै बेडमा तीन जना बिरामी कोच्चिएर बस्नुपर्ने बाध्यता थियो | एउटै बेडमा तीनजना बस्नुपर्दा ती बिरामीलाई कति गाह्रो भयो होला ? बिरामीको हेरचाह गर्न खटिएका नर्सलाई खोजेर ल्याउनुपर्ने अवस्था थियो | यस्तो अवस्थामा बिरामीले कस्तो स्वास्थ्य उपचार पाउँछन् ? नेपालकै प्रतिष्ठित शिक्षण अस्पतालको अवस्था त यस्तो छ भने अरू सरकारी अस्पतालको अवस्था कस्तो होला ?
उदाहरण ३ : मेरो घर दुर्गम जिल्लाको पनि दुर्गम गाउँमा छ | त्यहाँका जनताले सामान्य ज्वरो आउँदा पनि सरकारले नि:शुल्क उपलब्ध गराएको पारासिटामोलसमेत दुई दिन हिँडेर दस रुपियाँमा किनेर खानुपर्ने बाध्यता छ | कहिलेकाहीँ त म्याद नाघेको ओखतीसमेत खानुपर्ने हुन्छ | झाडापखाला लाग्दा जीवनजल समेत खान नपाएर बिरामीको मृत्यु हुनेगरेको छ | विशेषज्ञ डाक्टर हैन हेल्थ असिस्टेन्टले चलाएको जिल्लाको एकमात्र सरकारी अस्पतालको अवस्था कहालीलाग्दो छ | सामान्य बिरामी हुँदासमेत हेलिकोप्टर झिकाएर काठमाडौं आउनुपर्ने बाध्यता छ | महंगो भाडाका कारण हेलिकोप्टर प्रयोग गर्न धेरैले सक्दैनन् । नसक्नेले अकालमै ज्यान गुमाउनुपर्ने हुन्छ |
उदाहरण ४ : सिन्धुपाल्चोकका श्याम श्रेष्ठले दुवै किड्नी फेल भएको छोराको उपचार गर्न नसकेर अस्पतालको छतबाट हामफालेर आत्महत्या गरे | भक्तपुरका धर्म मानन्धरले पत्नीको उपचार गर्न नसकेर वीर अस्पतालमा बिरामी श्रीमतीलाई छाडेर भागे | नेपालका नेताहरू भने सामान्य रुघाखोकी लाग्दा पनि सिंगापुर र अमेरिका धाउँछन र राज्यकोषबाट स्वास्थ उपचारबापत करोडौँ रुपियाँ असुल्छन् तर सोझासाझा जनताले भने महँगो औषधि उपचार गर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्था छ ।
माथिका सबै घटनाको प्रत्यक्षदर्शी म ती घटनाका कारक मेडिकल माफियालाई साथ दिऊँ कि सबै जनताको स्वास्थ्य सेवामा सहज र समान पहुँच हुनुपर्छ भनेर बाह्रौँ पटक अनशन बस्ने डाक्टर गोविन्द केसीलाई साथ दिऊँ ?
नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनेर लेखिएको छ | त्यही संविधान लेख्नेहरू भने निजी मेडिकल कलेज खोलेर स्वास्थ्य शिक्षामा व्यापार गरिरहेका छन् | नेपालमात्र एउटा यस्तो देश हो जहाँ निजी मेडिकल कलेज र सरकारी मेडिकल कलेजको अनुपात ६:१ छ | छिमेकी देशको अवस्था हेर्ने हो भने भारत, पाकिस्तान र बंगलादेशमा निजी मेडिकल कलेज त छन् तर नेपालको जस्तो छ गुणा बढी भने छैनन् |
एसियाली देश श्रीलंकामा सबै मेडिकल कलेज सरकारीमात्र छन् | नेपालमा छात्रवृत्तिमा ३ सय ५० सिट छन् । अनि लगानी गरेर पढ्नुपर्नेमा करिब २ हजार सिट छन् | लाखौं लगानी गरेर पढेको डाक्टर गाउँमा गएर जनताको सेवा गर्न लाग्छ कि सहरमा बसेर पैसा कमाउन ? अनि ८० प्रतिशत जनताको बसोवास रहेको ग्रामीण भेगका जनताले कसरी पाउँछन् सर्वसुलभ स्वास्थ्य सेवा ? काठमाडौंदेखि धुलिखेलसम्म चालीस लाख जनसंख्याका लागि सात ओटा मेडिकल कलेज छन् भने चालीसै लाख जनसंख्या भएको सुदूरपश्चिममा खै मेडिकल कलेज ? खै अस्पताल ? यही समाजवाद ? खै समानता ?
मेडिकल काउन्सिलले लिने लाइसेन्सको परीक्षामा विशेषज्ञ चिकित्सकको परीक्षामा ७०प्रतिशत र स्नातक तहको परीक्षामा ४४ प्रतिशत विद्यार्थी असफल हुनेगरेका छन् । तीमध्ये ९० प्रतिशत विद्यार्थी निजी मेडिकल कलेज र विदेशमा पढेका हुन्छन् | यस्ता अयोग्य डाक्टरबाट जनताले कस्तो स्वास्थ्य सेवा पाउँछन् ? किन बारम्बार डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भन्ने समाचार आइरहन्छ ?
समृद्ध देश निर्माणको पहिलो आधार स्वास्थ्य र शिक्षामा सबै जनताको समान पहुच हो | साँच्चिकै समृद्ध देश निर्माण गर्ने हो भने स्वास्थ्य र शिक्षालाई सर्वसुलभ बनाउनुपर्छ । त्यसका लागि डा. गोविन्द केसीका माग चाँडो पूरा गर्नुपर्छ | डा. केसीका माग पूरा गराउन दबाब दिऊँ र सचेत नागरिकको जिम्मेवारी बहन गरौँ |