तपस्वीहरूलाई पटकपटक धोका दिइएको अन्त्यमा धोका दिनेहरूको पराजय भएको विवरण थुप्रै पौराणिक कथामा पाइन्छ । इतिहास दोहोरिन्छ तर पूरा कथा भने शाश्वत हुन्छन् । पूरा कथाका सन्देशहरू सार्वकालिक र सार्वजनीन हुन्छन् । समसामयिक नेपाली समाजमा प्राध्यापक डाक्टर गोविन्द केसी पनि पूराणमा वर्णित तपस्वीजस्तै देखिन्छन् । समाजको बृहत्तर हितका लागि मूलतः चिकित्सा शिक्षा क्षेत्रमा रहेको विकृति अन्त्य गर्न उनले ११ पटक अनशन गरिसकेका छन् । उनैको तपस्याका कारण माफियाको स्वार्थ र समाजको अज्ञानले गर्दा चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त माफियाको प्रभुत्वको उदांगो भएको छ । पौराणिक तपस्वीहरूले जसरी डा. केसीले हठमात्र गरेका छैनन् । तराईमा बाढी आएपछि अनशन स्थगित गरेर उनी आपूm अशक्त हुँदाहुँदै बिरामीको उपचारका लागि बाढीग्रस्त क्षेत्रमा पुगेका छन् । सायद, यसैले मेडिकल माफियाको स्वार्थसँग प्रत्यक्षपरोक्ष जोडिएकाहरूबाहेक विवेक भएका सबैले डा. केसीको समर्थन गरेका हुन् ।
व्यवस्थापिका–संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको सिफारिसविपरीत हुनेगरी संसद्ले कथित ‘फास्ट ट्रयाक‘ अपनाएर पारित गर्ने तयारी गरेको शंकामा डा. केसीले सोमबारदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् । डा. केसीले बाह्रौं अनशनका सम्बन्धमा जानकारी दिन जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् – ‘संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन पारित गर्ने अन्तिम प्रयास भइरहेको पुष्टि भएकाले सो काम रोकेर सही रुपमा चिकित्सा शिक्षा ऐन ल्याउन तथा हाम्रा मागहरु पूरा गर्नका लागि बिहान ११ बजेदेखि सत्याग्रह सुरु हुँदैछ ।’ हुनत, व्यवस्थापिका संसद्मा मेडिकलमात्र हैन शिक्षा, वित्तीय र यातायात क्षेत्रका माफियाको पनि बलियो उपस्थिति तथा प्रभाव रहेको सिद्ध भइसकेको छ । संसद्ले यति ठूलो मूर्खता गर्ला भन्ने पत्याउन कठिन हुन्छ । समाजमा जस्तै संसद्मा पनि विवेक भएका व्यक्तिहरू पक्कै छन् र यस्तो गलत कानुन पारित गरेको कलंक बेहोर्न तिनीहरू पक्कै तयार हुनेछैनन् ।
स्पष्ट छ, चिकित्सा शिक्षा विधेयक गलतरूपमा पारित हुनबाट रोक्नकै लागि केसी अनशनमा बस्न लागेका हुन् । यसैले हामी व्यवस्थापिका संसद्का विवेकशील र जिम्मेवार सदस्यहरूसँग यस्तो गलत विधेयक पारित हुन नदिन आग्रह गर्छौँ । साथै हामी डा. केसीलाई पनि दसैंको अवसरमा अनशन सुरु नगर्न आग्रह गर्छौँ । डा. केसीको अनशन उनका समर्थकहरू सडकमा उत्रेपछि मात्र प्रभावकारी हुनेगरेको छ । अहिले उनका समर्थक अधिकांश युवा काठमाडौंबाहिर गइसकेका छन् । मुलुक दसैं मनाउने मानसिकतामा छ । सत्तामा हिंसाचारीहरूको प्रभुत्व छ । उनीहरू शक्तिको भाषामात्र बुझ्छन् । अहिंसात्मक आन्दोलनको शक्ति भने जनसमर्थनमा निर्भर हुन्छ । डा. केसीको अनशन आत्मशुद्धिका लागि गरिने त हैन । अहिले डाक्टरहरू पनि आन्दोलनमा छन् । मेडिकल माफियाले डा. केसीको सत्याग्रहलाई चिकित्सकहरूको हड्तालसँग जोडेर भ्रम फैलाउने र बदनाम गर्ने प्रयास गर्नेछन् । त्यस अवस्थामा अनशन कमजोर हुन्छ । आज अनशन सुरु गर्दा आपैmँले स्थगित गर्नुपर्ने अवस्था उत्पन्न हुनसक्छ । यसैले हामी सत्याग्रही डा. केसीका मागहरूप्रति ऐक्यबद्धता जाहेर गर्दै सांसदहरूलाई मेडिकल माफियाको प्रभुत्व हुनेगरी विधेयक पारित नगर्न र डा. केसीलाई अनशन सुरु नगर्न आग्रह गर्छौँ ।